Govind Belbase
<January 2023>
SuMoTuWeThFrSa
25262728293031
1234567
891011121314
15161718192021
22232425262728
2930311234
उपन्यास: NRN (बेलायत)को कथाबस्तु – "एम्मा" – भाग ८
भाग – ८

विहान हामी मालपोत कार्यालय पुग्दा त्यत्ति धेरै चहल पहल बढिसकेको रहेन छ । अफिस भरखर खुलेको समय भएर पनि होला । अघिल्लो दिन जस्तो लेखनदास खोज्न गाहरो पनि परेन । उनी चौपारी मै भेटिए । उनले हामीलाई देख्नासाथ ‘सरासर मुद्दा फाँटमा जाउँ’ भने । हामी मुद्दा फाँटमा जाँदा ती दुब्ला अग्ला सुब्बा आफ्नो टेबलमा थिए र उनको सँगैको कुर्सीमा बसेका एक कर्मचारी कम्प्यूटर अगाडि थिए । सायद कम्प्यूटर खुल्दै थियो क्यारे उनी घरि पर्खने र घरी माउस–कीबोर्ड चलाउने गर्दै रहेछन् ।


सुब्बाले हामीलाई देख्ना साथ ‘ल ल्याउनु त फाइल’ भनेर फाइल मागेर खोले । एकै छिन पढे, ‘कानून अनुसार मिल्छ जस्तो त छ, त्यही पनि हाकिमसाबले सल्लाह गर्छु भन्नु भएको छ । एक पटक हिड्नुस सोधौँ गरिदिने भन्नु भयो भने प्रकृया अगाडि बढाउँला ।’ भन्दै सुब्बाका पछाडि लागेर हामी पनि हाकिम कै कोठामा पुग्यौ ।

आखिरमा हाकिमले ‘हुन्छ, निबेदन दर्ता गरेर सूचना निकालिदिनुस भन्ने आदशे दिए सुब्बालाई ।’

त्यत्तिकैमा एउटा मैलो कपडा लगाएको एघार–बाह्र वर्षको स्कुल जाने उमेरको केटाले ल्याएर टेबलमाथि राखेको चिया हाकिम र सुब्बाले खाँदै गर्दा सुब्बाले हामीलाई ‘ल तपाइहरु तल फाँटमा हिँड्नुस म आउँछु ।’ भने ।

तल फाँटमा आउँदा थुप्रै मान्छे कम्प्यूटरमा काम गर्दै गरेका कर्मचारीको डेस्कपारि थुप्रिएका रहेछन् । हामी त्यहीँ कोठाको भीड थप्नु भन्दा कोठा बाहिर नै उभिएर ती सुब्बा अर्को बिल्डिङ (भवन)बाट आउने बाटो देखिने गरी उभिरह्यौँ । सायद पर्खिएको समय धेरै लागेर पनि होला निकै समय वित्दासम्म पनि ती सुब्बा माथिबाट झरेनन् । चीया खाइ सक्ने समय भन्दा धेरै समय वित्दा पनि नझरे पछि हामीलाई पट्याट नै लाग्यो । तर, उनलाइ पर्खनु बाहेक कुनै विकल्प पनि त थिएन हामीसँग । पर्खाइको समय त्यसै त पट्याट लाग्दो हुने, त्यसैमा यस्सो एक छिन बसौँन त भन्नलाई सफा बस्ने कुर्सी पनि कतै रहेनछ । थोत्रो भत्कन लागेको भवनमा जता छोयो धुलो लाग्ने । भित्ताहरुमा औँलाले कालो दलिएका दागहरु जताततै रहेछ । सायद कागजमा ल्याप्चे लगाएका हातको कालो पोत्ने सेवाग्राहीले त्यसरी रङ्गाएका होलान ती भित्ताहरु भन्ने सहजै अनुमान गर्न सकिने । तर, बेलायतमा हुर्किएकी छोरीले त्यो सहजै बुझ्न सकेको जस्तो मानेकी थिइन । छोरीले पनि खासै गुनासो र कचकच नगरी ती सवै रमिताहरु अनुभव गर्दै थिइन । सायद उनले कल्पना गर्न सक्ने भन्दा भिन्दै परिस्थितिमा अनौठो तरिकाका काम गर्ने तरिका, डेस्क टेबलहरु, त्यसै माथि सहयोग प्रदान गरिएको भनेर लेखिएका दराजहरु उनलाइ अकल्पनीय दृष्यको अनुभूति भैराखेको थियो होला ।

कोठा बाहिर हामी उभिराखेको ठाउँबाट भित्र कोठामा देखिएका दराजहरुमा लेखिएका शब्दहरु नेपालीमा के लेखिएको हो भन्ने नबुझेर छोरीले मलाई सोधिन ‘त्यो दराजहरुमा के लेखिएको छ ?’

सायद उनलाई ती सुब्बालाई पर्खिन परेको समय कटाउने उपाय पनि चाहिएको थियो र ज्ञान पनि थपिने जिज्ञासाका साथ उनले सोधेकी थिइन । मैले उनलाई अथ्र्याइदिँदै भने ‘एउटा प्राइभेट कलेजले सहयोगमा दिएको दराज भनेर लेखिएको छ । सायद कलेजले नयाँ दराजहरु किने पछि पुराना दराजहरु यसरी सहयोग दिएर यहाँ राख्दा कलेजको प्रचार हुने हुनाले सहयोग स्वरुप लेखेर सस्तोमा राम्रो सँग कलेजको प्रचारहुने उपाय अपनाएको हुनुपर्छ । यो त मेरा लागि पनि पहिलो अनुभव हो ।’

छोरीले सोधिन ‘यो गोभरमेन्टको अफिस भनेको हैन र ? ल्याण्ड रजिष्ट्रि अफिस भनेको त गोभर्मेन्टको रेभेन्यू संकलन गर्ने अफिस होला, त्यसमा पनि सहयोगको दराज किन राखेका होलान ?’

