Govind Belbase
<January 2023>
SuMoTuWeThFrSa
25262728293031
1234567
891011121314
15161718192021
22232425262728
2930311234
उपन्यास: NRN (बेलायत)को कथाबस्तु – "एम्मा" – भाग 3
भाग – ३

समवेदना र मन शान्तिकोलागि चोख निध गरेर हामी पहिलो दिन वितायौ । दोस्रो दिन, काजकृयाको विषयमा सल्लाह गर्न नेत्र दाइ र नन्दराम पण्डित आउनु भयो । केही समय अघि मामा घरका हजुरबुवा पनि आइपुग्नु भएको थियो । त्यहीँ हुनुहुन्थ्यो । नन्दराम गुरुले नै कुरा काजकृयाको तर्फ मोड्दै भन्नु भयो ‘कृया कसलाई बसाल्ने हो ?, छोरीले त ठाडो कृया मात्र गरे हुन्छ, बाहुन खोजेर राख्ने हो कि ?’


बुवाको अध्यात्म र हाम्रा संस्कार सम्बन्धी विचारबाट म पुरै प्रभावित थिएं । हाम्रा संस्कारहरु कुरितिहरुबाट भरिएका र समय सापेक्ष नभएको कुरामा म ढुक्कै थिएं । तर, समाज तथा लोकलाजसँग कसरि पहल गर्ने कति विद्रोह गर्ने ? कति चुपचाप सहेर बस्ने ? नन्दराम गुरुका कुरा कति पत्याउने र पालन गर्ने म अन्योलमा थिएं । अझ त्यसमा पनि बुवाले सुनाएका गरुण पुराणमा भएका भ्रमहरु मैले पचाउन सक्ने स्थिति रहेन । पुनर्जन्मका विषय, अघिल्लो जुनीमा पाप गरेकाहरु क्षयरोगबाट मर्छन्, धर्मात्माहरुको प्राण शिरबाट जान्छ भन्ने जस्ता गरुण पुराणका विषयमा बुवाले नै मलाई बताउनु भएको थियो । आमाले माघ महिनामा सुन्ने गरेको स्वस्थानी ब्रतकथाका राक्षस मरेर पृथ्विका पहाड, डाँडा, माटो भएको भन्ने विषयदेखि गरुण पुराणका विषयले हाम्रा अध्यात्मवादी सोचमा मडारिएका संस्कारहरु पनि म विस्वास गर्नै नसक्ने स्थितिमा पहिल्यै देखि पुगेकी हुँ । म अहिले त्यही विस्वास नहुने तथ्याहरुको जञ्जालमा जेलिएको अवस्थाबाट निकास खोज्ने प्रयासमा छु ।

त्यत्तिकैमा मामाघरका हजुरबुवाले भन्नु भयो ‘छोरीले ठाडो कृया गर्छिन र बाहुन खोजेर कृया बासल्न पर्यो, कति पैसा लिन्छन कुन्नि ? कता कसरि ब्यवस्था गर्ने हो कुन्नि गुरुले नै सवै मिलाउन पर्यो ।’ भन्दै नन्दराम गुरुको उत्तरको आशा गर्दै उहाँतिर फर्कनु भयो ।

मेरो बाक्य नै निस्किरहेको थिएन । न त म हजुरबाका कुरा पालन गर्न सक्थेँ न त सामाजिक नियमहरुसँग जुध्न सहज थियो । तर, मैले दुई मध्ये एउटा बाटो रोज्नै पर्छ । मैले असहज बाटो रोज्ने निधो गरें र भने,

‘हजुरहरुको मन दुखाउन त मलाई पटक्कै मन छैन, तर, मैले बुवाले सिकाएका कुराहरु पनि पालन गर्नै पर्छ, उहाँ हामीसँग अव नरहे पनि उहाँका विचारहरुलाई जिवित राख्न मैले कोसिस गर्नै पर्छ । चलिआएका रितिरिवाजहरुमाथि यस्तो सम्बेदनशील अवस्थामा प्रश्न उठाउन पक्कै गाहारो कुरा हो । मलाई थाहाछैन, मैले भनेका कुराहरुले कसकसको मन दुख्छ र पत्याउन गाहरो छ । तर, मैले आज केही विद्रोह गर्न सकिन भने यो समाजबाट समय सपेक्ष नरहेका कुरितिहरु हटाउने जिम्मेवारीबाट म पनि चुकेको दोष मैले पनि बोक्न पर्ने हुन्छ ।’

म बोल्दै गर्दा हजुरबाले बीचमा भन्न थाल्नु भयो ‘इश्वरसँग डराउनु पर्छ नातिनी, राम्ररी कृयाकर्म भएन भने छोरी र ज्वाइको आत्मा भड्किन्छ, उद्धार हुँदैन, त्यसैले साष्त्रमा भने अनुसारको कर्म त गर्नै पर्छन नि ।’

हजुरबुवा बोल्दै गर्दासम्म चुपलागेर उहाँको कुरा सुनिरहेँ ।

उहाँले भन्दै जानुभयो ‘यसरी कृयाक्रम नै नगर्ने र संस्कार पुरा नगर्ने हो भने त एक दिन हामी पनि मर्ने हो, हाम्रो आत्माले पनि मुक्ति नपाएर दुखः पाउने हुन्छ । भगवानसँग डराउनु पर्छ नानी तिमीहरुले पढेलेखेर जान्ने भएर डाक्टर भएर यस्तो कुरा गर्न हुँदै हुँदैन । म खोज्न लाउँछु बाहुन र सवै कर्म गरेर उनीहरु दुवै जनाको उद्धार गर्ने ब्यवस्था मिलाउँछु ।’

उहाँ त मेरा कुरा सुनेर निकै रिसाइ सक्नु भएको रहेछ । सायद बुवाका तर्कहरुबाट उहाँ पहिला देखिनै परिचित हुनुहुन्थ्यो क्यारे ! त्यसैले मेरा सवै कुरा पनि नसुनी मैले भन्न खोजेका सवै कुरा बुझेको जसरी उत्तेजित हुनुभयो ।’

अवस्था र स्थितिलाई मध्यनजर गर्दै स्थितिलाई सम्हाल्नु पर्ने जिम्मा म आफै माथि पर्यो । महिलाहरुले केही जानेका हुँदैनन् भन्ने भावना दिमागमा पालेका हजुरबुवा र नन्दराम पण्डित साथै उनीहरुकै कुरामा सहमति जनाउने मानिसहरुको घेरामा म थुनिएकी छु । यो घेरा तोड्ने प्रयास गर्ने कि आत्मसमर्पण गर्ने म दोधारमा भए पनि मनले भने विद्रोहको प्रयास गर्न आदेश दिइरहेको छ । अरुसँग विद्रोह गर्न भन्दा आपनै भनेकाहरुसँग विद्रोह गर्न झन गाहरो हुँदोरहेछ । नेपालमै बसोबास गरिरहन पर्ने भैदिएको भए म हार्थें र आत्म समर्पण गर्ने सम्भावना हुन्थ्यो जस्तो लाग्न थाल्यो । मैले विदेश बसाइ भएको फाइदाका रुपमा विद्रोह गर्ने आट जुटाउने सोँच बनाउन सफल भएं, र भने

‘उमेरले हजुरहरुका कुरा अनुभवि छन् । तपाइहरुको भावनाको कदर गर्छु । तर, हजुरहरुका ऋषिमुनिहरुले खुला आँखाले तारा गनेर गरेको गणनाका भरमा बनाएको ज्यातिष शाष्त्र र धर्मशाष्त्रहरु पुराना भैसके । कम्प्यूटरको सहाराले मानिसले धेरै कुरा बुझिसकेकोले अहिले ती कर्मकाण्ड र पुराणहरु पुराना भैसके । रेडियो पनि नबनेका जमानाका मान्छेले बनाएका नीति र संस्कारहरु अहिलेको फेसबुक र भाइबर जस्तो सुविधाले ज्ञान थपेको तथा हर्बल भन्दा पनि शक्तिशाली टेलिस्कोपबाट अन्तरिक्ष अध्ययन गरेका मान्छेको जमानामा इश्वर र भगवान प्रतिको सोचाइ पनि फरक छ ।’

मेरा कुराले हजुरबुवाको दिमागलाई अलि ठण्डा पारेछ क्यारे, तर्कमा अलि कमजोर महसुस गरेर नै होला पहिला भन्दा उत्तेजना अलि कम प्रदर्शन गर्दै भन्न थाल्नु भयो ।

‘मान्छेले हैन नानी देउताले बनाएका नियम हुन, संस्कार त चलाउनै पर्छ, जिद्दी नगर ।’

तर्कमा गले पनि उहाको अडान भने कायमै थियो । उता नन्दराम गुरु पनि नबोलीनबोली हजुरबुवाको जितमा आफ्नो जित हुने ठानेर निधार खुम्चाउँदै आँखा तन्काउँदै चनाखा पारेर कान थाप्दै बस्नु भएको छ ।

