Govind Belbase
<April 2024>
SuMoTuWeThFrSa
31123456
78910111213
14151617181920
21222324252627
2829301234
567891011
मेरो क्रिसमस
आज बालाचतुर्दशीको दिन हो र हाम्रा गाउँमा दुध ठेकामा हाल्दैनन् । बालाचतुर्दशीका दिन भकारी भर्ने दिन हो । दुध जमाएर दही तथा मही बनाउन नुहुने भएको हुनाले आजको दिन खिर खाने चलन छ । साउने सक्रान्तिमा जस्तै । यता डिसेम्बर १०, मानवअधिकार दिवस हो, बेलायतका छिमेकीहरू क्रिसमस उपहार किन्नमा मस्त छन् । भरखरै थ्याङ्क्स गिभिङ डे पनि गयो । बेलायतमा थ्याङ्क्स गिभिङ डेमा त्यस्तो धुमधाम हुँदैन । अमेरिकामा भने थ्याङ्क्स गिभिङ डे मा अन्नपात थन्काउने तथा हाम्रो बालाचतुर्दशी जस्तै भकारी भर्ने दिनका रूपमा र क्रिसमसमा भेट हुन तह पर्लानपर्ला भनेर भेटघाट, खानपीन र रमाइलो गर्ने चलन छ ।

धार्मिक रूपले मलाइ क्रिसमस चाडको कुनै महत्व छैन तर बेलायत बस्ने हुनाले सांस्कृतिक रूपमा मलाइपनि यसले असर पारेको हुन्छ । कतिपय स्थानीयले भेटहुँदा अरू समयमा जस्तै हेलो, हाउ अर यू ? का साथमा क्रिसमस गिफ्ट तयार भयो ? भनेर प्रश्न तेर्साउने गर्छन् । कतिसंग मैले क्रिसमस हैन दशै र तिहार मान्छु भनेर भन्दै हिड्नु त भनेर आलटाले कुराले टाल्ने प्रयास गर्छु । तर कसै कसैले त किनमेल गरेको विवरण र क्रिसमसमा कहाँ जाने परिवारसंग कहाँ भेट गर्ने सवै आफ्नो विवरण विस्तार लाउँछन् । मानौ, खुसी साथ फुर्ति लाउने सिजन हो क्यारे यो डिसेम्बरको ठिहिर्याउने जाडो । तर, उनीहरूमा पारिवारिक ममतामयी न्यानोपन यसै समयमा उन्मात हुन्छ क्यारे । अरू समयमा आफ्नै धुनमा ब्यस्त र मस्त हुन्छन् । अरू समयमा त उनीहरूको ममता झल्काउने विषय फुटबलको विषय बनेको हुन्छ ।

बाइबल र क्रिस्चियनको बारेमा मैले जीवनमा पहिलो पटक नेत्रदाइबाट सुनेको हुँ । उहाँको सानोठीमीमा स्नातक तहको पढाइ गर्दा काठमाण्डौमा गोरे क्रिस्चियनहरूसंग संगत भएछ । नेपालमा धर्म प्रचार गर्न बाइबल उनीहरूले सित्तैमा नदिएर पच्चीस पैसामा बेच्ने गरेको प्रसंग नेत्रदाइबाट सुन्दाको त्यो छंड अहिले करिब ३८ बर्षसम्म पनि याद छ । उनीहरूको तर्क रहेछ "सित्तैमा दिए कसैले पढ्दैनन् त्यही भएर नाममात्रको दस्तुर लिएर दिए खर्च गरेको रकम असुल गर्ने भावनाले पढ्छन" । पंचायती ब्यवस्थाको त्यो समयमा धर्म प्रचार गर्ने विरूध्द सरकार र ब्यवस्था अलि कडा नै थियो । कानूनी रूपमा जबर्जस्ति धर्म परिवर्तन गर्न नपाइने भनिएको भए पनि ब्यवहारमा क्रस्चियनहरू प्रति अलि नै नियन्त्रण हुने गर्थ्यो । तर, प्रचारकहरू पनि के कम र मिसन अस्पताल भन्दै परोपकारी भावनाबाट नेपालीको मन जितेर धर्मलाइ नेपाली समाजमा छिराउँदै थिए । गोर्खाको लुइंटेल स्कूल लगायत शिक्षण संस्थाहरूलाइ पनि त्यस्तै रूपमा बुझिन्थ्यो ।

