Govind Belbase
<January 2023>
SuMoTuWeThFrSa
25262728293031
1234567
891011121314
15161718192021
22232425262728
2930311234
उपन्यास: NRN (बेलायत)को कथाबस्तु – "एम्मा" – भाग ७
भाग – ७

विहान चिया नास्ता गरुञ्जेलमा काकाले निवेदनहरु लेखेर ठिक्क पार्नु भयो । हामी खाना खाएर विहान दश बजे गाउँको वडा कार्यालय खुल्ने समयमै वडा कार्यालयको अफिस पुग्यौ । तारबारले घेरेको रहेछ । त्यो ठाउँमा पहिला १२ वर्ष अघिसम्म मैले देख्दा त केही थिएन । अहिले त एउटा दुई तल्ले नगरपालिकाको वोर्ड झुडाइएको भवन अलि पर रहेछ । गेटबाट छिरेपछि पच्चिस पाइला जति बयाँ पट्टि एक तल्ले वडा कार्यालय रहेछ । नागरपालिकाको कार्यालय चाहीँ गेटबाट सिधै अगाडि अलि पर तीन सय पाइला जतिमा रहेछ । गेटबाट छिरे पछिको दयाँ पट्टि जस्तापाताले छाएको लामो टहरोमा एउटा स्क्याभेटर, एउटा रोलर, एउटा जिप र सात वटा मोटरसाइकल अनि केही साइकल देखिए । इटाको कुनो माथि फर्काएर लस्करै गाडेर दुई तिर घेरिएको लामो करेसाबारीमा फूलहरु देख्दा साच्चै कार्यालय भएको झलक पनि देखिने । वायाँ पट्टि अलि परसम्म पनि फूलबारी बनाइएको र त्यसको पल्लो पट्टि कम्पाउण्ड घेरेको तार निरै पुर्याएर पाइखाना बनाइएको रहेछ । कम्पाउण्डको पछाडि दायाँ पट्टि जङ्गल क्षेत्रका अग्ला रुख नागरपालिका भवन भन्दा पनि अग्ला पनि देखिए । त्यसबाट दक्षीणपट्टि भने खेतहरु मा हरियाली देखिने । माघको अन्तिम तिरको महिना भएकोले विहान दश बजेको घाम चर्को नभए पनि न्यानो पारिरहेको अवस्थामा वडा कार्यालयमा छिरेपछि वायाँतिरको कोठामा कुर्सीमा बसिरहेका कर्मचारीका अगाडि काकाले निबेदन तेर्साएर दिनु भयो ।


कर्मचारीले निबेदन सरर पढे अनि काकालाई फिर्ता दिँदै पल्लो कोठामा लगेर अध्यक्षको तोक लगाएर ल्याउनुस । काकाको पछि पछि लागेर म पनि अध्यक्ष भएको कोठातिर गएं । छोरी पनि साथै थिइन । मैले छोरीलाई त्यो सवै देखाउने सोचिँरहेँ । छोरी पनि आफै त्यो सवैमा जिज्ञासु बनेर हेर्दै रहिन । हामी कोठामा छिर्नु भन्दा अघि नै तीन जना मान्छे अध्यक्ष तिर फर्किर उभिएका रहेछन् । अध्यक्ष उनीहरुको कागज एकछिन पढ्दै थिए । टेबलमाथि फिजाएका कागजमा पढेर त्यसको बाँया पट्टिको टुप्पोमा केही लेखेर उनीहरुलाई दिए । सायद केही तोक लगाएका होलान भन्ने अनुमान गरेँ । ती तीनजना तोक लागेको कागज लिएर अर्को कोठातिर लस्करै गए ।

उनीहरु ढोकातिर लम्कँदै गर्दा हामीले उनीहरुलाई बाटो छोडिदिएर थोरै बायाँ पट्टि सर्यौ । दुई तिर सोफाहरु राखिएको बीचमा टी टेबल र अर्को तिर अलि ठूलो साइजको टेबल पारि अध्यक्ष बसेका । कोठा धेरै सानो नभए पनि सोफा, टेबल, टी टेबलले गर्दा अलि फराकिलो कोठा हुनुपर्ने जस्तो भान भयो ।

छोरीलाई भने टेबलमा बसेर कागजमा कलमले लेख्ने गरेको देखेर अलि अनौठो लागेको उनको अनुहारबाट मैले पढिरहें । उनले त्यस्तो काम गर्ने तरिका पहिलो पटक देखेकी थिइन । उनले देखेका काम गर्ने कर्मचारीको शैलीमा त काउन्टर पारि कर्मचारी र लाइन लागेर नम्बर अनुसार पालो कुरेर कर्मचारीको काउन्टरमा सेवाग्राही पुगेपछि कम्प्यूटरमा प्याटपुट–प्याटपुट टाइप गरेर खुरुरुरु प्रिन्टरबाट सुलुलुलु बग्दै निस्केका कागजमा साइन गरेर सेवा ग्राहिका हातमा कागज थमाएको अनुभवलाई मनमनै तुलना गर्दै थिइन जस्तो मैले अनुमान गरें । उनका आँखाले त्यहाँको काम गर्ने तरिका र साधानहरु देखेर अचम्म मानेको पनि मैले उनका आँखामा पढ्दै गरें । तर उनीसँग त्यस विषयमा कुरा गर्ने वातावरण भने रहेन । उनले कहिलेकाही एप्वाइन्टमेन्ट लिएर मिटिङमा पुगेर कर्मचारीसँग गरेको सल्लाहा अनुसार कम्प्यूटरमा पहिलादेखिनै भैरहेका टेमप्लेटहरुमा भर्नु पर्ने ठाउँमा भरेर तयार पारेपछि गरिएको क्लिकका भरमा सुलुल्ल गर्दै प्रिन्टरबाट निस्किएको कागज ग्राहकलाई दिँदै कर्मचारीले मीठो मुस्कान सहितको न्यानो अभिवादन बोकेर वाहिर निस्कने गरेका भनुभवहरु भन्दा त्यहाँ देख्दै गरेको कार्यशैली कताकता के नभए जस्तो के नमिले जस्तो, ढिला सुस्त भैरहे जस्तो, स्वस्थ्यकर नभए जस्तो मलाई त अनुभव भैरहेको थियो भने छोरीलाई झन कस्तो भएको हेला भनेर छोरीसँग सोध्न मन थियो तर त्यहाँ त्यस किसिमको कुरा गर्ने बातावरण नरहेको मानेर चुप बसें ।

हामी उभिएको चाल पाएर पनि होला अध्यक्षले टाउको अलि माथि उठाएर हामीतिर हेरे । हामी ढोकाको बायाँ पट्टि उभिएका थियौं । उनको पछाडि र बायाँ पट्टिबाट आएको उज्यालो प्रकाश ढोका तिरबाट छिरेको प्रकाशभन्दा चहकिलो थियो । ढोकामा झुँण्डाइएको पर्दा मान्छे भित्र वाहिर गर्दा सरेर आधा जस्तो त खुला नै थियो । उनले पिताम्बर काकालाई देख्नासाथ कुर्सीबाट उठ्दै दुई हात जोड्दै नम्रभावमा नमस्कार सहित भने ‘ए, सर पो आउनु भएको रहेछ । कतिखेर आउनु भयो बस्नुस ।’

काकाले हामीलाई पनि पहिला सोफामा बस्ने इसारा गर्दै अध्यक्ष तिर फर्किएर भन्नु भयो ‘दाइभाउजुको दुर्घटना र दुखःको खबर त थाहा नै होला’, म तिर बताउँदै ‘यीनी अस्मिता हुन, दाइ भाउजुकी एउटै माथै छोरी, र तिनी सानी नानी अस्मिताकी छोरी हुन । अव दाइभाउजुको दुखःको घटना भैसकेपछि सवै जग्गा जमिनहरु कगजहरु मिलाइदिनु पर्यो भनेर म आफै पनि उनीहरु सितै हिजो बुटवल हाइपुग्यौ । अनि आज यहाँबाट सिफारिसहरु लिएर यतै बाट सदरमुकाम जाने भनेर आएको ।’

त्यति भन्दै काकाले हातको कागज वडा अध्यक्षको टेबलमा राखिदिनु भयो । त्यत्तिकैमा ढोका निर आएर खुम्चिएको पर्दा तन्काउँदै गरेका एक ब्यक्तिलाई अध्यक्षले चार कप चिया ल्याउन आदेश दिए । सायद ती ब्यक्ति त्यहाँका पिउन होलान । अध्यक्षले एक छिन त्यो निबेदन पढ्न थाले । हामी चुप्प लागेर उनको प्रतिकृयाको प्रतिक्षा गरिरह्यौ ।

कागज पढिसके पछि निबेदनको शीरमा दायाँपट्टि कुनामा तोका आदेश लेखे । अनि भने ‘राम्रो मान्छेलाइ भगवानले पनि चाडै लैजान्छन् भन्छन्, के गर्ने हामीले टार्न पनि नसकिने । अस्मिता त कता विदेशमा बस्नु हुन्छ हैन ?’

मः ‘हो म अहिले बेलायतमै बस्छु । मेरा पति पनि आउनु भएको छ । वाहिर गाडीमा हुनुहुन्छ । मेरी छोरी यीनै हुन । यहाँ यस्तो दुखः परेकोले नेपाल आएको । काकाले फेरि आएको बेला सवै कागजहरु पनि मिलाएर जाउँ, पछि गर्ने भनेर राख्यो भने कहिले कहिले भन्ने हुन्छ । एक पटक गर्न परिहाल्छ भनेर आएको । हामी कहिलेकाही छुट्टिमा हामी गाउँमा बस्न आएको बेला सानोमा तपाइसँग खेलेको सम्झना आउँछ ।’

अध्यक्षः ‘हो त, सरको त्यस्तो दुर्घटनाबाट जानु भयो । कस्तो दुखः लागेको छ । पत्यारै नलाग्ने । के गर्नु खै ? जहिले पनि भेटहुँदा अस्मिता कहिले आउनु हुन्छ ? आएको बेला खबर गर्नुस है, बरु म भेट गर्न बुटवलै आउनु परे पनि आउँला भन्थें । आज बल्ल भेट भयो ।’

मैले छोरीलाई भने ‘जाउ नानु, गाडीबाट बुवालाई बोलाएर ल्याउ ।’

छोरी ‘हस’ भन्दै कोठाबाट बाहिर गइन ।

छोरी ढोकाबाट निस्कना साथ एउटा तारले बेरिएको चियाका गिलास झुण्डाउने र माथि पट्टिसमाउने ह्याङ्गरमा ल्याएको चिया तीन कप टी टेबलमा र एउटा अध्यक्षको अगाडि राखिदिए । तिनै चिया लिएर आएका तथा अघि पर्दा मिलाउने ब्यक्तिलाई अध्यक्षले आफुले तोक लगाइसकेको हाम्रो कागज दिँदै ‘उता फाँटमा दिएर यो सिफारिस चाडै तयार पारेर ल्याउन भन्नु’ भन्दै दिए ।

