Govind Belbase
<January 2023>
SuMoTuWeThFrSa
25262728293031
1234567
891011121314
15161718192021
22232425262728
2930311234
उपन्यास: NRN (बेलायत)को कथाबस्तु – "एम्मा" – भाग १४
भाग –१४

छोरी स्कूल हिँडेसँगै मैले पनि दिनेशलाई ट्रेन स्टेशन छाडेर हस्पिटलको कारपार्कमा गाडी पार्क गरेर अफिस छिर्दा मैले काम सुरु गर्ने समय अझै पन्ध्र मिनेट जति बाँकी नै थियो । आज सवै भन्दा उत्साह भने एम्माको डिएनए रिजल्टको विषयमा लागिरहेको थियो । त्यो रिजल्ट हेरेर एम्मा र म जुम्ल्याहा नै हो कि होइन भन्ने निधो गर्न मन आतुर भैरहेको छ । समय अझै बाँकी भए पनि कम्प्यूटर खोलेर आफ्नो पास वर्ड हालेर एनएचएस सिस्टमामा लग–इन गरेँ । थुप्रै इमेलहरु थुप्रिएका रहेछन् । इमेल खोल्न नथालेर सिधै एम्माको रेकर्ड खोल्न उनको नाम हाँले । उनको रेकर्ड खोल्न नामको साथमा जन्म मिति पनि चाहिने हुन्छ । आखिर मेरो र उनको जन्मदिन एउटै भएकोले उनको जन्म दिन संझनको लागि मैले दिमागमा जोड दिन पर्ने थिएन । आफ्नै जन्म दिन हाले पछि उनको रेकर्ड खुलिहाल्यो ।


उनी त खुट्टाको अपरेसन भएको तथा म अपरझट नेपाल गएको पर्सिपल्ट नै डिस्चार्ज भएर अस्पतालबाट गैसकेकी रहिछन भन्ने रेकर्डले देखाइहाल्यो । त्यस पछि अव डिएनए रिपोर्टको लागि उनको पेसेन्ट टेस्ट रेकर्डमा क्लिक गरेर खोलेँ । डिएनए रेकर्ड म्याचिङको विषय मलाई सामान्य जानकारी मात्र एकोले मैले जाने जति विषयबाटै हामी जुम्ल्याहा हुन नसक्ने देखिए त च्याप्टर त्यहीँ क्लोज भै हाल्ने छ । तर, मैले जानेको ज्ञानका भरमा हामी दुई जुम्ल्याहा हुन सक्ने सम्भावना पुष्टि भयो भने मैले डिएनए विशेषज्ञको सहारा लिन पर्ने हुन्छ । अहिले सम्म त उनको यो गोप्य डिएनए रिपोर्टहरु मसम्म मात्र सिमित रहेको छ । तर, यस विषयमा अरुसँग जानकारी शेयर गर्नु पर्ने भयो भने डाटा प्रोटेक्सन ऐनका सिमाहरु नाघिएको ठहरिने हो कि भन्ने डर लागिरहेछ । एक त उनको खुट्टाको अपरेसन तथा उपचारको विषयसँग डिएनए परिक्षणको आवस्यकता नरहेकोले पनि विषय जेलिन सक्ने सम्भावना हुन्छ । हा..., बरु जुम्ल्याहा हुनै नसक्ने रिजल्ट आए पनि यो कानूनी झमेलामा फस्ने सम्भावना नै हुने थिएन भन्ने मनमा खुल्दुली हुँदै गर्दा स्क्रिनमा डिएनए का सिक्वेन्सहरु र ब्लडग्रपहरु छुट्टिने विवरण प्र्रश्ट देखियो ।

हत्त न पत्त मैले आफ्नो ब्लडग्रुप, बुवाको ब्लड ग्रुप र आमाको ब्लड ग्रुप मिलाउँदा त हामी दुवै एउटै आमाबाबुका सन्तान हुने रिजल्ट देखियो । अब यो विवरण मैले पुष्टि गर्न अरु साथीको सहयोग लिनै पर्ने भयो । मसँग एउटा उपाय त एम्मालाई भेटेर उनको लिखित अनुमति लिएर यो सिक्वेन्स जाच्ने विशेषज्ञको सहयोग लिनु मेरो लागि सुरक्षित उपाय हुन सक्छ । तर, उनी अस्पतालबाट डिस्चार्ज भएर गैसकेकीले उनलाई भेटेर उनको अनुमति माग्न पनि त्यत्ति सजिलो भएन ।

त्यत्तिनजेलमा म म्यानेजरलाई भेटेर अरु कामका रोटा र विरामीहरुको उपचारमा लाग्नु पर्ने समय सुरु भैसकेकोले कम्प्यूटर लग अफ गरेर म्यानेजरको कोठामा पुगें । उनले वुवा आमाको दुखान्त खवरको विषयमा दुखः जनाउँदै समवेदना ब्यक्त गरे । औपचारिक कुराकानी सकिएपछि हाम्रो कामको सिल्सिला सुरु भै हाल्यो । एक पछि अर्को विरामीको कामको सिल्सिलामा ब्यस्त हुँदा हुँदै कामको समय सकिएर घर जाने समय भैसकेछ ।

दिनभरि ब्यस्त भएर एम्मा र मेरो डिएनएको विषयमा केही गर्न नपाएकोले कामको समय सकिएपछि फेरि कम्प्यूटर लग इन गरेर एम्माको रेकर्ड खालेँ । उनीसँग भेटेर उनको अनुमति लिएर विशेषज्ञसँग सल्ला लिने विचारले एम्माका ठेगाना हेरेँ । खासै टाढा त रहेन छ । रेकर्डमा उनको मोबाइल नम्बर रहेनछ । केवल ल्याण्ड लाइन (घरको) नम्बर भेटियो उनको रेकर्डमा ।

खासमा उनको उपचारको सिल्सिलामा बाहेक मैले उनलाई फोन गर्नु नियम मिचेको हुने थाहा हुँदाहुँदै पनि मैले त्यो नियम मिच्ने निधो गरेँ । एक मनले मेरै मोबाइलबाट फोन गरौँ कि भन्ने पनि सोचेँ तर फेरि मनमा अफिसकै फोनबाट गरेँ भने त कतैबाट प्रश्न उठ्यो भने पनि विरामीको विषयमा कुरा गर्न फोन गरेको भन्न पाइन्छ भनेर अफिस कै फोनबाट घण्टी बजाउने विचार गरेँ ।