यहाँ यस्तै हुने भएर त समाज र देश उघो लाग्न सकिरहेको छैन । यहाँ यस्तै चल्छ भन्दै सवै परिपटि नै भताभुङ्ग पारिएकोले देश पनि विकास नभएको त होला छोरी । म त बुझ्नै नसक्ने भै सकेँ । यहाँ अलिअलि पढालेखा भएका मान्छेहरु इमान्दारिता खोज्न थाल्छन् तर यहाँको सिस्टमले कित उनीहरुलाई यही पद्दतिमा चल्न सिकाउछ, कि त यो पद्दति सिकेर लथालिङ्ग तालमा नाच्न नजान्नेहरु विदेश तिर जान्छन् । यहाँ यसैलाई भन्छन् ब्रेनड्रेन तर आफ्नो कमजोरी यहाँ स्वीकार गर्ने चलन नै छैन । कमजोरी स्वीकार नगरेपछि त्यो कमजोरी सुधार गर्ने कुरै हुँदैन ।

आखिर सुब्बा तल झर्नासाथ मेरो रीस पनि ठन्डा भै हाल्यो । यो मनै त हो पर्खिँदासम्म पाँच मिनेट पनि घन्टौ जस्तो लाग्छ । जसलाइ पर्खिएको हो, उ आइपुग्दा घण्टौं विताउन परेर गाहरो भएको पाँच मिनेट पनि फर्किएर पाँचै मिनेटमा झर्छ । मैले पनि रिसलाइ सजिलै दबाएर काकाका पछिपछि सुब्बाका कोठामा प्रवेश गरें । सेवाग्राहीको भिडका बीचमा हामी पनि थपिँयौ । सायद हामीलाइ पनि त्यो भीड यहाँ यस्तै हो, यसैमा नरमाइ सुख्ख छैन भन्ने अनुभूति भैसकेर होला अरु विषयमा भन्दा काम कसरि सकिन्छ र त्यो परिस्थितिबाट उम्कन पाइन्छ भन्ने मात्र सोच्न थालिसकेको थियो ।

आखिरमा कागजका पानाहरु लेखेर सुब्बाले आफै हाकिमको कोठामा लिएर गए । हामी चुपचाप उनकै पछि लाग्याो । हाकिमले ती सुब्बाले लेखेका पानाहरु पढेपछि, ‘हुन्छ अव यस विषयमा हामीले दावी विरोधको सूचना निकाल्छौ । कसैको उजुर नपरेमा तपाईँले नीलो जगाधनी पुर्जा बनाउनुहोला ।’ भने ।

हामी हाकिम र कर्मचारीसँग विदा भएर निस्कँदै गर्दा काकाले भन्नु भयो ‘कार्यालयलाई हामीले एउटी छोरी मात्र भनेर निवेदनमा लेखेपनि अरु कोही हक लाग्ने ब्यक्ति छ कि छैन भन्ने यकिन गर्न यो सूचना निकाल्ने चलन छ । यो त ठीकै पनि हो, किन भने कसैले अरु हकवालालाई थाहै नदिइ एउटाको मात्र नाममा नामसारी गरेर अरु दाइभाइ दिदीवैनीको हक मार्न सक्छन् भनेर सूचना गरे पछि जालझेल हुन पाउँदैन । कसैकसैको उजुर पर्यो भने मालपोत कार्यालयले यसमा कसकसको हक लाग्ने हो त्यो विषयमा अदालत गएर छुट्टाएर आएपछि मात्र नाम सारी हुन्छ भनेर पठाउँछ । यो सूचनाको अवधि भित्र कसैको उजुर नपेरेपछि निबेदनमा हामीले अरु यो सम्पत्ति खाने कोही छैन एक मात्र छोरी भएको भनेर लेखेको विषय ठीकसाचो रहेछ भनेर निर्णय लेखेपछि पुर्जा बनाएर दिन्छन् । परराष्ट्र मन्त्रालयले दिएको पत्र हामीसँग छँदैछ, त्यसैको आधारमा निलो पुर्जा बनाएपछि गैर आवासीय नेपालीको हैसियतमा तिम्रो सम्पत्ति नेपालमा रहन्छ । तिमीले चाहेको बेलामा बेच्छु भन्न पनि पाउँछ्यौ । तर, बेचेर विदेश पैसा लैजान्छु भन्नलाई विदेशी मुद्रामा पैसा साटेर लैजान दिने कानून छैन । यस्तो अवस्थामा ठूलाबडाले त मन्त्रिमण्डलबाट निर्णय गरेर पनि लैजान्छन् नत्र अरुले हुण्डि गरेर लैजाने गरेका छन् । यो कानूनी ब्यवस्था नमिलाउँदा सरकारलाई उठ्न सक्ने कर देशलाई घाटा लागिरहेको छ । आफ्नो सम्पत्ति बेचेर विदेशी मुद्रा लिएर जाने कानूनी ब्यवस्था नहुनाले हुण्डिवालाहरुले यहाँ पैसा पहिला लिन्छन् अनि विदेशबाट कमाएर नेपाल पठाउने ब्यक्तिहरुको पैसा उतै बुझाउँछन् । जनताको अरु काम त चलेकै छ, तर देशले ट्याक्स गुमाइरहेको छ ।’