मैले थपेँ ‘हाम्रा पुराणहरुले त दिमाग भएका मान्छे जस्तै अझ उन्नत जीव (भगवान)ले संसार उत्पित्ति गरेको भन्नुहुन्छ । धर्मका नियमहरुलाई उनैले बनाएको नियम भन्नु हुन्छ हजुरहरु । शाष्त्रले त इश्वर निराकार हो भन्छ नि त । त्यसैले पहिलेका असल मान्छेहरुले लेखेका तथा बनाएका हुन पुराण हजुरबुवा । हामी साना छँदा जेगीहरु ठूलो चिम्टा उचाल्दै बजाउँदै “अलोक निरञ्जन” भन्दै भिक्षा लिन आउँथे । अलोक निरन्जन भनेको त सन्सार सुन्यबाट सुरु भएको हो भन्ने त हो नि । देउता भगवान भनेका त समाजको हितमा काम गरेका ब्यक्तिहरुलाई आदर गर्दा गर्दै पछिका पुस्ताले मानिस नभएर मानिसको दिमाग भन्दा बाहिरको अलौकिक शक्तिको रुपमा बुझ्ने गरेका मात्र त हुन नि । अहिलेको विज्ञानको खोज अनुसार पनि निराकार शुन्यबाट ब्याल्यक होल, तथा डार्क इनर्जीको क्रमपछि उत्पत्ति हुने शौर्य मण्डल आदिका ब्याख्या हुने गरेको छ । अहिलेका कम्प्यूटर र यन्त्रले प्रकृतिका नियम बुझ्न मान्छेलाई धेरै सजिलो पारेका कारण हाम्रो पुस्ताले हजुरहरुले जस्तो अन्धाधुन्ध धुर्त कुरा पत्याउँदैनौ । अव भन्नुस त गुरुहरुले हामी साना छँदा चन्द्र ग्रहण लाग्दा छोड् चमारे, छोड भन्ने सिकाउनु भयो, मान्छे चन्द्रमामा पुगेर आएपछि हजुरले पनि त चमारेले छोएर ग्रहण लागेको कुरा पत्याउन छाड्नु भयो हैन र ?’

यस पटक भने मेरो तर्कले हजुरबालाई पनि सहमत पारेछ । पण्डितका सवै कुरा ठीक हैनन् भन्ने बुझे जसरि अनुहारमा अलि नरमपन झल्काउनु भयो । छुस्स परेका सेता दाह्री कनाउँदै ढोका भित्र प्रकाश छिरिरहेको तिर हेर्न थाल्नु भयो । वास्तवमा उहाँले तर्कमा परास्त भएर नजर लुकाउन उता हेर्न थाल्नु भयो ।

मेरो मनभित्र पहिलाको भन्दा अलि बढि आँट पलाउन थाल्यो । हजुरबालाई तर्कमा गलाएं भने अरुले त दवाव पार्ने अवस्था सिर्जना गर्न सक्दैनन् जस्तो लाग्न थाल्यो । उता नन्दराम गुरुले भने हजुरबुवाको अवस्थाबाट निरास हुँदै गुन्द्राको छेउँको टुप्पो भाचेर त्यसैले भुई कोट्ट्याउँदै घोप्टे मुन्टो लगाउनु भयो । हुन पनि यी संस्कार र कुरितिमा उहाँको ब्यापार तथा कमाइ अडिएको छ । यस्ता विद्रोहले जित्दै जाने र हजुरबुवाहरुको तर्क परास्त हुँदै जानेहो भने रोजगारी नै गुम्ने खतराका कारण उहाँ चिन्तित हुनु स्वभाविक नै थियो । उहाँ जस्ता पण्डितहरुको कमजोरी भनेकै परिस्थिति अनुसार चेतना विकास भएसंगै आफुलाई परिस्कृत गर्न नसक्नु हो । समाजले अव पुराना पुराण नपत्याउने भैसकेको छ । आउट डेटेड तथा सर्वसाधारणले विस्वास गर्न नसकिने स्थितिमा पगिसकेका संस्काहरुलाई समय अनुसार परिस्कृत गर्न नसके अवैज्ञानिक संस्कार हराएर जान्छन् । समस्या त के भने अझै पनि समयानुकुल तथा जनचेतना अनुसार संस्कारमा परिमार्जन गर्न पर्छ भन्ने सोच धर्मको ठेक्का लिएको छु भन्ने ज्ञानी पुरुष कहलाउन रमाउने आत्मरतिमा रमाएकाहरुका दिमागमा यो चढेकै छैन् । उनीहरु त चाडक्यका समय भन्दा पहिलाका पुराणलाई सनातन रुपी विश्लेषण गर्ने पक्षमा सोच्न पनि चाहँदैनन् । धर्म र अध्यात्मबादीहरु त पुर्विय संस्कृतिका मात्र नभएर पश्चिम जगतका क्रिश्चियनहरुमा पनि उस्तै हो । तर, पछिल्लो समयमा जनचेतना अनुसार परिमार्जित संस्कार विकास गर्न पश्चिमा धर्मगुरुहरु अगाडि बढेको पाइन्छ । उदाहरणको लागि समलिङ्गीहरुका विषयमा पश्चिमा सभ्यतामा समाजले स्वीकार नगर्ने मात्र होइन कडा सजाय दिने ब्यवस्था रहेकोमा अहिले समलिङ्गीहरुका बीचमा विवाह गर्न सम्म अनुमति दिने परिमार्जन गरेर धार्मिक मान्यता बचाउने प्रयास गरिरहेका छन् । तर, जनचेतनाको स्तर जुन गतिमा बढ्दै छ, अध्यात्मबाद भने त्यसै गतिमा घट्दो छ र भौतिकबादमा विश्वास गर्ने मान्छेहरुको संख्या बढ्दो छ । हाम्रा पुर्खाहरु त पश्चिमाहरु भन्दा उदार रहेछन् भनेर हेर्न रामायणमा राम बनबास जाँदा समलिङ्गीहरुलाई सम्बोधन गरेको प्रसङ्गबाट पनि पुष्टि हुन्छ । तर अहिलेका पण्डितहरु समयानुकुल संस्कार विकास गर्न नै नजानेका ठहरिएका छन् । त्यसैका कारणले गर्दा कित समाजमा धर्मप्रति विस्वास हट्दै गएको छ कि त अन्य धर्मका मान्छेहरुले धर्म परिवर्तन गराउने हतकण्डा अपनाउन सफल हुने अवस्था बनेको छ । तर यी तर्क ब्याख्या गरेर न त नन्दराम गुरुलाई न हजुरबुवालाई सम्झाउन सम्भव छ । फेरि समयानुकुल संस्कार परिवर्तन गर्ने कुरामा उहाँहरुमात्र सहमत भएर पनि हुँदैन । अध्यात्मबादी प्राज्ञहरुमै समयानुकुल संस्कार परिमार्जन गर्ने विषयमा सक्रियता नबढेसम्म केही हुनेवाला पनि त छैन ।

केही क्षणको मौनतालाई भङ्ग गर्दै दिनेशले पनि मेरो तर्कलाई समर्थन जनाउँदै भन्न थाले ‘हामीले चलिआएको संस्कार गर्दा पुराणले भने जस्तो बुवाआमाहरुको आत्माको उद्धार हुने भए हामी जे पनि गर्न तयार हुन्थ्यौँ । तर पुराणका कुरा अहिलेका पुस्तालाई विश्वास लाग्ने खालका नभएकोले यसको विकल्पमा बरु गाउँको स्कूलमा छात्रबृत्तिको कोष खडा गरेर काजकृया गरेको भन्ने कर्तब्य पुरा गर्न बीस लाख नेपाली रुपैयाँको अक्षयकोष बुवाआमाको नाममा खडा गरौं । त्यो नै वास्तवमा उहाँहरुको आत्माको उद्धार हुने कदम हुन्छ भन्ने कुरा नै वितेर जानु भएको बुवाबाट मैले पनि सिकेको हुनाले अक्षयकोष खडा गरौ भन्ने अनुरोध गर्न चाहन्छु ।’