अफिसको फोनबाट घण्टी बजाउँदा कलर आइडी देखिँदैन होला भन्ने सम्झेँ । उता फोन उठिहाल्यो भने सुरुमा आफ्नो परिचय दिँदै ‘म तिम्रो खुट्टाको अपरेसन गरेकी डाक्टर, अझ तिमीलाई सम्झना हुन सक्छ भनेर आफ्नो परिचाय बताउन तिमी र म उस्तै अनुहार भएकी डाक्टर क्या, म त अपरझट देश बाहिर जान बाध्य भएकीले अपरेसन पछि तिमीलाई भेट गर्न पनि नपाएकीले फोन गर्दैछु’ भन्नु पर्ला भन्ने साँच्दै फोनको सेटमा कम्प्यूटरको स्क्रिनबाट नम्बर हेर्दै थिच्दै गरेँ ।

पहिला दुई घण्टी बज्यो । त्यसपछि आवाज सुनियो । तर, उनी बोलिरहेकी थिइनन भन्ने मलाई भान भै हाल्यो । उनले रेकर्ड गरेको उनको आवाज रिसिभरको एकापट्टिबाट मेरो कानमा बजारिन थाल्यो । उनको बोली पनि मेरो जस्तै भएको अनुभूति भयो । ‘हाय, आइ एम नट एभाइलेभल एट् दिस मोभमेन्ट, प्लिज लिभ योर म्यासेज एण्ड ह्वयन आइ कम ब्याक आइ विल कल यू ब्याक’ भन्ने म्यासेज नसकिँदासम्म सुन्दै पर्खिरहेँ । उनको म्यासेज सकिए पछि एउटा ‘टुँ’ को आवाज आउला र मेरो भनाइ पनि त्यहीँ उनको मेसिनमा रेकर्ड गराउनु पर्ला भन्दै सोँच्दै उनको म्यासेज सुनिरहेँ ।

उनको म्यासेज सुनिसके पछि मेरो भनाइ रेकर्ड गराएर मेरो सन्देश उनले पाउन भन्ने सोचेर अङ्गे्रजीमै बोलें ‘हेलो एम्मा, म तिम्रो खुट्टाको अपरेसन गरेकी डाक्टर अस्मिता हो । मलाई माफ गर्नु है, मलाइ त ठूलो आपत आइपरेर अपरझट देश बाहिर जान परेकोले अपरेसन थिएटरबाट बाहिर आएर तिम्रो होस फिर्ता भए पछि त तिमीसँग भेट नै हुन पाइन । तिमीसँग धेरै कुराहरु गर्ने मन थियो । जे होस यो म्यासेज पाए पछि कृपया मेरो मोबाइलमा फोन गर्नु अनि धेरै कुरा गरौँला । यदि तिमीले इन्कार नगर्ने भए त हामी भेट भएर नै धेरै कुरा गर्न मन छ । प्लिज, मलाइ फोन गर है । मेरो फोन नम्बर ८८८८८८८८ हो ।’

मेरो मनमा भने उनलाई पनि हामी दुबै जना जुम्ल्याहा हुन सक्ने सम्भावनाको विषयमा खुल्दुली त लागेको होला । यदि भेट भएर डिएनए परिक्षणको विषयमा कुरा गरेँ भने उनी पनि हाम्रो विषय खुलस्त पार्नमा पक्कै मञ्जुर हुन्छिन भन्ने लागिरहेछ । मलाई जस्तो खुल्दुली उनलाई पनि नहुनु पर्ने कारण पनि त छैन । सञ्जोगले हामी दुईको भेट नभएके भए त यस विषयमा न मलाई चासो हुने थियो नत उनलाइ नै चासो हुन्थ्यो । कि त उनका बाबुआमाले उनलाई ‘तिमी हाम्री बाइलोजिकल छोरी होइनौ’ भनेर बताएको भए बल्ल उनले खासमा बाइलोजिकल बाबुआमा खोज्ने कुरा हुन्थ्यो । उनलाई त्यस्तो रहस्य बारेमा केही भनेको भए त पहिला हाम्रो कुरा हुँदा नै मलाई भनि हाल्थिन नि ! उनले पनि उनका बाबुआमासँग यस विषयमा सोधेर निधो गर्न त खोजे कै हुन नि, तर के गर्नु उस दिन नेटवर्कको कमजोरीले गर्दा कुरा हुन पाएन । त्यस पछि उनको अपरेसन, फेरि मेरो नेपाल यात्रा यस्तैमा अलमल भएकोभई नै रह्यो ।

हुन त यसै बीचमा यो रहस्यको विषयमा उनले आफ्ना बाबुआमासँग कुरा गरेर फेरि मसँग सम्पर्क गर्न खोजेको पनि त हुन त सक्छ नि । उनी अपरेसन थिएटरबाट बाहिर आएपछि मलाई खोजेकै भए पनि त उनले मलाई भेट्ने कुरा भएन । फेरि अस्पतालको प्रशासनले पनि मेरो विषयमा विरामीलाई जानकारी दिने कुरा पनि आएन । तर खै के था उनका बाउआमा होलिडे बाट फर्किए कि फर्किएनन् । हुन त उनले भने अनुसार त एक हप्ताको टुर भन्थिन । त्यो हिसावले त उनीहरु टुरबाट फर्किसके होलान । तर, होली–डेबाट फर्किए पछि उनीहरु छोरी भेट्न आएकी आएनन् । आउन त पक्कै आए होलान । त्यो भन्दा पहिला पनि एम्माले फोन मै पनि कुरा गरेर आफ्ना बाबु आमालाई रहस्यको विषयमा सोधेको पनि त हुन सक्छ ।