उनी कागज लिएर गएको एकै छिनमा कोठामा दिनेश आइपुगे । कोठाबाट छिर्दै दिनेशले अध्यक्षलाई नमस्कार गरे ।

मैले दिनेशलाई अध्यक्षसँग चिनाउँदै भनेः ‘उहाँ मेरो पति दिनेश, यताको खबर पाएर म आउँदा उहाँ भने कामको सिल्सिलामा साउथ अफिकामा हुनुहुन्थ्यो । उतैबाट सिधै नेपाल आउनु भयो ।’

मैले दिनेशलाई ‘यता बसन’ भन्दै आफु छेउँको सोफामा बस्न अनुरोध गर्दै भने ‘उहाँ र हामी त सानोमा सँगै खेल्थ्यौ । अझ सानोमा एक कक्षामा बोरा बोकेर हामी एउटै स्कूलमा पढ्न जान्थ्यौ । अहिले नेता भएर चुनाव जितेर अध्यक्ष हुनु भएछ ।’

दिनेशले अध्यक्षलाई सम्बोधन गर्दै ‘तपाईँलाई बधाइ छ, योङ जेनरेसन जनसेवामा लाग्नु त धेरै राम्रो कुरा हो ।’

अध्यक्षः ‘के गर्ने धेरै पढेको मान्छेहरु, उ अस्मिता जस्तो ब्यक्तिहरु गाउँ छाडेर गए पछि गाउँ त जस्ताको तस्तै । पढालेखा र राम्रो मान्छेहरु बस्ने भएको भए हाम्रो गाउँ पनि कति राम्रो हुन्थ्यो ।’

दिनेशः ‘जसको क्षमता जस्तो छ त्यसे अनुसार परिस्थिति अनुसार भूमिका निभाउने त हो नि ! तपाइहरु यहाँ जनसेवा गरिराख्नु भएको छ । अस्मिताले पनि कत्ति विरामीको ज्यान जोगाएकी छन् । सवैले एउटै काम गरेर मात्र हुने होइन नि त ।’

त्यत्तिकैमा एउटा पहेलो पहिरनका जोगी जस्तो देखिने ब्यक्ति कोठामा प्रवेश गरेर नमस्कार गरे पछि उनलाई अध्यक्षले ‘बस्नुस’ भन्दै हामी बसेको भन्दा पारि पट्टिको सोफामा बस्ने अनुरोग गर्नु भयो ।

अध्यक्षः ‘उहाँ त्यो झडुलाको मन्दिरको ब्यवस्थापन गर्नु हुन्छ र बस्नु हुन्छ ।’

जोगीः ‘ए उहाँ त हाम्रो पिताम्बर बाबु होइन र ? ओहो धेरै वर्षमा भेट भयो ।’

काकाः ‘हो चिन्नु भयो ।’ म तिर बताउँदै ‘यिनी अस्मिता हुन, हाम्रो दाइकी छोरी, बेलायत बस्छिन डाक्टर हुन, अनि उहाँ चाहीँ ज्वाइँ ।’

जोगीः ‘अ तनि, ठूलो बावुको खवर सुनेर एकदम पिर लाग्यो । यो अस्मिता नानीलाई त सानैमा देखेको चिन्ने त कुरै भएन धन्न आज भेट्न पाइयो । खै नानी तपाइको हात देखाउनुस त, कस्ता ग्रहदशा रहेछन र यस्तो आपत आइपुग्यो हेरौँ त ।’

मैले दायाँ हात उनको अगाडि खोलेर देखाइदिएं ।

जोगीः ‘दुईवटै हात देखाउनुस ।’

मैले दुईटै हात उनको अगाडि उत्तानो पारेर देखाइदिएं । एकै छिन हात हेरे पछि । उनले भने ‘ए लौ, साढे साती चलेका रहेछन अझै चार महिना जति वाँकी रहेछ । नानी त एउटा सन्तान मात्रै भन्ने सुनेको थिएं तर हातले त दुई सन्तान त हुनै पर्ने देखाउँछ । खै ! तपाइको हातले त्यहि भन्छ क्यारे । हुन त हजुर बाउआमाकै एउटै मात्र सन्तान भन्ने त मलाइ थाहा भएकै हो । हाम्रो विद्याले भनेअनुसार त तपाइको दिदी वा बहिनी त हुनै पर्ने देखिन्छ ।’

उनको कुरा सुने पछि मैले पुलुक्क दिनेश तिर हेरें । उनको र मेरो आँखा जुध्यो । हाम्रा आँखाले आपसमा कुरा गरे । अरु कसैले सुनेनन् । त्यो मैले उपचार गरेकी विरामी एम्मा जुम्ल्याहा हुन भन्ने विषयमा उनको भनाइ मिले जस्तो लाग्यो । ती जोगीको हात हेरेर भनेका कुराले मेल खायो भनेको जस्तो सल्लाह हाम्रा आँखाले गरे ।

हुन त ज्योतिष विज्ञान चाहीँ ग्रहहरुको स्थानले असर पार्ने कुरामा म केही हदसम्म विस्वास पनि गर्छु । तर, हातका रेखाको त्यस्तो विज्ञानको विषयमा मलाई विश्वास लाग्दैन । आफ्नै परिस्थितिसँग मेल खाने उनको भनाइले अलि अचम्म पार्यो । मान्छे जन्मेको समयमा सूर्य चन्द्रमा आदि ग्रहहरु कुन स्थानमा रहेका छन, त्यसै अनुसार ग्रहहरुको स्थान परिवर्तन हुँदा त्यसको प्रभाव ब्यक्तिमा पर्ने मानेर ज्योतिष विज्ञानको केही मर्म किमबदन्ती मात्र होइनन् जास्तो लाग्छ । उदाहरणको लागि पुष माघ जस्तो जाडो महिनामा जन्मेको मान्छेले जन्मदिनका दिन खोलामा पौडी खेलेर जन्मदिन मनाउँछु भन्नलाई बढी जाडो हुन्छ । रमाउन सक्ने हुँदैन । तर गर्मी महिनामा जन्मिएको मान्छेले जन्मदिनलाई नदीमा नुहाएर पौडी खेलेर मनाउन रमाइलो हुन्छ । जाडो याममा सूर्य पृथ्विको उत्तर जाने हुनाले पुस माघमा जाडो हुन्छ र त्यस्तो जाडोमा नदीमा पौडी खेलेर जन्मदिन मनाउन त्यही सूर्य एक ग्रहको स्थिानले पारेको असरको रुपमा बुझ्न सकिन्छ । ज्योतिषहरुले आकासका ताराहरुको स्थान धेरै वर्षसम्म गणना गरेर कुन दिन र कुन समयमा जन्मेको मान्छेमा कुन ग्रह कुन स्थानमा हुँदा कस्तो असर पर्यो भन्ने गणना गरेर तथ्याङ्कका आधारमा भविष्यवाण्ी गर्ने ज्योतिष शास्त्र विस्तार गरेको जस्तो लाग्छ । तर, बाहुनहरुले त्यस्तो अनुसन्धान गरेर तयार पारेको विज्ञानलाई ‘चमारेले छोएर ग्रहण लागेको’ भन्ने जस्ता भ्रम छरेर ज्योतिष शास्त्रको विस्वास नै कम गरेका छन् । ज्योतिष शास्त्र त पहिले भएका अनुसन्धानमा अहिले बनेको प्रविधि तथा हर्वल दुर्विन जस्ता आधुनिक साधनबाट अझबढी ग्रहहरुको स्थान र मानिसमा पर्ने असर गणना गरेर अझै विकसित गर्नु पर्ने जस्तो लाग्छ । आखिर ग्लोबल वार्मिङ हुँदैछ भन्ने पनि त हरेक वर्षको तापक्रम नापेर अनि त्यो तापक्रमबाट हिउँ कति पग्लियो, त्यो पग्लिएको हिँउले समुद्र सतह कति बढ्यो भन्ने जस्ता तथ्यका आधारमा मान्छेले आफ्ना क्रियाकलाप सन्तुलित पारेर पृथ्विको आयू कम हुन नदिन सतर्क पार्नु लाई पनि वास्तवमा ज्योतिश विज्ञानसँगै जोडेर अझै विकास गर्न सकिन्छ जस्तो पनि लाग्छ । तर, त्यसै विषयमा बढि अध्ययन गर्ने मेरो क्षेत्र पनि परेन फुरसद पनि त हुँदैन ।

ज्योतिष विज्ञानको जस्तै यो हातका रेखाको पनि विज्ञान हुनसक्छ । त्यो विज्ञानको विस्लेषणको आधारमा यी जोगीले मेरी कोही दिदी बैनी हुन पर्ने भनेकै हो भने त ती एम्मा त मेरै दिदी वा बैनी नै हुन । जन्म मिति पनि एउटै देखिनुको मतलव जुम्ल्याहा नै हुन । तर यी जोगीले भने भन्दैमा पुष्टि भएको भन्न त भएन । त्यो डिएनए टेस्ट रिजल्ट पनि हेर्नै पर्ने भयो । अनि उनका बाबुआमालाई भेटेरै भए पनि वास्तविकता पनि पत्ता त लागउनै पर्ने भयो । अहिले फेरि यताका काम नसकी जाने कुरा पनि भएन । सवै कुरा एकै चोटी किन आइ परेको होला ? उता एम्मा सित भेट हुनु यता यही बेला बुवाआमाको मृत्यू हुनु । के हुन लागेको हो कुन्नि !

हामी कुरा गर्दै गर्दा मैले मनमा खेलेका जोगीले भनेका कुराले समय वितेको थाहा नै पाइन । ढोकामा कागज लिएर आएका कर्मचारी देखेपछि ध्यान मोडियो । काका र अध्यक्षहरु पनि कुरा गर्दै हुनुहुँदोरहेछ तर खासै उहाँहरुका बीचमा के कुरा भएका हुन हेक्का पनि राखिन ।

कर्मचारीले दिएको कागज पढेर अध्यक्षले सिग्नेचर गरेर काकालाई दिए पछि काकाले पनि पढेर झोलामा हाल्नु भयो र भन्नु भयो ‘अव हामी सदरमुकाम जान्छौ, अझै समय पनि बाँकी छ त्यसैले त्यहा पनि अरु काम पनि सक्नु छ । हुन्छ बाबु सहयोगको लागि धन्यवाद ।’

ती कर्मचारी उभिएकै थिए र भने ‘त्यो सिफारिसको लागि र निबेदन टिकट दस्तुर तिर्नु पर्ने हुन्छ ।’

काकाः ‘हुन्छ हामी त्यो पैसा तिरेर रसिद काटेर अव जान्छौं’ भन्दै वाडा अध्यक्ष सँग विदा माग्नु भयो ।

मैले र दिनेशले पनि नमस्कार गरेर वडा अध्यक्ष र ती जोगीलाई पनि नमस्कार गरेर विदा मागेँ । फाँटमा पुगेर पैसा तिरेर काकाले नै रसिद पनि सवै कागज सँग सँगै आफुले समाएको झोलामा राख्नु भयो । हामी गाडीमा पुग्यौ, तर छोरी त्यहाँ थिइनन् । कता गइन भनेर अलि चिन्ता जस्तो पनि लाग्यो । त्यत्तिकैमा दिनेशले सोधे ‘नानी खै त ?’