अरु पनि हकवाला (दावीकर्ता) भए उजुर गर्न पाउने सूचनाको कुराले फेरि मलाइ एम्माको सम्झना भयो । उनी साच्चै जुम्ल्याहा दिदी वा बैनी भए त उनको पनि त बुवाआमाको सम्पित्तिमा हक लाग्छ नि भन्ने सोँचे । तर, जुम्ल्याहा हुन कि होइनन् मलाई के थाहा । उनीसँग कुनै सम्बन्ध छ छैन भन्ने विषयमा बुवाआमाबाट पुष्टि हुन्छ भन्ने थियो । उहाँहरुनै हुनुहुन्न । उनी जुम्ल्याहा दिदीबीनै भए त सम्पत्ति बाडेर लिन हुन्थ्यो नि । मलाई सम्पत्तिको के लोभ र । आफुलाइ चाहिने भन्दा बढि नै कमाइ हुन्छ । छोरीलाई दाइजो दिने परम्परा तोड्ने मानसिकताले गर्दा त्यसको लागि जोहो गर्न नि परेन । छोरी पढाउन मैले नदिए पनि छोरीलाई सरकारले ऋण उपलब्ध गराइदिने ब्यवस्था छँदैछ । विरामी नै भए पनि उपचार एनएचएस (नेशनल हेल्थ सर्भिस)ले गरी हाल्छ । धनको थुप्रो लगाएर तेरो भन्दा मेरो थुप्रो ठूलो भनेर फुर्ति लगाउनु भनेको मान्छेको दुखः बेसाउने उपायमात्र त हो नि । एउटै चिन्ता भनेको एम्मा मेरी जुम्ल्याहा हुन कि होइनन् भन्ने कसरी पत्ता लगाउने भन्ने चिन्ता छँदैछ । डिएनए रिपोर्ट हेर्न पाए अलि मन सान्त हुन्थ्यो । अव चाडै फर्किएर यूके गएपछि पत्ता लगाउन पर्ला ।

काकाले त्यो भन्दा भन्दै हामी गाडीमा पुग्यौ र बुटवल तिर हिड्यौ । सवैलाई आ–आफ्नै पीर भने झै छोरीलाई पनि आफ्नै पढाइको अर्थात टिचरले यो अवधिमा परिवारका ब्यक्तिको मृत्यू भएको अवस्थामा अपनाइने संस्कारहरुको विषयमा चिन्ता रहेछ । हुन त सुनेको देखेको र उनले सोध्दा हामीले बताएका कुराहरुको आधारमा छोरीले स्कूलमा बुझाउन भन्दै लेख्दै ल्यापटपमा सेभ गरेर राख्ने पनि गरेकी छन् । त्यसबाट उनलाइ पनि ज्ञान बढ्ने र हाम्रो संस्कारका विषयमा पढ्न पाउने क्रिस्चियन, मुस्लिम जस्ता अरु धर्म मान्ने हरुले पनि हाम्रो संस्कार र सस्कृति बुझ्ने गरी पाठ्यक्रमहरुको ढाँचा मलाई राम्रो पनि लाग्ने गर्छ । त्यसबाट बच्चाको ज्ञान पनि बढ्ने अनि उनले लेखको लेखनबाट अरुले पनि ज्ञान पाउने । अझ स्तरीय लेखहरु छनोट गरेर प्रकाशन गर्ने चलनले मानव समाज झन सभ्य बनाउनमा सहयोग गरिरहेका हुन्छन् । हामीले नेपालमा स्कूल पढ्दा भने त्यस्तो हुन्थेन । केवल टेक्स्ट बुकहरु घोकेर जाँच पास गर्न मात्र सिकाइन्थ्यो ।

गुड्दै गरेको गाडीमा हामीहरु बीचको मौनता तोड्दै छोरीले सोधिन ‘हामी यहाँ आएको त अफिसियल पेपरहरु म्यानेज गर्न हो । हजुरबुवा र हजुरआमाहरुको मृत्यूका विषयको रिचुअल (धार्मिक परम्परा) कार्यक्रम अव सकियो कि वाँकी छ ?’

‘उहाँहरुको आठ दिन भैसक्यो । हामी क्रिया बसेको वा कुनै बाहुनलाई क्रिया बसाएको भए कसैसँग नछोइने, आफै पकाएर नुन नहाली सादा खाने विषयमा त तिमीलाई पहिले नै बताइ सकेकै छौं । तिम्रो कोर्शवर्कको लागि लेखिपनि सके हौली । भोलि नौ दिन हुन्छ । चेलीबेटीहरुले घोत ल्याउने हुन्छ । चेलीबेटी भनेको छोरी पट्टिका नातेदार नाति, नातिना, ज्वाइ चेलाहरु हुन्छन् । परम्परा अनुसार नेपालमा छोराहरुलाई सम्पत्ती दिने र छोरीहरुलाई विवाह गरेर केही दाइजो दिएर पठाउने चलन हुनाले छोरी पट्टिकालाई चाडपर्व र मर्दापर्दाको अवस्थामा दानदक्षीणा गर्ने प्रचलन छ । यस्तो कोही मेरको अवस्थामा घोत भनेर चेलीपट्टिकाले चीनी, घिउ आदि ल्याउने चलन छ । तेह्र दिनमा क्रिया बस्नेहरु शुद्ध हुने पुजा गरेपछि गहँत खानु पर्छ र दान दक्षीणा गर्दा चेलीहरुले जति घोत ल्याएका छन् त्यो दोब्बर गरेर उनीहरुलाई दक्षीण दिने र साकाहारी मिठो खाना खुवाएर पठाउने चलन छ ।’ मैले भने ।