उनले सोधपुछ गरेर रहस्य अनुसार हामी जुम्ल्याहा भएको पुस्टि हुने आधार भेटेको भए त कम्सेकम उनले अस्पतालमै मेरालागि कुनै पत्र वा म्यासेज छाड्न पनि त सक्थिन नि । तर, कहिले काही सामान्य कुरा पनि मिलाउन जानिँदैन नि त, सायद मेरो फोन नम्बर एड्रेस केही नपाएर मलाई खोज्दा पनि उनले मलाई भेट्न नपाएकै पनि त हुन सक्छ नि ! तर, मेरो अनुमान मात्र त हो नि, मलाई जस्तो खुल्दुली उनलाई केही नभएर मलाई उनले विर्सिसकेको पनि त हुन सक्छ नि ।

एम्मालाई म्यासेज छाडिसके पछि अव उनले कुनै पनि समयमा फोन गर्न सक्छिन भन्ने आशा लिएर कार पार्क पुगेँ । कार लिएर घरमा गएँ । छोरी र दिनेश पहिला नै आएर खाना तयार गरेका रहेछन् । दालभात तरकारी खाने भनेर म घरमा पुगेर नुहाएर तल झरेपछि खाना खायौँ । कत्ति बेला फोनमा घण्टी बज्छ कि भनेर पर्खिरहेँ । एम्माको फोन आएकै होइन । अझ एम्माको फोन आइ हाल्छ कि भनेर नुहाउनजेल पनि फोन बाथरुममा लिएरै गएकी थिएँ तर फोन आएन । खाना खाउनजेल पनि फोन नआए पछि कतै फोनमा केही गडबडी भएर फोन आउँदा पनि घण्टी नबजेको त होइन भनेर हेरेँ । तर कुनै गडबड देखिन । त्यसपछि छोरीको फोन मागेर उनको फोनबाट मेरो नम्बर डायल गरेँ । घण्टी बज्यो । त्यस पछि रिसिभ नगरी काटेँ । फोनले राम्रै काम गरिरहेको निधो भयो । एम्माको फोनै नआएर रहेछ भनेर ढुक्क भएं ।

टिभी हेर्दा पनि जत्ति बेला पनि फोन बज्छ कि भनेर पर्खिरहेँ । साँझ सम्म पनि घण्टी नबजे पछि अलि दिक्क पनि लाग्यो । उनको फोन नआए पनि आफ्नो मन सान्त पार्नलाई भए पनि केही त गर्नै पर्यो भनेर सम्झेँ । पहिला अस्कलमा पढ्दा सँगै पढेको एउटा साथी क्याम्ब्रजिमा साइन्टिस्ट भएकोले उसको सहयोग लिएर डिएनए सिक्वेन्सको परिणाम बुझ्ने निधो गरेँ ।

मोबाइलमा ती सायन्टिस्ट माधवको नम्बर खोजे अनि नम्बरमा औँलाले यस्सो छोएर कल गरेँ । उता घण्टी गयो । तर छ घण्टी गए पछि भ्वाइसमेल छाड्नु भन्ने उनको म्यासेज स्वर सुनियो र ‘प्लिज यो म्यासेज पाए पछि मलाई कल ब्याक गर्नु’ भनेर भ्वाइस मेल छाडें ।

एक्कै छिनमा फोनको घण्टी बज्यो । हत्तनपत्त नचिनेको नम्बरबाट एम्माको फोन आएको हो कि भन्दै मोबाइलको स्क्रिनमा हेरेँ । तर, एम्माको फोन रहेनछ । उनको नभए पनि माधवको फोन रहेछ । अनि दुई घण्टी बजुन्जेलमै फोन उठाएर ‘हेल्लो’ भने ।

माधव पढ्दादेखि कै साथी भएकोले खुलस्त कुराकानी हुने गर्छ र मन पनि मिल्छ । स्कूल पढ्दा हाम्रै कक्षाकी सुधा नामकी साथीसँग उनको प्रेम थियो । सुधा पनि मसँग मिल्ने भएकोले पनि हाम्रो सवै कुरा एक आपसमा खुलस्त हुने । पछि पढ्ने क्रममा उनी फोरेन्सिक साइन्स पढ्दै साइन्टिस्ट बने । म डाक्टर बने । फोन वार्ता सुरु हुनासाथ पहिला त मैले बुवाआमा गुमाएको र नेपालमा दुर्घटनाका कारण पीडा भोगेको बताए पछि उनले सान्त्वनाका शब्दहरु ब्यक्त गरे । विकेण्डमा भेट्न आउने कुरा गर्दा हामी क्रुजमा घुम्नजान लागेको बताएपछि त्यस पछिको विकेण्डमा भेट्न आउने उनले बाचा गरे ।

अलि बेर त्यस्तै कुरा गरेपछि मैले उनलाई फोन गर्नको विषयमा प्रवेश गर्ने माहोल बनेको अनुमान गरेँ । उता, उनलाई भने बुवाआमा गुमाएकोमा पीडा बाँड्न फोन गरेको भन्ठानेर त्यही विषयमा उनको भावनात्मक कुरा गराइ महसुस गरिरहेकी थिएं । विस्तारै आफ्नो कामको विषयमा कुरा नबताइ सहयोग माग्न पनि भएन भन्ने सोचेर एम्मासँगको भेट भएको र जुम्ल्याहा जस्तो लागेको विषयमा उनलाई बताएँ । यसै विषयमा उनको सहयोग चाहिएको पनि बताएँ । झण्डै पैतालीस मिनेट जति कुरा गर्दा उनलाई मैले बताएका सवै विवरणको आधारमा उनको जन्म मिति मिल्ने, बुवाले नेदल्र्याण्डसमा नै पढ्नु भएको, मेरो जन्म पनि त्यहीँ भएको आदि घटनाक्रमको आधारमा डिएनए परिक्षण गरे पक्का हुने भनेर उनले आफैले बताए । उनले त्यत्ति भने पछि मलाई भने जे खोजेको त्यही पाएँ भन्ने जस्तो सन्तोष लाग्यो । त्यत्ति भैसके पनि अव मैले डिएनएको विषयमा रिपोर्ट आइसकेको भनेर माधवलाई बताउँदै फोनमा भनेँः ‘उनको खुट्टाको उपचारको लागि नचाहिने भए पनि मैले आफ्नो स्वार्थले गर्दा नियम मिचिए पनि मिचियोस, जे त होला भन्ने मानेर उनको डिएनए परिक्षण गराएकी छु, त्यो रिपोर्टको फोटो र म पढ्दा कै समयमा तयार पारेको मेरो रगतको डिएनए रिपोर्ट पनि तिम्रो इमेलमा पठाइदिन्छु । लौ न मलाई सहयोग गर है । यस्तो पर्ला र चाहिएला भनेर त हैन तर डिएनए सिक्वेन्सको विषयमा बडो जिज्ञासा लागेको हुनाले मैले ल्याबको टेस्टमा त्यो टिचरसँग अलि हेलमेल बढाएका बेला मेरो सिक्वेन्स रिपोर्ट बनाइ राखेकी थिएं आज काम लाग्ने भयो ।’