उनका कुरा सुनेपछि केही प्रतिकृया आउँछ कि भनेर एकछिन मौन हुँदा पनि कोही नबोलेपछि मौनता तोड्दै उनले भन्न थाले ‘अहिले हामी पुर्वजले गर्दै आएको कुरा मान्ने चरणमा छौ, पुराणहरुमा थुप्रै अवैज्ञानिक भएको तथा पत्याउन नसकिने विषयमा बुझेका छौ, तै पनि संस्कार जोगाउन मान्न तयारै भए पनि अव हाम्री छोरी यहीँछन् । यो पुस्तालाई हामीले कुन दिशा देखाउन सक्छौ ? अहिले हामीले सही मार्ग देखाउन सकेनौ र हाम्रा संस्कार र संस्कृतिमा भएका कमि कमजोरी सुधार गर्ने चाँजो मिलाउन जानेनौ भने आगामी पुस्ताले अन्य धर्मले सिकाउन थाल्ने संस्कार र सस्कृति मान्न थाल्ने छन् । त्यसैले यस विषयमा त सवै भन्दा बढि पण्डितजीहरु लाग्नु पर्छ । समय र जनचेतना अनुसार असान्दर्भिक रहेका संस्कारहरुलाई परिमार्जन गर्न पण्डितहरुले सम्मेलन गर्नु पर्छ । पुराणमा लेखेका कुरा मात्र सत्य हुन भन्दै अड्डि कस्दैमा नयाँ पुस्ता यसैमा अडेर बस्न सक्दैनन् । नेपालमा क्रिश्चियनहरु बढे भनेर चिन्ता गरेको धेरै सुनिन्छ तर जुन कारणले पराम्पारदेखि चलिआएको धर्म मानिसले छाड्दैछन् त्यो कारण पत्ता लगाएर सुधार गर्न पण्डितहरु सचेत हुन ढिला भैसकेको छ ।’

उनले हाम्रा वैदिक ज्ञान तथा अध्यात्मबादी पूर्विय दर्शनलाई एकजना गैर आवासीय नेपाली नारायण घिमिरेको विचार ब्यक्त गर्ने अनुमति माग्ने औपचारिकता निभाउँदै अगाडि भन्न्न थाले । नारायण घिमिरे क्यानडामा बस्ने नेपाली हुन र उनको लेख नेपाली पत्रिकामा प्रकाशित भएको बताउँदै उनले ब्याख्या गर्न थाले–
‘संस्कृतमा वेद शब्दको अर्थ ज्ञान भन्ने हुन्छ । वैदिक ज्ञानलाई आध्यात्मिक प्रकृतिको ज्ञान मानिन्छ । जुन अनुभव र अनुभूतिबाट प्राप्त हुन्छ । वैज्ञानिक रूपमा पुष्टि नहुँदा–नहुँदै पनि आध्यात्मिक ज्ञान व्यक्ति र समाज दुवैको जीवन्त अनुभवको माध्यमबाट मानिसले अनुभूति गर्छ ।

पाकेको आँपको वास्तविकता भनेर विज्ञानले त्यसको कडापन, नरम पन, तौल, संख्या, लम्बाइ, चौडाइ, रसिलोपन जस्ता गुण आदि मापन गर्छ । मापनका लागि भौतिक औजारहरूको प्रयोग गर्छ । वैदिक ज्ञानले आँपको रङ्ग, स्वाद, छाम्दा महसुस हुने नरमपन, वासना आदिबारे हामीलाई अनुभूति गराउँछ । जसको लागि हाम्रा इन्द्रियहरू र चेतना उपयोगमा आउँछन् ।

वेदमा कुनै पनि संस्कृति विरोधी, समाज विरोधी, दर्शन वा धर्म विरोधी कुण्ठा, इर्ष्या, कुटिलता, घृणा वा तिरस्कार छैनन् । छ त व्यक्तिगत र समाजको समेत लाभ पुग्ने जीवनको अर्थ, अस्तित्व लगायतका व्यावहारिक ज्ञानका विषयहरू । अर्को मुख्य चुरो कुरा वेद कुनै अमूक संस्कृतिको वा धर्मको ग्रन्थ हैन । यथार्थमा हिन्दु, जैन र बुद्ध जस्ता संस्कृति र दर्शनहरूमा वैदिक ज्ञानको निकै प्रगाढ प्रभाव भेटिन्छ ।’

उनका कुरा एक प्रबचन जसरी उपस्थित सवैले सुनिरहेका थिए । कोठामा एकदम शान्ति छाएको थियो र सवै एकाग्र भएर दिनेशका कुरा सुनिरहेका थिए । उनले त्यत्तिवेर बोलिरहँदा अरु आफन्तहरु पनि त्यहाँ आउँदा पहिलेदेखि त्यहीँ भैराखेका अरु ब्यक्तिले इसाराले नै शान्तिपुर्वक त्यहाँ बसेर दिनेशका कुरा सुन्न इसारा गर्थे । त्यो इसारा बुझेर चुपचाप बसेर दिनेशका कुरा सुनिरहेका थिए ।

म भने आफ्नै धुनमा मग्न भएछु । उता दिनेशले बाचन गर्ने र स्रोताहरु ध्यानदिएर सुनिरहने गर्दा मैले पुराना कुरा सोचिरहेकी रहिछु । दिनेशले के के भने भन्ने त मलाई ख्यालै भएन । म साइकलमा लडेर पेटमा घाउ लागेपछि मिसन अस्पतालमा मलाई भर्ना गर्दाका दिनहरु मनमा खेलिरहेका थिए ।

त्यत्तिवेला मलाई आमाले भन्दा पनि बुवाले धेरै सेवा गर्नु भयो । अरु समयमा त म बुवाभन्दा बढि आमासंग नगिच हुन्थेँ । भान्सामा, कतै विहावारि, ब्रतबन्ध, पुजाआजामा जाँदा पनि आमाकै सामिप्यता बढि हुन्थ्यो । तर, म मिसन अस्पतालमा भर्ना भएको त्यो बेला भने म बुवासंग निकै प्रभावित भएं । उहाँको ममता निकै गहिरियो । हुन त सधै बुवाको माया पाएकै हो तर समाजका चलन र रितिरिवाजमा बुवासंग त्यत्ति धेरै भावना फुटेको मैले त्यसबेला पाएं । त्यसैले होला अहिले मेरो मनमा ती कुराहरु खेलेको पनि ।

एक दिन म साझँ साइकिल चलाएर हावा खान घरबाट निस्किएँ । तिनताका एसएलसीको परिक्षाको तयारि गरिरहेकीले दिनभरि बढेर बसेकी थिएं । टिउसनका टिचर माधव सर पनि सालीको विहामा गएकाले घरबाट बाहिर नै निस्केकी थिईन । टिउसन जाँदा एस्सो घरबाट बाहिर निस्कने मौका मिल्थ्यो त्यो पनि त्यस दिन मिलेको थिएन । स्कूल त विदा नै भैसकेको थियो । त्यसैले दिनभरिको घर भित्रको उकुस मुकुसबाट एस्सो वाहिरको वातावरणमा रमाएर फर्कन्छु भनेर साइकल लिएर निस्किएकी थिएं । घरबाट निस्कनु अघि सधै झैँ ‘आमा म दिनभरि बढेर बस्दा बोर भएकी छु, एक छिन साइकलमा एक चक्कर लगाएर आउँछु मुड पनि अलि फ्रेस हुन्छ ।’ भनेर निस्केकी थिएं ।

घाम डुब्नै लागेका थिए, साँझ वितेर झमक्क हुनभन्दा पहिला नै घर फकिएर आइपुग्ने गरी निस्केकी थिएँ । हामी केटीहरुलाई साँझ परेपछि बाहिर निस्कने छुट पनि नहुने हाम्रो समाजको चलनलाई मैले ज्ञानी छोरी बनेर पालन गर्ने बानी नै परेको छ । त्यसको असर त छँदै थियो । हाम्रो घरबाट निस्केर एउटा गाडी सजिलै डिँड्न मिल्ने गल्ली सकिएर मुल सडकमा पुग्दा एउटा सानो कल्भर्ट छ । मुल बाटोको पिच पहिला नै भएको र हाम्रो घर भित्र छिर्ने गल्लीको पिच हालचालै भएकोले त्यो कल्भर्ट र मुल बाटो मिसिने ठाउँमा बाटोको सतह मिलेको छैन । त्यही मिलाउनलाई होला थोरै पिच नगरिएको गिट्टी विछाइएको भाग थियो ।

पहिला जाँदा त त्यहाँ निर केही खास फरक परेन । फर्केर आउने बेलामा त्यस भन्दा परको घुम्तिमा केटाहरु गफ गर्दे बसेका रहेछन् । उनहिरुलाई देख्दै मनमा अव यो उरन्ठ्याउलो जमातले जिस्काउने होलान भन्ने आशंका जन्मियो । म सकेसम्म उनिहरु बाट तर्किएर जाने विचारले साइकल अलि पल्लो पट्टिबाट लान खोजेकी थिएं तर त्यहीँ निर एउटा बस पार्क गरेर राखिएको रहेछ । त्यसैले गर्दा ती केटाहरु भए निर पुग्दा धेरै परबाट तर्किन पनि मिलेन । ती उरन्ठ्याउला केटाहरुले कसैले केके भन्ने कसैले जिउरो पड्काउने गरेर जिस्काउन थाले । मलाई उनीहरुलाई गाली गरेर “सोमत छैन, केटीलाई सम्मान गर्नपर्छ भन्ने बुद्धि छैन तिमीहरुको” भनेर भनु जस्तो पनि नलागेको पनि होइन तर हाम्रो समाजले पोथी बास्न हुँदैन भन्दै सहेर बस्न सिकाएको पाठ सम्झँदै मैले उनीहरुसंग बच्न तर्केरै जाने मनसायले साइकलको प्याडलमा बल गरेर थिचेँ । साइकलको गती तेज भयो । साझँ झमक्क भएर उज्यालो हराउँदै अध्यारो बढ्दै गरेको समयले पनि मलाई डराउन दिइरहेको थियो । अध्यारो जति बढेर गयो ती उरन्ठ्याउलाहरुको मात झन बढेर आउने गर्छ । विवेक हराउने गर्छ ।