मः ‘त्यही त तिमीलाई बोलाएन पठाए पछि त मैले नानीलाई देखेकै छैन । कुरामा लागियो ख्याल पनि भएन । हैन तिमीलाई भित्र जान भने पछि तिमीसँग भित्र त आइनन त नानी, कता गइन त !’

छोरीलाई नदेखेकोमा म चिन्तित देखेर दिनेशले भने ‘भित्र बस्न बोर भएर यतै कतै होलिन छोरी, पख म खोज्छु’ भनेर यताउता हेर्दै, अलि उत्तर तिर हिड्न थाले । हामी भने त्यहीँ उभिएर यता उता हेर्न थाल्यौ । दिनेश अलि अगाडि पुगेपछि ‘ए उता रहिछन म बोलाउँछु ।’ भन्दै हातले हामीलाई नानी त्यो नगरपालीका भवनको तारबारको उत्तर पट्टि बताउँदै उनी उतै हिँड्दे गए ।

एकै छिनमा दिनेश र छोरी हिँड्दै आए पछि हामी गाडीमा बस्यौ र गाडी गुड्न थाल्यो । मैले छोरीलाई सोधेँ ‘हामीले त बाहिर आउँदा तिमीलाई नदेखेर चिन्ता लागेको । तिमी कता गएकी थियौ ?’

छोरीः ‘भित्र हजुरहरु कुरा गर्दै हुनुहुन्थ्यो एक छिन समय लाग्छ जस्तो पनि लाग्यो अनि यता उता के कसो रहेछ भनेर बुझ्न हेर्दै थिएं । त्यत्तिकैमा उता त्यो विल्डिङको पल्लो पट्टि एउटा केटी देखेर उनीसँग कुरा गरेर गाउँका कुरा सिकिन्छ भनेर उनी छेउँ गएर कुरा गरेकी । त्यहाँ बाख्रा चराउन अहाएकी रहिछन ती केटी । उनको नाम सीता रहेछ । यहीँ गाउँकी रहिछन् । आजकाल जाँच सकिएपछि छुट्टि भएको रहेछ । उनले आठ कक्षाको परिक्षा दिएकी रहिछन् । यो गाउँमा त उनी भन्दा जेठो कोही केटीले पनि पढेको छैन रे मम्मी । उनी त यो गाउँ भरिबाट स्कूल पढ्न गएकी पहिलो केटी रहिछन् । उनको आमालाई काकीहरुलाई दिदीहरु कसैलाई पनि पढ्न नै आउँदैन रे । पहिले पहिले त छोराहरुलाई मात्र स्कूल पढ्न पठाउँथे रे उनीहरुका बाउ आमाले । आजकाल भने केटीहरुलाई पनि पढाउन थाले छन् । उनका कति काका मामा दाइ नाता पर्ने केटाहरुले पनि स्कूल नै नपढेका रे । आजकाल भने सवै केटाकेटी स्कूल पढ्छन भनेर उनले बताइन । म त अचम्म परेँ ।’

मः ‘हो त नानी, यो थारु गाउँ हो । थारुहरु यहाँका आदिवासी हुन । उनीहरुले खेती किसानीमात्र जान्द थिए । अव बल्ल अलिअलि पढ्ने सिक्ने जान्ने हुँदै गएका छन् । हामीले स्कूल पढ्दासम्म पनि थारुहरु कसैले पनि छोरीलाई स्कूल पठाउँदैन थिए । हुन त हाम्रै फुपुहरु कै पालामा पनि केटीहरुलाई खासै पढाउने चलन थिएन । पढाए पनि छोराहरुलाई खर्च गरेर बोर्डिङ स्कूल पढाउने र छोरीलाई गाउँको सरकारी स्कूलमा पठाउने चलन थियो । केटाहरु पनि सवै त स्कूल जान्थेनन् तर धेरै जसो छोराहरुलाई भने स्कूल पठाउँथे । त्यो पनि पढ्ने बातावरण नभएकोले थारु केटाहरुले पनि धेरैले त केही वर्षमा पढाइ छाड्थे । थोरै केटाहरुले मात्र दश कक्षासम्म पढ्थे । कलेज वढ्ने त हुँदैहुदैनथे भने पनि हुन्छ । तिमीलाई हामीले बताएको भए तिमीले पत्याउने पनि थिइनौ होला । त्यो केटीले बताए पछि तिमीलाई यथार्थ थाहा भयो । तिमीले उनीसँग कुरा गरेर धेरै कुरा सिक्यौ ।’

त्यो बाटोभएर काका पनि सदरमुकाम जानु भएको रहेनछ । कालोपत्रे गरिएको त्यो बाटो सरासर सदरमुकाम पुग्छ भनेको त दुई ठाउँमा पीच सडक नै दुई तिर देखिए पछि हामीले कुन बाटो समाउने भन्ने अल्मल परे पनि काकाले पूर्व तिर जाने बाटो अन्दाज गरेर रोजेको बाटो हुँदै हामी सदरमुकाम पुग्यौ । बजार छिरेको एकै छिनमा मालपोत कार्यालय पुग्दा कार्यालय बाहिरको बर–पिपल चौपारी(चौतारी)मा ढलान गरेको छल मुनि लेखनदासहरु र सेवाग्राहीहरुको झुण्डनै देखियो । छानोभ ए पनि अरु खुला रहेछ केवल पिलरहरुले छानो धानेको रहेछ । चौपारीका बर पिपललाई पनि त्यो ढालान गरेको छानोले खासै असर गरेजस्तो लागेन । कतिपय लेखन्दासले त ल्यापटप पनि राखेका देख्दा प्रविधि प्रयोग राम्रै गरी हुन थालेछ जस्तो लाग्यो तर देखिएका ल्यापटप र प्रिन्टरहरु पनि बन्द देखिन्थे । लेखनदासहरु कागज कलमकै भरमा लिखतहरु तयार गरिरहेका रहेछन् । धेरै जसो सवै ब्यस्त नै देखिने । एउटा केटो भने खाली देखेपछि काकाले बोलाएर केही कुरा गर्नु भयो । त्यसपछि उहाँले बनाएको टिपोट देखाएर अपुताली नामसारी गर्ने कागज तयार गर्न भन्नु भयो । उनले ‘त्यो चौपारीको बरको रुखमुनि बनेको दुई कोठे घरमा लेखनदास संघको अफिस भएको र त्यहाँबाट अपुताली फारम किनेर ल्याउनुस’ भने ।

उनको ताल देख्दा ब्यवसायिकता झल्किएन । तर, उनको मात्र होइन त्यहाँको चलन नै त्यस्तै रहेछ । निबेदन फारम छुट्टै किन्दा महगो दस्तुर असुल गर्ने लेखन्दास संघको मिलिभगत रहेछ भन्ने नै बुझियो । फारम चाही नियम अनुसारको ढाँचामा संघको पहलमा छापेर बेचिँदोरहेछ । कागज किन्दा तिरेको निकै महगो शुल्कबाट पनि लेख्ने ब्यक्तिलाई कुनै रकम हात लाग्छ कि लाग्दैन भन्ने चाही मैले बझिन र बुझ्ने प्रयास पनि गरिन । तर, लेखनदासलाई भने कागज लेखे बापतमा छुट्टै दस्तुर दिनु पर्नेरहेछ । उनको दस्तुर हाम्रोलागि महगो त लागेन धेरै थोरै जस्तो नै लाग्यो तर ब्यवसायिक स्तर पटक्कै नभएको अनुभव भयो । सायद उनीहरुको सेवा लिन आउने अरु ग्राहकहरुको सेवा दस्तुर भुक्तान गर्ने क्षमताको भरमा त्यहाँको चलन चलेको होला ।

उनले कागज लेखेर तयार गरे । उनले कागज लेखुनजेल हामी अलि परको चिया पसलमा गएर चिया नास्ता गर्यो । पसलमा राखिएका खानेकुराका वरिपरि माखाहरु भन्किएका । सफाइ पटक्कै नभएको । लथालिङ्ग भए पनि भोक टार्न हामीले केही त खानै पर्ने थियो । पकाएको मटरमा किरा मरेको तात्तातै हुने र चियामा पनि किराको प्रभाव नहुने ब्याख्या गर्दै काकाले पिरो नहालेको मटर र चिया माग्नु भयो । नास्ता गरेर हामी चौपारीमा पुग्दा लेखनदासले अझै लेख्दै रहेछन् । सिमेन्टको ढलाई गरेको टेबलमाथि फराकिलो बाँसको कागज विछाएर, उस्तै गरी तयार पारिएको बेञ्चमा बसेर लेख्दै रहेछन् । उनले कागज तयार पारुनजेल हामीले पर्खिरह्यौ । उनले त्यो सिमेन्टको ढलाइ गरेका बेञ्चमा हामीलाइ बस्न भने पनि हामी उभिएरै समय वितायौ । उनले अरु धेरैजसो लेखिसके पछि मेरो नागरिकता प्रमाणपत्र मागे । मैले नागरिकता त छैन भने ।

काकाः ‘उनको नेपाली नागरिकता छैन । उनी विदेशी हुन, बेलायती नागरिक तर उनीसँग गैर आवासीय नेपाली नागरिकता छ, त्यसैका लागि परराष्ट्र मन्त्रालयबाट पत्र पनि ल्याएको छ । नागरिकता नम्बरको ठाउँमा गैर आवासीय नेपाली नागरिकता नम्बर लेखिदिनुस’ भन्नु भयो ।

लेखन्दासः ‘नेपाली नागरिकता नभए त नामसारी हुँदैन । अहिलेसम्म कसैको पनि विना नागरिकता गरेकै छैन ।’ भने ।

काकाः ‘ठिकै छ, तपाइले कागज तयार पारेर पेश गर्नुस म कुरा गरौँला ।’

लेखन्दासः ‘हुन्छ, अव अरु त लेखिसकेँ’ भन्दै । मैले दिएको गैर आवासीय नेपाली नागरिकताको नम्बर कागजमा लेखे । अनि भने ‘अव पहिला मोठ भिडाउनु पर्छ । हिड्नुस भन्दै अगाडि हिँडे, हामी उनकै पछि लाग्यौ ।

चौपारीको सिढी झरेर सानो फुटपाथ जत्रो तर साना गाडी पनि र्छिन मिल्ने बाटो नाभेपछिको फलामे गेटको मान्छे छिर्न बनाएको ढोकाबाट एकएक गर्दै भित्र पस्यौ । जताततै मान्छे देखिने । वायाँ पट्टि दुई तल्ले इटाको परखालमा सिमेन्टले प्लस्टर गरेको र छाना ढलान गरेको घरमा लस्करै तल पनि माथि पनि कोठाहरु रहेछन् । अगाडि बराण्डा र बाँया छेउँमा माथि चढ्ने सिढी । दायाँ पट्टिको घर अलि पुरानै पाराको रहेछ । थोत्रो नै भन्दा पनि हुने । दुई तिरबाट पस्ने तीन तलाको घरमा झिँगटीको छाना रहेछ । हामी पहिलो ढोकाबाट अगाडि बढेर दोस्रो ढोकातिर पाँचवटा खुड्किला चढेर कोठा भित्र छिर्दै गरेका लेखन्दासको पछि लाग्यौँ । उनले तयार पारेको कागजको मिसिल लिएर ढोका भित्रको वायाँ तिरको कोठामा पस्न खोजे तर त्यहाँ अटाइ नअटाइ मान्छे रहेछन् । टेबल पारि कम्प्यूटरमा दुई जनाले काम गर्दै गरेका रहेछन् । लेखनदासले हाम्रो फाइल पनि कम्प्यूटरमा काम गर्दै गरेका मान्छेको टेबलमा भएका पाँच–छ वटा फाइलको मुनि राखे । त्यहाँको माहोल नै देखेर त्यहाँ भित्रका मान्छेहरु हामी भन्दा पहिलाको पालोमा बसेर काम पर्खिरहेको भन्ने बुझियो ।

छोरीः ‘मम्मी, यो यहाँको अफिस र काम गर्ने तरिका हो ?’

