Govind Belbase
<June 2022>
SuMoTuWeThFrSa
2930311234
567891011
12131415161718
19202122232425
262728293012
3456789
‘ढाक्रे’
‘ढाक्रे’
(संस्मरण– साहित्य)

–गोविन्द बेल्वासे

नुन बोक्न बटौली जाने ढाक्रेहरु फर्कँदा कुनै साथीलाई ‘हैजा’ लाग्यो भने अरु साथीले छाडेर गाउँ जान्थे । छाडिएका कोही त सञ्च भएपछि बल्ल–तल्ल घर पुग्थे । अरु साथीलाई ‘वाक्ने र छेर्ने’ नसरोस भनेर छाडिँदा पनि गुनासो गर्ने कुरै हुन्थेन । कुनै साथी छोडिएको समाचार ती साथीले घर पुर्याउँथे र पण्डितको सल्लाहमा मृत्यू संस्कार पुरा गरिन्थ्यो ।

अहिले कोरोनाले थलिएला कि भनेर छट्पटिएका वैदेशिक रोजगारीमा पुगेका नेपाली घर फर्कन पाए ज्यान बच्थ्यो कि ! भन्ने ध्याउन्नमा बाँचेका छन् । एयरपोर्ट छेकिएकाछन् । बाटो थुनिएका छन् । जमघट गर्न प्रतिवन्ध छ । भोटबाट फर्कँदा विरामी परेका मदन (मुना मदन)लाई अपरिचितले सहयोग गर्दाको परिस्थितिलाई लक्ष्मि प्रसाद देवकोटाको मनमा “मानिस ठूलो दिलले हुन्छ जातले हुँदैन” भन्ने शब्द पूmर्यो र लेखे । अहिलेको परिस्थितिले त्यही ‘मुना मदन’को झल्को दिँदैछ ।

डाँडाबाट झर्दै गर्दा बटौली बाजारको परैसम्म ठडिएका टिनले छाएका घरको लस्करले मनै रमाउने । अझ साँझमा मेन्टोल (पेट्रोमेक्स) को झिलिमिलीको त के कुरा गर्नु र ! पहिलो चोटी नुन बोक्न आएका अल्लारेलाई त अर्को सूर्य नै देखे जस्तो लाग्ने । पहाडको चिसो पानी र चिसो हावाको सितलता सकिएर तराइ सुरु हुने घोँचमा बसेको त्यो प्रख्यात बजारका जेरीले पनि थुप्रै ढाक्रेलाई लोभ्याउँथ्यो । न्यानो हावामा भन्किएका माँखाले विगारेको त्यो मिठाइको स्वादमा रोग लागेको थाहा नै हुन्थेन । कतिपय ढाक्रेले पचाउनै सक्थेनन् । कोहीभने जोगिन कै लागि खान्थेनन् । कसैको बजेटले भ्याउँथेन । कसैलाई चाहीँ छुच्याइले पनि जोगाउँथ्यो । हुन त ढाक्रे टोलीका अगुवाले सकेसम्म छिटो उकालो चढाएर सितल ठाउँमा पुर्याउने जोड गर्थे । करै पनि गर्थे । तर, कर गर्दार्गदै पनि सधै त्यो प्रयास सुरक्षित हुन्थेन र त कोहीकोही भने हैजाको सिकार भै हाल्थे ।

भेली(गुण)का डल्ला, तमाखुको गन्ध र सेता बतासा मिठाइको स्वरुपले नै मिठासको प्रचारबाजी गरेर लोभ्याइरहेका हुन्थे । कतै चामल त कतै सिध्राको थुप्रोको टुप्पोमा चुच्चो पर्ने गरी सजाइएका हुने । कपडाका पसलमा सजाएर बान्कि मिलाइएका थानका चमकले कछाड फालेर एउटा जाएँ नै लगाउँ कि झैँ हुने । एक थानबाट च्यात्न लाएर लाहुरेकी छोरीलाई छापावाल गुन्यू लगेर दिन पाए त पक्कै फक्किन्थी भन्ने विचारले नै मन चन्चल भै हाल्ने । संगै आएका कतिपय साथीले त मट्टितेलको टिन पनि नुनसितै डोकामा हाल्थे ।

घरबाट गोसेनीले हाल्देको मकैको आटो(ढेडो), गुन्द्रुक र तिलको छोप अचार खोलाको तिरमा चौतारी नगिच ढाकर विसाएर पकायो, खायो । हरेक वर्ष नुन खेप्न झर्ने फर्कनेले पाकाउने खाने गरेको ठाउँमा तीन वटा ढुङ्गा ठिक्क दुरीमा बसेर सिल्वरको डेक्ची (तपेस) माथि बसाल्न मिल्ने गरी स्वागत गरिरहेका हुन्थे । ढाकर विसायो, एक दुई कान्ला माथि गयो एक अङ्गालो सिट्ठा जम्मा पार्यो ल्यायो, पकायो खायो, बाटो लाग्यो । बजार झर्दा त डोको रित्तै हुने, मज्जा आउने । टोलीमा रमाइला रमाइला बुढाहरु पनि हुने, बडो रसिला गफ पनि सुन्न पाइने । उनीहरुका बैँसका गफ र तरुनी फकाएका गफै रसिला । पहिलो नुन खेप्न आउने अल्लारेहरुलाई जिस्काउँदा पनि रमाइलै हुने । टाकुराका साहु काकाले भने बर्षभरि जम्मा पारेको घिउ बोकेर जान्थे, त्यही बेचेर चीनी, मसला र भरियालाई नुन पनि बोकाउँथे । साथमा एक टिन मट्टितेल पनि लैजान्थे ।