छोरीले बेलायतको स्कूलमा पढेकोले हाम्रो परम्परागत मान्यताहरु र चलनहरु अपनाउन असहज लागेको जस्तो मलाइ भान भैरहेको थियो । हुन पनि बेलायतीहरु बाउआमाले पढाइलेखाइ गराएपछि छोरालाई अंश दिने भन्ने छैन । अठार वर्ष सम्म छोराछोरीले खानलाउन खर्च माग्न पाउँछन् तर सम्पत्तिमा हक लाग्दैन । पुस्तकहरुमा पनि छोरीले त्यस्तै पढेकी हुनाले नेपालमा छोराले अंश पाउने छोरीले दाइजो पाउने विषयमा अनौठो लागेछ । उनले छोराछोरी बीच समानताको विषयमा मात्र बुझेकीले अल्मलमा पर्दै सोधिन ‘हाम्रो पनि मामाहरु भएको भए के हुन्थ्यो ?’

मः ‘मामाहरु भएको भए उनीहरुले सेतो कपडा लागएर पहिले भनेको जस्तो क्रिया बस्नु पथ्र्यो । अझ हामी सानो छँदासम्म त छोराहरुले वर्ष भरि नै अरुले पकाएको नखाने, सेतो पहिरन मात्र लगाउने गर्थे । अहिले भने त्यस्तो सेतो पहिरन गरेर वर्ष दिन बस्ने चलन हराउँदै गएको छ । तर, अलिअलि अझै बाँकी छ । मरेको वर्ष दिनसम्म हरेक महिना तर्पण दिने, पैतालीस दिन, छ महिना र बर्षदिनमा पिण्ड दिने श्राद्ध गर्नु पर्ने थियो । तर्पण भनेको पित्रिहरुलाई सम्मान गरेर जल अर्पण गर्ने र पिण्ड भनेको गाईको दुधमा पकाएको खिर मरिसकेको पित्रिले पाउँछन् भनेर चढाउने प्रचलन छ । त्यसरी चढाएको खिरको डल्ला गाइलाइ खुवाएपछि पित्रिले पाउँछन् भन्ने मान्यता पण्डितजीहरुले सिकाउनु हुन्छ ।’

छोरीः ‘त्यसरी खीरको डल्ला गाइलाई खुवाउँदा मेरको मान्छेले पाउँछ भन्ने त सुपरस्टिसन (अन्धविस्वास) जस्तो लाग्यो ।’

मः ‘हामीहरु हिन्दू धार्मिक मान्यताका संस्कार र संस्कृतिमा हुर्कियौँ । त्यसैले हामीले पण्डितले भनेको कुरामा प्रश्न उठाउन पाउँथेनौ । अध्यात्मबादी नियमहरु मान्न इन्कार गरे पाप गरेको दण्ड भोग्नु पर्ने त्रासमा हामीले सवै कुरा सिक्यौ । त्यसैले तिमीहरुले सोच्ने र गर्ने प्रश्नहरु हामीले स्कूल पढ्दा सोच्दै सोचेनौ । पछि पढ्दै गएपछि हामीलाई पनि यस्ता प्रश्नहरु मनमा उब्जन थाले । तर, हामी वादविवाद नगरी चलन मान्दै गयौँ । तर, तिमीहरुलाई अध्यात्मिक विचार भन्दा बाहिर सोच्न नपाउने हुँदैन । प्रश्न गर्न रोक छैन । तिमीहरुले अध्यात्मवादी सोँच ठीक छन् कि छैनन् ? मान्ने कि नमान्ने भन्नेमा आफै सोचेर निर्णय गर्नु पर्छ । हामीले तिमीलाई हामीले सानामा जे बुझ्यौ पण्डितहरुले जे भने त्यो नै मान्नु पर्छ भन्ने बाध्यतामा पार्न हुँदैन । तिमीलाई यी विषय ठीक लागे त्यसै गरी मान्न पनि छुट छ । विश्वास नलागे अरु चलन बनाउन पनि छुट छ । तर हामीलाई त्यस्तो छुट थिएन । नेपालमा हुर्कने धेरैजसो केटाकेटीलाई तिमीलाई जस्तो स्वतन्त्र भएर धर्मका विषयमा धारणा बनाउने छुट अहिले पनि छैन ।’

‘नेपालमा बच्चाहरुलाई हरेक वर्ष माघ महिना भरि स्वस्थानी ब्रतकथा सुनाइन्छ । जसमा देवताले राक्षस मारेर पहाड, माटो, ढुङ्गा र समुद्र भए भनेर सिकाइन्छ । हामी त्यही कुरा सत्य हो भन्ने बुझ्दै बढेका हौँ । अहिले तिमीले स्कूलमा पढेका विज्ञानका पुस्तक गलत हुन स्वस्थानीका कथा ठीक हुन भनेर कसैले भन्दैन । तर, हामीलाई स्वस्थानीको कथामा विस्वास नगरे भगवानले हामीलाई सजाय दिन्छन् भन्ने डर मात्र हुन्थ्यो ।’

