Govind Belbase
<January 2023>
SuMoTuWeThFrSa
25262728293031
1234567
891011121314
15161718192021
22232425262728
2930311234
उपन्यास: NRN (बेलायत)को कथाबस्तु – "एम्मा" – भाग ४
भाग –४

ट्वाक.. ट्वाक.. गर्दै ढोका ढक्ढकाएको आवज सुनेपछि, इमेल लेख्दै गरेको ल्यापटप छेवैको टेवुलमा राखेर दिनेश ढोका खोल्न जाँदै गर्दा ढोका बाहिरबाट नेत्र दाइले


‘तल पिताम्बर काका आइसक्नु भएको छ ।’

भन्दै गरेको आवाज सुनियो । दिनेशले ढोका खोल्दासम्ममा नेत्रदाइ त्यहाँबाट गइसक्नु भएको रहेछ । उहाँले पिताम्बर काका आइसकेकोले हामी तल झर्नुपर्ने सन्देश दिइसक्नु भएको थियो । त्यसैले दिनेश बाथरुम तिर गएको थाहा पाएर म अझैँ अल्छि मान्दै विस्तरामै कोल्टे परेँ । दिनेशले सिध्याए पछि बाथरुम छिर्ने मेरो पालो भन्ने बुझाइ रह्यो । झ्याल बाहिरको सूर्यको किरणलाई पर्दाले छेक्न नसकेकोले उज्यालो कोठाभरि छरिएको रहेछ । समय यस्सो पायो कि यो मन भने बुवा र आमाको विछोडको पिडाले छट्पटाउन थालि हाल्यो । आमाको सधै विहानै उठेर नुहाउने र घर धन्धा गर्ने गाग्रीमा पानी भरेर राख्ने पुजाको बत्ति बाल्ने गरेको याद आउन थाल्यो । म सानी छँदा त आमाले चढाएका प्रसादको निकै लोभ लाग्थ्यो । कहिलेकाहीँ सुन्तलाको प्रसाद, माघे सक्रान्ती तिर सखरखण्डको प्रसाद र सिजन नभएर अलि रुखो दिनमा मिश्रीको प्रसाद हुन्थ्यो । बाथरुमबाट कोठामा आउँदै दिनेशले ‘म तल गएर पिताम्बर काकासँग कुरा गर्दै गर्छु, तिमी पनि फ्रेस भएर आउ’ भन्दै मेरो प्रतिक्षा नगरी सिढी झर्दै गरेको आवाज कानमा गुञ्जिएसँगै उठेर हत्तपत्त बाथरुप पसें ।

म बाथरुपबाट दात माझिवरि, नुहाएर कपाल कोर्न नथाली सुक्दै गर्छ भन्ने सोँचेर रुमाल काँधमाथि राखेर कपालबाट झर्ने पानी सोखोस भन्ने चाहना सहित सिढी झर्न थालें । तीन दिनदेखिको अस्तब्यस्त भएको समय र ब्यवहारले लखतरान भएकोले भुसुक्कै सुतिएछ । पिताम्बर काका विहान आउनु हुन्छ, भन्न त भन्नु भएकै थियो, उहाँलाई फेरि अफिस जान बेर पनि होला भनेर मनमा हतारो जस्तो अनुभव पनि भयो । पिताम्बर काका आखिर हाम्रै कामका लागि आउनु भएको थियो, उहाँको समय तेसै खेर फालिदिन पनि त भएन । सिढीं झर्दै गर्दा दिनेश र पिताम्बर काकाबीचका राजनैतिक नेताप्रतिका असन्तुष्टिका गफ भैरहेकारहेछन् । मेरा कानमा ठोक्किए । विदेशमा पनि त नेपाली पुरुषहरुको गफको विषय राजनीति हुने गरेको बानी नै परेकोले स्वभाविकै लाग्यो । महिलाहरुको भेट हुँदा धेरै जसो पहिरन सुहाए नसुहाएको, के सुहायो के सुहाएन भन्नेबाट सुरु गरेर आफन्तजनका घटना आदिका विषयमा मोडिन्छ भने पुरुषहरु राजनीति र नेता तिर कुरो पुराइहाल्छन् ।

सिढी झरेपछि सिधै सिटिङ रुम तिर नगएर म वायाँपट्टिको खुलै रहेको ढोका हुँदै भित्र भान्सा कोठमा पसें । भाउजुले ताप्केमा मजाले चिया पकाएर गिलासमा खनाउँदै हुनुहुँदोरहेछ । मैले ट्रेमा रखेका तीन कप चिया लिएर बैठक कोठातिर गएं । नेत्रदाइ पनि बैठक कोठामै हुनुहुन्छ होला भन्ने मेरो अनुमान अनुसार चारकप चिया हुनुपर्नेमा भाउजुले तीनकपमात्र ट्रेमा हालेर दिएकोले मैले सोधेँ ‘तीन जना त्यहाँ हुनुहुन्छ होला मलाई समेत गर्दा चार कप हुनु पर्ने होइन र भाउजु ?’

‘तपाईँँको दाइ तरकारी किन्न जानु भएको छ, आए पछि म ल्याइदिन्छु, हजुरहरु कुरा गर्दै गर्नुहोस म खाना पकाउँछु ।’ भाउजुले भन्नु भयो ।

‘हुन्छ, म पनि एकछिन कुरा गरेर आउँछु अनि मिलिजुली पकाउँला’ भन्दै चियाको ट्रे बोकेर सिटिङ रुममा पसें ।

चिया टेबलमा राखेर पिताम्बर काकालाई ‘नमस्कार’ गरें र चिया दिएं, दिनेशले ट्रेबाट एउटा कप आफुतिर ताने र अर्को कप म बस्न खालि छाडिएको सिटको अगाडिको टी टेबलमा राखिदिएँ । म सिटमा बस्दै भने ‘दौडधुप र टेनसनले निकै थकाइ पनि लागेको रहेछ, मस्त निदाएछु, काकालाई अलि अबेला भयो कि, कुर्न परेकोमा छमा चाहन्छु ।’ काकाले ‘केही छैन, अव म यतैबाट अफिस जाने गरी आएको छु, त्यस्तो हतार छैन । नेत्रलाई म पनि यतै खाना खाएर यतैबाट अफिस जानेहो भनिसकेको छु ।’ भन्नु भयो ।

उहाँको कुरा सुनेर म अनुग्रहित भएं । पिडाको समय भएर पनि होला उहाँले हामीलाई सहयोग पुगोस भनेर समयको तालमेल समेत मिलाएको अनुभवले गर्दा खुसी लाग्यो । हुन त पिताम्बर काकाको पढाइका दिन तथा संघर्षका दिनमा बुवाले काकालाई खुवै सहयोग गर्नु भएको थियो रे । त्यो भार तिर्ने भावनाले गर्दा पनि होला काकाले त मैले सोचेभन्दा पनि बढि सहयोग गर्नु भएको अनुभूति हुन थाल्यो ।

काकाले चियाँको स्रुप ताने पछि कप टेबलमा राख्दै भन्न थाल्नु भयो ‘दिनेश ज्वाइको र तिम्रो पनि काममा हाजिर हुन चाँडै जान पर्ने होला । जे हुने भैहाल्यो, हामीले टारेर टार्न सक्ने कुरा पनि थिएन । पिर गरेर बसेर मात्र पनि भएन । दाइ र भाउजुको अभाव मेरालागि त सधै मेरो जीवन भरि नै खट्कने छ । उहाँले मेरालागि लगाएको गुन त मैले कहिल्यै तिरेर सक्दिन । म अहिले पिताम्बर भनेर जुन परिचय बनाएको छु सवै दाइले गर्दा नै भएको हो । उहाँको सहयोग नभएको भए मेरो अस्तित्व नै एक साधारण किसानको हुन्थ्यो । जेहुनु भयो । अव पिर गरेर मात्र भएन । उहाँका नाममा भएका सम्पत्तिहरु पनि अहिले नै नामसारि गरेर जानु पर्छ नत्र फेरि आउन पनि समय मिलाउन अप्ठारो हुन्छ होला । हुन त फेरि आउँदा भेटघाट हुने मौका मिल्थ्यो । तर, भेटघाटलाई त समय भयो भने त्यसै पनि आए भैहाल्छ । बरु के कसो छ, म तिर हेरेर तिम्रो विदेशको नागरिकता बनाएकी छौ कि ? के छ कानूनी हिसाबले सवै मिलाउनु पर्छ । दाइभाउजु हुँदासम्म मैले यस विषयमा सोधखोज पनि गर्न परेको थिएन । तर, अव तिमीले दाइभाउजुको अभाव बेहोर्न नपर्ने गरी मैले सबै जिम्मेवारी निभाउँछु । चिन्ता नगर ।’

‘अँ काका, विदेशमा धेरै वर्ष बसेपछि जहाँ बस्यौ त्यहीँको चाँजोपाजो मिलाउन पर्ने रहेछ । मैले त बेलायतको नागरिकता र पासपोर्ट लिएकी छु । कहिले काही फेसबुक तिर विदेशी नागरिकता लिएका नेपालीले नेपालमा जग्गा किन्न बेच्न पाइन्छ भनेको पनि देखिन्छ । कहिले फेरि विदेशी नागरिकता लिएका नेपालीको सम्पत्ती सरकारले खाइदिन्छ भन्ने हल्ला पनि सुनिन्छ । मैले त केही बुझेकी पनि छैन । छोरीको पनि उतैको पासपोर्ट बनाइदिएका छौ । अरु देश तिर हिँड्दा पनि बेलायती पासपोर्ट भएपछि सजिलो हुने । नेपाली पासपोर्टमा भिसा लिन पनि झन्झट हुने, धेरै जसो देशमा त बेलायती पासपोर्ट भए पछि पहिला भिसा नलिइ गएर पुगेपछि भिसा लिए पनि हुने भएर पनि बाध्यता जस्तै भएका कारण पनि विदेशी नागरिकता बनाइयो ।’ मैले भने ।

काकाः ‘त्यो त हो नि बेलायती पासपोर्ट भए पछि धेरै सजिलो हुन्छ । उतै बस्ने भएपछि लिनु पनि पर्छ । अरु त कानूनले गैर आवासीय नेपालीका लागि पनि सवै हकको ब्यवस्था गरिसकेको छ । तर, विदेशी नागरिकता लिनु भन्दा पहिला आफ्नो नाममा भएको सम्पत्तिको विषयमा कानून अलि अप्ठेरो छ । दाइभाउजुका नामको सम्पत्ति अपुतालीबाट तिम्रो नाममा मिलाउन त मिल्छ बरु तिम्रो नाममा बेलायतको नागरिकता लिनु भन्दा पहिला कुनै जग्गा जमिन छ कि नाइ कुन्नि ?’