अध्यारो बढ्दै जानथालेको भान पनि भएकोले साइकललाई मैले सकेजति दौडाउन प्याडलमा शक्ति थपिरहेकी थिएं । त्यत्तिखेरका हाम्रा साइकलमा गियर हुन्थेन तै पनि अलि बढि गतीमा साइकल घरतिर लैजानु र घरभित्र चाडै छिर्नु मेरो एकमात्र ध्याउन्न थियो । उता अलि अवेला भयो र झमक्क भए पछि घर छिरें भने आमाको अर्तिबुद्धिका एक भकारी शब्द सन्न पर्छ भन्ने अर्को डर पनि थियो । त्यसैले मेरो शरीरको पुरै शक्ति लागएर सकेसम्म छिटो गतीमा मैले साइकल दौडाउँदै जाँदा त्यही कल्भर्ट तिरको ग्राभेलबाट साइकल घर तिर मोडेकी मात्र थिएं घल्र्याम्म मेरो साइकल पल्टियो । मलाई साइकलले कता के चोट लाग्यो भन्नु भन्दा पनि कसैले म लडेको देख्यो कि भन्ने लाज बढि लागिरहेको थियो । साइकको डण्डीले पेटमा घोँचेको ठाउँमा हातले छाँमे रगत आएको थिएन । तर भित्र निकै जोडले लागेको थियो, दुखिरहेको थियो तर रुन मनलागे पनि रुनै सकिरहेकी थिइन । अरुले देख्लान भन्ने डरले मेरो रुने मन पनि डराएर लुकेको थियो ।

हत्तपत्त उठेँ, पेट दुखिराखेपनि साइकल उठाएर चढेरै घर तिर गएं । पेट झन पछि झन दुखिरहेको थियो । दुखाइ बढ्दै थियो । आमाले भात खान बेलाउँदा एकछिन पछि खान्छु पेट दुखेको छ भनें । तर साइकलबाट लडेर पेटमा चोट लागेको कुरा बताइन । आमाले महिनाबारी हुने बेला हुँदा पनि पेट दुख्ने जस्तै सामान्य केही भएर दुखेहोला भन्ने ठानेर आफ्नो धन्धामा लागिरहनु भयो । आमाले बुवाका कपडामा आइरन लगाउँदै हुनुहुन्थयो । बुवा अफिसबाट फोन गरेर साथीकहाँ पसेकोले अलि अबेर गरेर घर आइपुग्ने बताउनु भएको रहेछ । त्यसैले पनि संगै खाना खाने भन्ने सोचेर पनि आमाले खासै निधिखोजी पनि पार्नु भएन । मलाई पनि साइकलबाट लडेको भन्न लाजलागि रह्यो ।

पेट भित्रको घाउ ठूलै रहेछ क्यारे झनपछि झन् दुख्न थाल्यो । खटाउनै नसक्ने गरी दुखाइ बढ्दै गयो । बुवा आइपुगेपछि खानाखान आमाले कर गरेपछि मैले पेट झनपछि झन दुखेको बताउँदा कर गरेर किन दुखेको निधिखुदी पार्न थालेपछि मैले साइलबाट लडेको बताएँ ।

साइकलबाट लडेर हेण्डलले पेटमा घोचेकोे र दुखाइ झन्पछि झन् बढ्दै गएको थाहा पाएपछि खाना पनि खान नथाली बुवाले उहाँको एक ब्यापारी साथीलाई गाडी पठाइदिन भन्नु भयो । मलाई अस्पताल लिएर जानु भयो । बुवाले खानै खान छाडेर मलाई अस्पताल दगुराउन थालेकोले बुवाको त्यो ममताले मलाई फतक्कै गलायो । मैले अनियन्त्रित तरिकाले साइकल दगुराउनाले बुवालाई भएको चिन्ता र खानै खान छाडेर अस्पताल लैजाने ममता मैले त्यत्ति बेला भन्दा पनि मैले छोरी हुर्काउन थाल्दा छोरीको पिडामा मैले भोग्ने पिडाका बेला जहिले पनि सम्झने गर्छु । छोरी दुखेर रुँदा मलाई नै दुखे जस्तो हुन्छ, बुवालाई पनि त्यस बखत त्यस्तै भए हेला भनेर मन पोलेर आउँछ । हुन त त्यस भन्दा पहिला पनि बुवाको मन कत्ति पटक दुखेहोला । उहाँको मन मैले धेरै पटक दुखाएं पनि हुँला ! तर त्यत्ति ध्यान दिएकी थिइन । तर, त्यस दिनको त्यो घटना मेरो मनमा गडेर बसेको छ ।

डाक्टरले मलाई पेटमा साइकलको हेण्डलले घोच्दा बाहिरी चोट नदेखिए पनि आन्द्रमा चोट लागेकोले तुरन्तै एम्बुलेन्समा मिसन अस्पताल लैजान सल्लाह दिए । मिसनमा पुगेर जाँच्दा त आन्द्राबाट खाना रसाएर पेटमा फैलिन थाले पछि झनपछि झन् दुखेकोले अपरेसन तुरन्तै गरेर आन्द्राको घाउ टाल्नु पर्ने बताए । बुवा र आमाले रात भरि नै केही खाँदा पनि खानु भएन ।

अपरेसन पछिका रातहरुमा म बेडमा सुतेकी हुन्थें बुवा भुइमा तन्ना बिछाएर सुत्नु हुन्थ्यो । हरेक जाँच रिपोर्ट आउँदा परिणाम (रिर्पोट)मा चासो दिएर डाक्रसंग सोधिहाल्नु हुन्थ्यो । मानौ उहाँलाई अफ्नो शरीरको भन्दा बढि मेरै शरीरको चिन्ता थियो । म विरामी भएर अस्पताल बस्नाले उहाँको कार्यालय अनुपस्थिति समेतका कारण उहाँको बढुवा ढिलो भए पनि उहाँले कुनै दुखः देखाउनु भएन । उहाँलाई त मेरो शरीर सञ्चो भएकोमा खुसी थियो र बढुवा नहुनुमा कुनै पछुतो नै थिएन ।

त्यो त ठूलो घटना भएर सम्झिरहन्छु । त्यस्ता त्यागका बुवाका कुरा गरी साध्यै छैन । बुवाको भन्दा त्याग र ममताका देन आमाका अलि धेरै नै गुणा बढि थिए ।

दिनेशले आफ्ना भनाईलाई विट मार्दै चुप्प लागेपछि एकै छिनको मौनतालाई भङ्ग गर्दै पिताम्बर काकाले भन्न थाल्नु भयो–
‘जहाँ पनि यस्तो दुखःको अवस्थामा गरुण पुराणका कुरा सुनाएर विरक्त भएको थिएं । न त त्यो गरुण पुराण सुनाउने परम्पराको विरोध गर्ने आँट नै आउँथ्यो नत उक्त पुराणमा लेखिएका कुरामा विश्वासै लाग्थ्यो । आज दिनेश ज्वाइले मेरा त आखाँ नै खोलिदिनु भयो । उहाँको यो प्रवचन त रेकर्ड गरेर यस्ता अवस्थामा गरुण पुराण सुनाउन छाडेर सुनाउन पर्छ जस्तो लाग्दै छ मलाई त । हुन त म आउँदा ज्वाइले यी कुरा बोल्दै हुनुहुन्थ्यो मैले सुरुका कति कुरा त छुटाएं । तर, जति सुने मेरा लागि त्यत्ति नै पनि पर्याप्त छ । अव पण्डितका गरुण पुराण होइन दिनेश ज्वाइका यथार्थ कुराले हाम्रा संस्कार र संस्कृति बचाउन सकिन्छ ।’

कोही मरेर कृया बसेको अवस्था तथा मरो परेको घरमा ढोगभेट नगर्ने चलन छ । त्यसै अनुसार मामा घरका हजुरवुवा त्यहीँ भएर उहाँलाई ढोग्ने मनसाय भए पनि पिताम्बर काकाले ढोगभेट नगरी कोठामा प्रवेश गरेपछि चुपचाप बसेर दिनेशका कुरा सुनिरहनु भएको थियो । हजुरवुवा र नन्दराम पण्डित सङ्सँगै बस्नु भएको थियो । पिताम्बर काकाले कुरा सक्दै दिनेशका कुरा प्रति हजुरबुवाको प्रतिकृया आशा गर्दै हजुरवुवा र पण्डित बसेका तिर हेर्न थाल्नु भयो । सवैले हजुरवुवाको विचार सुन्न खोजेको ठानेर हजुरवुवाले आफू बोल्न पर्ने परिस्थितिलाई मुल्याङ्कन गर्दै भन्न थाल्नु भयो–

‘हाम्रा ग्रन्थ भनेका इश्वरले दिएका ज्ञानबाट बनेका हुन । बेद इश्वरका बाणि हुन । अँ, अरु ग्रन्थहरु मान्छेले ब्याख्या गर्दा कतिपय कमजोरी त भएको हुन सक्छ । त्यो भन्दैमा पुस्तौदेखि मान्दै आएको, म बयासी वर्षको भएँ, मेरो जीवनकालमा देखेको तथा हाम्रा बाजे बराजुले मान्दै आएको संस्कार चलाएर नर्क नगएर स्वर्ग जाने बाटो त बनाइदिन पर्यो नि त !’