माधवले भनेः ‘हुन्छ, त्यो त मेरो लागि सामान्य नै हो नि । त्यो दुवै रिपोर्ट मलाई पठाइदेउ अनि म न्यूक्यिोटाइट्सको क्रोमोटोग्रामको इलेक्ट्रो प्याथिसस विवरणबाट दुवैको पुर्खाको विषयको विवरण तयार पार्छु र तिमीलाई फोन पनि गर्छु । मलाई पनि यस विषयमा तिमीहरु जुम्लेहा होलाउ कि होइनौ होला भन्ने चासो जाग्यो । मेरो मनले त पक्का पनि तिमीहरु दुई बैनी नै हौ जस्तो भनिरहेको छ । डोन्ट वरि, सेण्ड योर इमेल ।’ भन्दै फोनको कुरामा विट मार्न अरु सामान्य कुरा गरेर फोन काटे ।

मैले फोनमा कुरागर्दै गर्दा ल्यापटप पनि खोलेर दुवै रिपोर्ट माधवको इमेलमा पठाएँ । तर एकै छिनमा कम्प्यूटरले पठाउन थालेको फाइलको साइज ठूलो भएकोले इमेल पुग्न पर्ने ठेगानामा नपुगेको इरर म्यासेज सहितको जानकारी गरायो । समस्या सुल्झि नै लाग्यो भन्ने लागेको बेलामा फेरि अर्को समस्या आइपर्यो । फेरि माधवको फोन नम्बरमा फोन गरेर इमेल गएन, ठूलो भयो फाइल भनेर इरर म्यासेज दियो भने ।

माधवले ‘ए हो र, अँ.. अर्को उपाय अपनाउन पर्ने भयो, म एफटीपी एड्रेस दिन्छु त्यसमा फाइल अपलोड गरिदिउ म हेरेर खवर गर्छु । तर, अहिले त रात पर्यो भोलि म काम सुरुहुनुभन्दा आधा घण्टा अघि अफिस गएर तिम्रो रिपोर्ट तयार पारेर खबर गर्छु । डोन्ट वरि ।’ भन्दै फोन काटे ।

मैले माधवले त एफटिपी एड्रेस दिन्छु त्यसमा फाइल अपलोड गरिदेउ भन्दै थिए त्यो एड्रेस नदिइ फोन काटिदिए भनेर चिन्ता मनमा के जाग्दै थियो मेरो मोवाइलमा इमेल रिसिभ एको टोन सुनियो । मैले फोन तिर हेर्दै नहेरी ल्यापटपकै इनबक्स खोलेको त माधवले पठाएको एफटिपी एड्रेस र फाइल कसरि अपलोड गर्ने भन्ने विवरण सहितको इमेल रहेछ । एक मनले हेत्तेरिका विचरा सहयोग गर्दै गरेका माधवलाई पनि बेकारमा एफटिपी एड्रेस नदिइ फोन काट्यो भनेर रिसाएकी ! यस्तै हो, भने अनुसार केही नहुने वित्तिकै मन मनिल भै हाल्ने के ।

धेरै बेर एकै पोजिसनमा बसिराखेर होला बायाँ खुट्टा निधाएको रहेछ । अब एफटिपीमा फाइल अपलोड हुन्छ र माधवले भोलि रिपोर्ट दिन्छन् भन्ने सन्तोष लागे पछि बल्ल खुट्टा निदाएको होस पाएँ । खुट्टा तन्काउँदै ल्यापटप सोफाको बिटमा राखेर इमेलबाट एफटिपी एड्रेस कपी गरेर फोल्डर विण्डोमा पेस्ट गरेर खुलेको फोल्डरमा ड्रयाग गरेर फाइलहरु अपलोड गरेँ । त्यस पछि मोबाइल वायाँ हातमा समाएर दायाँ हातले एसएमएस टाइप गरेर मैले फाइलहरु तिमीले दिएको एपटिपी फोल्डरमा हालेकी छु भनेर अङ्गे्रजीमा लेखेर सेण्ड बटन थिचेँ ।

उत्तिनै खेर माधवको फोन नम्बरबाट ‘रिसिभ्ड’ भन्ने लेखेको छोटो एसएमएस म्यासेज आइपुग्यो ।

माधवले कत्तिखेर रिपोर्ट पठाउलान भन्ने मनमा लागि राखेर होला सपनामा पनि माधवले पठाएको रिपोर्टमा डिएनएबाट हामी दुइ बैनी भएको पुष्टि भएको र दुइटी भएर नेपाल जान हिडेको सपना देख्दादेख्दै विहान झट्ट जागेँ । जाग्दा बरु ‘निदमा सपना नै देखिराखेको भए हुने बेक्कारमा जागेर !’, भन्ने जस्तो लाग्यो । नौ बजे भन्दा पहिला माधवले रिपोर्ट जाचेर मलाई खवर पठाउने सम्भावना नै छैन । मन जति विचलित भए पनि पर्खन सिवाय अरु उपाय पनि भएन । एम्मालाई म्यासेज छाडेकी थिएं तर उनले पनि कल ब्याक गरकी छैनन् । यतिञ्जेल त बरु विर्सिएकी रहिछु फेरि एम्माको फोन कुनै पनि बेला अहाइहाल्छ कि भन्ने हुन लाग्यो ।

काममा जान गाडी स्टार्ट गर्न के थालेकी थिएँ फोनमा घण्टी बज्यो । फोनमा घण्टी बज्नु र गाडी स्टार्ट हुनु एकै पटक भएछ, फोनमा रिसिभको बटन अन गर्दा पनि आवाज सुनिएन । फोनको कनेक्सन ब्लुटुथबाट कारमा कनेक्ट हुन लागेको समयले गर्दा उताबाट बोलेको आवाज नसुनिएको रहेछ । एकै छिनमा ब्लुटुथबाट जोडिएर कारको स्पिकरमा एम्माको आवाज गुञ्जियो अङ्गे्रजीमा उनले भन्दै थिइन ‘हेल्लो, अस्मिता, सरी, मैले हिजो फोनको म्यासेज नै सुनिनछु, भरखर तिम्रो म्यासेज पाएँ फोनमा, त्यसैले तिम्रो फोनमा कल गरेको, अहिले तिमीलाई डिस्टर्व त भएन ?’