मः ‘बुवा जागिरमा तौलिहवा खटिएका बेला एउटा घडेरी त्यहाँ किन्नु भएको थियो त्यो घडेरी भने मेरो नाममा किनेको भन्नु हुन्थ्यो । म त त्यत्तिबेला पढ्दै थिएं । अरु त मेरो नाममा केही भएजस्तो लाग्दैन । त्यो तौलिहवाको जग्गा पास गर्न नागरिकता चाहियो भनेर खबर गर्नु भएकोले मैले नागरिकता बुवालाई पठाइदिएकोले, त्यो घडेरी भने मेरो नाममा भएको जस्तो लाग्छ । कागजहरु खोजेर हेरेपछि थाहा हुन्छ ।’

काकाः ‘दाइले सवै जग्गा जमिनका कागज र महत्वपूर्ण कागजहरु बुटवलको घरको दराजभित्र हरियो अटैचीमा राख्नु हुन्थ्यो । त्यो अटैची खोलेर सवै कागज चेक गर्नु पर्छ । त्यसपछि नामसारीको प्रकृया सकेर फर्कनु तिमीहरु ।’

मः ‘अर्जुन दाइ त्यहीँ घरमा बस्नु हुन्छ । उहाँलाई दराजको साचो कहाँ छ ? थाहा भए फोन गरेर दराज भित्रको हरियो अटैची लिएर आउन फोन गर्छु ।’

काकाः ‘हुन्छ, अर्जुनलाई फोन गरेर प्रयास गर । तिम्रो फोनमा त बेलायत कै सिम होला लौ, अर्जुनको नम्बर पनि यसैमा छ, मैले लगाइदिएको छु, ल कुरा गर’ भन्दै मलाई आफ्नो फोन दिनु भयो ।

मैले उहाँको फोनबाट गैरहेको घण्टी सुन्दै कानमा लगाएं । उताबाट चार घण्टीमा फोन उठ्यो र आवाज आयो ‘काका प्रणाम’

मः ‘हेलो, अर्जुन म अस्मिता दिदीहो, पिताम्बर काकाको फोनबाट फोन गरेकी । यहाँ यस्तै भयो तिमीहरु त घाटबाट उतैबाट बुटवल गएछौ । पछि थाहा पएं । तिमले एउटा काम गर्नु पर्ने भयो ।’

अर्जुनः ‘भन्नु न दिदी मैले के गर्न पर्यो म गरिहाल्छु नि ।’

मः ‘माथि बुवाआमाको कोठाको दराजको साँचो कहाँ छ ? तिमीलाई थाहा भए त्यहाँ दराज भित्र हरियो अटैची होला त्यो लिएर काठमाण्डौ आउनु पर्ने भयो ।’

अर्जुनः ‘हुन्छ नि दिदी, सधै जसो भाउजुले त्यो दराजको साचो उहाँहरु सुत्ने विछौनाको सिरानी मुनि राख्नु हुन्थ्यो । म गएर एकपटक हेर्छु । त्यहाँ रहेछ भने दराज खोलेर मैले त्यो अटैची लिएर म आफै आउनु पर्छ कि अरु कसैसँग पठाए हुन्छ ?’

फोनमा कुरा गर्दै उनी सिढी चढ्दै गरेको फोनमै सुनिएको खुट्टाको आवाजले अनुमान गरें । उता अर्जुनको आवाज फोनमा सुनिदै छः ‘सधै कतै जाँदा घरको साचो यहीँ मलाई दिएर जानुहुन्थ्यो । त्यही साँचो लिएर माथि दराज खोल्न जाँदै छु ।’

मः ‘त्यहाँ तिम्री श्रीमती छोरी हरु त सँञ्चौ छौ ? उता गाउँमा माइला बुवा माइलीआमाहरु पनि सञ्चै हुनुहोला ?’

अर्जुनः ‘हामी त सवै सञ्चोै छौँ दिदी, आमा पनि यहीँ आउनु भएको छ । काकाकाकी (मेरा बुवा–आमा) यस्तो भएको थाहा पाएदेखि रोएको रोइ हुनुहुन्छ । सहारा नै हरायो भन्दै पिर मान्नु भएको छ । हामीले त सम्झाउनै सकेका छैनौ ।’

अर्जुनले ढोका खोलेको आवाज सुनियो । उनी माथि पुगेर बुवाआमाको कोठाको ढोका खोलेको अनुमान गरें ।

मः ‘तिमी माथि कोठामा पुगे जस्तो छ, अव दराज खोलेर हेर त हरियो अटैची रहेछ भने त्यो लिएर तिमी बरु भैरहवाबाट प्लेनमा आजै आउ ।’

अर्जुनः ‘हो दिदी, ढोका खोलें, साचो पनि सिरानी मुनि नै रहेछ ।’

अर्जुनले दराजको ढोका खोलेको आवाज पनि सुनियो र उनले भने ‘भेटियो दिदी, हरियो अटैची यहीँ रहेछ । म अव यो लिएर ढोका बन्द गरेर भैरहवा तिर हिडी हाल्छु । पहिलो फ्लाइटबाट आउँछु । हजुर पिताम्बर काकाको मा हो ?’

मः ‘होइन, हामी नेत्र दाइकोमा छौं । तिमी एयरपोर्टबाट ट्याक्सी लिएर सिधै नेत्र दाइकोमा आउनु । दाइको घर त थाहा छ नि तिमीलाइ ?’

अर्जुनः ‘म पोहोर साल मेरी श्रीमतीको टोफेलको जाँच दिलाउन जाँदा एक हप्ता त्यहीँ दाइकोमा बसेको हो नि । मलाई सवै थहा छ म सरासर आइपुग्छु ।’

मः ‘हुन्छ त ल फोन राख्छु है त ।’

अर्जुनले ‘हुन्छ दिदी’ भन्दै फोन काटे ।

काकाः ‘अव कागज आइपुगे पछि सवै कागज हेरेर के कसो गर्ने मैले प्लान बनाउँछु । तिमीले चिन्ता लिनु पर्दैन । बरु तिमीले बेलायतको नागरिकता लिइसकेको अवस्थामा तिम्रो नाममा पहिलादेखि रहेको लालपुर्जाको विषयमा भने अलि अप्ठेरो छ । अरु सवै जग्गाहरु नामसारी गरेर तिम्रो नाममा नीलो पुर्जा बनाउने हो । त्यसको लागि मृत्यू दर्ता प्रमाणपत्र चाहिन्छ । अनि नागरपालिकाको सिफारिस बनाएर मालपोत कार्यालयमा निबेदन दिएपछि कसैको दावी विरोध भए दावी गर्न अउनु भन्ने सूचना जारी गर्छन । त्यो दावी विरोधको अवधि समाप्त भए पछि नामसारी निर्णय गरेर दाखिल खारेज हुन्छ । त्यही मृत्यू दर्ता प्रमाणपत्र र नगरपालिकाको सिफारिस भए पछि ब्यङ्क खाताको पैसाहरु पनि तिम्रो नाममा आइहाल्छ । सवै मैले गराइहाल्छु । तिमीले केही चिन्ता लिनु पर्दैन ।’

त्यत्तिनजेल सम्म चुप्प बसेर कहिले मैले अर्जुनलाई फोन गरेको सुन्दै त कहिले काका र मेरो वार्तालाप सुन्दै बसेका दिनेशले भनेः

‘हामीले चलिआएको किरियाकर्म नगर्ने निर्णय त गरियो । बुवा आमा प्रतिको हाम्रो दायित्व र आत्म सन्तुष्टिका लागि पनि एउटा अक्षय कोष पनि अहिले नै खडा गर्नु पर्छ काका । यो काम अहिले छाडियो भने पछि फेरि समय मिल्न गाहरो पनि हुन सक्छ । त्यत्तिकै लामो समय ब्यतित हुने सम्भावना रहन्छ । त्यसैले सवै काम सक्काएर जान पर्ला । हुन त अव बेलायतमा पनि फोन गरेर हाम्रो परिस्थितिको जानकारी गराएर अस्मिता र मेरो कामको छुट्टि मिलाउन बाँकी नै छ । तर, यो कम्प्यासन(दया गर्नै पर्ने)को अवस्थामा विदाको लागि खासै समयस्या त पर्दैन जस्तो लाग्छ ।’

फोनमा अर्जुनसँग कुरा गर्दैगर्दा भान्सा तिरको ढोका खोलेको आवाज आएको थियो । नेत्रदाइ तरकारी ल्याएर भाउजुसँग मिलेर खाना पकाउँदै हुनुहुँदोरहेछ । त्यत्तिकैमा वैठक कोठामा छिर्दै भन्नु भयो

‘अब खाना पनि पाक्यो बाँकी कुराहरु खाना खाँदै पनि गर्ने हो कि ? के कसो सल्लाहहरु भए कुन्नि म त एकछिन किचन(भान्साकोठा)मै ब्यस्त भएँ । काकालाई पनि अफिस जान अबेला हुन्छ होला खाना पस्किउँ कि भनेर सोध्न आएको । भाउजुले सलाद काट्दैछन् अरु तयार भैसक्यो । खाना पस्कँदा पस्कदै सलाद पनि तयार भै हाल्छ ।’

काकाः ‘अँ, ठीक छ बाबु खाना पस्कनु । अर्जुनले कागज लिएर फ्लाइटमा आउँदैछन् । केही घण्टामा आइपुग्छन् । अहिले अरु सल्लाहहरु भए । कागज हेरेर थप सल्लाहा गरौँला अहिले म पनि यहाँ बसिराख्न पर्ने जरुरी देखिएन । त्यसैले खाना खाएर यतैबाट म अफिस जान्छु । अफिसबाट जरुरी काम सकेर म यतै आउँछु अनि कागज पनि हेरेर कार्यक्रम मिलाउँला ।’

त्यत्तिकैमा पिताम्बर काकाको फोनको घण्टी बज्यो । उहाँले फोन उठाएर अर्को पट्टि कुरा गर्नु भयो । कुरा सकिएपछि फोन काटेर भन्नु भयो ‘ससुरा बुवा अहिले घरबाट हिंड्नु भयो रे, यही आउछु भन्नु भएको छ । म अफिस जान्छु उहाँसँग तिमीहरुले कुराकानी गर । बुढाबुढीहरुको कुरा अलि कन्जरभेटिभ भयो भनेर दुखः नमान्नु । उहाँहरुको ज्ञान जति छ त्यसै अनुसारको सोचाइ हुन्छ । के गर्ने उहाँहरुको मन दुखाउन पनि भएन । उहाँहरुका अन्धविश्वासका पछि लाग्न पनि सकिंदैन । तै पनि सकेसम्म उहाँहरुको मन पनि राख्ने गरी कार्यक्रम बढाउनु पर्छ । ल भित्र खाना पस्किसके जस्तो छ । खाना खाऔं र म अफिस जान्छु ।’

खाना खाएपछि काका अफिस जानु भयो । हामी पनि सवै जना बैठकमा बसेको एकै छिन भएको थियो । वाहिर लठ्ठी टेक्दै मामाघरका हजुरबुवा आएको देखेर नेत्रदाइ ढोका खोल्दै उहाँलाई भित्र लिएर आउनु भयो । नमस्कार आदान प्रदान भयो । तर, हजुरवुवाले ‘हाम्रो संस्कार चलन अनुसार गहुत नखाँदासम्म ढोगभेट नगर्ने भन्थे तर अव आधुनिकता अपनाउने भन्छौ । ढोगभेट गर्नु त सामान्य नै भयो ।’

भन्दै आफ्नो असहमतिलाई कुटनीतिक पाराले ब्यक्त गर्नु भयो । अनि अगाडि भन्नु भयो । ‘नन्दराम गुरु पनि हिज नातिकहाँ बस्नु भएको रहेछ । फोनमा कुरा भएको थियो । अहिले यहीँ आउन भनेको छु । एकै छिनमा आइपुग्नु हुन्छ ।’

भाउजुले औपचारिकताको लागि पनि हजुरबुवालाई सम्बोधन गर्दै भन्नु भयो ‘खाना खान जाऔं ।’

हजुरबुवाले ‘मैले खाना त खाएर आइसके । बरु औषधि खान छ । एक गिलास मनतातो पानि ल्याउ ।’ भन्नु भयो ।