मः ‘हो, यो यहाँको ल्याण्ड रजिष्ट्रि अफिस हो । यूकेमा त हामीले अफिस नै नदेखि पत्रहरुको भरमा सोलिसिटरले घर किन्ने बेच्ने काम गरिदिन्छन् । इन्हेरिटेन्सको लागि पनि कार्यालय पुग्नु पर्दैन । तर, यहाँको यो काम गर्ने तरिका र अफिस त मैले पनि पहिलो पटक देख्दै छु । तिमीलाई जस्तै मलाई पनि अनौठो लाग्दैछ । यूकेमा भए त फोन गरेर सोलिसिटरलाई नियूक्त गरेपछि मिटिङ डेट फिक्स गरेपछि सोलिसिटरले सवै कागज तयार पारेर सिग्नेचर गर्न बोलाउँछ । अरु सवै काम कित अनलाइनबाट कित पत्राचारबाट कित फोनबाट भै हाल्छ । यहाँ त्यस्तो सिस्टम विकास नभएकोले यो पुरानो पेपर वर्कको झन्झटै झन्झट हुँदैछ ।’

हामी भन्दा अगाडिदेखि त्यहाँ कुरेर बसेका मान्छेहरुको फाइलका नम्बरहरु कम्प्यूटरमा हेरेर कर्मचारीले केके कुनकुन कित्तामा केके समस्या भनेपछि फाइल दिएर पठाए । एक–दुई–तीन गर्दै अगाडिका फाइल घट्दै गए । हामी पछि आउनेहरुको फाइल हाम्रो भन्दा तल घुसार्दै गए । धेरै नै बेर पछि हाम्रो पालो हायो । लेखनदासलाई कर्मचारीले दुईवटा कित्ता अरुको पनि नाममा देखियो, अरु कित्ता ठीक छ भन्दै फाइलको बायाँ कभर पातामा बाझिएका दुई कित्ता नम्बर टिपेर दिए । मैले त खासै केही कुरा पनि बुझेकि पनि थिइन । लेखनदासले काकालाई फाइल देखाउँदै भने ‘अहिले सवै मोठहरु कम्प्यूटराज गरेको छ । कम्प्यूटरमा इन्ट्री गर्दा एउटै कित्ता पनि दुई जनाको नाममा देखिन गएको छ । कहिले काही चाही कित्तै नदेखिने पछि हुन्छ । खास गरेर हातले लेखेको मोठबाट हेरेर कम्प्यूटरमा टाइप गर्दा हातले लेखेको अक्षर नबुझेर अर्कै नम्बर टाइप गरेकोले अर्कोको नाममा पनि त्यही कित्ता देखिने भएको हो ।’

काकाः ‘अव कसरि मिल्छ त के गर्नु पर्छ ?’

लेखन्दासः ‘अर्को निबेदन लेखेर हाकिमको कोठामा लगेर तोक लगाएपछि नापी कार्यालयमा गएर दुई जनाको नाममा देखिएको कित्तालाई अर्कोको नामबाट सच्चाएर ल्याउनु पर्छ । तर, अहिले त अफिस बन्द हुने बेला भयो । निबेदन लेखिदिन्छु लिएर हाकिमकोमा जानुस’ भन्दै उनले हकिम बस्ने कोठा त्यो थोत्रो घर पछाडिको दुई तले घरको माथिल्लो तलामा सवै भन्दा छेउँको कोठा देखाइ दिए ।

हामी फेरि फर्किएर चौपारीमा आयौँ । लेखनदासले फेरि कागज किन्न पठाए । पहिला कै ठाउँमा गएर काकाले कागज किनेर ल्याउनु भयो र उसले लेखेर दिएको निबेदन सहितको फाइल लिएर हामी हाकिमको कोठा तिर लाग्यौ । त्यो थोत्रो तीन तल्लो विल्डिङको पछाडिको भवन त अलि नयाँ रहेछ । अगाडिका दुईटा घरको भन्दा अलि राम्रो रङ्गरौगन गरिएको । हाकिम बस्ने विल्डिङ तिर जाँदै गर्दा त्यो थोत्रो विल्डिङको भित्ताको हालत देख्दा त खतरनाक देखिने । धेरै पुरानो घर भएकोले साढेदुई इटा मोटो परखाल रहेछ तर परखालको भित्ताका इटा मक्किएर आधाजति परखाल त धुलो भएर झरेछ । घर नै एकदमै असुरक्षित देखिने कुनै पनि समयमा ढल्छ जस्तो देखिने । छोरीलाई त त्यो देख्दा सारै अचम्म लागेछ । मोबाइल झिकेर कार्यालयको बोर्ड समेत भत्किन थालेको परखालसहितको घरको फोटो खिचिन । हामी हाकिमको कोठातिर जान सिमेन्टको सिढि चढ्दै गर्दा फोटो खिच्न अल्मलिएकी छोरी पनि दगुर्दै हामीलाई भेटाउन आइ हालिन । सिढिको माथि चढ्नासाथ बायाँपट्टि ट्वाइलेट रहेछ । सिढि चढ्दा ट्वाइलेटको सारै नराम्रो गन्ध नाकमा पस्यो । छोरीका लागि जिवनमा त्यो गन्ध पहिलो अनुभव थियो । छोरीले खल्तिबाट टिस्सु पेपरको पोकोबाट झिकेर हामी सवैका बीच एकएक वटा दिँदै भनिन्

‘यस्तो केको ब्याड स्मेल हो ?’

मः ‘यो एकदमै नराम्रो कण्डिसनको ट्वाइलेटबाट आएको गन्ध हो । यहाँको ट्वाइलेटमा पानी पनि प्रसस्त नभएको र सरसफाइ केही नभएकोले यस्तो गन्ध आएको हो ।’

छोरीः ‘म त नेपाल आएर धेरै कुरा बुझ्न पाउँदैछु । यो सवै मैले आफैले नदेखेको भए हजुरले यस्तो थियो भनेर बताएको भए म त पत्याउने थिइन ।’

हाकिमको कोठामा जाँदा त्यो कोठा भने अलि ठूलो र झ्यालहरु भएको उज्यालो रहेछ । त्यो हाकिम बस्ने कोठाको वाहिरको ठूलो बरण्डाबाट उताको थोत्रो भवनको सवै देखिँदोरहेछ । धेरै पुरानो घर जहाँ झ्यालहरु पनि बञ्चरो र बसुलाले मात्र ताछेर बनाइएका त्यो पनि बन्द नै नहुने हुनाले खुला रहेछन् । माथिको तलामा सेतो कपडामा मुठो पारेर राखिएका थुप्रै मुठाहरु थिए । धेरै पुराना रेकर्ड राख्न पर्ने कागजहरुलाई त्यसरि मुठो पारिएर राखिएको भन्ने अनुमान गर्दै छोरीलाई पनि बताएँ । छोरीले त्यस्तो गभरमेन्टको इम्पोर्टटेन्ट डकुमेन्टहरु सजिलै चोरी हुन सक्ने देखियो त भनेर चिन्ता पनि जताइन ।

हाकिमको कोठामा राखिएका सोफासेटमा मान्छेहरु पनि थुप्रै बसेका । तर, हल्ला भने थिएन सान्त थियो । काकाले फाइल लगेर हाकिमको टेबलमा राख्दै नमस्कार गरेपछि हाकिमले अनुहारमा हेर्दा पनि नहेरी आफ्नो कम्प्यूटरमा त्यसमा लेखेका कित्ताहरुको रेकर्ड हेरेर तोक लेखिदिए ।

त्यो तोक लिएर नापि कार्यालयमा जान त्यहाँबाट फलामको गेटबाट निस्केपछि दायाँ पट्टि हिँड्दा एकै छिनमा आयो । नापी कार्यालय भएको घर भने अलि नयाँ रहेछ । त्यो भवन बनेको पनि दुई तीन बर्ष भन्दा बढि भएको छैन होला भनि सजिलै अनुमान गर्न सकिने । हामीलाई बताइएको पाँच नम्बरको कोठा खोज्दै जाँदा विल्डिङ पुरै घुमेर पछाडिबाट एउटा झ्याल बाहिर ५ नं. कोठा भनेर लेखको झ्याल बाहिर हामी पुग्यौ । बाहिर खुला पेटिमा हामी जस्ता सेवाग्राही र भित्र काम गर्ने कर्मचारी हुँदा रहेछन् । काकाले झ्यालबाट फलामका ग्रीलका बीचमा चिराउँदै फाइल कर्मचारीलाई पुर्याइ दिए पछि कर्मचारीले भने ‘दुई वटा कित्ता रहेछ । अहिले अव अफिस बन्द हुन थाल्यो भोलि आउनु ।’

हाम्रो कुनै अरु विकल्प पनि थिएन । त्यसैले हामी गाडी चढेर बुटवल तिर लाग्यौ । गाडी चढेपछि थाकेर पनि होला छोरी त निदाइ नै हालिन । दिनेशले भने काकालाई कुरा कानी गर्दै ड्राइभ गर्दा सकभर बोरिङ नहोस भनेर गफ गर्दैरहे । मेरो मनमा बुवाआमाको संझनाका विषयले उदासिन त कहिले फेरि त्यो प्यासेन्ट एम्माका विषयमा जोगीले भनेका कुरा खेलिरहे । निदाउन पनि निदाइन, बोल्न पनि मन नलागेर चुप्प नै बसिरहेँ ।