‘तिमीलाई मैले परिवार सदस्य मर्दा गरिने क्रियाकर्मको विषयमा भन्दै थिएं । पैतालीस दिन, छ महिना र वर्ष दिनमा मलामी बोलाएर खुवाउने, बाहुनहरुलाई दान दक्षीणा दिने गर्नु पर्छ । त्यस पछि भने हरेक वर्ष दुई पटक श्राद्ध गरेर गाइको दुधको खीरको पिण्ड चढाएर गाइलाई खुवाउनु पर्छ । नत्र पित्री स्वर्ग जाँदैनन् र पित्रीहरु खुसी भएनन् भने दुखः हुन्छ भन्ने सिकाइन्छ । एक किसिमले मानिसहरुलाई ज्ञान र प्रकृतिका नियमहरु नबुझ्दासम्म र पुलिस प्रसासन नहुँदा सन्तुलित समाज बनाउन ती नियमहरुले राम्रै काम गरेको हुनुपर्छ । त्यस्ता नियमहरुका कारण सभ्य हुँदै गएको समाजले कानून, नियम, पुलिस प्रसासनको विकास गरेकोले अहिले हाम्रो समाज यत्तिको सभ्य भएको छ ।’

तेह्र दिनको खान पिनको ब्यवस्था घर पछाडिको बारीमा टेन्ट लगाएर मार्वाडी सेवा समितीको चोखो खानाको क्याटरिङको ब्यवस्थाले गर्दा खासै गाहरो भएन । अर्जुन दाइले सवै मलामी र घोत ल्याउनेहरुलाई निम्ता गरेर बोलाउने चाजो मिलाउनु भयो । नन्दराम गुरुलाई दक्षीणा पनि दिइयो । हामीले क्रिया नबसेको विषयमा कुरा गाइगुइ भए, आलोचना निकै भयो तर मलाई दिनेशको पनि पुरै साथ थियो । काकाले सवै विधान आदि बनाइसकेकोले समयमै अक्षय कोषको कागज पुरा गरेर तेह्र दिनका दिन, बीस लाख नेपाली रुपैयाँको अक्षय कोष बुवाआमाका नाममा खडागरेर बुवाले पढेको स्कुलका विद्यार्थीलाई ब्याजको पैसाबाट छात्रबृत्ति दिने ब्यवस्था मिलाउनाले जसले जस्तो कुरा काटे पनि मन सान्त गर्ने बाटो भयो भन्ने आत्मसन्तुष्टि भयो ।

हामी चौधौ दिनका दिन अस्तु सेलाउन त्रिबेणी जाने निधो गरेर गाडीको ब्यवस्था भएकोले विहानै हिड्यौ । मलाई भने अस्तु सेलाउने धार्मिक भावना भन्दा बढि बालमिकि आश्रम पुग्न पाइने लोभ लागि रहेको थियो । बालमिकि आश्रम विषयको जिज्ञासा मेरो बाल्य अवस्थादेखि नै भित्र मनमा गडेर बसेको थियो । तर, जीवनको ओरालो समय सुरु भएपछि बल्ल त्यहाँ पुग्ने समय जुर्यो । घर परिवार एवं समाज जताततै रामायणका पात्रहरुमा बीरताका साथै जनसेवक पात्रका रुपमा राम र असल नारी चरित्रका रुपमा सीताको चारित्रिक ब्याख्यामा ब्याप्त थियो । धेरै हदसम्म अझै छ । धार्मिक आडमा भानुभक्तद्वारा ब्याख्या गरिएका राम र सीताका चरित्रलाई हाम्रो समाजमा मोक्षको मार्ग भेटिने अर्थमा बुझिएको थियो, धेरै हदसम्म त्यो बुझाइ अझै कायमै छ । विकासवादी (डार्विन) सिद्धान्त बुझ्दै र विस्वास गर्दै गरेको पुस्तामा त्यो बुझाइ घट्दै गएको छ ।

रामायणको मुख्य रचयिता (ब्याख्याता) बालमिकि ऋषि नै हुन । सीताको जीवनका पछिल्ला दिनहरु तथा उनका दुई छोरा लव–कुश पनि बालमिकि ऋषिकै आश्रममा हुर्केका र शिक्षा प्राप्त गरेको उल्लेख भएका कारण बालमिकि आश्रम प्रति मेरो जिज्ञासा बढि रहेको हो । रामायणको दोस्रो संस्करणका रुपमा कालिदासले पनि संस्कृत मै लेखेका थिए । तुलसिदासको रामायण उत्तर भारतमा प्रचलित अवधि भाषामा प्रकासित भयो । संस्कृत नबुझ्नेहरुका लागि पनि पढ्न सहज भयो । बालमिकिले रामायण संस्कृत भाषामा लेखेका थिए । नेपालमा पछि भानुभक्तले नेपाली भाषामा रामायणको अर्को संस्करण प्रकासित गरेपछि नेपाली समाजमा त्यसको महत्व बढ्यो । भानुभक्तका पालासम्ममा छापिएका पुस्तकहरु उपलब्ध भएकाले पनि छोटो समय मै त्यसले समाजमा गहिरो छाप पार्यो ।