भाउजु भान्सा तिर मोडिन नपाउँदै नेत्र दाइ भान्सा तिरको ढोका निर हुनुहुन्थ्यो उठेर भान्सा कोठामा जानु भयो र क्याटलको पानी गिलासमा खनाएर ल्याउनु भयो । औषधि निल्दै हजुरबुवाले ‘अव उमेर ढल्किए पछि यस्तै औषधिका चक्की सक्की खाने बस्ने यस्तै रहेछ । दिन नआइ मरिंदो रहेन छ । भरखरका छोरी ज्वाइलाई लान भन्दा म बुढोलाई नै लगेको भए हुन्थ्यो यो दैवले नि ! हामीले भने जस्तो रोजे जस्तो नहुने’ भन्दै उदासिनता मिसिएको सुस्केरा हाल्नु भयो ।

हामी भित्र हजुरबुवाका कुरा सुन्दै थियौ । नन्दराम पण्डित आएर ढोका ढकेल्दै खोल्दा बल्ल चाल पायौँ । हजुरबुवाले आफुसँगैको सोफामा बस्न गुरुलाई इसारा गर्दै ‘यहीँ बस्नुस’ भन्दै बोलाउनु भयो ।

भाउजुले नन्दराम गुरुलाई ‘खाना खाने कि ?’ भनेर सोध्नु भयो । उहाँ उपाध्याय भएकोले हामी जैसी बाहुनले छोएको नखाए पनि तरकारी र रोटी खिर भने खानु हुन्छ । हामीलाई सानै देखि बानि लागेकोले हामीले छोएको नखाने भन्दा पनि अप्ठेर लाग्दैन ।

गुरुले भन्नु भयो ‘होइन, खाना त खाएरै आएं । यो घरमा आएको बेला नेत्र बाबुले सधै ग्रिन टी खान दिनु हुन्छ । अलि बेर पछि त्यही ग्रीन टी खान पर्ला । उहिले हामी सानो छँदा त चिया पनि अलि विटुलो भन्थे, खाइएन पनि । पछिपछि त अम्मल बसे जस्तो भएको छ । दिनमा एक दुई कप त खान मन लाग्छ । तर, यो ग्यास्टिकले साताउने भएर दुध हालेको चिया त खाँदिन, पाए ग्रीन टी नभए कालो चिया चाही खाने गर्छु ।’

हजुर बुवाले पनि थप्नु भयो ‘हो त नि गुरु, पहिले पहिले त टमाटर पनि विटुलो भन्थे खाइएन पो । नरहरि आचार्य पण्डित एक पटक सप्ताह बाचन गर्दा अलुकै सन्तान त हो नि टमाटर भनेर ब्याख्या गरे पछि उहाँको कुरो कुनै पण्डितले पनि काटेनन् । त्यस पछि टमाटरलाई सद्दे तरकारी मानेर खान थालिएको त हो नि । चिया पनि पहिला पहिला त खाने चलन थिएन, पछि पछि त पाहुना सत्कार गर्ने इज्जत धान्न चिया त पाहुनालाई टकार्नै पर्ने चलन आयो त नि ।’

‘अ यिनी हाम्रा पुराना गन्थन त कहिल्यै पनि सकिन्नन् । के के गर्ने भइयो के के सल्लाह गरेका छौ ? पुरानो संस्कार भन्छौ, हामीले विश्वास गर्दै आएको कुरा पनि तिमीहरु अन्धविस्वास, विज्ञानसम्मत छैन पनि भन्छौ । हामीले त काज क्रिया गर्ने, काँसी (बनारस)मा अस्तु सेलाउने, अनि गयामा गएर पिण्ड दिने गरेपछि बल्ल पित्री तर्छन् भन्दै त्यसै गर्दै आइयो अहिले सम्म ।’

त्यस बेलासम्म चुप्प लागेर ज्वाइ भएको मान राखे जसरि बसेका दिनेशले भन्न थाले ‘हो नि हजुर बुवा अव ग्रहण लाग्दा छोड चमारे छोड भनेर हजुरले नै भन्न छाड्नु भयो । कुरा जति बुझ्यो त्यसै अनुसार चल्यो गर्न पर्ने रहेछ । अव समय प्रविधि समाजको चेतना अनुसार हाम्रा संस्कारहरुमा परिवर्तन गर्न त पर्यो नै । हजुरहरुको मन कत्ति पनि दुखाउने मन त छैन । त्यसैले हामीलाई पनि यस्तो अन्धविस्वासको पछि त लाग्न हुँदैन भन्ने नपर्ने गरी के के गर्नु पर्छ हजुरले नै त सिकाउने हो नि हामीलाई ।’

हजुरबुवाः ‘हजुरको कुरा पनि ठीक त ठीकै हो । पहिला पनि पण्डितहरुका बीचमा पनि तर्क वितर्क हुन्थे । चलन चल्तिका संस्कारमा पनि कसैले पहिले देखि यसै गरेको यसै गर्नु पर्छ भन्थे । क्रिया बस्दा खाली खुट्टा पधेरा जाने आउने गर्नु पर्छ भन्थे । पछि त्यसो कहाँ हो र प्लास्टिकका चप्पल नहुँदा छालाको जुता चप्पल पो बार्ने भनेको हो नयाँ चप्पल लाउने बरु तेह्र दिनमा त्यो दान गर्ने भन्ने ब्याख्या गर्न थाले । पण्डित पनि कम्तिका बाठा कहाँ हुन्छन् र ! तपाईँ जस्तो सोझो बाहुनलाई भनेको चाही हैन है नन्दराम गुरु । चित्त नदुखाउनु होला । छट्टु पण्डितहरुको कुरा गरेको हो । पहिला पनि पण्डितहरुका बीचमा कुरा बाझियो भने अलि नयाँ पन गर्न चाहने पण्डितले चाही ‘विरालो बान्ने चलन छ भनेर हुन्छ र ?’ भनेर तर्क गर्थे । एउटा गाउँका पण्डितका घरमा श्राद्ध गर्दा घरको विरालोले पिण्ड दिन राखेको खिर खाइदिए पछि उनले विरालो बाधेर श्राद्ध गर्ने गर्न थालेछन् । ती पण्डितका चेलाहरुले श्राद्ध गर्दा घरमा विरालो नभए पनि गाउँबाट विरालो खोजेर ल्याएर घरमा बाधेर श्राद्ध गर्ने चलन बसाएछन् । यो कथन भने पण्डितहरुले खुव कुरा गर्छन । अब हजुरहरुका कुरा पनि मलाई त ठिकै लाग्छ । हामीले पण्डितहरुले त्यो विरालो बान्न पर्छ भने झै जे जे गर्न पर्छ भने त्यही गर्दै आयौं । त्यही गर्न पर्छ भनेर दिमागमा बस्यो त्यसैले हिँज त मैले पनि अलि जिद्दि गरें । राति मैले खुब सोँचे अनि यो नयाँ पिढिका कुरा त ठीक पो हुन त भन्ने लाग्यो । बाहुनहरु पनि ज्याद्रा पो हुन्छन त । अव, मैले आफै भोगेको कुरा सुनाउछु । हेर्नुस ज्वाइसाप, पाहिला पहिला पण्डितहरुले पुजा गर्न बस्नु भन्दा पहिला भए गरेका थाहा नपाएका पाप काटिन्छ भनेर गाइ दान गर्न पर्छ भन्छन् । साच्चैको गाई दान दियो भने लगेर पाल्न पनि आफुहरुलाई घास काट्ने झण्झट हुन्छ भनेर गाइको सट्टा गाईको मुल्य राखे हुन्छ भनेर बीस आना पैसा राखेर एउटा कुसको टुप्पो गाईको पुच्छर मानेर दुनामा राख्ने गरेर दान गर्न लगाउँथे । हजुरहरुलाई बीस आना भनेको पनि थाहा छैन होला । म बताउँछु । पण्डितहरु बनारस गएर पढेर आउने चलन थियो । यो बीस आना भन्ने भाषा पनि त्यतै बाट आएको हो । पहिला बेलायतीहरुले भारतमा शासन गरेका । पाउण्ड, सिलिङ, पेन्स भन्ने उनीहरुको मुद्राको चलन अनुसार भारतमा पनि त्यही चलन चलाएछन् । अनि रुपैयाँलाई सोह्र आना भन्ने गर्थे, पचास पैसालाई अठन्नी भन्थे, अनि पच्चिस पैसालाई चार आना भन्थे । एक रुपैयाँ बराबरको सोह्र आना र पच्चिस पैसा बराबरको चार आना जोड्दा बीस आना भनेर एक रुपैयाँ पच्चीस पैसाको गाइ बनाएर दान गर्न लगाउँथे । अलि पछि त सवै कुराको भाउ पनि बढ्दै गयो, पण्डितहरुलाई त्यो बीस आनामा आँखा लाग्न पनि छोड्यो । अनि, पाहिला गाई बीस आनामा पाइँदा चलाएको चलनले गर्दा गौदान गर्दा बीस आना राखेर कुसलाई गाईको पुच्छर मानेर गौदान गर्ने चलन हो अव त गाइको मुल्य बढि भयो त्यसैले एउटा गाईको मुल्य राखेर दान गर्नुस भन्न थाले । कमाइ गर्ने कुरामा चाही चलन फेर्न बाहुनहरुलाई हतारै हुन्छ । आफ्नो कमाइ घट्छ कि भनेर अरु कुराको चलन भने फेर्न मनै गर्दैनन् । अम्रिकाने चन्द्रमामा गएर माटो नै बोकेर ल्याए भने पछि लाजकाज ग्रहण लाग्दा उठाउने सिधा उठाउन बल्ल छाडे । नत्र त ग्रहण लाग्दा बाहुनलाई छुट्दै सिदा बनाएर दिन पर्ने हुन्थ्यो ।’

हजुरबुवाको लम्बेतान कुरा रोचक मान्दै सुन्नु भएको भाउजुले हजुरबुवाले कुरा यस्सो विसाएको मौका पारेर भन्नु भयो ‘चिया खाने हो कि अव अजुरबुवा ?’

हजुरबुवा ‘गुरुले त ग्रीन टी खाने भनेर अघि नै कुरा सक्नु भएको छ । मैले त दुधकै मिठ्ठो, ट्वाक्क चिनी लागेको चिया खाने हो । यो आजकाल गाडी पनि कोही डिजलका हुन्छन्, कोही पेट्रोलका हुन्छन् । त्यस्तै हो कसैको ज्यानमा दुधको चियाले ठिक गर्छ कसैको ज्यानमा रातो चियाले । डिजल गाडीमा पेट्रोल हाले विग्रन्छ भन्छन् त्यस्तै हो मेरो पेटमा त दुधकै चिया हाले राम्ररी चल्छ । गुरुको जस्तो पेट्रोलले चल्ने पेटमा ग्रीन टी हाल्ने मेसो मिलाउन त, बुहारी ।’

हजुरबुवाको रसिला कुरा सुनेर नन्दराम गुरु पनि मुसुमुसु मुस्कुराउनु भयो । भाउजु चिया बनाउन भान्सा तिर पस्नु भयो ।

मैले हजुरबुवालाई सोधेँ ‘हजुरले अघि त्यो ग्रहण लाग्दा सिदा दिन पर्ने भन्नु भयो त्यो भनेको के हो नि ?’