‘हैन, डिस्टर्व भएको छैन, मैले त हिजै देखि तिम्रो फोन आउँछ कि भनेर पर्खि रहेकी थिएँ । राति सुत्दा पनि म त तिम्रो फोनको आसमा मेरै नगिच फोन राखेर सुतेकी थिएँ । तर केही छैन । हामी अव कुरा गर्न सक्छौ । हेर न, तिम्रो अपरेसन गर्नासाथ मेरा बुवाआमाको गाडीमा एक्सिडेन्ड भएको खवर पाएर तुरुन्तै नेपाल गएँ तिमीलाई केही भन्न पनि पाइन । मलाई माफ गर है ।’ मैले भन्दा उनले उत्तरमा भनिनः
‘होइन, त्यस्तो केही पीर नमान, तिमीले माफ माग्नु पर्ने केही छैन, बरु चाडै भेटेर तिमीसँग कुरा गर्न मन छ मलाई त ।’

मलाई काममा जान बेर हुन्छ कि भन्ने पनि मनमा लागिरहेको थियो । त्यत्तिकैमा उनले फोनमै थपिन ‘मेरो ब्वाय फ्रेण्ड काममा जाने समय भयो, उनी कामबाट आए पछि उनले मलाई तिम्रो अस्पताल पुर्याइदिन्छन कि ! एक छिन होल्ड गर है म सोध्छु ।’

मैले फोनमा सुनि नै रहँदा उनले उता कुरा गरेर एउटा केटाको स्वरमा ‘हुन्छ तिमीलाई म कामबाट आए पछि पुर्याउन जान्छु’ भनेको सुने ।

एम्माले उताको कुरा सकेर फेरि ‘हेल्लो’ भन्नासाथ मैले भने ‘हुन्छ, तिम्रो साथीले हुन्छ भनेको मैले सुने तिमी साढे छ बजे अस्पतालको क्यान्टिनमा आइपुगन त है ।’

‘हुन्छ, अव त हामी दुवैसँग एक अर्काको मोबाइल नम्बर भै हाल्यो । कथम कदाचित उ कामबाट आउन ढिला भै हाल्यो भने पनि म तिमीलाई म्यासेज पठाउँछु । सम्भवत हामी ठीक समयमा त्यहाँ आइपुग्छौ । तिमीलाई पनि काममा जान ढिला हुन थालेहोला, मेरो मोबाइल नम्बर यही हो, तिम्रो फोनमा सेभ गरिराख मैले त तिम्रो नम्बर मेरो फोनमा सेभ गरिसकेकी छु ।’

‘हुन्छ, ल, बाई’ भन्दै फोन काटेँ । म फोनमा कुरा गर्दै गाडी पनि चलाइरहेकीले फोन काट्दासम्ममा म पनि कार पार्कको ढोकामा पुगिसकेकी थिएं ।

दिनभरि काममा ब्यस्त भए पनि कत्तिबेला साढे छ बज्छ र एम्मा सँग भेट गरेर खुलेर कुरा गर्न पाइन्छ भनेर मन चञ्चल भै रह्यो । अस्पताल पुग्दा कामको समय भैसकेको थिएन तै पनि एउटा अपर्झट अर्जेन्ट केस अपरेसन थिएटरमा पुगेकोले माधवले पठाएको खबर हेर्न समेत नपाएर काममा ब्यस्त भएं । काममा ब्यस्तता यत्ति भयो कि ब्रेकको टाइम समेत मिलेन । लञ्चसमेत डाक्टर साथिहरुसँगै बसेर स्याण्डबीच खाएर, लञ्चकै बीच कामकै सरसल्लाह भनौ एक प्रकारको मिटिङ र कामको ब्यस्तताले दिन वितेको पनि थाहा भएन । यो कामको माहोल पनि कस्तो हुन्छ भने कहिले काहीँ त कल्पनै गर्न नसकिने गरी एक पछि अर्को अर्जेन्ट केशहरु हेण्डल गर्नु पर्ने हुन्छ । यस कोणबाट सोँच्दा त कहिलेकाही किन डाक्टर बनेछु भन्ने लाग्छ । ल त जे हुने होउस काममा ढिलासुस्ति गरिहालौँ न त भन्नलाई पनि कुनै ब्यक्तिको ज्यान त्यत्तिले जानसक्छ भन्ने डरले मन छट्पटाइहाल्छ ।

छ बजेतिर ट्वाइलेटबाट निस्कँदै थिएं, फोनमा म्यासेज आइपुगेको आवाज ट्वाङ्ग गर्दै बज्यो । खल्तीबाट फोन झिकेर हेरेँ एम्माको म्यासेज रहेछ । म समयमै आइपुग्छु भन्ने म्यासेज रहेछ । म पनि क्यान्टिनमा अव एम्मासँग भेट हुन तयारी गरेर निस्कन लाग्दै थिएं, करिडोरमा एउटा यही अस्पतालमा काम गर्ने नेपाली भेटिए । उनले फेरि त्यही बुवाआमाको दुखःको खवरको विषयमा समवेदनाका सन्त्वनाका सन्देशहरु भन्न थाले । यहाँको नेपाली समाज सँगठनले श्रद्धाञ्जली कार्यक्रम राखेकोले यो आइतवार सामुदायिक भवनमा आउनु पर्यो भन्न थाले । तर, मैले पहिला नै विकेण्डमा अन्तै जाने कार्यक्रम बनाएकोले उपस्थित हुन नसक्ने हुनाले बरु सोमवार साँझ लाई कार्यक्रम मिलाउन अनुरोध गरें । विकेण्डमा विजी भएको भने पनि क्रुजमा होली–डे गएर दुखःले बहकिएको मन सान्त पार्न थालेको चाही भनिन । हाम्रो सामाजिक मान्यतामा दुखः परेपछि एक वर्षसम्म दुख मनाइराख्नु पर्छ भन्ने मान्यता राख्ने गरेकोले बेलायतै बसे पनि नेपाली समाजले त्यही परम्परालाई निरन्तरता दिनु पर्ने सोचाइ राख्छन् । त्यसैले, क्रुज गएर मन सान्त पार्ने प्रयास गर्ने विषयको कुरा लुकाउन मन लाग्यो । चिकित्सा विज्ञानको हिसावले भने दुखःको विषयमा मनलाई अन्यत्र विभाजित गरेमा दुखःको पिडा लम्बिदैँन भन्ने मानिन्छ तर सामाजिक मान्यताहरु नकार्न पनि नसकिने हुनाले गाहरो नै पर्दो रहेछ ।