उमेरले समेत गर्दा हजुरवुवाको कुरा नमान्न अप्ठारो हुन्छ । पण्डितहरुले जे भन्दै आए, सिकाए, त्यसको छाप जीवनभरि बसेकोले चलिआएको संस्कारमा फेरबदल गर्ने कुरामा उहाँका उमेरका ब्यक्तिहरु सहमत हुने कुरा पनि भएन । डारविनको विकासबाद तथा इभोलुसन सिद्धान्त उहाँलाई थाहा नै छैन । उहाँले संसारको उत्पत्तिका विषयमा स्वस्थानी कथामा ब्याख्या गरिएको जस्तो देवता र राक्षसका विषयका रुपमा मात्र बुझ्नु भएको छ । उहाँलाई जे सिकाइयो, जे पढाइयो, विद्वान मानिएका पण्डितहरुले जे सिकाए त्यही ज्ञान हुने नै भयो । ऋषिहरुले निजी स्वार्थ त्यागेर समाज हितका लागि रचेका मान्यताहरुबाट हाम्रा संस्कार सुरु भए । उनीहरुले सवै भन्दा पहिला निराकार, त्यसपछि ब्रम्हा, विस्णु, महेस, त्यसपछि बल्ल देवताका परिकल्पनाका आधारमा धार्मिक नियम बनाइएका हुन । तर, समस्या त के भयो भने टपरे पण्डितहरुले आफुलाई कमाइ हुने अर्थ लगाएर ब्याख्या गर्न थाले । ज्योतिषहरुले वर्षौसम्म तारा, सूर्य र चन्द्रमाका स्थान गणना गरेर ग्रहण लाग्ने समय–चक्र निर्धारण गरे । तर, बाहुनहरुले ग्रहण लागेको त “पवित्र चन्द्र भगवानलाई चमारेले छोएर हो” भनेर जातिय प्रथालाई प्रमाणित गर्ने भ्रम फैलाए । जातीय ब्यवस्था र छुवाछुत जति धेरै भयो पेशागत टपरे बाहुनहरुलाई त्यत्ति नै फाइदा हुने भएकोले उनीहरुले त्यसै अनुरुप धर्मका नाममा नियमहरु बढाउँदै लगेर अहिलेको अवस्था पुगेको हो । भारतमा मुगल सम्राटहरुले राज गर्न थालेपछि पूर्विय दर्शनको खोज गर्ने, अध्ययन गर्ने ज्योतिष विज्ञानमा ज्ञान थप्ने क्रम अगाडि बढ्न सकेन । पश्चिम जगतका बैज्ञानिकहरुले हर्बल टेलिस्कोप लगायतका आविस्कारले हाम्रो त्योतिषशास्त्रको गणना भन्दा बढि तथ्य संकलन गर्न थाले, वास्प इन्जनदेखि खनिज तेलबाट चल्ने यन्त्रहरु बनाउँदै कम्प्यूटर बनाएर ज्ञान थप्दै जाने क्रम जारि राखे । तिनै ज्ञानका आधारमा चन्द्रमामा समेत मानिस उतारे । यी विज्ञानका तथ्यबाट पुरै प्रभावमा परेका र बैज्ञानिक अध्ययनलाई विस्वास गर्ने पुस्ताले धर्मलाई कमाइ खाने जुक्ति मात्र बनाएका पण्डितहरुका कुरा पत्याउन छाडे । हाम्रो अवस्था पनि त्यही हो । त्यसैले अन्धाधुन्ध हजुरवुवाका कुरा मान्न हामी तयार नहुने अवस्था बन्यो । उमेरले र अनुभवले पाका भैसकेका हजुरवुवाको मन दुखाउने मन नभएर पनि सामाजिक विद्रोह अहिलेको आवस्यकता बन्न पुगेको छ ।

पिताम्बर काकाले हजुरवुवालाई मत्थर पार्ने मनसायले भन्न थाल्नु भयो, ‘दिनेश ज्वाइले भनेको पनि त त्यही हो नि, हजुरहरु सानो छँदा रेल, बस, टिभी, कम्प्यूटर केही थिएन, पण्डितहरुलाई त्यस विषयमा थाहा थिएन त्यसैले सेतो पहिरन गरेर चोखो खाएर क्रिया गरे पछि स्वर्ग पठाइन्छ भन्ने सिकाए । अहिले सवै कुरा फेरियो त्यसैले खिरको पिण्ड गाईलाई खुवाएर र बाहुनलाई शैया दान, भैसी दान गरेर पित्री स्वर्ग जाँदैनन् बरु उपकारी काम गरेमा समाजले आशिर्वाद दिएपछि समाजमा उनीहरुको सम्मान बढ्छ । त्यही समाजमा सम्मान पाउनुलाई “स्वर्गबास गएको मानिने हो” भन्न खोजेको हो नि बुवा ।’

हजुरवुवाको कुरामा साथ दिन त्यहाँ नन्दराम बाहेक अरु कोही थिएनन । नन्दराम गुरु पनि तर्कमा समेत जित्न नसकिने र चलन चल्तिको क्रियाकर्म गर्ने चलन हराउँदै जानेहो भने आफनो रोजगारी नै गुम्ने चिन्तामा डुब्न थाले पछि चुपचाप भए ।

हजुरवुवाले आफुले टेक्ने गरेको लौरो दायाँ तिरबाट सारेर आफ्नो बायाँ पट्टि सार्दै नन्दराम गुरुले केही साथ दिनुहुन्छ कि भनेर गुरु तिर पुलुक्क हेर्नु भयो । तर नन्दराम गुरु शब्द बिहिन भएर बसेको देखेर निरास हुनु भयो । पिताम्बर काकालाई हाम्रा गाउँघर त के र जिल्लामै जान्ने र बुझेको मान्छे भनेर मान्ने हुनाले पनि त्यसको छाप हजुरबुवामा परेको छ । दिनेशका कुरा र पिताम्बर काकाले त्यसैलाई साथ दिन कस्सिएपछि हजुरवुवाले अगाडि अड्डि कस्न सक्नु भएन । अन्तमा उहाँले मनबाटै स्वीकार नगरे पनि हरेस खाएको स्वरमा भन्नु भयो
‘ल त अव म के भनु, हामीले मान्दै आएको र बुझेको कुरा असत्य हो भन्ने लागेपछि जे जसरि हो कर्म त टुङ्ग्याउन पर्यो ।’ हजुरवुवाले क्रियाबस्नै पर्ने अड्डि छाडेपछि पिताम्बर काकाले नेत्रदाइ तिर हेर्दै भन्नु भयो
‘ल नेत्रबाबु यहाँका तिरन तारन सवै मिलाउनुस, नानी र दिनेश ज्वाइहरुको बसाइ पनि तपाइ कहाँ नै होला, अव उतै गएर अरु ब्यवस्था मिलाउन पर्छ । स्कूलको अक्षयकोषको ब्यवस्था पनि मिलाउँला, अव भएका जग्गा जमिन ब्यङ्क खाताहरु पनि नामसारी आदि इत्यादि गर्नु पर्छ । उतै जाउँ ।’

हजुरवुवाले अगाडि भन्न थाल्नु भयो ‘अरु काज क्रिया नगर्ने हो भने पनि मलामीलाई तेह्र दिनमा र पैतालिस दिनमा खुवाउने त गर्न पर्छ ।’

हजुरवुवाका कुरामा सहमति जनाउँदै नेत्रदाइले भन्नु भयो ‘हो त्यो त गर्ने हो, चिन्ता नलिनुस कोको अस्पतालमा भेट्न भन्दै र यहाँ आउनु भयो सवैको नाम टेलिफोन टिपेका छौ । सवैलाई बोलाएर तेह्र दिनको दिन खुवाउने हो ।’