हजुरबुवाः ‘अहिले तिमीहरुले जातपात मान्ने भनेर हामीलाई छुवाछुत गरेको भनेर गाली गर्छौ । हामीले त के के भोगियो–भोगियो नि । हाम्रा सवै कुरा त तिमीहरुले पत्याउँदा पनि पत्याउँदैनौ । तै पनि अलिअलि भन्छु ल सुन– पण्डितले पात्रो हेरेर फलानो दिन यतिखेर चन्द्रग्रहण लाग्छ भन्थे । नभन्दै त्यही बेला चन्द्रमामा कालो धब्बा देखिन्थ्यो । पण्डितले पहिल्यै कसरि थाहा पाएका होलान भनेर नपढेका गाउँलेहरु त पण्डितलाई सवै कुरो जान्ने रहेछन् भनेर पत्याइ हाल्ने भए । पण्डित त भगवानकै सन्देश लिएर आउने मान्छे हुन, भगवान कै अंश हुन भन्ने अर्थमा बुझ्थे । त्यसैले गर्दा पनि पण्डितले भनेको नगरे त पाप लाग्छ भन्ने थियो गाउँले हरुलाई । पण्डितहरु भने आफुहरुको कमाइ बढ्ने गरी गाउँलेहरुलाई कुरा सुनाउँथे । जुत्ता बनाउने जातलाई चमारे भन्ने चलन थियो । अहिले सार्की भनेको सुनेका हौला । गाई भैसी मरेपछि त्यसको छाला काढेर सुकाएर जुत्ता बनाउने पेसा भएकोले उनीहरुलाई चमारे भनेका । उता भारत तिर छालालाई चमडा भन्ने भएको हुनाले छालाको काम गर्ने जातलाई बाहुनहरुले हेला गरेर चमारे भन्ने बनाएका । हुन त पण्डितहरु पनि बनारस तिर गएर पढेर आउँथे त्यसैले उतैबाट सिकेर आएका हुँदाहुन । म पनि त मध्यमासम्म बनारस गएर पढेर आएको हुम नि । त्यहीं पढेको भएर त जिम्माल बनेर हैकम चलाएं । अहिले पो जिम्माल हुने ब्यवस्था पनि हरायो हाम्रो हैकम पनि गुम्यो । ज्योतिषहरुले चाही रातभरि बसेर तारा चन्द्रमा कहाँ पुगे भन्ने गनेर टिपोट बनाएर समयको गणना गरेर पात्रोको हिसाब विकास गरेछन् । त्यही पात्रो हेरेर फलानो दिन यत्तिखेर ग्रहण लाग्छ भन्ने बनाएर पुरोहितहरुले गाउँले ठग्ने मेसो मिलाएका हुन । गाउँभरि पुरोहित हरुले ग्रहण लाग्ने दिनलाई आज यति खेर ग्रहण लाग्छ, यो ग्रहण फलाना राशी भएकालाई फाप्छ, फलानो राशी भएकालाई फाप्दैन, भन्थे अनि चन्द्र भगवानलाई त्यो चमारेले छोएकोले ग्रहण लागेको भनेर ग्रहण लागुनजेल गाउँले भरिलाई छोड चमारे छोड भनेपछि चाडै ग्रहण हट्छ, ग्रहण लागुन्जेल खान पिन गर्न, पकाउन पनि हुँदैन भनेर सिकाउँथे ।’

हजुर बुवाका कुराले दिनेशलाई पनि आफ्ना भावना ब्यक्त गर्ने आँट जगाएछ । आखिर बुढा भएका पुस्ता पनि त परिवर्तन र विज्ञानलाई त स्वीकार गर्दा रहेछन भन्ने लागे छ । उनले हजुरबुवाका कुरामा थप्दै भन्न थाले
‘मेरो स्मरण शक्तिले काम गरेको थाहा पाउँदा अर्थात मेरो सम्झनाका सुरुका दिनहरु मै मेरो मस्तिस्कले महिला र पुरुषबीच फरक छुट्याउन थालेको थियो । तर, कपाल लामो भएका, धोती–चोलो–ब्लाउज, लेहेँगा जस्ता पहिरन, हातमा लगाएका चुरा, नाक कानका गहना आदिका आधारमा मैले महिला र छोटो कपाल, पुरुष पहिरन आदिबाट महिला र पुरुष छुट्याउँथे । केही कुरा सिक्दै गएपछि स्वरले पनि छुट्याउन थालेको थिएं । तर, मलाई आमाले दुध चुसाउनु हुन्थ्यो तर बुवाले दुध चुस्न दिनुहुन्थेन भन्ने विषयमा कहिल्यै सोचिन पनि होला ।

सामाजिक परम्परा अनुसार नछुनी (महिनावारी) भएको भन्दै, पुरुषसँग नछोइने, खाना अलग्गे खाने जस्ता महिलाहरुका ब्यवहारले पुरुष र महिला बीच फरक रहेको त बुझ्थें तर महिनावारी के भएर बारिन्छ भन्ने पटक्कै मेसो थिएन । मेरो भतिजको सात–आठ वर्षको उमेरमा छोरी तथा उसका दिदी लगायतका महिलाले नछुने भएको र बारेको देखेर बेलाबेला त्यो बच्चाले पनि नछुनी भएको छु अलग्गै बसेर खान्छु भनेको सुन्दा उसको अन्योलताबाट मेरो पनि त्यो उमेरको भ्रम स्पष्ठ हुन्थ्यो । साच्चै भन्ने हो भने मेरी श्रीमती अस्मितासँगको हेलमेल पछि बल्ल वास्तवमा महिलाहरुको नछुनी (महिनावारी) के हो भन्ने मैले बुझेको हुँ । स्कूलमा स्वास्थ्य शिक्षाको पुस्तकमा महिलाहरुको महिनावारीको विषयमा लेखिएको थियो र पाढइएको पनि हो तर महिलाहरुको मासिक रक्तस्रावका विषयमा नवुझिकनै जाच पास गरिएको रहेछ । पाचास जना विद्यार्थी रहेको हाम्रो कक्षामा जम्मा चार वटी मात्र केटी थिए । त्यो पाठ उनीहरुले मात्र बुझेका रहेछन् भन्ने अहिले महसुस हुन्छ । सानै बाट गुप्ताङ्गका कुरा गर्नु हुँदैन, लाज हुन्छ भन्ने सिकाइएको थियो त्यसैले त्यस विषयमा कुरै गरिएन । अस्मितासँग त्यस विषयमा कुरा हुन थालेपछि बल्ल ज्ञान भयो, महिलाहरुको गुप्ताङ्गबाट हरेक महिना तीन–चार दिनसम्म रगत बग्ने समयलाई अपवित्र मानेर बारिने चलन रहेछ ।

पुरुषका विषयमा महिलाहरुलाई पनि त्यस्तै अन्योलता पक्कै भए होलान । त्यो कुराको विषयमा यूट्यूवको एउटा क्लिपबाट मैले अलिअलि बुझेँ जस्तो लाग्छ । अमेरिकाको सहरमा हुर्किएकी एउटा बयस्क केटीले उनको स्कूले उमेरमा भएको सोँच बताएकी थिइन । उनलाई पुरुषहरुले गुप्ताङ्ग त साथमा बोक्ने अटैचीमा राखेर लिएर हिँड्छन् र चाहिएका बखत शरीरमा जोडर त्यसको प्रयोग गर्छन भन्ने लाग्दो रहेछ । अरुलाई उनको सोचाईको स्तर कस्तो लाग्छ मैले कसैलाई सोधेको छैन, तर मलाई भने उनी र मैले एउटै खालको डुङ्गा खियाएर एकै खालको नदी तरेका रहेछौं जस्तो लाग्छ ।

एक दिन नेपालका सर्बोच्च अदालतका पेन्सन भैसकेका र बर्तमान न्यायाधीशहरु बेलायत आएको समयमा उनीहरुसमेत हामी ५ जनाको समुह लण्डनको अक्सफोर्ड स्ट्रिटमा किनमेलको लागि गयौं । दुई महिला र तीन पुरुष । महिलाहरु पसलमा छिरेपछि पसल भित्र समय अति नै लामो भएको महसुस गरेर हामी पुरुषहरु पसल वाहिरको पेटीमा उभिएर गफ गर्दै थियौं । बेलायतका अरु पसलमा जस्तै त्यहाँ पनि बस्ने मेच आदि थिएनन् । त्यसै बेला मैले हामी पुरुषहरुका बीचमा एउटा प्रश्न गरें–

“शोपिङ गर्न रमाउने कुरा महिलाहरुको जीनमा नै हुन्छ कि संस्कार र संस्कृतिले महिलालाई किनमेलमा रमाउने गराएको होला ? अर्थात यो प्रकृतिले तोकेको हो कि समाजको सिर्जना ?”

पूर्व प्रधान न्यायाधीश र अर्का पूर्व न्यायाधीशले बच्चा केटीहरुले गुडिया खेलाउने तथा नङ पालिस लगाइदिन भन्ने अनि केटाहरु फरक खेल खेल्ने तर्क प्रस्तुत गर्नु भयो । समाज, संस्कार र संस्कृतिले नभएर प्रकृतिले नै विभेद गरेको तथा महिलामा शोपिङमा रमाउने गुँड रहेको उहाँहरुको तर्क थियो ।

त्यस्ता तर्कहरुमा म अभ्यस्त भैसकेको छु । त्यसैले मेरो अनुमान भन्दा अलग तर्क थिएनन् र थप तर्क पनि गरिन मैले । तर, ती तर्कमा म भने सहमत छैन । बच्चाहरुले समाजका कुराहरु बुझ्न थाल्दा नै केटी महिला भएकोले आमा तथा दिदीहरु जस्तै गर्नु पर्ने र छोरोले बुवा तथा दाइहरु जस्तै गर्नु पर्ने सिकाइ सकिएको हुन्छ । त्यसकै परिणाम स्वरुप विकास हुँदै गरेको दिमागले छोरा र छोरीले फरक खेलौना रोज्ने गरेको मान्छु म । हाम्रो समाजको विकासक्रम हेर्ने हो भने पहिला त यो शोपिङको जिम्मा पनि पुरुषहरुमा हुन्थ्यो । गाउँबाट बुवाहरुले भरिया लिएर सहर गएर सामान ल्याउने गर्नु हुन्थ्यो । प्रविधिले सुसज्जित हुँदै शहरीकरण र उपभोक्ताबादी बजारको विस्तार हुँदै गएपछि महिलामा शोपिङमा रमाउने चलन पो चलेको हो त । इस्टमित्र, आफन्त र परिवार सम्बन्धी जिम्मेवारी पुरा गर्नु पर्ने तर बजेटमा चल्नु पर्ने परिधिको सामाजिक बनोटमा शोपिङमा उनीहरु रमाउने गरेको जस्तो लाग्छ । एकल पुरुषहरु विवाहित पुरुषभन्दा बढि किनमेलमा रमाउने उदाहरणले यो तर्कको समर्थन गर्छ ।