एका तर्फ बुवाआमाको दुखःको पीडा त्यो पीडाको बहमा भन्दा दिमाग भने एम्मा र मेरो विषयको रहस्यमा अल्झिएको छ । जे होस अव एकै छिनमा एम्मासँग भेट हुन्छ । सायद उनका बाउआमाले उनलाई पो केही बताए कि । माधवको रिपोर्ट थाहा पाउन अझै बाँकी भए पनि त्यो रिपोर्टले हामी दुई बैनी नै देखाउँछ भन्ने मन भित्र निस्चित जस्तै भैसकेको छ ।

त्यत्तिकैमा फोनको घण्टी बज्यो स्क्रिनमा एस्सो हेरेको माधवको फोन रहेछ । हत्त न पत्त उठाएँ उतापट्टिबाट माधवको स्वर सुनियो ‘हेर न अस्मिता, विहान चाडै अफिस पुगेर तिम्रो काम गर्छु भनेको बाटोमा एक्सिडेन्ट परेकोले बाटो जाम रहेछ अफिस अलि ढिलो पुगें तिम्रो रिपोर्ट हेर्न नै पाएको छैन । म अव एक छिन पछि त्यो हेरेर तिमीलाई खबर गर्छु । अफिसको काम पनि यत्ति विजी भयो कि आज ब्रेक समेत राम्ररी बस्न पाएको होइन । तै पनि नआत्तिनु साँझसम्ममा तिमीलाई म खबर गर्छु ।’

समय हुन थालेकोले म पनि क्याफ्टेरिया तिर झेरे, समय अझै छ जस्तो लगेको र लिफ्टबाट जानु भन्दा सिडीबट झर्दा केही क्यालोरी बढि बर्न पनि हुन्छ होला भन्ने सोचेर सिढीबाट तल झरेर क्यफ्टेरियामा पुग्दा एम्मा र उनको साथी आएर एउटा टेबल ओघटेर बसेका रहेछन् । एम्माको छेउँमा उनका बैशाखी तेर्सो परेर ठडिएका थिए । तै पनि उनी उठेर मलाई त्यहा स्वागत गर्न खोज्दै थिइन । म आफै उनको नगिज पुगेँ, उनको साथीलाई ‘हाई, आइ एम अस्मिता’ भन्दै एम्मालाई अंगालो हालें । उनले पनि मलाई अङ्गालोमा हल्का दवाव दिइन । एक किसिमको आनन्द आयो । एम्माको छेउँको खाली कुर्सीमा म बस्दै गर्दा उनको साथीले ‘के के लिएर आउँ कफि, टी ?’ भन्दै सत्कारको आदर दर्शाए पछि मैले ‘ब्ल्याक–टी स्मल’ भनें, एम्माले ‘क्यापुचिनो फर मी, प्लिज’ भनिन् र उनी काउण्टर तिर गए ।

एम्माले भनिन ‘यता तिमी हराएर म त छट्पटाइरहेकी थिएँ, तिमी भने त्यस्तो आपत परेर टाढा यात्रा गर्न गइछौ, विचरा !’

मैले उनलाई सान्त्वना समेत दिने भावमा आफ्नो पिडा सकेसम्म दबाउने नियत सहित भने ‘अँ हेर न अपरझट हिँडीहाले तिमीलाई केही भन्न पनि पाइन ।’

उनले मेरो कुरा सकिनु भन्दा पहिलानै भनिन ‘अनि एक्सिडेन्टमा परेर कत्तिको खतरा भएछ ? अहिले ठिक हुनुहुन्छ तिम्रो प्यारेन्ट्स ?’

मैले लामो स्वास तानेर उनलाई भन्न खोज्दै थिएँ, उनले मेरो बडि ल्याङ्वेज र सुस्केराबाट स्थिति नाजुक भएको अनुमान गरिन र दयालु भाव अनुहारमा झल्काइन । त्यो स्वभाविकै जस्तो पनि लाग्यो । अनि मैले भने ‘के गर्नु म पुग्दा उहाँहरु यो संसारमा हुनुहुन्थेन, शरीरमात्र मैले भेटेँ उहाँहरुलाई भेट्न सकिन । यता तिमीलाई भेटेपछि उहाँहरुलाई सोध्नै पर्ने प्र्रश्न मनमा थियो त्यसको उत्तर दिनु भन्दा पहिला नै उहाँहरु उत्तर दिन नसक्ने भैसक्नु भयो ।’

एम्माले मनिल हुँदै कुरा अगाडि थपिन ‘म एक्सिडेन्ट भएर खुट्टा यस्तो भए पनि तिमीलाई मैले मेरो दिदी भेटेको जस्तो भान भैरहेको छ । मेरो फेमलीसँग पनि यो विषयमा सोध्न कत्ति प्रयास गरें आखिर उहाँहरु होलीडे सकेर नआउँदासम्म राम्ररी सोध्न पनि सकिन । यता तिमी हराइहाल्यौ । अस्पतालमा अरु स्टाफसँग तिम्रो विषयमा सोधेँ, कहा छन भनेर थाहा पाउन कत्ति प्रयास गरेँ । सवैले स्टाफको गोपनीयता भङ्ग गर्न पाइँदैन, भन्न मिल्दैन भनेर टारे । मसँग उपाय पनि थिएन । तिम्रो फस्ट नेम बाहेक अरु मलाई केही थाहा पनि थिएन । तिमीले नेपाली मुलको भनेकोसम्म याद भएकोले अलि सञ्चो लाग्यो भने तिमीलाई नेपाल खोज्न जान्छु भन्ने सम्म योजना बनाइरहेकी थिएं ।’