पछि नेपालमै पनि क्रिस्चियन नेपालीहरू भेटिन थाले । यो बेलायतमा चाही दशैं र तिहार जस्ता नेपाली चाड हाम्रा घरभित्र आउँछ घर बाहिर आउँदैन, क्रिसमस बाहिर आउँछ घरभित्र छिर्दैन । केही नेपाली क्रिस्चियनले त मनाउने नै भए, आजकाल त अरू नेपालीको घरमा पनि झिलिमिली सहितको क्रिसमस ट्री सजाएको भेटिन्छ । कसैले बेलायती रवाफ पनि छाट्छन त्यसमा, कसैले चाहीँ स्कूलमा साथीहरूको संगतले केटाकेटीले रहर पनि गरे, दवावै जस्तो पनि भयो भन्ने गर्छन् । जे होस बेलायत बसेपछि सांस्कृतिक रूपले क्रिसमसले भेटिहाल्छ, झम्झम लागि पनि हाल्छ ।

किनमेल गर्न जाँदा पसलमा घुइचो, कामको रोटामा असर त कतै ट्रेन पर्खदा समेत क्रिसमस किनमेलका वार्तालाप कानम ठोकिनु त्यसका सामान्य प्रभाव हुन । बजार तिरको झिलिमिली त भन्नै परेन । एकातिर रमझम छ तर कतिपयलाइ यो क्रिसमसको किनमेलले बोकाउने ऋणको पिरलोले थिचेको पनि हुन्छ । सामान्यतया ऋण बोकाउने क्रिसमसको चर्चा धेरैले गर्दैनन तर मनमिल्नेसंग पिरलो पोखिपनि हाल्छन् । अघिल्लो वर्षको क्रेडिटकार्डको ऋण तिरेर नसक्दै अर्को क्रिसमसले सताउँछ । जत्रो आम्दानी उत्रै खर्च सवै चिनेजानेका परिवार, आफन्त इस्टमित्र, साथीभाइ छरछिमेकी सवैलाइ केही न केही सम्झनै पर्ने । त्यसैले त ऋणको भारि बोकाएर जाने डिसेम्बरपछि जनवरीबाट रित्तो खल्ती लिएर काममा मस्त हुन्छन, हेप्पी न्यू इयर भन्दै । मानो नयाँ वर्षमा ऋण तिर्ने शाहस बोकेको छ उनका ज्यानले ।

क्रिसमसमा टर्कीको कुरा चाही नेपालमा अस्टमीको बोका जस्तो चलन रहेछ । तर बलि होइन रहेछ । परम्परादेखि क्रिसमसमा टर्की पकाउने र खाने बाध्यता जस्तै । यसको धार्मिक महत्वको बारेमा चाहीँ मलाइ थाहा भएन्, तर, खासै धार्मिक महत्व छैन भन्ने बुझेको छु । भिक्टोरिया रानीको शासन कालबाट क्रिसमसमा टर्की खाने प्रचलन बसेको भनाइ पनि छ । पहिले पहिले धनाढ्यहरूले क्रिसमसमा टर्किको भत्तेर लगाउने चलन भए पनि ब्यापारिकरण हुँदै गए पछि सामान्य नागरिकले पनि टर्की किनेर क्रिसमसको भत्तेर लाउने चलन बसेको अनुमान छ । अझैपनि टर्कीको मासु क्रिसमसको समयमा अलि महगो नै हुने गर्दछ । क्रिसमस इभका दिन पसलहरू बन्दहुने समयमा पुग्नेहरूले बचेखुचेका टर्कीको प्याकेट अलि सस्तो पाउने गरेको भेटिन्छ । दुइ दिनसम्म पसल बन्द हुने भए पछि विग्रने डरले पनि अन्तिम समयमा सस्तो पारेर बेच्ने गर्छन । क्रिसमसमा टर्की खाने रहर हुनेले त्यो मौका समाउन ठिकै हुन्छ ।
 
 
There are no data records to display.
   
Comment:
Date:
Name:
LastName:
Address:
City:
PostalCode:
PhoneNumber:
EmailAddress:
WritingId:
Insert  Cancel

www.flykathmandu.co.uk

Received Comments



www.flykathmandu.co.uk
Please write email to belbase@flyktm.com to get permission to publish my article to your media.