बर्तमान समाजका महिला समानताका अभियन्ताहरुको बुद्धिले गर्ने निर्णयमा परम्परा र संस्कारले बानी पारेका गतिविधिहरु त्यसै बदलिंदैनन् । त्यो खालको बदलाव आउन संस्कारमै बदलाव आउनु पर्छ । समाजले पुरुषहरुले निर्वाह गर्नु पर्ने जिम्मेवारी र महिलाहरुले निर्वाह गर्नु पर्ने जिम्मेवारी बाँडफाडँ गरेको छ । हामीलाई त्यसैमा बानी परेको छ । ती जिम्मेवारीहरु महिला समानताको कसीमा असमान छन् तर ती असमानता त्यसै हट्दैनन् पनि । हामीलाई त मनुस्मृति, अझ त्यस मध्ये पनि मिताक्षरा तथा चाडक्य नीतिहरुले सिकाएको ब्यवहारको बानी परेको छ । संकृति र धर्म जोगाउने नाउँमा चलिआएका अन्धविश्वासहरु सहजै हराउनेवाला पनि छैनन् । अपहेलित र उत्पिडन भोग्न बाध्य पारिएका दलितहरु र जनजातीहरु हिन्दूबाट अन्य धर्मप्रति आकर्षित भैरहेको महसुस गर्न समाजका अगुवा मानिएका पण्डितहरु अनिच्छुक भेटिन्छन् । जुन दिन समाजका अगुवाहरुले अफ्नै समाज भित्रका कमजोरीहरु पहिचान गरेर सुधार गर्न तर्फ लाग्ने छन् त्यसबाट मात्र धर्म परिवर्तन रोकिन सक्छ । अन्धविश्वासहरु हटेपछि बल्ल वास्तविक महिला समानताका कदमहरु अगाडि बढ्नेछन् । पश्चिमा समाजमा हाम्रो समाज भन्दा पहिला महिला समानताका कदमहरु चालिएकाले हाम्रा अभियन्ताहरु पनि उनीहरुकै कदम अनुकरण गर्न तल्लिन छन् । तर, धार्मिक अन्धविश्वासबाट बाहिर निस्कन नसक्दासम्म लैङ्गिक समानता कायम हुन सक्दैन । पश्चिमा समाजमा धार्मिक अन्धविश्वास अलि पहिला कम भएकोले त्यहाँका महिलाहरु अलि चाडै अगाडि बढेका हुन । पश्चिमा समाजले अर्कै धर्म माने पनि ती धर्ममा समेत अन्धविश्वासहरु छन् । हाम्रो समाजले भानुभक्त रामायण पढ्न सुरु गर्दा बेलायती समाजमा स्वचालित छापाखानले पत्रिका छाप्न थालेका थिए, टाइम्स पत्रिका बेच्न थालिएको थियो । त्यो शिक्षाले पश्चिमा दुनियालाई अलि चाडै अन्धविश्वास विरुद्ध उत्रिन सिकायो । दोस्रो विश्वयूद्धबाट घर बाहिर काम गर्ने पुरुषको कमीमा महिलाहरु घर वाहिरको काममा निस्कनै पर्ने अर्को परिस्थितिले पनि त्यसमा उर्जा दियो । त्यस समय कालमा रामायणले हाम्रा महिलालाई सिताको जस्तो ब्यवहार असल नारी चरित्रका रुपमा सिकाउँदै थियो । स्वस्थानी ब्रातकथाले गोमा ब्राम्हिणीको उत्पिडनलाई न्यायोचित ब्यवहार मान्न बाध्य पार्दै थियो । पश्चिमा समाजमा धार्मिक अन्धविश्वासमा लिप्त हुनेको संख्या घट्दै गएको विषय तथ्याङ्कले पुष्टि गर्दछ ।

अन्धविश्वासहरु धार्मी आस्थासँग जोडिएका हुन्छन् । धर्म र आस्था छलफल गर्न सम्बेदनशील विषय पनि हुन । तर, एउटा ध्रुवसत्य के हो भने समाजमा जति ज्ञानको कमी हुन्छ धर्म तथा अध्यात्मबाद त्यत्ति नै हावी हुन्छ । उदाहरणको लागि एक सताद्वि अगाडिसम्म चन्द्रमाका विषयमा मान्छेलाई ज्ञान थिएन । अघि हजुर बुवाले पनि त्यही भन्नु भएको त हो नि । त्यसैले चन्द्रमालाई भगवान मानेर पुज्ने गरियो । पृथ्वीको छायाँ परेर ग्रहण लाग्छ भन्ने थाहा नहुँदासम्म चमारेले छोएको मानेर ‘छोड चमारे’ भन्न सिकाएका पण्डित बचनलाई नै अनुसरण गरियो । ती पण्डितहरुलाई अझै पनि ज्ञानी भनिन्छ । चन्द्रमाका विषयमा ज्ञान भयो र मान्छे त्यहाँ पुगेर पनि आएपछिको हाम्रो नयाँ पिंढिले चन्द्रमालाई भगवान मानेर पुज्ने विषय नभएर ग्रहको रुपमा बुझेका छन् । यसबाट के स्पष्ठ हुन्छ भने मान्छेले जे कुराका विषयमा बुझ्दैन त्यहीँबाट इश्वरको कल्पना गर्छ । प्रकृतिका जटिलताका जति उत्तर भेटिँदैनन् त्यत्ति धर्मको कुरा गरिन्छ । जति उत्तर भटिँदै जान्छन् हाम्रा पण्डितहरु चन्द्रमाका कुरा त बुझेर मान्छे त्यहाँ पुगेछन् ल तर यो सवै कसले बनायो भन्ने थाहा पाउन सकेको छैन मान्छेले त्यही भएर इश्वर छन् त्यसैले अध्यात्मबाद मात्र एक विकल्प हो भन्ने तर्क गर्छन । ज्ञानको कमीको फाइदा जति उठाउन सक्यो त्यत्तिनै अध्यात्मिक गुरुहरुको पेसा फस्टाउँछ । त्यत्ति नै धेरै चेला पछि लाग्छन् । त्यसैले उनीहरुलाई ज्ञानी पुरुष भन्ने प्रचलन नै गलत छ । जुन ज्ञानको कमी छ त्यही भजाएर खाने हुनाले उनीहरु त अज्ञानी हुन, खासमा ।

उत्तर नभेटिएका विषयबाट फाइदा उठाउन उनीहरु खुवै सिपालु हुन्छन् । हरेक धर्मका कुरा सुन्दै गयो भने निराकारमा गएर टुङ्गिन्छ । ब्रम्हा, विस्णु, कृष्ण, देवी सवैका कुरा गर्दै निराकारको ब्याख्या गर्छन हिन्दू पण्डितहरु । मुसलमान, इसाइ, सिख जुनसुकै धर्मका गुरुहरुले निराकार शक्तिका प्रतिनिधिका रुपमा जिसस, पैगम्बर, राम आदिको ब्याख्या गर्छन । मुख्य विषय नै निराकारमा केन्द्रित हुनुको मतलव पदार्थबाट चेतना विकास भएको स्वीकार हुनु पर्नेहो तर धर्म गुरुहरु भने चेतनाबाट पदार्थ सिर्जना गरिएको तर्क गर्छन । अर्थात सन्सार उत्पत्ति गर्ने कुरा मान्छेले कम्प्यूटर बनाएजस्तो मान्छेको दिमागको उपज जस्तै चेतनाबाट बल्ल पदार्थ बनाइएको कल्पना गरिन्छ । मानव शरीरका रगत, हाड, छाला, मुटु, फोक्सोले पर्याप्त काम गरेपछि बल्ल गिदीमा चेतनाको सिर्जना हुन्छ । त्यही चेतनाले आत्माको कल्पना गर्छ, संसार उत्पत्तिको विषयमा तर्र्क गर्छ । जुनी फेरिने विषय पनि मस्तिस्कको कल्पनाबाट जुराइएका विषय त हुन । यदि संसार बनाउने एउटै इस्वर भएको भए जुनसुकै धर्मको पनि संसारको उत्पत्तिका विषयमा त एउटै तर्क हुनुपर्ने हो नि त । फरक फरक धर्मका फरक फरक तर्क हुनुको मतलब जुन परिस्थितिमा मान्छेले सोच्छ त्यसै अनुसारको धर्मको कल्पना गर्छ भन्ने पुष्टि हुन्छ ।

यो चेतनाले पदार्थ बनाएको होइन पदार्थबाट चेतनाको विकास हुन्छ भन्ने मान्यताले समाजमा स्थान बनाएको खण्डमा मात्र महिला पुरुषको समानताको कल्पना साकार हुनसक्छ । अज्ञानीलाई ज्ञानी मान्दासम्म र स्वस्थानी ब्रतकथाले ब्याख्या गरेको मरेका राक्षसको हाडछालाबाट पहाड र माटो बनेको भ्रमबाट बाहिर ननिस्कँदासम्म हाम्रो समाज उत्थानका नाराहरु साकार हुन सक्दैनन् । धर्मका कुरा गरेर ग्रन्थहरुले नै गोमा ब्राम्हणी तथा सिताले भोगेका उत्पिडनलाई महिलाले स्वीकार गर्नु पर्ने मानसिकतामा विकास हुने समाजले समानताका कुरा संविधानमा लेखेपनि ब्यवहारमा साकार हुन सम्भव छैन । न त यो समस्या धर्मपरिवर्तनबाट नै सम्भव छ । यो विभेदबाट बाहिर निस्कन अज्ञानीहरुका कुराको भ्रम चिर्न सक्नु पर्दछ । पदार्थबाट चेतना विकास हुन्छ भन्ने आस्था बनाउन जरुरी छ । यो कुरा म मेरा दौतरीहरुलाई त भन्न सक्छु तर मेरी आमासँग मैले यो ज्ञानको तर्क गर्न सक्दिन । जुन पुस्ताका आमाहरुले पदार्थबाट चेतना विकास भएको आस्था बनाउने छन् त्यो पुस्ताले समानतामा आधारित समाज भोग्न पाउने छन् ।’

हजुरबुवाः ‘ज्वाइको अरु कुरो त ठीकै लाग्यो, बेदका राम्रा कुरालाई पण्डितले विगारेका पनि छन् । तर, भगवान नै छैनन् भने यो संशार कसले बनायो त ? सवै बनाउने भगवान नमान भनेर त भन्न भएन नि !’

त्यत्तिनजेल कुरा खुब ध्यानसँग सुनिरहनु भएकाका नेत्र दाइले भन्नु भयो
‘ज्वाइले भनेको पनि त त्यही हो नि हजुरबुवा, दुनिया कसरी बन्यो ? भन्ने थाहा नहुँदासम्म हजुरले भने जस्तै कुनै चेतना भएको भगवान छन्, चाहे तिनी ब्रम्हा हुन, चाहे अल्ला हुन जाहे गड नै हुन भन्ने मान्यता रहँदासम्ममा अहिलेसम्मका हाम्रा चलन र संस्कार विकास भएका हुन र ती कुरा सिकाउनेलाई हामीले ज्ञानी पुरुष भन्ने गरियो । तर, बैज्ञानिक आइन्स्टाइन देखि लिएर प्रोफेसर हकिङ्सले धेरै अनुसन्धान गरेपछि संसार उत्पत्तिको बैज्ञानिक कारण तथा ब्ल्याक होलका विषयमा बताए पछि बल्ल “चेतना प्रमुख कि पदार्थ प्रमुख” भन्ने विषयको खास छलफल सुरु भएको छ । उनीहरुको खोज भन्दा पहिलाको भौतिकवादी भावनाहरु त केवल तर्कमा आधारित थिए । हाम्रा धर्मगुरुहरुले त अझै पनि मानिसको जुनकुराको ज्ञान छैन त्यहीँबाट भगवानको अस्तित्वको वकालत गर्नु हुन्छ, अर्थात ज्ञानको कमीका आडमा मान्छेलाई धर्मका कुरा सिकाइन्छ भने त त्यस्तो ज्ञान बाड्नेहरु ज्ञानि नभएर अज्ञानी नै भन्नु पर्छ जस्तो लाग्यो मलाइ त ।’

त्यत्तिखेरसम्म कोठामै थिइन छोरी । नेत्रदाइले बोल्दै गर्दा आएर मेरो छेउँमा टासिएर बसिन । नेत्रदाइका कुरा सकिएर दाइ रोकिए पछि उनले मसिनो स्वरमा भन्न थालिनः ‘मम्मी, मैले स्कूलमा इमेल पठाएकी थिए, मेरो मेटर्नल ग्रयाण्डपा पास्ड अवे भएकोले म अपरझट ममसँग नेपाल आएकोल यहाको रिचुअल कार्यसबै सकिए पछि केही दिनमा स्कूल आउँछु भनेर इमेलमा लेखेकी थिएं । आज स्कूलबाट इमेल आएको रहेछ, मैले यहाँ के के रिचुवल कार्यक्रम हुन्छ, कसरि गरियो विवरण लेखेर आउनु र त्यो नै कोर्शवर्कमा काउन्ट हुन्छ भनेर लेखेको रहेछ । मलाई सवै बताउनुस म लेख्छु ।’