दौँतरी गुन्टेले पुच्छारको मन्दिरसम्म पुगेर तल्लो गल्लीबाट लगेर माथिल्लो गल्लीबाट ल्याउँदा देखेको बजारको रमझमले यत्ति त लोभ्याएन भुन्टेलाई । तर, के गर्नु नुन भरेर छिट्छिटो बाटो लाग्न अगुवाले अत्याए पछि गरुङ्गो नुनको भारि बोकेर घर तिर सोझिनै पर्यो । डोकामा नुनमाथि बाटा खर्च खान बचेको सातु, भुटेको मकैका ठेला, अन्न र सिन्कीलाई नाम्लोले थाप्लोमा अड्याएर उकालो खुड्किले बाटोमा पाइला विस्तारै विस्तारै सर्ने । ओरालो झर्दा रित्तो डोको लिएर फटाफट झरे जस्तो त हिड्नै नसकिने । सङ्गीहरुको लस्करै लाग्ने । कत्तिकत्ति खेर त भरियालाई भारि बोकाएर टेप बजाउँदै हिड्ने लाहुरेले उछिनेर जान्थे । लाहुरेको भरियाले बोकेको बाकस पनि धेरै गरुङ्गो नभएर त होला उछिनेर गै हाल्थे । आपूmलाई भने त्यो टेपरिकर्डको गीत सुनिरहन पाए पनि हुन्थ्यो झै भैरहने । तर, उनी अलि अगाडि बढ्दै गए पछि त्यो आवाज पनि मधुरो हुँदै पछि हराउँदै जान्थ्यो । उनीहरु सरासर जान्थे क्यारे ! आपूmलाई त भारिले अलि गलाउँथ्यो अलि माथि पुगेर चौपारीमा एक छिन ढाकर अड्यायो, निधारबाट नाम्लोलाई गलाभन्दा तल झार्यो, निधारबाट चोर औँलालाई चन्द्राकार पारेर स्वाट्ट पुछ्दा तरर.. पसिना चुहिने । पिपलको पात हल्लाउँदै आएको हावाको एक स्वाठले सित्तल पार्ने । अनि, नाम्लो भारिमाथि हालेर आपूm त्यो बन्धनबाट एक छिन् पूmत्कियो र गोरेटो पारिपट्टि कलकल गर्दै बाँसको डोबबाट झर्दै गरेको सित्तल पानी घटघटी खायो । सित्तल त हुने तर अर्को पालो कुरेको साथीलाई धारो छाडेर फेरि नाम्लोको भरमा भारि पिठ्यूमा अड्यायो र खुड्किला चढ्दै उकालो लाग्यो ।

बजार झर्दा त बुढाहरु पनि रित्तो भारि भएर मिठा गफ सुनाउँथे । गरुङ्गो भारीले गर्दा स्वाँस्वाँ भएर पनि होला उनका गफ सुन्न पनि रात काट्ने ठाउको विसौनीमा कतिखेर पुगिन्छ र रसिला गफ सुन्न पाइन्छ भन्ने कल्पना कै भरमा एक पछि अर्को पाइला सार्दै जान पर्ने ।

हिँड्दा हिँड्दै ट्वाङ...ट्वाङ गर्दै फलामे घण्टीको धोन्द्रे स्वर कानमा ठोक्किन थाल्थ्यो । पहिला अलि मधुरो सुनिएको त्यो स्वर अलि चर्को हुँदै जान्थ्यो । घण्टीको आवाजले नगिचै त्यो खच्चडको लस्कर आइपुगेको थाहा पाएर हाम्रो लस्करले अलि छेउँ लागेर साइड दिन्थ्यौँ । घण्टी झुण्डाएको सवै भन्दा अगाडिको खच्चडको पछिपछि लस्कर लागेका अरु खच्चड परेड खेल्ने सिपाहीको जस्तो लाम लाएर अगाडि बढ्थे । उनका पिठ्यूमा दुई तिर बरोबरीको वजन मिलाएर झुण्डाइएका भारि लिएर जाँदा हामीलाई भने ‘तिम्रा तिघ्रा भन्दा हाम्रै तिघ्रा बजबुत’ भन्ने ध्वाँस दिए झै उछिनेर जान्थे । कतिपयले त नगिचै आउँदा लादी(गोबर) छाड्थे, ठ्वास्स गन्हाउने । कतै भने त्यस्तै खच्चड र घोँडाको सुकेको लादी कुचेरै हिँड्न पर्ने ।

अगाडिका साथीले नविसाइ हिँडिरहँदा, आपूmलेमात्र कतै विसाए आपूm कमजोर भएको ठहरिएर इज्जत जाने । त्यसैले सकि नसकी अघिको साथी भन्दा दुरी बढ्ने गरी टाढा हुन पनि नहुने गरी जोड गर्दा निस्केका पसिना ठसठसी गन्हाउने । अझ पिठ्यूको भोटो त पसिनाले लछप्पै भिजेको हुन्थ्यो । भारि विसाएर ढाकर छाड्दा भोटो भित्रसम्म पुगेर हावाले छाला छुन पाउँदा त चीँसो लाग्ने । सित्तल हुने ।

अहिले भने त्यसको ठीक उल्टो हुन्छ । मोटर–वेमा अगाडिको गाडी भन्दा कम्तिमा दुई सेकेण्डको दुरीमा पछि बसेर गाडी चलाउ भनेर सूचना पाटीले सम्झाइरहँदा गाडी बीचको दुरी कम भएर इज्जत गयो कि झै भैरहन्छ ।

 
 
There are no data records to display.
   
Comment:
Date:
Name:
LastName:
Address:
City:
PostalCode:
PhoneNumber:
EmailAddress:
WritingId:
Insert  Cancel

www.flykathmandu.co.uk

Received Comments



www.flykathmandu.co.uk
Please write email to belbase@flyktm.com to get permission to publish my article to your media.