दिनेश र मैले सदरमुकाम गएर जग्गा जमिनको काम एकै दिनमा सकिन्छ र कार्यालयले सूचना निकाले पछि जहिले नामसारी गरेपनि हुन्छ भन्ने सोचेका थियौ । त्यसैले यो काम सकिना साथ बुवाआमाको नाममा च्यारिटी तथा अक्षयकोष खडा गरेर बेलायत फर्कने सल्लाह गरेका थियौ । तर, काम गराइको ताल देख्दा यो काम सकिन कनि दिन लाग्ने हो ? झण्झटै झण्झट हुने भन्ने दिक्क लागेकार पनि अयो । तै पनि हामी भोलिपल्ट फेरि सदरमुकाम पुगेर ती लेखनदासलाई खोज्यौ तर उनी भेटिएनन् । काकाले उनीसँग मोबोइल नम्बर लिनुभएको थियो तर त्यसमा पनि फोन नै लागेन । उनी नभेटिए पनि हामी नापी कार्यालयको हिजोकै झ्यालमा पुग्यौ । छोरीलाई अघिल्लो दिनको बोरिङका कारण सदरमुकाम जान मन नभए बुटवलमै बस भनेको उनी पनि घरमा बसेपनि एक्लै झन बोरिङ हुन्छ बरु सँगै गयो भने अपत्यारिला कुराहरु अरुपनि देख्न भाग्न पाइन्छ भनेर साथै आएइन ।

नापी कार्यालयले नक्शामा भएको रेकर्डका आधारमा हाम्रो पुर्जा अनुसारको क्षेत्रफल ठिक्क मिल्ने र अर्को नाममा देखिएको त्यही नम्बरको जग्गाको क्षेत्रफल नमिलेको साथै मोठ अनुसार अर्को ब्यक्तिको नाममा देखिएको कित्ताको वडा नम्बर टाइप गर्दा गलत लेखिदिएकोले दोहोरो पर्न गएको भनेर पत्र लेखेर हामीलाई दिए ।

हामी नापी कार्यालयबाट त्यो पत्र लिएर मालपोत कार्यालय जाने भनेर निस्किए पछि लेखनदासको अत्तोपत्तो नपाएर अलमल भैराखेका थियौ । त्यसै बेला काकाको फोनमा घण्टी बज्यो । एक छिन फोनमा कुरा सुने पछि काकाले उता फोनको अर्को पट्टिको मान्छेलाई भन्नु भायो ‘ल चाडै गरेर आउनुस हामीलाई त तपाइले विजोग पार्नु भयो नि ! पहिला नै हामीलाई खबर गर्नु पर्दैन ?’ काकाको स्वरमा अलि रिसाएको र दवाव दिने भाव झल्किन्थ्यो ।

फोन काटिए पछि काकाले भन्नु भयो ‘त्यो लेखनदासको आफन्त वितेकोले रातिनै गाउँमा गएको रहेछ । अहिले सदगत सिध्याएर बसमा आउँदै छु भनेको छ । अव आइपुग्छ होला । तर, अरु कागज फाइल उसै सँग भएकोले अर्को ब्यक्तिलाइ लेखाउन लगायो भने पनि लेख्न टाइम लागि हाल्छ भनेर हामी उसैलाई कुर्ने नै विचार गर्यौ । फेरि उसले हिजै देखि काम गरेको उसको पारिश्रमिक पनि दिन परिहाल्छ भन्ने पनि लाग्यो ।

त्यो लेखनदासको ताल देखेर छोरीलाई अचम्म लागेछ अनि भनिन ‘त्यो लेखन्दासको रेस्पन्सिविलिटी पुरा नगरेकोमा उसको म्यानेजर हुँदैन ? उसले आफु नभएर अरुको काम रोकिने भए पछि अरुलाई काम दिएर ग्राहकको काम नरोकिने गरिदिनु पर्ने होइन ? यहाँ कसैलाई कसैको कन्ट्रोल गर्ने मेकानिजम छैन ?’ छोरीलाई त्यो पारा देखेर उदेक नै लागेको रहेछ । यो समाज कसरि चलिरहेको छ भन्ने पनि भए होला । उनी सवै सिस्टममा चलेको दुनियामा हुर्केकी । कसैले जिम्मेवारी पुरा नगर्दा कम्प्लेन गर्ने ठाउँ नभएको देखेर अचम्म परिन । कम्प्लेन भएको विषयमा दोहो¥याएर सेवाग्राहीले दुखः नपाउन भनेर सुधार गरिने ब्यवस्थापनका विषयमा उनले बुझेको विषयभन्दा उल्टो नेपालको पारा देख्दा उनलाइ अचम्म लाग्नु स्वभाविक नै थियो ।

छोरी एकै छिन चुपलागेपछि फेरि भनिन ‘सजिलै सिस्टम मिलाउन सकिने विषयमा पनि यहाँ केही नगर्ने जस्तो लाग्यो । कस्टोमरलाई पेपर लिएर यता र उता गराउनु भन्दा त एक ठाउँमा एप्लिकेशन पेश गरेपछि कर्मचारीले त्यो एप्लिकेशन रजिष्ट्रि गर्ने, त्यस पछि कुन डेस्कमा त्यो पेपरको प्रोसेस हुने हो त्यहाँ कर्मचारीले आफै पुर्याइदिने अनि त्यो डेस्कको मान्छेले पनि आफुले गर्ने काम गरेपछि पेपर अर्को कुन डेस्कमा पुर्याउनु पर्ने हो त्यहाँ पुर्याउने गर्यो भने त कस्टोमरको भिड लागेर स्टाफलाई काम गर्न असजिलो पनि हुने थिएन । सजिलो हुन्थ्यो नि त । त्यसो गर्दा त अफिस खर्च पनि केही बढ्दैन बरु घट्छ । कस्टोमरहरु अफिस आएर दिनभरि टाइम खर्च गर्नको सट्टा आफ्नो दैनिक काममा लाग्न सक्छन् । सिटिजनहरु बेकारमा अफिसमा टाइम लस गरेपछि त राष्ट्रको प्रोडक्सन घटि हाल्छ नि । यहाँको लिडरहरुलाई त्यत्ति पनि बुद्धि छैन क्या हो ?’

उनका कुरा सवै ठीक थिए मेरा लागि । उनका तिनी कुरा एक सवैसाधारणका लागि ठीक हुन । मलाई पनि त्यस्तै लाग्छ । तर, यहाँको पोलिसी बनाउनेहरुलाई किन त्यो सजिलो कुरा मिलाउन पनि मन लाग्दैन कुन्नि ? यहाँका राजनीतिज्ञ र कर्मचारीहरुलाई यस्तै चलन ठीक लागेर त होला यसलाई चेन्ज गर्नै खोज्दैनन् । यहाँ यस्तो छ भने अरु अफिसहरुमा पनि यस्तै काम गर्ने तरिका नमिलेको त हुन्छ होला नि ! नेताहरु कर्मचारीहरु कति विदेशमा घुमेको समाचारमा सुनिन्छ, कहिलेकाही भेटिन्छन् पनि तर उनीहरु विदेश गएर के सिकेर आउँदा रहेछन् कुन्नि । छोरीले आफुलाई चित्त नबुझेको सामान्या कुरा गरेकी थिइन तर मलाइ भने उनले नेपालको समृद्धिको मुहान खोल्ने वास्तविक कुरा बताए जस्तो लाग्यो । सेवाग्राहीलाई छिटो छरितो र सहयोगी भएर कर्मचारीले सेवा गरे बचेको समय देशको उत्पादनमा लाग्छ त्यसबाट बल्ल देश समृद्ध हुने हो । तर, नेपालका यी कर्मचारीको पारा देख्दा सेवाग्रहीलाई जति दुख्ख दिन सक्यो उनीहरु त्यत्ति आत्तिएर लेखनदासहरुलाई ‘बरु कति खर्च लाग्छ दिन्छु छिटो काम मिलाइदिनुस’ भन्छन् र टेबल मुनिको कमाइ हुन्छ भन्ने योजना हुँदोरहेछ ।

नेपालको समृद्धि जनताको सम्पर्कका सजिला र साना विषयमा मिलाउन नसकेकै कारणले नआएको हो भन्ने मलाई पनि यकिन भयो । छोरीले त सामान्य एक नागरिकले कसरि सोच्ने गर्छ, त्यसरि नै सोचेर भनेकी थिइन । हुन पनि हुलाकबाट पठाएका चिठ्ठी घरमा पुग्ने सवै घरको पोष्टकोड सम्मको पनि ब्यवस्था छैन । सरकारसँग जनताको एनआइ (नेस्नल इन्सोरेन्स) नम्बरको ब्यवस्था नै छैन । तर, नेताहरु एकै पटक नेपाललाई सिङ्गापुर र स्वीजरल्याण्ड बनाउने गुड्डी हाँक्छन् । विकसित देशहरुले त घर नम्बर र पोष्टकोड साथै जनताको एनआइ जस्ता रेकर्ड त उन्नाइसौँ सताब्दिबाटै सुरु गरेकाले पो उनीहरुको सिस्टम बसेकोले विकास भएको हो । आधार विनाका सपना बुनेर मात्र देश समृद्ध हुँदैन भन्ने चेत नै हाम्रा अगुवाले अझैसम्म पनि जानेका रहेनछन् । जे काम गर्न परे पनि अड्डा अदालतमा नागरिकता प्रमाणपत्र चाहिने ब्यवस्था गरेर जनतालाई सास्ति दिने गर्न चाही जान्ने तर जनताको अवस्था रेकर्ड गरेर कर तिर्ने जनतालाई अप्ठ्यारो परेको अवस्थामा सहयोग गर्ने एनआइ जस्तो रेकर्ड बनाउन भने नजान्ने ? नेपालको नागरिक हुन नसकेका मान्छेहरु पनि त नेपालमा बस्छन् । उनीहरुसँग नेपाली नागरिकता नभएपछि यहाँ बसोबास गरेका आधारमा हुने कामकारवाही तथा कारोवारको लागि कुनै श्रेस्ता नै छैन । भारतमा रासन कार्ड त्यहाँको नागरिकता होइन, तर बसोबास गर्ने तथ्याङ्क त हो नि । कत्ति नेपालीहरु भारतमा बसेर रासन कार्डका भरमा सरकारी काम कारवाही तथा परिचयपत्रको सुविधा भोगेका छन् त । तर, नेपालमा त्यही ब्यवस्था पनि गर्न नसक्दा साधारण जनता मर्कामा परेका छन् । पहिला नागरिकता वितरण टोली गाउँगाउँमा आउँदा हाम्रै गाउँका जग्गा धनी पुर्जा नभएका थारुहरुले नागरिकता बनाउन पाएनन् । पछि सुकमबासी आयोग भूमिहिन नेपाली किसान खोज्दै हाम्रो गाउँमा आउँदा ती थारुहरुले नागरिकता नभएकै कारणले जग्गा पाएनन् । पहिला नै नागरिकता नभएकाहरुलाई बसोबासको रेकर्ड हुने परिचयको ब्यवस्था गरेको भए भूमिहिन थारुहरुले त्यस्तो अन्याय भोग्नु पर्ने थिएन नि ! त्यत्तिवेलाका शासकले त बुद्धि पुर्याएनन नै अहिलेका अगुवाहरुले पनि बुद्धि पुर्याइरहेका छैनन् । यस्ता साना विषयमा बुद्धि नपुर्याउँदासम्म समृद्धिका कुरा सपना बाड्ने मसला मात्र हुन । अरु विकास भनेको विकसित देशले सामान विक्रि गर्न बजार खोज्दै आएर सामान विक्री गरेका कारण हामीले उपभोग गर्ने सामानलाई के को विकास भन्नु । अहिले जनताले उपभोग गर्ने मोबाइल फोनकै पनि उदाहरण लिन सकिन्छ । विकसित देशले पैसा कमाउन विस्तार गरेका नेटवर्क नेपालमा उपभोग गर्नुलाई के को विकास भन्नु ? विदेशीका सामान किन्ने प्रचलनलाई विकास भएको भन्ने चलन छ नेपालमा ।