मः ‘हुन्छ, मतिमीलाई सवै बताउँछु । अहिलेसम्मको त तिमीले देखिहाल्यौ कसरी बडीलाई बागमती नदीको छेउँमा आर्यघाट लगेर दुवै शरीर जलाइयो । कसरी सेतो कपडाले बेरेर हरियो बम्बो (बाँस) को बेड (खाट) बनाएर नदीसम्म लगियो सवै दिमीले देखेजसरी लेख, केही नबुझेको भए हामीलाई सोध । त्यो शवबलाई जलाएको ठाउँलाई नेपालीमा घाट भन्ने गरिन्छ । अरु पनि म तिमीलाई सवै सिकाउँछु । तर, पहिलेदेखि हाम्रो सोशाइटिमा गर्ने कतिपय कुरा हामीले नगर्ने भएका छौ । हजुरबुवा र पण्डितजीहरुसँग हामीले गरेको डिसकसन पनि तिमीले सुन्यौ नि होइन ? त्यो सान्टिफिक नभएकोले चेन्ज गर्नु पर्छ, यदि मोडिफाइ गरिएन भने तिमीहरु जस्तो न्यू जेनरेसनले केही पनि विस्वास नलागेर पुरै मान्न छाड्छौ त्यसैले गुड रिचुवल (संस्कार) फलो गर्ने अनसाइन्टिफिक चलन सुधार गर्ने प्रयास गर्दै छौ ।’

छोरीः ‘आइ लाइक योर आइडिया मम, यू आर जिनियस ।’

मः ‘म मात्र होइन, दिनेश र नेत्र दाइ पनि त्यही भन्दै हुनुहुन्छ । तिमीले पनि नेपालीमा बोल है । तिमीले नेपाली बोल्न जानेकै छौ, अझै राम्रो नेपाली बोल्न पनि सिक्नु पर्छ ।’

छोरीः ‘योर, हजुर वुवाले भनेको अनुसार के के गर्नु पर्यो ? ह्विच यू आर नट एग्रिड ?’

मः ‘तिमीले इङ्गिलिसमा बोल्दा सवै कुरा हजुरबुवा हरुले बुझ्नु हन्न नि त, तिमीले नेपालीमा बोलन ।’

छोरीः ‘हो म ट्राइ गर्दैछु, बट सबै नेपाली वर्डस लाइक एग्रिड भन्न मलाई नेपालीमा भन्न आउँदैन त्यसैले भनेको हो, म नेपाली वर्ड ट्राइ गर्दैछु ।’

मः ‘ठीक छ, तिम्रो प्रयास ठीक छ, यस्तै सिक्दै जानु पर्छ, एग्रिडलाई नेपालीमा सहमत भनिन्छ ।’

हाम्री छोरी जस्ता विदेशमा हुर्किएका नयाँ पुस्ताले कति नेपाली संस्कृति र सस्कार अर्को पुस्तालाई सिकाउँछन् भन्ने त भन्न सकिन्न । तर, हामी नेपालमै सवै चालचलन सिकेको र देखेकोले त्यही राम्रो लाग्छ । त्यसैले यिनीहरुले पनि त्यही सिके हुन्थ्यो जस्तो लाग्छ हामीलाई । तर, पहिलेको छुवाछुतको चलन हामीले नै विरोध गर्छौ । पहिला भन्दा त धेरै चलन फेरियो पनि । बुवाले भनेको सुनेको मैल त, पहिला पहिला त बजार तिर पनि बाहुनका होटेल र अरु होटेल पनि हुन्थे रे । बाहुनले अरु होटेलमा नखाने र चोख निध गरिने मान्यताका आधारमा बाहुनले चलाएको बाहुन होटेलमा चाही खाना खान्थे रे ।

‘अ साच्चै, हजुर बुवा, नेत्रदाइ कसैसँग बुवा–आमाले केही कुरा गर्नु भएको थियो कि एउटा खुल्दुली लागिरहेको छ । बुवाआमालाई सोधेर खुल्दिुली मेटाउनु पर्ला भन्ने सोचेकी थिएं तर उहाँहरु नै हुनुहुन्न अव कसरि थाहापाउने केही बुझेकै छैन ।’

नेत्र दाइः ‘के खुल्दुली हो भनन् त, थाहा भए भानिहाल्छौ, तिमीले के खुल्दुली हो भन्ने नभन्दासम्म त थाहा छ कि छैन भन्ने नै नहुने भयो नि त ।’

मः ‘अ त नि, के भने नि मैले बेलायतमा एउटा नेदल्र्याण्डसकी एउटा म जस्दै केटी भेटेँ । शरीर अनुहार दात सवै मेरै जस्तै छन, अझ जन्म दिन पनि उनको र मेरो एउटै रहेछ । त्यसैले हामी त जुम्ल्याहा सन्तान भए जस्तो खुल्दुली लागिराखेको छ । उनीसँग भेट भएको पनि धेरै दिन भएको छैन । उनका बुवाआमा त हुनुहुन्छ, उहाँहरुबाट पनि थाहा त लाग्ला कि ! तर हजुरहरुलाई त्यस विषयमा केही थाहा छ कि भनेर हो । हुन त त्यसो भन्दैमा हामी जुम्ल्याहा हौ नै भन्ने पक्का पक्कि त छैन । खुल्दुली मात्र हो । त्यस्तो भएको भए त बुवाआमाले मलाई त भन्न पर्ने, केही पनि भन्नु भएन । तर, एक्कासी उनीसँग भेट हुँदा खुल्दुली लागिरहेको छ ।’

नेत्रदाइः ‘तिमी त दाइले नदल्र्याण्ड्समा पढ्दा त्यही जन्मिएकी हौ । पछि पढाइसकेर दाइभाउजु आउँदा तिमीलाई लिएर आउनु भएको हो । त्यस्तो तिम्रो अरु कोही जुम्लेहा जन्मेको भन्ने त कहिल्यै केही कुरा पनि गर्नु भएन । हस्पिटलमा जन्मिदा नै त्यहीँबाट जुम्लेहा अर्को तिम्रो दिदी वा बहिनीलाई डाक्टर नर्सले नै लुकाएको भएमात्र हो । नत्र, दाइ भाउजुले हामीलाई कि त तिमी ठूली भए पछि केही त भन्न पर्ने हो । अव त उहाँहरु पनि हुनुहुन्न सोधेर थाहा पाउने कुरा पनि भएन ।’

हजुरवुवाः ‘खै त्यस्तो तिम्रो जुम्ल्याहा भन्ने त हामीले कहिल्यै सुनेनौ थाहा पनि पाइएन । त्यस्तो भए त भन्दा हुन । केही थाहा भएन । नेत्र बाबुले भनेजस्तै उतै अस्पतालबाटै डाक्टर नर्सले गायब पारेर उनीहरुलाई पनि थाहा नभएको भए भन्न सकिएन । त्यस्तो त नहुन पर्ने हो । अब त यहाँ कसैलाई थाहा नभए पछि कि त तिमीले भने जस्तै ती अर्की नानीका बाउआमालाई भेटेर सोध्यो भने थाहा लाग्ला । हामी उता जाने खोज्ने कुरा भएन । यहाँबाट अव सवै काम सकेर फर्किएर गए पछि तिमी आफैले पत्ता लाउली । बरु त्यस्तो तिम्रो जुम्ल्याहा भए त यहाँ ल्याउन पनि पर्यो भेट्न पर्यो । फेरि जन्म मिति पनि एउटै भने पछि, तिमीसित जिउ–डाल, कपाल, आँखा, कान, दाँत सवै मिल्ने हिसाबले त जुम्ल्याहा हुन सक्ने देखियो । नत्र उताका मान्छे त गोरा, खैरा आँखा, खैरो कपाल हुन पर्ने हो ।’

मः ‘त्यही त हजुरबुवा यी सवै कुरा केलाउँदा जुम्ल्याहा दिदीबैनी भेटिएकी जस्तो लागेर त खुल्दुली भैराखेको छ । साइकलबाट लडेर हात खुट्टा भाचिएर मेरै अस्पतालमा आइपुगेकीले उनको उपचारकै सिल्सिलामा मैले भेटेकी हुम । हामीसँगै काम गर्ने नर्सले हो पहिलो चोटी हामीलाई उस्तै डाक्टर र विरामी भनेर झक्झकाएको । पछि कुरा हुँदा ती केटीले पनि मलाई आफु जस्तै भएको जस्तो लागेको बताइन । मलाई त उनलाई देख्ना साथ आफु जस्तै लाग्यो अझ जन्ममिति पनि एउटै देखे पछि त पक्कै हामी जुम्ल्याहा नै हौ कि जस्तो लागिराखेको छ । तर, ती केटीलाई भने हाम्रो जन्म मिति पनि एउटै हो भन्ने थाहा छैन । मैले त उनको अस्पतालको रेकर्डबाट उनको जन्ममिति थाहापाएर हेर्दा मेरो र उनको उएटै दिन जन्म भएको भन्ने थाहा पाएं । उनलाई त मेरो जन्म मिति मैले बताइकि पनि छैन, अरु कतैबाट मेरो जन्म मिति उनले थाहा पाउने कुरा पनि भएन ।’

त्यत्तिन जेल भाउजु कुरा सुनेर बसिराख्नु भएको थियो । उहाँलाई पनि जुम्ल्याहा केटी हुन सक्ने कुरा सुनेर खुवै खुल्दुली लागेछ । अनि भन्नु भयो ‘मलाई पनि जुम्ल्याहा नै हो कि जस्तो पो लाग्न लाग्यो, हजुर त आफै पढेलेखेकी डाक्टर मान्छे । हैन, रगत जाँचेर जुम्ल्याहा हो कि होइन भन्ने थाहा हुन्छ होला नि । मलाई त अर्की नन्द नै हुनुहुन्छ कि जस्तो पो लाग्न थाल्यो ।’

मः ‘अँ भाउजु, रगत जाचेपछि थाहा त हुन्छ जुम्ल्याहा भए नभएको । त्यसैले उनको उपचारको लागि आवस्यक नहुने भएर पनि मैले उनको रगतको डिएनए सिक्वेन्स जाँच्न पठाएकी छु । उता त्यो टेस्टको रिजल्ट पनि आए होला तर यता यस्तो भयो यहाँ आउनु पर्यो । उता खुल्दुली यता पीर अझ बुवाआमालाई सोधेर जुम्ल्याहा भए नभएको पत्ता लगाउँला भनेको पनि हरायो । हुने बेलामा सवै एकै चोटी भैराखेको छ । खै के के हुने हो कुन्नि ! मेरो रगतको डिएनए सिक्वेन्स मैले पढ्ने बेलामा सिक्न पनि हुन्छ भनेर जाँचेर राखेकी छु । त्यसैले ती केटीको डिएनए सिक्वेन्स रिपोर्ट हात पर्यो भने अनि मेरो र उनको डिएनए सिक्वेन्स हेरेर पत्ता लगाउन पर्ला भन्ने सोचेकी छु । डिएनए सिक्वेन्सको विषयमा सवै कुरा मलाई त थाहा छैन, डिएनए सिक्वेन्स कै विषयमा पढेको विशेषज्ञ एउटा साथी छ, उसैको सहयोग माग्न पर्ला भन्ने पनि सोचेकी छु ।’