भानुभक्त रामायण घर–घरमा पढ्ने चलन भएकोेले पनि मेरी जेठी माइजु र भान्जे भाइ विष्णुले घोकेका स्लोक बचपनमै सुनेपछि रामायणका पत्रहरुका विषयमा जिज्ञासा जागेको थियो । माइजुले सीताको चरित्रमा जोड गरेर रामायणका प्रसँग सुनाउनु हुन्थ्यो । भान्जे भाइ विष्णुले कण्ठस्त गरेका स्लोकबाट राम, भरत, सत्रुघनहरुका तीन सौतेनी आमाहरुबीचका कुटिल चाल र तिगडमका विषयमा मेरो मस्तिष्कमा बालक अवस्थामै अध्यात्मिक लेपमा लपेटिएको ज्ञान भरिएको थियो ।

आखिर आज बालमिकि आश्रम पुग्दा मेरो अध्यात्मिक लेप पखालिइसकेको थियो । आश्रमलाई ऐतिहासिक तथ्य केलाउने भावना बोकेर म त्यहाँ पुगेकी थिएं । हामी २९ जनाको समुहमा अस्तु सेलाउन त्रिवेणी (चितवन) पुगेकै समयमा बालमिकि आश्रम भ्रमण जुर्यो । उक्त आश्रम त्रिवेणीबाट नजिकै छ भन्ने मलाई थाहा थियो । तेह्र दिनसम्मको सवै प्रकृया नसकिंदासम्म पनि त्यहाँ पुगिन्छ भन्ने निधो थिएन तर अस्तु सेलाउन त्रिवेणी पुग्ने तारतम्य मिलाउना साथ मेरो मस्तिस्कमा बालमिकि आश्रम पुग्ने विचारले ठाउँ पायो ।

बुटवलबाट हिंडेको बस त्रिवेणी बजारमा पुग्नु अघि केही बेर नहरको छेउको बाटोमा गुड्यो । हामी नेपालकै भूमिमा गुड्दै थियौं तर नहरको पानी सिधा भारत पस्दै थियो । त्यो नहरको पानीलाई नेपालका खेतबारी सिचाइ गर्ने अनुमति छैन । किसानहरु नहरमा बगेको पानी हेर्ने र खडेरीले सुक्न थालेका बालिको तिर्सनामा छट्पटाउने बानी परेको रहेछ । त्यही भएर त गण्डक नहर बदनाम भएको छ ।

त्रिवेणी बजार पुग्नु अघि गण्डक बाँध देखियो । नारायणी नदीलाई छेकेर पानी भारत लैजाने नहरमा पानी पठाउन बाँधका फाटक बन्द भएकाले आँखाले देख्ने जति दुरीसम्म पनी भरिएको रहेछ । बजार भन्दा थोरै तल नदीको तटमा मानव शबहरु दाउरा बालेर पोलिंदै थियो । त्यसको गन्ध बजारसम्मै महसुस हुन्थ्यो । नदीका तटमा मरेको गोरुको शब ढाडिएको थियो । सायद पाहाड तिरबाट नदीले बगाएर ल्याएको होला भन्ने अनुमान गरें ।

हाम्रो अस्तु सेलाउने भनेर तोकिएको गन्तब्य आइपुग्यो भनेर बसबाट ओर्लिएर नदी तटमा पुग्यौ । हाम्रो समुहमा धेरै मनहरु आध्यात्मिक भावमा अस्तु सेलाउन त्यहाँ पुगेका थियौं । इटाले सिढी बनाएर तट बनाइएको रहेछ । नदीकै छेउँमा अस्तु सेलाउन रोक लगाइएको रहेछ र त्यहाँका काठका डुङ्गाहरुको ब्यवसाय पनि चल्ने हुनाले पनि होला डुङ्गामा नदीको बीचतिर लगेर पुजा गरेर बचेका फूल प्रसादहरु नदीमा बगाउन दिइँदोरहेछ । बातावरणीय हिसावले सोचेर त्यसो गरिएको होला भनेर चित्त बुझाउन मन लाग्यो । नदीको बीचमा पुगेर अस्तु र फूलपाती सेलाएर फर्किनेलाई डुङ्गाले पाँच सय रुपैँया लिंदा रहेछन् । नदी पारी गएर आउनेलाई एक हजार एकसय रुपैँया भाडा तोकिएको रहेछ ।