यी कुरा मनमा खेल्दै गर्दा म त एककोहोरे भएकी रहेछु । त्यत्तिकैमा दिनेशले ‘काकाले उता चिया खान जाउँ भन्नु भएको छ, जाउँ ।’ भन्दा मेरो ध्यान टुट्यो ।

‘हुन्छ’ भन्दै चिया पसल तिर लाग्यौ ।

चिया पर्खँदै गर्दा मेरा मनमा फेरि कुरा खेल्न थाले । यो दुनिया त पैसाकै चलखेलमा मात्र चलेको जस्तो लाग्न थाल्यो । उदाहरणको रुपमा काठमाण्डौ कै पानीको समस्याको विषयमा मेलम्चीको पानी हाम्रो आवस्यकताले हाम्रै लगानीमा काठमाण्डौसम्म आउने भैदिएको भए फरक हुन्थ्यो होला । ठूला साना मेसिनहरुले पहरा फोर्ने, सुरुङ खन्ने, खाल्टा खन्ने, सिमेन्ट बालुवा मिसाउने गर्न थालेपछि विदेशी कन्स्ट्रक्सन कम्पनीहरु काम खोज्न अल्पविकसित देश तिर धाउँछन् । उनीहरुलाई काम चाहिएको हुन्छ । कुन देशमा कस्तो आवस्यकता परेको छ भन्ने आवस्यकता बुझेर ठूला कम्पनीहरु सरकारी उच्च अधिकारी र नेताहरुको सम्पर्कमा आउन सेमिनार, गोष्टि गर्ने र सम्पर्कमा आएपछि विदेशी ऋणको समेत ब्यवस्था गर्न त्यही कम्पनीले तालमेल मिलाउँछ । अझ एग्रिमेन्ट गर्दा सही धस्काउने उच्च पदका कर्मचारी र मन्त्रीहरुलाई कमिसन पनि मिलाइ दिन्छ । काम हुन्छ । जनता विकास भयो भनेर पानी खान पाएर दङ्ग त हुन्छन् । तर त्यो लिएको ऋणको भार पानीको विलसँग तिर्दा ती नेता कर्मचारीले खाएको कमिसन, ऋणको ब्याज, हर्जाना सवै थपेर तिर्नु पर्ने हुन्छ । त्यसैले जनता हुन झन गाहारो छ । ऋण तिर्दातिर्दै जिन्दगी वित्छ ।

हामी चिया खाँदै गरेको पहलमा नै आइपुगे ती लेखनदास भाइ । काकाले अलि भरिलो आवाजमा सम्झाउनु भयो र हसाङफसाङ गर्दै लेखनदास कागज लिएर फाँटमा पसे । यसपटक उनी पसेको कोठामा सहयोग प्राप्त भनि लेखिएका काठका दराजमा मोटामोटा ठेली बनाएर राखिएका जग्गाधनी पुर्जाहरु भएको कोठामा छिरे । हामी ढोका बाहिरबाटै हेरि रह्यौ । काका भने उनी सँगै भित्र पस्नु भयो । घोप्टे परेर नेपाली कागजको ठेली बनेको फाइलमा दुई कर्मचारी काम गर्दै थिए । लेखनदास टेबलको छेउँमा झ्याल नगिच भएको सानो ठाउँबाट छिरेर ती कर्मचारीको पछाडीको दराजमा राखिएका ठेलीमा एक एक गर्दै नम्बर हेर्दे एउटा ठेली झिकेर ती कर्मचारीको छेउँमा राखिदिएर पर्खन थाले । काम गराइ नै सुस्त देखिने कर्मचारीको लोसे पारा जारि नै थियो । त्यसै माथि त्यो वातावरणको लथालिङ्ग चालाबाट कतिबेला छुट्कारा पाइएला भनेर बेचैन भएको मन कर्मचारीको सुस्तपना देख्दा झन दिकदारै भयो ।

सुस्त कर्मचारीले गर्दै गरेको ठेलीको काम सकिएछ क्यारे । उनले त्यो ठेली अलि पर सारेर हाम्रो भनेर लेखनदासले राखिदिएको ठेली अल्छि पाराले आफु तिर ताने । उनले लगाएको अलि मोटो फ्रेमको चस्मा भित्रबाट सेवाग्राही बनेर उनको टेबल अगाडि उभिनु भएको काका तिर एसो हेरे । एसो उठेर झ्यालको नगिच गए र चबाइराखेको पानको झोल पिच्च पार्दै झ्यालबाट बाहिर थुके । झ्यालका फलामका डण्डीमा पहिलादेखि परेका राता छिटामा केही ताजा छिटा थपिए । उनको त्यो दैनिक प्रचलनहो भनेर त्यो झ्यालले बकपत्र गर्दैरहेछ । सायद अरु कर्मचारी र कतिपय लेखनदास तथा सेवाग्राहीको पनि केही योगदान थपिएको पनि हुन सक्छ भन्ने अनुमान गरें ।

ती कर्मचारीले हाम्रो भन्दा अगाडि काम सकेर सही गरेको ठेलीभित्रका कागज देखाउँदै उभिराखेका सेवाग्राहीलाई उता कम्प्यूटर कोठामा लिएर जानुस भनेर भने । कुर्सीमा बस्दै हाम्रो ठेली ती कर्मचारीले तान्दा अब त हाम्रो कामको पालो आएछ भनेर मनमा खल्लो खुसी छायो । आज काम सकियो भने फेरि यो अब्यवस्थित कार्यालय अवस्थाबाट मुक्ति पाइन्छ कि भन्ने आशा पलायो । एकै छिन् । हाम्रो जग्गा धनी पुर्जा र कार्यालयको ठेलीमा भएको रेकर्ड भिडाउँदै ती कर्मचारीले एउटा नम्बरमा देखाउँदै
‘यो कित्ता रोक्का छ’ भन्दै लेखनदासलाई देखाए । लेखनदासले ठेलीको विवरण पढेर भने ‘बन कार्यालयको रोक्का रहेछ । फुकुवा गरेर ल्याउनुस अनि बल्ल अरु काम हुन्छ ।’

त्यो ढल्नैथालेको घरको अवस्था देख्दा कतै काम कै सिलसिलामा भित्रबाहिर गर्दा गर्दै घर भत्किएर च्याप्छ कि भन्ने भैरहेको उदेक लाग्दो अवस्थाबाट अझै पार पाउन सकिने भएन भन्ने लागेर मन झन् उदास भयो ।

काका ती कागजको फाइल लिँदै कोठा बाहिर निस्किएर भन्नु भयो ‘अव आज बन कार्यालयमा पुगेर फुकुवा गराउन पनि ढिला भै हाल्यो । अव आज बुटवल जाउँ । भोलि ज्वाइ (दिनेश) र म मात्र आउँला र बन कार्यालयबाट फुकुवा कागज ल्याए पछि सवै तयारी गरेर बल्ल निबेदन दर्ता हुन्छ । विदेशमा राम्रो वातावरणमा ब्यवस्थित सिस्टममा बसेका तिमी आमाछोरीलाई दिक्क लागेको होला । के गर्नु यहाँ यस्तै छ । हामीलाई त यही बानी नै परेको छ भन्नु पर्यो । विकल्प पनि त छैन ।’

छोरीः ‘हामी पनि भोलि पनि आउनै है । पहिलेको हामी बसेको यूकेको घरको विषयमा त मलाई थाहा भएन तर अहिले बसेको घर किन्ने बेलाको कुरा त मलाइ याद छ । हामीले साँझ गएर घर हेरेका थियौ । त्यस पछि बुवाले फोनबाटै कुरा गरेर घर किन्ने कुरा एजेन्टलाई बताए पछि एउटा सोलिसिटरलाई इमेल लेख्नु भएको थियो । भोलि पल्ट नै हुलाकीले सोलिसिटरको कागज पठाएको थियो । त्यो कागजमा बुवा र आमाले सही गरेर पठाए पछि केही दिन त्यस्तै कागजहरु हुलाकबाट घरमै आइपुग्ने अनि बुवाआमाले पढ्ने सही गरेर फेरि हुलाकबाटै पठाउने । कतिपय पत्राचार इमेल लेखेरै गरेपछि एक दिन सोलिसिटरको अफिसमा गएर कन्ट्याक्टमा सही गर्दा आधा घण्टा जति लागेको थियो । त्यस पछि हामी घर सरेका थियौ । तर, यहाँ त घर किनबेच पनि होइन खाली हजुरबुवाको नामको जग्गा उहाँ वित्नु भए पछि एउटा मात्र सन्तान आमाको नाममा सार्नको लागि पनि यति धेरै दुखः देखेर कस्तो कस्तो प्रकृया रेछ सवै बुझ्न मन लागेको छ मलाई । यो सिक्ने मौका फेरि मैले पाउने छैन । त्यसैले भोलि पनि हामी आउने है भन्दै म तिर हेरिन ।’

म त एक मनले भोलि आउन नपर्ने भएर हल्का महसुस गरेकी थिएं तर छोरीको आग्रहबाट म पनि छोरीले सिक्न खोजेको विषयले मलाई पनि उर्जा मिल्यो र भने ‘हुन्छ नि त, हामी पनि आउने भोलि पनि ।’

भोलि पल्ट हामी मालपोत कार्यालय नगइ सिधै बन कार्यालय खुल्ने समयमै पुग्यौ । हामीले त्यहाँबाट फुकुवा पत्र लिएर मालपोत कार्यालय पुगेर जग्गा फुकुवा गराए र अपुताली नामसारीको निवेदन दर्ता गराउनु पर्ने थियो । हामी त्यहाँको मुद्दा शाखा लेखिएको कोठामा पुग्यौ । अलि अल्गो शरीरलाई लोसे पाराले काठको कुर्सीमा थचारेका ब्यक्तिले हातमा सुर्ती मिच्दै रहेछन् । हामीले कोठा भित्र छिरेर नमस्कार गरेर उभियौ । कता कता उनी मात्र भएको त्यो कोठमा एउटा कामको लागि यत्रो चारजनाको हुल किन चाहियो एक जना यहाँ बसेर अरु बाहिर बस्नुस भन्छन् कि भन्ने जस्तो लागेको थियो । उनले त्यो केही भनेनन् । काकाले लेखेर ल्याएको निबेदन उनको अगाडि राखि दिनु भयो । एउटा हातमा मल्दै गरेको सुर्ती हातमा मुठी पार्दै एक हातले पत्र समाएर त्यो पत्र पढि पछि उनको कोठाबाटै देखिने सिमेन्टको सिढी देखाउँदै ‘माथि गएर हाकिमको तोक लगाएर ल्याउनुस ।’