त्यत्तिकैमा नेत्रदाइको फोनमा घण्टि बज्यो । दाईले फोन उठाउँदै ‘हेलो...’ भने पछि उताबाट आएको आवाजको उत्तर दिँदै भन्नु भयो । ‘ए ल अर्जुन हामी यहीँ छौ । तिमी टेक्सी लिएर सिधै यहीँ आउ । हामी तिमिलाई पर्खिरहेका छौ । पिताम्बर काका पनि अहिले अफिस जानु भएको छ । अर्जुनले कागज लिएर आएपछि आफु आएर सवै कागज हेरेर केके गर्नु पर्छ सल्लाहा गरौला भन्दै जानु भएको हो । अव मैले तिमी आइपुगेको खबर गर्छु तिमी आइपुग्दासम्ममा काका पनि यहाँ आइपुग्नु हुन्छ होला ।’

मलाई छोरी त्यहाँको माहोलमा रमाउन नसकेको मा पनि पिर लागिरहेको छ । त्यसै त यो दुखको मौकामा सवैलाई नरमाइलो अझ विदेशमा हुर्किएकी र नेपाली चलन र संस्कार थाहा नभएकी छोरीलाई गाहरो त पक्कै भएको छ । तर, उनले पनि पारिवारिक समस्यालाई बुझेरै सहज हुन प्रयास गर्दै गरेको मैले त अनुभूति गरिरहेकी छु । उता उनको स्कूलले लेख्न भनेको यस्तो अवस्थाका संस्कार पद्दति रहन सहनका वारेमा उनलाई सिकाउने मौका पनि मैले मिलाउन सकिरहेकी छैन । एक मनले दिनेशलाई छोरीको त्यो विवरण लेख्ने जिम्मेवारी सिकाइदिन जिम्मा दिउँकी जस्तो भने मनमा आयो तर आफै सरिक भएर छोरीलाई महिला भावनाबाटै सिकाउने मन बनाएं । अर्जुन आइपुग्दा पिताम्बर काका पनि आइपुग्ने समय मिलाएर नेत्र दाइले काकालाई खबर पनि गरिसकेको हुनाले एकै छिन उहाँहरु आइनपुग्दासम्म छोरीसँग कुरा गर्ने विचारले छोरीलाई भने ‘तिमीले स्कूल वर्कको लागि लेख्नका लागि अघि सोधेको विषयमा म अहिले अलिअलि बताउँछु तर, काकाहरु आइपुग्नु भयो भने बाँकी विषय तिमीलाई पछि बताउने छु ।’

छोरीः ‘हुन्छ मम्मी, म तपाइ विजी भएको मलाई थाहा छ, वरी नगर्नुस, केही कुराहरु त म देखेकै हजुरहरुको कुरा गराइबाट पनि सिकीरहेको छु, त्यसैबाट पनि लेख्छु बट तपाईँले पहिलाको चलन जस्तो गर्नु पर्ने के के नगर्ने त्यो बतायो भने म अरु त लेख्न सक्छु ।’

दिनेशः ‘हुन्छ छोरी, मम्मीले सिकाउन नभ्याएको म पनि सिकाउँछु । तिमीलाई थाहा छ नि सवै कति छिटो छिटो भैराखेको छ । हामीले र तिमीले टाइम मिलाएर तिम्रो कोर्स वर्क पनि भै हाल्छ, वरी नगर है । म पनि सघाइहाल्छु नि ।’

छोरीः ‘ओ के ।’

मः ‘नेपाली चलन अनुसार कोही मरेपछि तेह्र दिनसम्म क्रिया गर्नु पर्छ । क्रिया गर्दा सवै कपडा नसिलाएको कर्टनको सेतो पहिरन बेरेर बस्नु पर्छ । काम्मल ओढ्न हुन्छ अरु सधै जस्तो प्रयोग गर्ने सिरक विछौना समेत प्रयोग गर्न हुँदैन । कर्टनको कपडालाई नेपालीमा सुतीको कपडा भनिन्छ । नुन नखाने सवैभन्दा महत्वपुर्ण मानिन्छ । पुरा क्रिया गर्न पुरुषहरुलाई मात्र एलाउ छ । लोग्ने मर्ने महिलाहरुले पनि चुरा फोरेर सवै मेकअप धोइपखाली गरेर गहनाहरु खोलेर नसिलाएको कपडा मात्र लगाएर कसैसँग नछोइकन तेह्र दिनसम्म पुरै क्रिया गर्छन । तर, श्रीमती मरेको लोग्नेले भने त्यस्तो गर्दैनन् । आमा मर्दा छोराले पनि नसिलाएको कपडा मात्र लगाएर कसै सँग नछोइकन तेह्र दिनसम्म क्रिया गर्छन । तर, श्रीमती मरेको लोग्नेले भने त्यस्तो गर्दैनन् । बुवा आमा मर्दा छोरीहरुले पनि त्यस्तो गर्दैनन् । आधा क्रिया मात्र गर्छन । कपडा सेतो लगाउँदैनन् । छोरीहरुले नुन नखाने र सुद्ध हुने गरेर पाँच दिनमात्र गर्ने आधा क्रियालाई ठाडो क्रिया भनिन्छ ।’

छोरीः ‘त्यो त डिस्क्रिमिनेसन भयो नि त ।’

मः ‘त्यस्ता महिला पुरुषकाबीचका डिस्क्रिमिनेसन अर्थात विभेद र असमानता त कति छन् कति, तिमीलाई बुझ्न र पत्याउन नै गाहरो हुन्छ । सवै अहिले म तिमीलाई बताएर पनि सक्दिन तर अहिले यो क्रिया बस्ने विषयमा पहिला सिकाउने प्रयास गर्छु ।’

‘क्रिया बस्ने छोराहरुले दाजुभाइहरुले ल्याइदिएको चामल लिएर पधेराँमा गएर पकाएर खान्छन् । पधेरा भनेको पानीको मुहान अर्थात स्रोत भएको ठाउँ हो । घरभित्र पानीको धारा नहुने अवस्थामा विकास भएका चलन हुन, धेरै जसोले त्यो चलनलाई अहिले पनि त्यस्तै गरी अपनाउनु पर्छ भन्ने तर्क गर्ने हुनाले नगिचको नदी–खोलाको तिरमा गएर पकाएर खाने गर्छन । पकाउँदा ढाकेर पकाउन हुँदैन भनेर बाहुन हरुले सिकाउँछन् । यो क्रिया गर्ने प्रचलनको पछाडि बालबच्चा हुर्काउन बाबुआमाले गरेको मेहेनत तथा दुखः सम्झिने तथा त्यस्तै दुखः आफुले अनुभव गर्ने भावनाबाट पहिलेका चिन्तकहरुले लागु गराएको हुनसक्छ भन्ने पनि कतिपयले तर्क गर्ने गर्छन् । मानिसले उपयोग गर्ने सुविधाहरु धेरै नै थपिएका छन् तर हाम्रा क्रिया बस्ने चलनहरु मानिस कृषि यूगमा प्रवेश गर्दा चलार्र्ईएको प्रचलन भन्दा अगाडि बढ्न सकेका छैनन् । क्रिया बस्ने मानिसले त तेह्र दिन पछि सवै छाडेर अरु दैनिकीमा लागि हाल्छन् । त्यो तेह्र दिनसम्म चिन्ता तथा सन्तापका कारण प्रचलनमाथि यो यस्तो किन भनेर प्रश्न गर्ने हिम्मत कसैलाई हुँदैन, पण्डितहरुले र बुढापाकाहरुले जे चलन छ भन्छन् त्यसै अनुसार पालन गर्ने मात्र गरिन्छ । धेरै पहिला पण्डितहरुको बीचमा शाष्त्रार्थ गर्ने छलफल गर्ने र समाजका प्रचलनहरु र सामाजिक नियमहरु कति हेरफेर गर्न पर्छ वा कति फेर्नु हुँदैन भन्ने बहस हुन्थ्यो रे । तर, अहिलेका पेसागत बाहुनहरुमा त्यसखालको अनुसन्धान गर्ने छलफल गर्ने प्रचलन हराएको हुनाले पनि प्रविधि र सुविधाहरु अनुसारका सामाजिक मान्यता र नियमहरुलाई मिलाउने गरिँदैन । बरु पहिलेको चलन जस्ताको तस्तै चलाउनु पर्छ भनेर संस्कृति जोगाउने वकालत गर्ने गरिन्छ । त्यो तेह्र दिनलाई जुठा परेको भनेर दश पुस्ता सम्मका बुवा तिरका दाजुभाइहरुले भगवानको पुजा गर्दैनन् । नुन नखाने भन्छन् । नुन नखानुलाई चिन्ताको समयमा ब्लड प्रेशर कम हुने बैज्ञानिक तथ्यसँग जोडेर त्यसको समर्थन पनि गर्ने गरिन्छ । तर, नुन नखाने चलन त ब्लड प्रेशर नाप्ने यन्त्रको प्रचलन भन्दा पनि पहिलादेखि चलाइएको हो । जे होस जानि नजानि जसरी भए पनि राम्रै भएको छ भने त त्यो चलनले के नै विगार्छ र ! दिउसमा भने गरुण पुराण सुन्ने चलन छ । गरुण पुराणमा लेखिएका तथा पण्डितले बाचन गरेर सुनाइने तथ्यहरु तिमीहरुलाई पटक्कै पत्यार लाग्ने खालका छैनन् । पाप गरेको मान्छे ट्यूबरक्लोसिस टीबी रोग लागेर मर्छ भनिएको छ जबकि औषधिको आविस्कार पछि टीबी रोगबाट मान्छे मर्न छाड्नुको कारण पण्डितका भाषाको पाप नै मान्छेहरुले गर्न छाडेका त हैनन् ।’

मैले काजकृयाका विषयमा छोरीलाई भन्दै गर्दा मैले बताएका जानकारी र त्यसबाट छोरीलाई पर्नसक्ने मनोबैज्ञानिक प्रभावका विषयमा दिनेशले सुनिरहेका र मनन् गरिरहेका थिएं । मेरो कुरामा थप जानकारी थप्दै उनले भने ‘यी हाम्रा चलनहरु अध्यात्मबाद तथा धर्मका नियम सित सम्बन्धित छन् ।सवै संसार सिर्जना गर्ने चेतनालाई इश्वर मान्ने गरिन्छ र चेतनशील मान्छे मरेर शरीरबाट चेतना हराएपछि त्यो हराएको चेतनालाई आत्मा भनिन्छ । शरीरबाट छुट्टिएपछिको त्यो चेतनाको जगत यहीँ ब्रम्हाण्डमा मडारिएको हुन्छ । त्यसैलाई पित्री भनेर मरेको मान्छेको आत्माको कल्पना गरिएको छ । सनातन भनिने पूर्विय दर्शनमा इश्वरीय आत्मालाई परमात्मा भन्ने गरिन्छ । यो मरेका मान्छे मरेको विषयको काजकृयालाई पित्री कार्य र परमात्मा पुज्ने कार्यलाई पुजा भन्ने गरिन्छ । बैज्ञानिक तथ्यबाट हेर्नेहो भने मान्छे मरेपछि पनि उसका सम्झना र मृत शरीरबाट मृत्यू हुनुपुर्व सिर्जित उर्जा–इनर्जी तथा मरेकै शरीरबाट पनि सिर्जित हुने अदृष्य इनर्जिलाई आत्मा मान्ने गरिएको छ । विज्ञानले पुष्टि गरेका तथ्य नबुझ्दाका अवस्थाका चिन्तकहरुले अनुमानका भरमा ब्याख्या गरेको जस्तो लाग्छ मलाई । त्यस्तो आत्मालाई खुसी र दुखी भनेर ब्याख्या गर्ने र दुखी आत्मालाई भूत प्रेत मान्ने गरिन्छ । खुसी भएको त्यस्तो आत्मालाई पित्री मानिन्छ र पित्री खुसी पार्ने सन्तानलाई जीवनकालमा सुख हुन्छ भन्ने विश्वास गरिन्छ ।’

छोरीः ‘मैले डार्विनको विकासबाद तथा इभोल्यूसनलाई मान्ने कि यो धर्मको जस्तो इश्वर–भगवान–आत्मा–परमात्माको विषय मान्नु पर्छ ?’