हामी नेत्रदाईकोमा पुग्दा साँझ नै परिसकेछ । छोरी नेत्रदाइकी छोरीसित उसकै कोठामा सुत्ने भइ । दिनेश र मलाई एउटा कोठा बताइदिनु भयो । त्यही गयौँ । दिनेशसँग दुख सुख पनि हुन नपाएकोले कोठामा ढोका बन्द गरेपछि दिनेशको काखमा मुन्टो राखेर निकै बेर रोएँ । उनी पनि एक छिन रोए, मेरो टाउको मुसार्दै सान्त्वनाका कुराहरु भन्दै रहे । उनले भन्दै गरेका कतिपय कुरा मैले सुनेर पनि त्यता ध्यानै गएको थिएन । मेरो मनमा म सानीँ छँदा स्कूल जान नमानेर झगडा गर्दै रुँदा बुवाले मलाई बोकेर स्कूल जाने रिक्सामा चढाएको जस्ता कुरा खेलिरह्यो । मलाई छातिमा टाँसेर कपाल मसार्दै स्कूल जान फकाएको संझना आइरह्यो । कहिले एसएलसीमा फस्ट डिभिजनमा पास भएको खबर पाएर आमा र बुवा निकै खुसी भएको सम्झेँ । मैले एसएलसीमा राम्रो नम्बर सहित फस्ट डिभिजनमा पास भएकोमा बुवा र आमाको फुर्ति नै बढेको थियो । हाम्रो टोलमा त्यस बर्ष यसएलसी दिने केटाकेटी मध्ये मेरो सवै भन्दा बढि नम्बर आएको थियो । अफिस जाँदा आउँदा बुवालाई र हाट बजार गएर तरकारी किनेर आउँदा आमालाई बधाइ दिने र राम्रो गरिन् नानीले अव के पढाउने ? भन्नेहरुको त्यो सोधाइमा बुवा आमाको रवाफ बढेको देखेर मैले बुवाआमालाई सन्तोष लगाउन सकेँ भन्ने मेरो मनमा सन्तोष पनि जागेको थियो । आखिर रोइ राखेर मात्र पनि सवै समाधान हुने थिएन । उता मनमा त्यो आफु जस्तै र जन्म मिति पनि एउटै भएकी नेदरल्याण्ड्सकी एम्माको विषय झन पेचिलो बनेको थियो मेरा लागि । त्यस विषयको पुष्टि हुन सक्ने बुवाआमा नै नरहे पछि कसरी यथार्थ पत्ता लाग्ला र भन्ने निरासा मनमा उब्जिरहेको छ । दिनेशलाई त्यस विषयमा अझैसम्म कुनै जानकारी नभएकोले अव भन्नु पर्छ भन्ने मनमा आयो र भन्न थालें
‘हेरन, तिमीसँग एउटा विषयमा कुरा गर्न पर्ने थियो, पहिला पनि भन्ने मौकै मिलेको थिएन, झन् यस्तो भयो । हाम्रो अस्पतालमा खुट्टा भाचिएको कम्लिकेशन भनेर रिफर भएर एउटा विरामी ल्याइएको थियो । अपरेसन पनि राम्रै भयो । अप्रेशन गरेर अफिस कोठामा पुग्नासाथ नेत्रदाइको म्यासेज पाएर यता हिँडिहाले ।’

दिनेशले भने ‘कामको सिल्सिलामा विरामीको उपचार त तिम्रो सामान्य दैनिकी नै हो नि, त्यस विषयमा किन चिन्ता लिन पर्यो ? केही चिन्ता न लिउ । तिमी आफ्नो प्रोफेसन भन्दा बढि नै विरामीहरु प्रति सम्बेदनशील हुने, त्यो बानी चाही अलि सुधार्न पर्यो ।’

उनले कुरै नबुझि भन्दै गए पनि धेरै दिन पछि भेट भएर पनि होला उनका कुरा सुनिरहुँ जस्तो लाग्यो । विचमा कुरै काटिन । उनी भन्दै गए ‘तिमीले म्यानेजरलाई भनेर आएकोले केही फरक पर्दैन बरु भोलि समय मिलाएर फोन गरेर म्यानेजरलाई यहाँ यस्तो भैसक्यो भनेर पनि बताउ । यहाँ अझै कम्सेकम पन्ध्रदिन जति त बस्नु पर्ने हुन्छ । अक्षय कोषको ब्यवस्था पनि गर्न पर्यो, गएपछि तुरन्तै आइहाल्ने कुरा पनि हुँदैन । सवै कुरा मिलाएर जानु पर्छ । मेरो पनि फिल्डमा जाने कामहरु त करिब सकिएको थियो । एउटा सेमिनार भने छुट्यो । अव यूके फर्किए पछि नै रिपोर्टहरु बनाएर पेश गर्नु पर्ला । मेरो परिवारमा यस्तो भयो पन्ध्र दिन यतै हुन्छु भनेर प्राजेक्ट लिडरलाई इमेल पठाइसकेको छु ।¬’

अरु बेला त मेरा कुरा नसुनि आफ्ना कुरा भन्न थाल्दा चित्तै बुझ्थेन । मेरो कुरै नसुन्ने तिमीले त भनेर झर्किन्थेँ पनि । तर, आज भने उ बोलिरहोस म सुनिरहुँ जस्तो लागिरह्यो । उसका आवाज बासुरीका धुनजस्तो मधुर भएर कानमा गुञ्जिरहे । वुवाआमाको विछोडको पिडालाई चराइरहेको घाउमा मल्हम लगाउँदा शित्तल भए जस्तै उनको आवजले शान्ति दिइरह्यो । उनले आफ्ना कुरा भन्न छाडेको एकै छिन अझै केही बोल्दै गरे हुन्थ्यो जस्तो भैरह्यो । उनी एकछिन चुप लागेपछि मैले भनेँ
‘कुरा विरामी र प्रोफेसनको होइन । मेरो ब्यक्तिगत हो । त्यो विरामी केटीको नाम एम्मा रहेछ । उसको र मेरो जन्म दिन पनि एउटै रहेछ । मेरो शरीरको उचाइ, दात सवै उसँग ठ्याक्कै मिल्छ । हामी दुई जुम्ल्याहा जस्तै देखिन्छौ । फेरि मलाइ मात्र त्यस्तो लागेको भए मेरो भ्रम हो कि भन्न हुन्थ्यो । सँगै काम गर्ने नर्सले पनि हामी ठ्याक्कै उस्तै भएको बाताएको थियो । त्यो एम्माले पनि हामी उस्तै भएको भन्ने लागेको बताएकी थिईन । बुवाले मास्टर्स डिग्री पनि त नेदरल्यण्सबाटै गर्नु भएको हो । त्यो केटी पनि नेदल्र्याण्ड्स कै हुनु । बुवाआमाले मेरो जुम्ल्याहाका विषयमा पनि केही पनि कहिल्यै बताउनु भएन । केही ढाटेको पो हो कि ? तर अव उहाँहरु दुवै जना नभए पछि अव कसरि पत्ता लगाउने ?’

मैले कुरा सकुन्जेल एकाग्र भएर मेरो कुरा सुनिरहेका दिनेशको निधार मैले कुरा पुरा नगर्दै खुम्चियो, आँखा अलि तेजिला भए, जिज्ञासा बढेको उनको अनुहारले प्रत्यक्ष देखायो । तर उनको मुद्रा भने गम्भिर थियो । उनलाई जिज्ञासा पनि जाग्यो र रहस्य भएको जस्तो भान भएरै होला अलि चिन्तित पनि देखिए । अलि लामो स्वास तान्दै भने
‘ती एम्मा नाम गरेकी केटी तिम्रो जुम्ल्याहा हुन सक्ने सम्भावना त देखियो, अलि अचम्म लाग्यो । तिम्रा कुराले त रहस्यको उद्घाटन गरे जस्तो पो लाग्दै छ, मलाई त । एक किसिमले अहिलेसम्म तिमिलाई यस विषयमा केही जानकारी नहुनु । तर, शरीर र अनुहार मिल्नु मात्र होइन उसको जन्म मिति र तिम्रो पनि एउटै मिति हुनु अनि बुवा नेदल्र्याण्समा पढ्दा तिम्रो जन्म हुनु । ती केटीको जन्म पनि नेदल्र्याण्ड्समै हुनु । बडो अचम्म लाग्दै छ । अव रहस्य पत्ता लगाउनै पर्ने जिम्मेवारी पनि बोध भैरहेछ मलाई त ! तर, कसरि ?’ उनी एकछिन घोरिए । टेबल माथि रहेको स्टिलको गिलास ढाकेको ढक्कन पन्छाउँदै टेबलमा राखे र गिलास समाएर घट्घटी गिलासै रित्ताए । म उनले पानी खाँदा तलमाथि गर्दै गरेको उनको रुद्रघण्टीको ताल सहितको उनको घाटीँ हेरिरहेँ । उनले पानी खाइसकेर गिलास राखेपछि मैले भने,