नदी तटमा पुग्नासाथ अध्यात्मिक मनले भरिएका महिलाहरु धर्म हुन्छ भन्ने भावमा पानीमा डुबुल्की मार्नु भयो । डुबुल्की मार्नेमा चौरासीको पुजा गर्नु भएकी मामा घरकी हजुरआमा, भान्जेदिदीहरु समेत हुनुहुन्थ्यो । त्यहाँबाट उत्तर पट्टि र नदी पारी पुर्वपट्टि चुरे पहाडका हरियाली डाँडाहरु देखिंदै थिए । तक्षीणतिर देखिएको गण्डक ब्यारेज नै भारत नेपालबीचको सिमाना हो । पुर्वपट्टिबाट पनि एउटा अर्को नदी नारायणी नदीमा मिसिंदो रहेछ । तीनवटा नदीको मिलन हुने ठाउँ भएको हुनाले नै त्यस ठाउँलाई त्रिवेणी भन्ने गरिएको हो । त्यहाँ अरुले धार्मिक स्नान गर्दै गर्दा म भने बालमिकी आश्रम पुग्ने चाँजो मिलाउँदै थिए । डुँगाको समिति रहेछ । उनीहरुलाई डुङ्गाको भाडा भुक्तान गरेपछि लाइफ जाकेट दिएर डुङ्गामा बसालेर नदीको पारि पुर्याउँदा रहेछन् । पारि पुगेपछि करिब ४५ मिनेट हिंडेपछि बालमिकि आश्रम पुगिंदोरहेछ । डुङ्गाबाट पारि गएर हिडेर त्यहाँ पुग्न बाहेक मोटरमै भारतगएर घुमेर पनि आश्रमसम्म पुग्ने उपाय त रहेछ । तर, मेरो, छोरीको र दिनेशको विदेशी नागरिकता भएकोले भिसाको समस्या हुने भएकोले पनि हामी हिडेरै आश्रम पुग्ने भयौ । हुन त कसले थाहा पाउँछ र अनुहारले विदेशी नदेखाएपछि सोधपुछ नै हुँदैन । गाडी मै जाउँ भन्नेहरु पनि हाम्रो समुहमा कम थिएनन् । तर कानून मिच्न हुँदैन भन्ने मनमा भएकोले भारत नछिर्ने नेपाल भित्रैबाट बरु डुङ्गा तरेरै आश्रम पुग्ने निधो गर्यौ । दिनेश र मेरो पनि कुरा मिलि हाल्यो । दुई वटा डुङ्गामा १९ जना नदी पारि पुग्यो । अरु त्यहीँ वारि नै बस्नु भयो । आश्रम पुगेर फर्किर आएपछि फोन गरेमा हामीलाइ नदी तराउने डुङ्गा फेरि आइपुग्ने भन्दै हामीलाई फोन नम्बर दिइयो ।

समुहमा कसैको गति अलि छिटो थियो, कसैको अलि ढिलो, कसैका जुताका तला फुत्किए, कसैलाई आश्रमसम्म पुग्नै हम्मे हम्मे भयो । सवै भन्दा अगाडि पुग्नेमा म र दिनेश थियौं । सानो छंदा कपिलबस्तुको बोक्टापुर गाउँबाट बुढ्ढी गाउँमा आउँदाको जङ्गलको बाटोमा हिडेको जस्तै अनुभूति साथ डुङ्गाबाट झरेपछि आश्रम भनिएको ठाउँमा पुग्दा करिब ३५ मिनेट लाग्यो । उल्टो गरी ढलेर लम्पसार परेका रुख, सुख्खा खोल्साहरु तर्ने बेलामा झर्ने र चढ्ने खुट्किलाहरु । कतै भर्लाका ठूला लहराले गेट बनेका त कतै बनेलले खोस्रेका डोबहरु थिए । एउटा रुखमा झुण्डाइएको खुइलेको बोर्डमा आश्रम पुग्न १५ मिनेट लेखेको देखेपछि त्यो सुनसान बाटो हामीले विराएका छैनौ भन्ने ढुक्क भयो । हुन पनि मान्छे हिड्दा हिड्दा अलि चिल्लो परेको गोरेटो एउटा मात्र देखिएको थियो । बाटो विरिएको चिन्ता त लागेको पनि थिएन, चराचुरुङ्गीका आवाजले संगित भरिरहेका थिए ।

आश्रम पुग्दा पहिला काठको एउटा लामो ठाटी देखियो । पहिले त्यो पुलिस बस्ने चौकी रहेछ । तर, अहिले त्यसमा बस्न छाडेका रहेछन् । उनीहरुका लागि छुट्टै भवन बनेको रहेछ । सेनाको टुकुडी पनि रहेछ त्यहाँ । साना पसलहरु ठेला र टंकीमा राखिएका रहेछन् । सिता भासिएको भनेर गहिरो खाल्टो जस्तो परेको ठाउँमा आधुनिक ईटा जडान गरेर सिमेन्ट पोतेर सिँगारिएको रहेछ । ऐतिहासिकता झल्कने कुनै भाव थिएन । बरु, सुन्दर रुप भन्दा पनि ब्यूटिपार्लरको कमाल प्रदर्शन गर्ने मोडेलहरुको अनुहार जस्तो कृत्रिमता झल्किएको रहेछ । तै पनि फोटो खिच्न भने प्रतिबन्ध रहेछ ।

सवैभन्दा बढि ऐतिहासिकता झल्कने एउटा इनार रहेछ । त्यसलाई पनि बि.स. २०६३ मा जिर्णोद्वार गरिएको भनेर सिमेन्ट पोतेर (प्लस्टर गरिएको) लेखिएको देखियो । पुरातत्व विभागले लव–कुशले घोडा बाधेको खम्बा भनेर लेखेर राखिएको कलाल्मक ढुङ्गाको खम्बा भेटियो । बैज्ञानिक रुपले पुष्टि गरेर कति पुरानो भन्ने तथ्यको जानकारी समेत त्यहा भेट्न सकिएन । अध्यात्मको भावमा टिका चढाउन र धर्म बटुल्न जानेहरुकालागि त त्यो अवस्था सन्तोषप्रद नै हुन पनि सक्ला । तर, ऐतिहासिकताको पुष्टि कति हदसम्म भएको हो भन्ने मेरो जिज्ञासा मेटिने कुनै पनि उपाय त्यहाँ भेटिएन ।