दिनेश एकैछिन त चुप लागेका थिए । उनले छोरीको प्रश्नको उत्तर मैले दिन्छु कि भनेर पर्खिएका रहेछन् । तर, मैले छोरीको प्रश्नको उत्तर दिनेशले नै दिउन भनेर पर्खिएको बुझेपछि दिनेशले भने ‘छोरी, तिमीले यस विषयमा आफैले निर्णय लिनु पर्छ । हामी तिमीलाई इश्वर छ भनेर पनि भन्दैनौ इश्वर हुँदैन भनेर पनि प्रमाणित गर्न सक्दैनौ । म र तिम्री आमाले विकासबादमा विश्वास गर्छौ । यो सवै संसार सिर्जना गर्ने चेतना भएको कुनै प्राणि नभएर पदार्थबाट विकास तथा इभल्भ हुँदै हाम्रो शरीरका अङ्गहरुका मुटु, फोक्सो, रगत सञ्चोार जस्ता सवैले काम गर्दा बल्ल मस्तिस्कले काम गर्छ र बल्ल चेतना सिर्जना हुन्छ भन्ने मान्छौ । हजुरबुवा र नन्दराम गुरुहरुले इश्वर तथा भगवान चेतनशील छन् र उनैले सवै बनाउने र चलाउने गर्छन भन्ने सोच्नु हुन्छ । अव उहाँहरु जस्तो भगानको विश्वस गर्ने कि इभोलुसन थ्यौरी मान्ने भन्ने तिमी आफैले निणय गर्ने हो । हामीले यो मान्नु पर्छ भनेर कर गर्दैनौ । हामी सानो छँदाको समाज फरक थियो । हामीलाई इश्वरको कल्पनाको कथामा विश्वास गर्दैनौ भन्ने छुट थिएन । हामी आस्तिक हुनै पथ्र्यो । भौतिकबादी बनेर धार्मिक नियमको वर्खिलाप गरेमा हामीलाई परिवार र समाजबाट सजाय दिइन्थ्यो । दमइले सिलाएको कपडा समेत सुनपनी छर्किएर मात्र लगाउन पाइन्थ्यो । दमाईलाई अछुत जात भनेर हेला गर्ने हाम्रो समाजको मान्यता पनि धर्म तथा इश्वरको आडमा गरिएका ब्याख्या हुन । तिमीलाई हामीले त्यस्तो आस्थाको बन्दी बनाएर राखेका छैनौ । आफ्नो आस्था स्वतन्त्र रुपले रोज्ने अधिकार तिमीले पाउनु पर्छ भन्ने हाम्रो मान्यता हो ।’

‘ल, बाहिर अर्जुन आइपुगेछन्, टेक्सीबाट झर्दैछन् । अब यो विषयमा पछि फुरसदमा कुरा गरौँला । यती कुरा तिमीले मिलाएर लेख्दै गर । हामी अब अरु काममा बीजी हुन्छौ । पिताम्बर काका पनि आइपुग्नु हुन्छ होला एकै छिनमा ।’

अर्जुनले ल्याएको नीलो अटैची मलाइ दिए । मैले सोधेँ ‘यसमा त साचो लगाएको होला साचो पनि ल्यायौ कि ?’

अर्जुनः ‘दराजको साचो भएकै झुप्पोमा अटैचीको साचो पनि रहेछ । दराजबाट अटैची झिकेपछि चेक गरेको मिल्यो अनि हजुरहरु सवै यहीँ हुनुहुन्छ भन्ने सोचेर त्यो पुरै झुप्पो नै ल्याएको छु ’ भन्दै खल्तीबाट साचो झिकेर मलाइ दिए ।’

साचोको झुप्पोबाट मिलाउन खोजेको दुई वटा साचोले खुलेन, अरु साचो त पस्दै पसेन तर तेस्रो साचोले खुल्यो ।

अर्जुनः ‘ये बैनीलाई त सानै छँदा देखेको यति ठूली भैसकिछन् । कतिमा पढ्छिन् ?’

छोरीले आफुले पढ्ने कक्षाको उत्तर नदिए पछि मैले भनेः ‘मामाले के सोधेको भन्ने त बुझ्यौ होली खै त उत्तर दिएको ? तिमीले कति कक्षामा पढ्छौ बताइदेउ ।’

छोरीः ‘सरी, म त अघि बुवामम्मीले भनेको विषय लेख्ने विषयमा गम्दै रहिछु । प्रश्न त बुझेकि थिएं उत्तर दिन अल्मलिएछु । मैले दश कक्षामा पढ्छु मामा ।’

अर्जुनः ‘त्यही त तिमीले ६ मा पढ्दा भेटेको थिएं । चार वर्षपछि भेट्दा त धेरै ठूली देखें । बाटोमा देखेको भए त चिन्दै चिन्ने थिइन ।’ म यता अटैचीका कागज एक–एक गरेर हेर्दै थिएं । पिताम्बर काका पनि आइपुग्नु भयो । मैले कागज राखिएको अटैची काकालाई पु¥याउँदै भने ‘म यो अटैची खोलेर कागज हेर्दै थिएं । मलाई यी कागजका विषयमा धेरै जानकारी छैन हजुरले नै हेर्नुस ।’भन्दै काकालाई अचैटी पु¥याइदिएं ।

भाउजुले विस्कुट एउटा टे«मा र चिया लिएर आउनु भयो । अलिअलि भोक पनि लागिरहेकोले विस्कुट र चिया खादै काकाले कागजहरु हेरेपछि के भन्नुहुन्छ भनेर हामी पर्खिरह्यौ । अर्जुन र छोरीले भने खासखास–खुस–खुस कुरा गर्दै गर्दा सुनेका कतिपय शब्दबाट छोरीले अर्जुनका बेलायत तिरका कुरा जानकारी लिन गरेका प्रश्नहरुको उत्तर दिँदै थिइन ।

काकाले कागजहरु हेर्दै गर्दा भन्नु भयो ‘एउटा कागज ल्याउ त, कपी भए पनि हुन्छ, पेन त यहीँ मसँग छ । नोट बनाउनु पर्ने भयो ।’ एकैछिन कागजहरु हेरेर नोटहरु बनाएपछि भन्नु भयो ‘बुटवलको घर र गाउँका जग्गा दाइका नाममा रहेछ । तौलिहवाको एउटा घडेरी तिम्रो नाममा रहेछ र काठमाण्डौको घडेरी भाउजुको नाममा रहेछ । पछि किनेका घडेरीहरु महिलाका नाममा किन्दा पास खर्च पनि कम पर्ने भएर होला तिमी र भाउजुका नाममा किन्नु भएको रहेछ । ठीक छ । यो हप्ता मैले यहाँका कामहरु म नहुने गरी मिलाइसकेको छु । त्यसैले भोलिनै बुटवल जाउँ र पर्सि गाउँमा गएर वडा कार्यालयबाट सिफारिस बनाएर तौलिहवा गएर निबेदनहरु दर्ता गर्नु पर्छ । निबेदन दर्ता गरेपछि पन्द्र दिनको सूचना प्रकाशित गर्छन् । त्यसपछि नामसारी भैहाल्छ । सवै ठीक गरेर आइसकेपछि म गैराख्नु पर्दैन ज्वाइ र छोरी मात्र गए पनि भैहाल्छ । खासमा अस्मिताको ल्याप्चे र फोटो आवस्यक हुन्छ जग्गा धनी पुर्जामा ।’

मैले काकाको भोलिनै बुटवल गएर कागज ठीक पार्ने काम सक्ने विषयमा सहमत जनाउँदै भने ‘काकाले हिज भनेको एउटा कुरा याद आयो, त्यो तौलिहवाको मेरो नाममा भएको जग्गाको विषयमा चाही म नेपाली नागरिक नै रहेको र जग्गा किनेपछि विदेशको नागरिकता लिएको विषय कानून अलि जेलिएको बताउनु भएको थियो, त्यसको लागि पनि गएको बेलामा केही गर्नु पर्छ कि ? मैले खाली केही गर्न पर्ने भए काम सकेर जानेकि भनेर मात्र सोधेकी काका ।’

काकाः ‘ए साच्चै मैले त म्यात्तै विर्सिएको नि ! तिमीले त विदेशको नागरिकता लिइसकेको विषय विर्सिएर भोलि नै बुटवल जाने भनेको । ल भोलि जाने कुरा हुने भएन । विदेशी नागरिकको हकमा त अपुताली र अंशबाट प्राप्त हुने सम्पत्तिको जग्गाधनी पुर्जा बनाउनको लागि परराष्ट्र मन्त्रालयबाट पत्र लिएर जानु पर्छ र नीलो पुर्जा बनाउनु पर्छ । आज अव अबेला भैसक्यो परराष्ट्रमा गएर निबेदन दिन भ्याइँदैन । म अफिसबाट एउटा भाइलाइ अहिले यहीँ बोलाउँछु । निबेदन तयार पार्न लागउँछु र भोलि विहान नौ बजे नै त्यहाँबाट पत्र बन्यो भने भोलि नै बुटवल जाउँला भएन भने कागज बने पछि जाउँला । यो गैर आवासीय नेपाली संबन्धी विषय धेरै प्रयोग भएको छैन त्यसैल मन्त्रालयमा अनेक कुरा पनि गर्न सक्छन् । म आफै जान्छु । छन त हामी सगै पढेको एकजना साथी सहसचिव छन् त्यहाँ तर पनि म आफै गएर काम फटाफट गर्न लगाउँछु ।’

काकाले फोन गरेर आफ्नो अफिसको एकजना कर्मचारीलाई त्यहीँ बोलाउनु भयो । उनी आएपछि काकाले सवै जग्गाको विवरण दिएर निबेदन तयार पार्ने विषय र तरिका हरु सिकाउनु भयो । ती कर्मचारीले पनि घरमा गएर कागज तयार पारेर विहान ८ बजे सवै तयारी कागजहरु लिएर आइपुग्ने भनेर जान थाल्दा भाउजुले भन्नु भयोः ‘अव साझ पर्न थाल्यो खाना पनि तयार हुनै आट्यो, खाना खाएर जानुस बाबु ।’

कर्मचारीः ‘होइन भाउजु घरमा पाकिराखेको छ, म अहिले जान्छु घरमा गएर यो सवै तयारी गर्ने काम पनि छ । अबेला गएं भने यो लेखि सक्न मुस्किल हुन्छ ।’

विहान ८ बजे सवै जना त्यहीँ आउने र नेत्र दाइकै गाडीमा परराष्ट्र मन्त्रालय जाने सल्लाहा भयो । मसँग भएको गैर आवासीय नेपालीको कार्ड पनि ती कर्मचारीलाई दिएर पठाए । नेत्र दाइले पनि भोलिपल्ट विहान चिया नास्ता गरिआउने हुनाले आफ्नोलागि चिया नास्ता तयार नगर्न पनि भन्नु भयो ।

भाग – 5 भाग– 3
 
 
There are no data records to display.
   
Comment:
Date:
Name:
LastName:
Address:
City:
PostalCode:
PhoneNumber:
EmailAddress:
WritingId:
Insert  Cancel

www.flykathmandu.co.uk

Received Comments



www.flykathmandu.co.uk
Please write email to belbase@flyktm.com to get permission to publish my article to your media.