‘मेरो त त्यही कुराले दिमाग चक्कर खाइरहेको थियो । जुम्ल्याहा दिदी हो कि बैनी हो भेटे जस्तै भान भैरहेको थियो । तर, एक्कासी यताको घटनाले गर्दा बीचैमा च्यात्त छाडेर यता आउन पर्यो । एम्माको अपरेसन त राम्रै भएको थियो । उनको खुट्टा कस्तो भयो कुन्नि ? आफ्नै बैनी जस्तो लागेर त होला अरु विरामीको भन्दा उसको पिर बढि लागिरहेछ । मैले त रहस्य पत्ता लाग्छ कि भनेर एम्माको डिएनए सिक्वेन्स जाँचको लागि पनि पठाएकी छु । सायद त्यो रिजल्ट पनि आइसके होला तर म यहाँ छु । तर, डिएनएको रिजल्ट आउन चारदेखि छ हप्ता लाग्छ, त्यसैले अझै त्यो रिपोर्ट आइसकेको छैन होाल ।’

हामी कुरा गरिरहेकै थियौँ । गल्ली पारिका घरका कुकुर भुक्न थाले । शान्ति खल्बल्याउने गरी भुक्दारहेछन् । बेलायतमा कुकुर त घरघरै पालेको देखिन्छ तर भुकेको त विरलै मात्र सुनिन्छ । पार्क तिर हिँड्दा कुकुर भुकि हाल्यो भने उसका मालिक÷मालिक्नीले विनम्र भएर माफि पो माग्छन् । यो सभ्यता कै कुरा होला । हाम्रो समाज भन्दा बेलायतको समाजमा ब्यक्तिहरुले आफ्ना गतिविधिले अरुलाई नराम्रो असर पार्छ कि भनेर सचेत हुने र अरुलाई नकारात्मक असर नपार्ने गरी आफ्ना गतिविधिहरु गर्ने बानी पारेका हुन्छन् । कुनै पनि समाजमा सवै गतिला मान्छेको मात्र बसोबास त कहाँ हुने हो र तर तुलनात्मक रुपमा बेलायतको समाज अलि सभ्य लाग्छ मलाई । खै कहिले काहीँ त म पक्षपाति भएको त हैन भनेर पनि सोच्छु । तर, तुलनात्मक रुपले ब्यक्ति ब्यक्तिको स्वभाव हेर्दा चाही बेलायतीहरु नै अरुलाई मर्का पर्ला कि भनेर हाम्रो समाजमा भन्दा बढि सचेत रहेकै अनुभव गर्छु । हुन पनि नेपालमा कुकुर डो¥याएर हिँड्नेहरुले कहिल्यै आफ्नो कुकुरको आचि उठाएको देखेकी छैन । कुकुरले हग्यो भने पनि त्यत्तिकै बाटो नै फोहोरो पारेर हिडेको देख्छु । सायद आफ्नो कुकुरको आची उठायो भने इज्जत जाने सोचिन्छ क्यारे ! कुकुर पालेर डोर्याएर हिँड्दा चाहिँ फुर्ति बढ्ने तर बाटो नै फोहोरो पारेर छाड्दा चाहिँ इज्जत नजाने ? यस्तै छ नेपालको चलन । बेलायत नजाँदासम्म त संसारभरि यस्तै त होला जस्तो लाग्थ्यो । तर, बेलायतमा त कुकुर लिएर हिड्नेले आफ्नो कुकुरले हग्यो भने उठाएर लाने गरेको देख्न थालें । पहिला पहिला त मलाई पनि कुकुरको आचि उठाएर हिँडेको अनौठो लाग्थ्यो । पछि बुझ्दै जाँदा त यहाँको समाजमा त कसैले आफ्नो कुकुरको आची नउठाइ बाटैमा छाडेर हिँड्यो भने त इज्जत नै जाने रहेछ । पार्कमा पनि कुकुरको आचि राख्ने छुट्टै बिन बक्स झुँडाएर राखिएका हुँदारहेछन् । अरु फोहोर फाल्ने डिब्बा छुट्टै र कुकुरको फोहोरको लागि छुट्टै भाडो हुँदो रहेछ । कुकुर डोर्याएर हिँड्ने सवैले कुकुरले आचि गरिहाल्यो भने उठाउन पर्छ भनेर प्लास्टिक पनि बोकेर हिड्छन् । मान्छेहरु हिँड्डुल गर्ने पार्कहरुमा त्यस्तो प्लास्टिक पनि राखिदिएको भेटिन्छ । यहाँका मान्छेहरुको यो कुकुरको आचि उठाउँने र तोकिएको डिब्बामा लगेर हाल्ने बानी देखेपछि यस्तो सभ्यता नेपालमा कहिले विकास होला भन्ने प्र्रश्न मनमा उब्जने गर्छ । नेपालमा आएको बेला कुराकानी हुँदा बेलायतमा आफ्नो कुकुरको आचि बाटामा पनि आफै सफा गर्ने चलन छ भन्यो भने नपात्याएर मलाई ‘गफ लगाइ बडो विदेश बस्ने भइकी’ भन्लान कि भन्ने डरले कसैलाइ भन्न पनि सकेकी छैन । जे होस हामी साना छँदा गाउँघरमा दशैं ताका बाटो खन्ने, पधेरा सफा गर्ने सामाजिक सभ्यता देखेकी थिएं । हाम्रा त्यस्ता सामाजिक सभ्यता मासिँदै गएजस्तो लाग्छ । पश्चिमाहरु भने ब्यक्तिगत सभ्यता विकास गर्न सफल भएका र त्यसलाई अझै उन्नत गर्दै लगेको जस्तो लाग्छ । पहिले पहिले बेलायत म जाँदा जताततै चुरोट खाएर धुवा उडाउँथे अहिले निस्चित ठाउँमा मात्र खाने सभ्यताको विकास भएको छ । सरकारले नियम कानून बनाउने र लागु गर्ने विषय भन्दा पनि जनचेतना जगाएर त्यस्ता कानूनको पालन गर्न खुसी पार्नु सभ्यताको विकास गर्ने कला हो जस्तो लाग्छ ।

मेरा मनमा छिमेकीका कुकुरको भुकाइबाट तरङ्गित भएका विचारहरु खेल्दै थिए । दिनेश पनि ट्वाइलेटबाट पिसाप गरेर पर्किएपछि हामीले कुरा जारी राख्न थाल्यो । मैले एम्माको डिएनए सिक्वेन्सको लागि जाच्न पठाएको विषयमा कुरा गर्दै थियौं भन्ने झल्काउँदै दिनेशलाई भने,

‘चार हप्ता जतिमा त्यो टेस्टको रिजल्ट पनि आइपुग्ला । मेरो डिएनए सिक्वेन्ससँग उनको डिएनए सिक्वेन्स जोडेर हेर्दा हाम्रा बाबुआमा एउटै हुन कि होइनन् भन्ने पत्ता लागि हाल्छ । त्यही सोचेर उनको उपचारको लागि डिएनए टेस्ट आवस्यक नै नभए पनि डिएनए सिक्वेन्स जाँचको लागि उनको मेडिकल फाइलमा निर्देशेन लेखेकी थिएं ।’

दिनेशले मेरो मनको अवस्थालाई मध्यनजर गर्दै त्यो डिएनए जाँचको मेरो प्रयासलाई समर्थन जनाउँदै भने, ‘अवस्था अनुसार तिमीले आफैनो मनलाई शान्त नपारि विरामीको विषयमा निर्णय लिँदा त्रुटि हुने सम्भावनाको लागि पनि तिमीले गरेको त्यो प्रयास उचित थियो । चिन्ता लिनु पर्दैन । अव यहाँका अति आवस्यक कामहरु सल्टाएर बेलायत जानासाथ त्यो रिपोर्ट हेरेर निधो गरौँला । यदि रिपोर्टबाट दुवै जनाको बाबुआमा एउटै भएको पाइयो भने उनका बुवाआमाबाट यथार्थ पत्ता लगाउँला । अहिलेको विज्ञान र प्रविधिको यूगमा यो अन्योलताको वास्तविकता पत्ता लगाउन ठूलो समस्या होइनन नि त ।’ उनी आफैमा अचम्म परेको विषयमा मलाई सान्त्वना दिने उनको प्रयास थियो ।