काका कागज लिएर अगाडि जानु भयो । हामी पछिपछि लाग्यौ । ढलान गरेको सिढीमा काठको रेलिङ लगाइएको रहेछ । सिढी चढ्दैगए पछि घुमेर सिढी सकिए पछि वायाँ पट्टि सोफाहरु राखिएको कोठाभित्र अफिसर बस्ने जस्तो देखिने घुम्ने कुर्सी र त्यस अगाडिको टेबल खाली रहेछ । तर छेउँमा तेर्साइएका सोफामा दुई जना गफ गर्दै रहेछन् । हामी कोठा बाहिर नै उभिएर भित्र हेरि रह्यौ । काका भित्र गएर निबेदन ती कुरा गर्दै गरेका ब्यक्तिको अगाडि लानु भयो । दुई जना मध्ये एक जनाले निबेदन समातेर पढेपछि निवेदनको माथि दायाँ पट्टि टुप्पामा तेक लेखिदिए । हामी पुनः त्याही सुर्ती खाने कर्मचारी भएको कोठामा पुग्यौ ।

उनले त्यत्तिञ्जेल मिच्दै गरेको सुर्ति मखमा प्वाक्क हाल्दै निवेदनमा हेर्दै दराज खोलेर कागज खोज्न थाले । ‘यो पुरानो मुद्दाको फाइल रहेछ भेटिन्छ कि भेटिँदैन । माओबादीले सशस्त्र आक्रमण गर्दा यो कार्यालयका कागज पनि जलाइ दिएका थिए । त्यसैले कागज फेला परेन भने समस्या हुन्छ । म खोज्छु । तपाइहरु भोलि आउनुस ।’ भने ।

हामी उनका कुरा सुनेर अलमल परिरहेका थियौ । काकाले उनलाई ‘हामी पर्खन्छौ, एक पटक फाइल खोजिदिनुस है ।’

करिब तीनचार मिनेट त मिसिल खोज्न छाडेर कुर्सीमा आएर उनी बसे । हामी पनि चुपचाप त्यहीँ उभिरहेको देखेर के भएछ कुन्नी उनी आलस्य पाराले उठे र चुपचाप कुनामा कपडाले पोको पारेर थन्काएको पोको तानेर टेबल माथि राखे । त्यस पोकोबाट पुरानो धुलोको गन्ध ढुस्स गन्हायो । उनले पोको फुकाएर धुलो लत्पतिएका फाइल एक–एक गरेर हेर्दै गर्दा बीच तिरबाट एउटा फाइल झिकेर ‘ल तपाइहरुको फाइल भेटियो म पत्र लेखिदिन्छु’ भन्दै त्यो भेटिएको फाइल टेबलमा राखेर बाँकी मुठो बाँधेर फेरि कुनामा राखे । त्यो फाइल टेबल माथि राख्दै आफु कुर्सीमा बसे । त्यो काठको टेबलको दायाँ तिरको घर्रा तानेर एउटा लेटर प्याल झिके । दुइ वटा कार्वन पेपर भिकेर एकएक पाना तल छिराए । फटाफट काम गरेको भए लाग्ने समय भन्दा उनले गर्ने कामको तरिका झण्डै चार गुना सुस्त गतिको जस्तो अनुभव गरिरहेकी थिएं । तर केही बोले अघि जस्तो भोलि आउनुस भनेर काम टारे भने के गर्ने यहाँ त कम्प्लेन गर्ने सुनुवाइ हुने जस्तो उनलाइ केही डर पनि नभए जस्तो लाग्यो । त्यसैले काम अझै ढिला पो हुने हो कि भनेर हामी चुपचाप पर्खि बस्यो । उनले लेटरप्याडमा लेख्दै गरेको अल्छि पारा देख्दा अलि समय लाग्छ जस्तो भएर पनि दिक्क लागेर खुला हावा हाने मनसायले हामी आँखै आखाँको इसाराले भावना बुझेर बाहिर निस्कियौ । काका भने त्यहीँ कोठामा उभिरहनु भयो ।

सामुदायिक बनका नारा तथा सचेतना सूचना सहित ठडाइएको बोर्डको छेउँमा खरले छाएको कटेज जस्तो प्रतिक्षालय बनाइएको रहेछ । त्यो बोर्डको अलि पर जमिन मुनिको पानी तान्ने चापाकल रहेछ । छोरीलाई चापाकलबाट पानी निकालेको अनुभव थिएन । तर, उनले टिभी तिर कतै देखेको भने हुनुपर्छ । रहर पनि लागेको रहेछ चापाकल थिचेर पानी निकालिन । चापाकलबाट पानी निकाल्दा उनलाई आनन्द अनुभव भएको भाव उनको अनुहारमा प्रष्ट झल्कियो ।

हामी प्रतिक्षालयको काठका बेञ्चमा गएर दिनेश र म बस्यो । एकछिन चापाकलको पानी झिक्ने रमाइलो खेल सकेर उनी पनि प्रतिक्षलयमा आएर बेञ्चमा बसिन । उनले सोधिन ‘भित्र त्यो अफिसरले लेटरप्याडमा पानातल छिराएको निलो कागज के हो ?’

दिनेशः ‘त्यो कार्वन पेपर हो । माथिको पानामा लेख्दा पेनको प्रेसरले गर्दा तलका पानाहरुमा पनि जस्ताको तस्तै अक्षरहरु लेखिन पुग्छन् । पहिला विदेशमा पनि कम्प्यूटरको प्रचलन नहुँदासम्म यस्तो कार्वन पेपर प्रयोगमा हुन्थ्यो । तर, कम्प्यूर, जेरक्स र प्रिन्टरले कपी निकाल्न सजिलो भए पछि विदेशमा यो प्रचलन हराएकोले तिमीलाई थाहा नभएको हो । विस्तारै नेपालमा पनि कम्प्यूटर र प्रिन्टरको प्रचलन बढ्दै गए पछि यहाँ पनि यो कार्वन पेपरको चलन हराउला ।’

उनले कार्बनपेपरको विषयमा छोरीलाई बताउँदै गर्दा मनमा भने स्कूल पढ्दा लिथो मेसिनमा बनाएका प्रश्न पत्रहरुको उत्तर उत्तर पुस्तिकामा लेखेको सम्झना भयो । तर मैले त्यो लिथो मेसिनको विषयमा छोरीलाई बनाउन खासै चासोँ दिइन ।

अलिबेरपछि कोठाभित्रको ढिला सुस्तिको लेखाइले पट्याट लागे पछि काका पनि हामी भएको प्रतिक्षालयमा आउनु भयो । उहाँले भन्नु भयो ‘त्यो पत्र लेखेर त करिब सक्न थाले, अव त्यो लिएर हाकिम कहाँ जानेछन् । त्यसपछि फेरि दर्ता चलानी रजिष्टरमा नोट गरेपछि त्यो पत्र मालपोत कार्यलायमा लैजान हामीलाई दिने छन् ।’

काकाको कुरामा छोरीलाई अचम्म लागेछ र सोधिन ‘अनि त्यस्तो अफिसियल पेपर एउटा अफिसले अर्को अफिसलाई पठाएको त्यो पनि ब्यक्तिले लैजाँदा कन्फिडेन्सियल हुदैन होला छ ।’

काकाः ‘नानीको कुरा त ठीक नै हो, तर हाम्रै जग्गा रोक्काको विषयमा भएकोले हामीले यसमा गडबड गर्दा हामीलाई नै घाटा हुने सोचेर हामीलाई नै पत्र दिएर पठाउने चलन गरेका हुन । अझै सम्म नेपालमा फ्याक्स, इमेल आदि प्रविधिको सुविधा छताछुल्ल नभएकोले साना कार्यालयहरुका यी प्रकृयाहरु यसै गरी चलिरहेका छन् । मन्त्रालय आदि ठूला अफिसमा सम्म प्रविधि अलि प्रयोग हुन थालेका छन् । जिल्ला र गाउँसम्म प्रविधि पुग्न सेकेको छैन । प्रविधि पुर्याइहाले पनि त्यसलाई सञ्चोालन गर्ने प्राविधिज्ञहरु तथा चलाउने सिपको कमीले गर्दा अझै लामै समय लाग्ने देखिन्छ । समग्रमा यो सवै शिक्षाको कमीको परिणाम नै हो । अझै पनि साक्षर नभएका मानिसहरुको संख्या थुप्रै छ । तिमीहरु विकसित देशमा बसेका र त्यहाँको सिस्टम देखेकाहरुलाई यो अनौठो लाग्नु स्वभाविक नै हो ।’

एकै छिनमा ‘हेरौ लेखिसके कि’ भन्दै काका मुद्दा शाखामा जानु भयो ।

हामीलाई त्यत्तिचाडै लेखिसक्लान जस्तो लागेको थिएन तर हामीले सोचेभन्दा अलि थोरै समयमा काकाले बन्द भएको लिडफाफा देखाउँदै ‘ल अब मालपोत अफिस जाउँ फूकुवा पत्र पाइयो’ भन्दै प्रफूल्ल मुद्रामा बाहिर आउनु भयो । हामीलाई ती कर्मचारीको सुस्त पार देखेर आज पनि काम सकिने भएन भन्ने लागिरहेको अवस्थामा काकाले फूकुवा पत्र लिएर वाहिर आउँदा हामीलाई निकै खुसी लाग्यो । दिनेशले ‘अचम्मै भयो त’ भन्दै बसेको बेञ्चबाट जुरुक्क उठेर हिँड्न तयार भए ।

हामी हतारिँदै मालपोत कार्यालय पुगेर लेखनदासालाई खोज्दै चौपारीमा पुग्यौ । उनी त्यहीँ रहेछन् । हाम्रो हतारिएको अवस्था र उनले गर्दा नै पनि धेरै ढिला भैसकेको अवस्थाले गर्दा पनि होला लेख्दै गरेको कागजलाइ त्यत्तिकै सिमेन्टको टेबलमा राखेर हामीसँग कार्यालय भित्र छिरे । उनको अर्को साथी त्यहीँ भएकोले होला लेख्दै गरेको कागजको सुरक्षामा खासै मतलव नभएजसरी दुई वटा ढुङ्गाले थिचेर हाम्रो कामका लागि अग्रसर भए । उनले कागज लिएर हामीलाई उनको पछाडि हिँड्न भन्दै दुई पुराना भावनको बीचबाट अगाडि बढेर दायाँ माडिँदै हाकीम बस्ने घरको माथिल्लो तलामा गएर हाकिमको कोठामा छिरे । हामी पनि पछि पछि थियौ । म र काका लेखन्दासकै साथ लागेर कोठा भित्र पस्यौ । दिनेश र छोरी भने कोठाबाहिर बसेर नै भित्र हेरिरहे । भित्र छिर्दा धेरै जना गएर भिड लगाउनु भन्दा आवस्यक हुनेमात्र भित्र कोठामा छिर्दा ठीक होला भन्ने भावनामा हामीले त्यसो गरिरहेका थियौं ।