एम्माको कुरा सुनिरहँदा मेरो दिमागमा बुवाआमाको सम्झनाले म अलि एकोहोरिन पुगेछु । उनले त्यो मेरो मनको भाव मेरो अनुहारबाट पढेरै भनिन ‘यस्तै हो दुनिया अजम्मरी कोही छैन, जे हुने भै हाल्यो अव पीर नगर, हुन त मलाई पनि कताकता मेरै बायोलोजिकल प्यारेन्ट्स त उहाँहरु नै हुनुपर्छ जस्तो पनि भान हुँदैछ तर यो रहस्य उहाँहरु नभएपछि झन बल्झिन पुग्यो । होलीडेबाट फर्किए पछि मैले मेरो प्यारेन्ट्सलाई म जस्तै हुबहु मिल्ने डाक्टर भनेर कुनै रहस्य छ भने बताउनुहोस भनेर अनुरोध पनि गरेँ । तर, उहाँहरुले विषय झन सस्पेन्स बनाउनु भयो । म उहाँहरुकै छोरी हो भनेर प्रस्ट पार्ने कोसिस पनि गर्नु भएन । मैले गरेको प्रश्नमा उहाहरु आपसमा आखा जुधाएर आखाले एक अर्काको भाव पढ्नु भयो क्यारे । मैले उहाँहरुका आँखाबाट केही बुझिन । तर, उहाँहरुले मलाई आफ्नै बायलोजिकल सन्तान भएको भनेर विस्वास दिलाउन कोसिस नगरेको पाउँदा मैले भने मनै मनले हामी दुई जुम्ल्याहा नै हौँ कि भन्ने निधो जस्तै गरिसकेकी छु । त्यसैले पनि म तिमीलाई खोज्न पुरै लागि परेकी थिएँ । उपाय नलागेर मात्र हो । मेरा बुवाआमाले यो महिनाको अन्तमा भेटहुँदा यस विषयमा अरु कुरा गर्ने भन्नु भएको छ । मैले उहाँहरुलाई मलाई चाडै भन्नुस भनेर जिद्दि पनि गर्न सकिन । तर, रहस्य हुँदै हौइन भन्न त सक्दिन तै पनि केही रहस्यमय लागेको प्रश्ट छ । उहाँहरुले यस्तो प्र्रश्न किन गरेको भनेर समेत मलाई सोध्नु भएन ।’

मैले उनी पनि हाम्रो विषयको अनिस्चितताको विषयमा म भन्दा अझै बढि चिन्तित रहेको महसुस गरें । हुन पनि म त बरु आफ्नै बुवाआमासँग हुर्के बढें, अब हामी जुम्ल्याहा नै रहेछौँ भने त उनले विचरा वास्तविक बुवाआमासँग भेट हुन र चिन्न समेत पाउने मौका बाँकी रहेन । यो मर्मबाट उनको पीडा झन बल्झिएको जस्तो लाग्यो । तै पनि उनको चिन्ता कम गर्न मैले प्रयास गर्नै पर्छ जस्तो लागेर भने ‘चिन्ता नगर, यो घटनाक्रम केलाउँदा यो रहस्य हामी दुई बैनी कै रुपमा स्थापित भएर टुङ्गिएला जस्तो त छ तर, तिम्रो बुवाआमाबाट मात्रै यो रहस्य हामीले थाहा पाउने माध्यम बाँकी छ । हुन त हामी बायलोजिकल्ली सिवलिङ हौ कि होइनौ भनेर साइन्टिफिक टेस्टको प्रयास गर्ने प्रयास गरेकी छु । म एउटा कुराको दोषी पनि छु । तर, यो परिस्थितिमा मलाई तिमीले माफ गरिदिने छौ भन्ने मैले विश्वास लिएकी छु । मैले तिम्रो अनुमति बेगर नै तिम्रो रगतबाट डिएनए सिक्वेन्स परीक्षण गर्न तिम्रो फाइलमा लेखेकी थिएं । त्यसको रिपोर्ट पनि आएको रहेछ । मेरो एक जना साथीलाई मेरो डिएनए सिक्वेन्स र तिम्रो रिपोर्ट दिएर मलाई विश्लेषण रिपोर्ट दिन अनुरोध गरेकी छु । सायद आज साझसम्ममा त्यो रिपोर्ट उसले दिने छन् ।’

एम्माको अनुहारमा अलि सन्तोष जागेको भाव प्रकट भयो र उनले भनिन ‘तिमीले राम्रो गरिछौ । त्यो डिएनए टेस्टको प्रयास गरेकोमा म खुसी छु । म आफ्नो विषयमा जानकारी पाउन आतुर भैरहेकी छु । त्यो रिपोर्टबाट हामी सिवलिङ्ग(एउटै बाउआमाका सन्तान) हौँ भन्ने पुष्टि भयो भने अव हामी दुवैको प्रयास एउटै हुने छ । हामी दुवै मिलेर यो रहस्य पत्ता गलाउनु पर्ने छ ।’

‘म त अहिलेसम्म कतै तिमीलाई नसोधी तिम्रो डिएनए परिक्षण गरेकोमा तिमीलाई चित्त दुख्छ कि भनेर डारइरहेकी थिएँ, अव भने ढुक्क भएं ।’ मैले भने ।

एकै छिन विसाएर फेरि अगाडि भने ‘मैले आफुले पढ्ने क्रममै आफ्नो डिएनएको सिक्वेन्स बनाएर राखेकी थिएँ । तिम्रो डिएनए रिपोर्ट र मेरो डिएनए रिपोर्ट मेरो एकजना साथीलाई विश्लेषण गर्न दिएकी छु । उनले आज साँझ भित्रमा त्यो रिपोर्ट दिन्छु भनेका छन् । यदि त्यो रिपोर्टबाट पुस्टि भयो भने हामी सहोदर दुई बैनी भएकोमा दुविधा रहँदैन र हामी दुवै मिलेर बाँकी रहस्य पत्ता लगाउनु पर्छ ।’