एका तिर रहस्य पत्ता लगाउने रन्को छ, अर्को तिर बुवाआमाको यादले सताइरहेको छ । म सानी छँदा आमाले शनिवार सधै नुहाइदिएर घाममा राखेर तोरीको तेल लगाएर कपाल कोरिदिएको झल्झल्ती याद आइरहन्छ । बुवाको जागिर सरुवा भएर काठ्माण्डौमा बस्न पर्दाका दिनमा पानीको कमी हुने हुनाले नुहाइधुवाइ नपुगेर पनि होला जुम्रा परेर हैरानै हुन्थ्यो । एक पटक त मेरा जुम्राले हैरान पारे पछि आमाले जुम्रा मार्ने औषधि हालेर मेरा जुम्राबाट मलाई मुक्ति दिलाउनु भएको थियो । आमा आफ्ना साथी र आफन्तहरुसंग भेट्दा पनि मेरो प्रशंसा गर्दा म फुरुङ्ग हुन्थेँ । आमाको कपाल कत्ति लामो थियो ! म पनि आमाको जस्तै लामो कपाल बनाउँछु भन्ने लाग्यो सानी छँदा । पछि ठूली भए पछि भने त्यो कपाल र आमाको श्रृङ्गारमा पनि हाम्रो समाजले नारीहरुलाई शोषण गराउने संयन्त्रमा हुर्किका चलन बाँधिएको छ जस्तो लाग्न थाल्यो । कपाल लामो पाल्ने रहर हराएर गयो । तर, आमाको लामो कपाल मलाई खुब मन पथ्र्यो । आमा भने कहिलेकाही लामो कपाल पिठ्यूमा छाड्न भन्दा पनि बिहा बर्तबन्धका पार्टीहरुमा जाँदा जुर्रो बनाउनु हुन्थ्यो । मलाई भने आमाले कपाललाई आमाको पिठ्यू भरि फैलिएको हेर्न मन पथ्र्यो । मैले जिद्दि गरेर मेरो इच्छा अनुसार कपाल खुला राख्नुस भन्दा आमालाई त्यो कपाल स्याहार्न मुस्किल हुन्छ कि भन्ने लागेर मेरो मनको कुरा मन मै राख्थें ।

मेरो पहिलो पटकको महिनावारी भएको समयमा आमाले दिएका सल्लाह र सिकाएका कुरा हाम्रो समाजका सदियौं देखि चलिआएका प्रथा थिए । आमाले घामतिर नहेर्नु भनेको सम्झन्छु । सुभेच्छा भण्डारीका शब्दमा आफ्नै ब्यथा भेटाउँछु अनि ती शब्दलाइ सापट लिन्छु । (कान्तिपूर श्रावण ३२, २०७६)

घरबाट बाहिर निस्किँदै थिए, मनको बाँध फुटेर जिज्ञासाका भेलहरू छताछुल्ल हुँदै थिए । घामलाई चाहिँ किन नहेर्ने होला भन्ने सोचले डोर्याउँदा–र्डोर्याउँदै आधा बाटो हिँडिसकेछु, पत्तो भएन । मुन्टो तल झुकाएर, कुनै अपराधपछि मान्छेले चिन्छन् कि भन्ने डरले अनुहार लुकाएको अपराधी जस्तै अघि हिँडिरहेँ म ।

टिँटिट्... !! नजिकै आएर एउटा गाडीले हर्न बजायो । झस्केर मुन्टो माथि उठाउँदा त आफ्नै मामा ! मलाई हेरेर मुसुक्क हाँस्नुभयो । हर्नको आवाजको झस्काइभन्दा मामालाई देखेपछिको झस्काइ बढी भयावह भयो । आमाले घरका छोरामान्छेको अनुहार नहेर्नु भनेको सम्झिएँे । अनि मुन्टो झुकाउँदै केही नबोली फटाफट पाइलाको गति बढाएँ ।

विद्यालयको गेटमा पुग्दा मेरा पाइलामा स्वतः ब्रेक लाग्यो । विद्यालय शिक्षाको मन्दिर !! र मन्दिरभित्र नछिर्ने नियम आमाले बनाइदिनुभएको सूचीको पहिलो नम्बरमा थियो । त्यस दिन भने म छिरेँ । नियम तोडेर म भित्र छिरेँ । ढुङ्गाको मूर्तिलाई नछुने आज्ञा विपरित मैले सजिव मेरा शिक्षाका देवी र देवता टिचरहरुलाई छोएँ । पूजाको थालीरूपी कापी–किताब खोली मेरो भविष्य रङ्गाउने मन्त्रोच्चारण गर्न थालेँ । दुर्भाग्यवश मैले धेरै माया गर्ने रातो रङले भने मलाई आफ्नो काबुमा राख्न थालिसकेको थियो । यसरी मेरो निलो जामा पछाडि झुक्किएर लागेको रातो दागले कतै मलाई हाँसोको पात्र बनाउँछ कि भन्ने डरले मेरा अनगिन्ती महिना बितिरहे । विद्यालयको निलो जामाभन्दा कलेजको पहेँलो साडीमा पछाडिको दाग बढी शक्तिशाली ठहरियो । मेरो प्यारो रातो रङ मेरालागि रातो ट्राफिक बत्ती जसरी स्टपको सिग्नल बन्यो, जसले मेरो स्वतन्त्रतालाई निचोरेर त्यसको रसले सामाजिक कुरीतिलाई पोसिरह्यो ।

महिनावारीका विषयमा जानकारी खोज्न कै लागि, म इन्टरनेटको जालोमा एउटा माकुरा आफूले बनाएको जालोमा सिकारको खोजीमा टहलिएझैँ टहलिएँ । मैले खोजेँ, पढेँ । सुदूर पश्चिमका छाउका छाप्रामा कुक्रुक्क परेर बसेका खुट्टाको दुखाइ संझिँदै पढेका इन्टरनेटका जानकारीले थोरै जुकिरीको बत्ति झल्किएको थियो । तिनै छाप्रामा निसास्सिएका पलहरू सोच्दा मेरा सुस्केरा छुटे । रगतले निथ्रुक्क भएका कपडा धुन, अगाडि नै धारो थियो  । तर बेलुका घाम अस्ताएपछि मात्र त्यहाँ जानें आँट आउँथ्यो । साँच्चिकै लुगा धुँदा रातो पानीसँगै शारीरिक भन्दा कैयौँ गुणा मानसिक रूपले बगेको मेरो आत्मबल समेट्न कुरेका दिन निकै सङ्घर्षपूर्ण थिए । धर्म र सामाजिक रीतिको ढिकीमा पिसिएका मेरा प्रश्नले त्यतिबेला पनि कुनै अस्तित्व पाएनन् ।

दबिएका ती प्रश्नलाई आज पनि समाज हरेक पल दबाउने चेस्टा गर्छ । सुदूर पश्चिमका व्यथा र ग्रामीण परिवेशका चलनचल्तीलाई औँल्याउँदै गर्दा मानिस आज आधुनिकताको व्याख्यामा अझै प्रचलित कन्क्रिट छाउगोठलाई समावेश गर्न बिर्सिन्छ । स्वतन्त्रतालाई निमोठेर लैङ्गिक विभेदलाई ऊर्जा दिने कुरीतिलाई मानिस च्वाट्ट छोड्न डराउँछ । देवीको पूजा गरेर घरकी सजीव देवीलाई रातो अविरले रङ्गाउन अनगिन्ती मानिस आज पनि समाजको स्वीकृति पत्रको पर्खाइमा बस्छन् ।

आमालाई अफु पहिलो नछुनी हुँदा उहाँकी आमाले जे सिकाउनु भएको थियो सवै खुरुखुरु पालन गर्नु भएको थियो होला भन्ने सहजै अनुमान गर्छु । त्यसैले मलाई पनि त्यसै गर्न सिकाउनु भयो । तर, मेरो मन भने उहाँले सिकाएका कुरामा विद्रोह गर्ने जमर्को गथ्र्यो तर सकिरहेकी हुँदैनथ्यो । अलि अलि विद्रोह गर्ने आँट आउन थालेको थियो । आमालाई “तपाइका चलन चल्तीका कतिपय कुरा ठीक भए पनि सवै कुरा ठीक छैनन्” भन्न नपाउँदै उहाँ मलाई छाडेर जानु भयो । अव मैले उहाँलाई मेरा मनका यी बह कहिल्यै पोख्न नपाउने भएं । आमाले कुरै नबुझि सवै पीर पचाउनु भयो । उहाँलाई ती गलत थिए, भनेर कसैले भन्नै पाएन ।

दिनेश एकैछिन चुप लागे पछि भने ‘भोलि विहान चिया खान पिताम्बर काका यहीँ आउछु भन्नु भएको छ, उहाँसँग सवै जग्गाहरु नामसारी आदि इत्यदि गर्न कति दिन लाग्छ सवै बुझेर कहिले उता फर्कने भन्ने निधो पनि गरौँला । अहिले अव सुतौँ ।’

भाग – 4 भाग– 2
 
 
There are no data records to display.
   
Comment:
Date:
Name:
LastName:
Address:
City:
PostalCode:
PhoneNumber:
EmailAddress:
WritingId:
Insert  Cancel

www.flykathmandu.co.uk

Received Comments



www.flykathmandu.co.uk
Please write email to belbase@flyktm.com to get permission to publish my article to your media.