हाकिम आफ्नो कुर्सिमा बसेर कम्प्यूटरमा केही काम गर्दै थिए । उनको छेउँको सोफामा एउटा निकै अग्ला कदमा अलि दुब्ला मान्छे बसेका रहेछन् । लेखनदासले हाकिमको टेबलमाथि बन कार्यालयबाट ल्याएको बन्दीखाम र अरु कागजको फाइल राखिदिए । एकै छिन पछि कम्प्यूटमा गर्दैगरेको हाकिमको काम सक्किएछ क्यारे, बन कार्यालयको खाम खोलेर पढे, त्यसपछि तोक लेखेर फिर्ता दिए । त्यो तोक लागेको कागज हातमा लिँदै लेखनदासले ‘म तल फाँटमा गएर यो फुकुवा गर्दै र्गछु तपाइहरुले हाकिमसाव सँग निर्णय गराउँदै र्गनु’ भन्दै त्यो पत्र लिएर उनी कोठा बाहिर निस्किए ।

हाकिमले हाम्रो फाइल हेर्दै केही बेर पढेपछि ‘गैर आवासीय नेपाली विदेशी नागरिकको अपुतालीको विषय रहेछ’ भन्दै सोफामा बसेका ती दुब्ला मान्छे तिर सारिदिए । फछि थाहा भयो ती दुब्ला अग्ले मान्छे मुद्दा फाँटका सुब्बा रहेछन् । उनले पनि फाइलका कागजहरु पढेपछि हाकिम तिर हेर्दै भने ‘यस्तो अपुताली नामसारी त अहिलेसम्म गरेको छैन ।’

हाकिमले हामीतिर हेर्दै ‘यस विषयमा अलि विचार गर्नु पर्छ, अहिलेसम्म नगरेको विषय पर्यो, हामी सल्ला गर्छौ, भोलि आउनुस ।’ भने ।

काका टेबलकै छेउँमा म भन्दा अलि अगाडि हाकिमको टेबल नगिचै हुनुहुन्थ्यो । उहाँले समातिराखेको छालाको ब्याग भित्रबाट दुईवटा किताब निकाल्नु भयो । त्यस मध्येको एउटा किताबमा चिन्ह लागएको पेज पल्टाउँदै । भन्नु भयो ‘यो गैर आवासीय नेपाली सम्बन्धी नियमावली २०६६ को नियम ११(८) हेर्नुस । अपुतालीबाट कुनै विदेशी नागरिक गैर आवासीय नेपाली अचल सम्पत्ती प्राप्त भएमा नीलो पुर्जा बनाइदिनु पर्छ भन्ने लेखिएको छ ।’

त्यत्ति भन्दै त्यो किताब खोलेको पेज हाकिमको अगाडि दिनु भयो ।

(८) यस नियमाली बमोजिम अचल सम्पत्तिको जग्गाधनी प्रमाण पत्र प्रदान गर्दा सम्बन्धित मालपोत कार्यालयले नीलो रङको प्रमाणपत्र प्रदान गर्नु पर्नेछ ।

हाकिमले त्यहाँ लेखिएका दफाहरु पढ्े पछि त्यो किताब ती सुब्बालाई दिए । सुब्बाले पनि काकाले बताएका कानुनी कुराहरु पढे ।

त्यसपछि ती सुब्बाले भने ‘नागरिकता ऐनको दफा १०ले विदेशको नागरिकता लिए पछि नेपाली नागरिकता बदर हुन्छ भनेको छ । मुलुकी देवानी (संहिता) ऐन २०७४ ले मन्त्रिमण्डलको निर्णय नभइ विदेशीको नाममा जग्गा नामसारी हुँदैन भनेका छ ।’ भने ।

हाकिमले ‘यस विषयमा हामी सल्लाहा गर्छौ, आज अफिस बन्द हुने समय पनि भैसक्यो भोलि आउनुस’ भने ।

काकाले खल्तिबाट मोबाइल झिकेर समय हेर्नु भयो । त्यस पछि झोलाबाट अर्को पहिलेको भन्दा अझै मोटो किताब भिक्नु भयो र चिन्ह लगाएको पन्न पल्टाएर पढ्न थाल्नु भयो

‘दफा ४३३. विदेशीलाई अंश वा अपुताली प्राप्त भएमा हस्तान्तरण गर्नु पर्ने ः (१) कुनै विदेशीलाई नेपालभित्रको कुनै अचल सम्पत्ति अंश वा अपुताली प्राप्त भएमा नेपाल सरकारको स्वीकृति भएकोमा बाहेक सो सम्पत्ति निजको नाममा नामसारी, दर्ता हुन वा सो सम्पत्तिको आम्दानी निजले उपभोग गर्न पाउने छैन ।

तर गैरआवासीय नेपाली नागरिकता प्राप्त गरेको व्यक्तिको हकमा यो व्यवस्था लागू हुने छैन ।

(२) उपदफा (१) बमोजिम विदेशीलाई कुनै अंश वा अपुताली प्राप्त भएमा त्यस्तो विदेशीले त्यस्तो सम्पत्ति कुनै प्रकारले नेपाली नागरिकलाई हस्तान्तरण गर्नु पर्नेछ र त्यस्तो प्रयोजनका लागि सम्बन्धित कार्यालयले हक हस्तान्तरण गर्ने दिनको लागि मान्य हुने गरी अस्थायी जग्गा धनी प्रमाण पूर्जा जारी गर्नेछ ।

(३) उपदफा (१) बमोजिम विदेशीको नाममा प्राप्त भएको अंश वा अपुतालीको सम्पत्तिमध्ये अंशको हकमा जहिलेसुकै पनि र अपुतालीको हकमा त्यस्तो प्राप्त भएको तीन वर्षभित्र उपदफा (२) बमोजिम नेपाली नागरिकलाई हस्तान्तरण नगरेमा सो म्याद नाघेपछि त्यस्तो सम्पत्ति उपर नेपाल सरकारको हक हुनेछ । )’ त्यसपछि भन्नु भयो ‘यसको प्रतिबन्धात्मक बाक्यांशले गैर आवासीय नागरिकको हकमा छुट गरेकोले हकवालाको नाममा नामासारी हुन्छ । हुन्छ, हामी भोलि विहानै आउँछौ नि त ।’ हामी विदा हुँदै गर्दा लेखनदास पनि तल फाँटको फुकुवाको काम सकेर त्यहीँ कोठामा आइपुगे । अफिस बन्द हुने समय भएको महसुस गरेर नै होला त्यो फाइल उठाएर काका हिँड्न थालेको देखेर लेखनदासले भने ‘यो अपुताली निबेदन आज दर्ता गरौँ, अफिस बन्द हुने समय भैसक्यो अरु काम भोलि गरौँला ।’

हाकिमले काकाको हातबाट फाइल लिएर निबेदनको बायाँ पट्टि आ.का. भनेर लेखेर सही लगाउँदै ‘तल दर्ता फाँटमा लगेर दर्ता गरिराख्नुस भोलि हामी सल्लाह गरेर के गर्ने भनौला ।’ भने ।

मलाई त बन कार्यालयबाटै आजको दिन वित्छ जस्तो लागेको थियो । सोचेभन्दा अलि चाडै नै चिठ्ठी पाउँदा आज काम सकिन्छ भन्ने लागेको थियो । तर, यी कार्यालयका काम गर्ने तरिका के के हुन !! ताल देख्दा नै आज पनि काम सकिएन । भोलि पनि सकिने हो कि होइन भन्ने जस्तो लाग्न थाल्यो । विकल्प पनि केही देखिएन । उता, परम्पराअनुसार तेह्र दिनको काम गर्नु पर्नेदेखि लिएर जागिरको विदाको अवस्थाको बारेमा पनि केही मिलाउन पाएकी छैन । दिक्क पनि लाग्न थाल्यो, आ.. ।

आफ्नो हातमा नभएको कुरा के गर्नु ! कानूनमा लेखिएको बाउ आमाको सम्पत्तिमा पाएको अधिकार आफ्नो नाममा गराउन पनि सवै सम्पत्ती कमाउनभन्दा झन गाहरो पो हुँदोरहेछ । सेवाग्राहीलाई पनि यस्तै बानी पो परेर हो कि यसैमा सवै मस्त छन् क्यारे । कोही यो चलन नै भएन भनेर कराएको झगडा गरेको पनि देखिएन । यहाँका मान्छेले अन्यत्र कस्तो हुन्छ देखे कै छैनन् त्यसैले संसार भरि सवै ठाउँमा यस्तै त होला, यसैमा रमाउनु पर्छ भन्ने भएर त होला । आफु भने सिस्टममा चलेको देशको बानी परेर होला केही कुरा पनि सिस्टम मै नभएको जस्तो हुने । के गर्नु त । सवै भन्दा राम्रो आफु पनि सन्तोष गर्यो भोलि फेरि खुरुखरु आयो, काम भए भयो, नभए पर्सि पल्ट पनि आयो । चित्त बुझेन भनेर पनि केही काम त रहेन छ यहाँ ।

फेरि हामी बुटवलको बाटो लग्दै गर्दा मनमा भने उही एम्माको सम्झना आयो । ती केटी मेरी जुम्ल्या भैदिएको भए अहिले यो कार्यालयहरुको झन्झटमा उनी पनि पर्नु पर्ने थियो । आखिर हामी एउटै बाउआमाका सन्तान भए पछि प्रक्रिया त सवै एउटै अपनाउन पर्ने हुन्थ्यो । के थाहा जुम्ल्याहा नै रहिछन् भने यो सम्पत्तिपनि हामी दुई बैनी बीचमा बाड्ने अवस्था पो आउने हो कि न ! मेरो मनको भ्रम न हो । उनी त अहिलेसम्म नेपाल आएकै त छैनन् । विदेशमै जन्मिएकी उतै हुर्किएकी । कथमकदाचित यो सिस्टम विनाको झन्झटमा पर्न परे त उनी भो मलाइ केही चाहिएन आफ्नै गरी खान्छु भन्दै उतै फर्किन्थिन होला ।

भाग – ८ भाग– ६
 
 
There are no data records to display.
   
Comment:
Date:
Name:
LastName:
Address:
City:
PostalCode:
PhoneNumber:
EmailAddress:
WritingId:
Insert  Cancel

www.flykathmandu.co.uk

Received Comments



www.flykathmandu.co.uk
Please write email to belbase@flyktm.com to get permission to publish my article to your media.