यथार्थ नजिक पुग्ने सूचनाको अभाव भने मेरो मनमा अहिलेसम्म पनि खट्किरहेको छ । गुगल गरेर खोज्ने प्रयास गर्दा भारतको पन्जाबमा पनि बालमिकि आश्रम भएको जानकारी भेटें (http://punjab.gov.in/key-initiative?view=show&pp_id=3890 -https://en.wikipedia.org/wiki/Bhagwan_Valmiki_Tirath_Sthal) । भारतको विहार को विठोरमा पनि बालमिकी आश्रम भएको विवरण उत्तर प्रदेशको सरकारी वेवसाइटमा भेटिंदोरहेछ । (http://uttarpradesh.gov.in/en/details/valmiki-ashram/320039003300) । वास्तवमा हामी पुगेको ठाउँ नै रामायणमा उल्लेख गरिएको बालमिकि आश्रम हो भन्ने पुष्टि गर्ने आधार खोज्ने क्रम जारी रह्यो । हुन त बालमिकि को जिवनमा केही समय पन्जावमा केही समय विहारमा त केही समय हामी पुगेको ठाउँमा आश्रम बनाएर बसेको हुन सक्ने अनुमान गर्न नसकिने त होइन तर त्यसको पनि पुष्टि हुने आधार केही भेटिएन । हामीले कल्पना गर्ने गरेको राम राज्यको समयमा अहिले जस्तो सिमेन्टको प्रयोग भएको विश्वास त कमसे कम गर्न सकिंदैन । त्यसैले हवन द्वार भनेर देखिने खम्बा हेर्दा प्राचिन ढुंगा कुँदेर खडा गरिएको भन्दा पनि धातु प्रयोग गरेर कुदेको जस्तो भान हुनुले पनि कति ऐतेहासिक होला भन्ने तथ्य बुझ्न कठिन लाग्यो ।

पानीका घैंटा राखेका खोपदेखिने ढुङ्गा देख्दा बालक कालमा मैले अफु हुर्किएको थारु गाउँको कुवाका डिलमा इटा घोटिएर घैटो बस्ने डोब त्यस्तै देख्ने गरेको याद आयो । नजिकको इनार र ती घैटाले घोटिएर बनेका हुन सक्ने खाल्टो परेका ढुङ्गाले केही पुरानो पनको झल्को त दिन्छन् । तर, कार्बन डेटिङ आदि विधि अपनाएर त्यहाँको तथ्यलाई पुष्टि गरेको खण्डमा त्यहाँ पुग्ने म जस्ता यात्रुलाई पुरातत्व विभागले गुन लगाएको ठहरिने छ ।

एक ठाउँमा दुई रुखलाई चौपारी (चौतारी) चिनेर लव–कुशले शिक्षा लिएको स्थल भनेर लेखिएको छ । तर, त्यसलाई मात्र हेर्ने हो भने त विस्वस गर्नु भन्दा पनि भ्रम सिर्जना हुने देखिन्छ । दुईटा ढुङ्ग उभ्याएर अबिर दलेर ऐतिहासिक स्थल भनेर भन्दैमा अहिलेको पुस्ताले विस्वास गर्ने आधार देखिंदैन । अध्यात्मको जलप लगाएर जे भन्यो त्यो पत्याउने पुस्ता हराउँदै जाने र विज्ञानबाट पुष्टि भएका तथ्य खोज्ने पुस्ता अव बालमिकि आश्रम खोज्दै त्यहाँ पुग्ने हुँदा पुरातत्व विभागले आवस्यक तथ्य जुटाएर सूचना दिन जरुरी देखिन्छ ।

पुर्विय दर्शनमा बालमिकि ऋषिको स्थानलाई मैले अल्पखंख्यक पक्षधरका रुपमा बुझ्ने गरेकी छु । उनी तल्लो जातमा जन्मिएका र ज्ञान हासिल गर्नुभन्दा पहिला रत्नाकर डाकु थिए भन्ने पनि भनाइ पाइन्छ । उनले अपहेलित र तिरस्कृत गरिएकी सीतालाई आश्रय दिएको र एकल नारीका दुई पुत्र लव र कुशलाई शिक्षा दिने जस पनि पाउने गरेका छन् । समाजमा ब्याप्त अल्पसंख्यकको उत्पिडनलाई रामायणको माध्यमबाट उजागर गरेको श्रेय पनि बालमिकिलाई दिनु न्यायसँगत नै हुन्छ ।

हामी फिर्किएर बुटवल पुग्दा रात परिसकेको थियो । अव नेपालमा बस्नु पर्ने सवै कामहरु सकिसकेका थिए । मालपोत कार्यालयमा गएर पुर्जा बनाउनु पैतीस दिनको सूचना अवधि पर्खिएर नबस्ने, बरु पछि कुनै समयमा नेपाल पुगेर पुर्जा बनाएर लिने सल्लाह दिनेश र मेरो भैसकेको थियो । त्यसैले सुत्नु भन्दा पहिला बेलायतको मैले काम गर्ने अस्पतालको म्यानेजरलाई सोमबारका दिन काममा आइपुग्ने हुनाले त्यसै अनुसारका कामको रोटा(ड्यूटी समय तालिका) मिलाउन भनेर इमेल पठाएँ ।

भाग – ९ भाग –७
 
 
There are no data records to display.
   
Comment:
Date:
Name:
LastName:
Address:
City:
PostalCode:
PhoneNumber:
EmailAddress:
WritingId:
Insert  Cancel

www.flykathmandu.co.uk

Received Comments



www.flykathmandu.co.uk
Please write email to belbase@flyktm.com to get permission to publish my article to your media.