एम्माले मेरो कुरामा सहमति जनाउँदै भनिन ‘आखिर हामी दुई बैनी हौँ भने म नेदल्र्याण्ड्समा कसरि भएँ र तिमी नेपाल कसरि पुग्यौ ? बडो अनौठो लाग्दै छ । यसको रहस्य त मेरा या तिम्रा बुवा आमाबाट नै खुल्ने हुन्छ । तर तिम्रा बुवाआमा त अव रहनुभएन मेरो बुवाआमाबाट यो रहस्य उजागर हुने विकल्प मात्र वाँकी रह्यो ।’

‘तिमीलाई थाहा भएको भन्दा एउटा बढि तथ्य मलाई थाहा छ । त्यो म तिमीलाई बताउँछु । मेरो पनि जन्म चाहीँ नेदल्र्याण्ड्स मै भएको हो । मेरा बुवा स्कलरसिपमा पढ्न नेदल्र्याण्ड्स आउँदा आमा पनि सँगै आउनु भएको थियो र पढाइ सकेर दुवै जना मलाई लिएर नेपाल फर्कनु भएको थियो । अव तिम्रो र मेरो जन्म मिति पनि एउटै हुनुबाट हामी जुम्ल्याहा दुई बैनी हुनु पर्ने सम्भावना देखिन्छ ।’ त्यत्ति भन्दै मैले सँगै बसेका उनका ब्वाय फ्रेण्डलाई देखाउँदै एम्मालाई सोधेँ ‘हाम्रो यो जासुसी उपन्यास जस्तो बन्दै गएको रहस्यबारे सवै कुरा उनलाई थाहा छ कि कति बताएकी छौ ?’

‘हामी सँगै बस्न थालेको आठ वर्ष भन्दा बढि भैसक्यो । हामीले एकअर्कालाई पूर्ण विस्वास गर्दछौँ । त्यसैले हाम्रो भेट भएर अनुहार देखि सवै कुरा मिल्ने हामी दुईको विषय र तिमी बेपत्ता भएको विषयमा सवै कुरा मैले उनलाई बताएकी छु । त्यस बाहेक अहिले तिमीले बताएको डिएनए विषयमा पनि सवै कुरा यहीँ उनले सुनिरहेकोले उनलाई सवै थाहा छ । उनीसँग लुकाउनु पर्ने केही छैन । चिन्ता नगर ।’ एम्माले भनिन ।

त्यत्तिकैमा मेरो फोनको घण्टी बज्यो । फोनको स्क्रिनमा हेर्दा माधावको नाम देखियो । एम्मालाई ‘त्यही डिएनए विश्लेषकको फोन रहेछ उठाउँछु है’ भन्दै उनको प्रतिउत्तर नपर्खि फोनको ग्रीन बटन थिचेर माधवको फोन उठाँए । यता मैले फोन उठाउँदै गर्दा टाउको हल्लाएर हुन्छ भन्ने अनुमति पनि दिइन । मैले ‘हेल्लो’ भन्ना साथ माधवले भन्न थाले
‘मैले दुवै डिएनए विवरण पुरै विश्लेषण गरेँ । दुवै ब्यक्तिका बाबु आमा एउटै हुन भन्ने पुष्टि भयो ।’

माधवको कुरा सुनेर मेरो अनुहार हसिलो भएछ । एम्माले त्यो कुरा ख्याल गरिरहेकी रहिछन् । त्यसैबाट हामी दुवैजना जुम्ल्याहा सिवलिङ भएको अनुमान पनि गरिछन् । उता मैले भने प्रशन्न मुद्रामै माधवलाई ‘धन्यवाद’ भन्दै फोनमा विदा मागेँ ।

माधवले नेपालीमै मसँग कुरा गरिरहँदा एम्माले फोनमा पल्लो पट्टिबाट आएको आवजबाट शब्द बुझ्न नसके पनि मेरो अनुहारको भावपढेर नै होला मैले फोन राख्न नपाउँदै ‘यू आर माइ सिस्टर भन्दै मलाई अङ्गालो हालिन ।’ उनका आँखामा आशु छचल्किए । तर ती खुसीका आँशु थिए । मेरा आँखामा खुसीका आँशु नभए पनि मेरो खुसी पनि कम थिएन ।

‘अहिले अव रात पनि पर्यो, हामी दुई बहिनी भएको पुष्टि भयो । अव अरु रहस्य हामी दुवै मिलेर पत्ता लगाउनु पर्छ । यो विकेण्डमा हामी क्रुजमा गाउञ्जी जाँदैछौ । उता नेदल्र्याण्ड्समा कुरा भयो र केही थप जानकारी भयो भने बताउनु । फुरसद छ भने हाम्रो घरमा जाउँ’ भनेर मैले अनुरोध गरेँ ।

एम्माले उनको छेउँमै बसेका केटालाई देखाउँदै ‘मेरो त फुरसद नै फुरसद छ, तर उसको भोलि काममा जानु पर्ने भएकोले घरमा गयो भने उनलाई अबेला हुन्छ होला । तिमीहरु क्रुजबाट आए पछि भेटौँला । मेरो उपचार नै आफ्नै सिस्टरले गरेको भन्ने भएर झन खुसीले गर्दा पनि आशु नै आयो । कुनै थप कुरा थाहा भयो भने म तिमीलाई फोन गर्छु । नभए सोमबार भेटौँला’ उनले भन्दै विदा हुन थाल्यौ ।

‘मेरो श्रीमानसँग पनि त्यसै दिन परिचय गराउँछु । उनको नाम दिनेश हो, हाम्री एउटी छोरी पनि छन् । म तिमीलाई फोनमा एड्रेस टेक्स्ट गरिदिन्छु । सोमबार साढे छ बजे दुवै जना आउनु । खाना पनि सँगै खाउँला । अहिले विदा होउँ है त ।’ भन्दै म उठेँ ।

‘मैले पनि हाम्रो एड्रेस तिमीलाई म्यासेज गरिदिन्छु । अव चाही नहराउँ है । हराइहाले पनि फोन नम्बर छँदैछ, एड्रेस पनि तिमिले पठाउँछु भनेकै छौ, खोजेर पनि फेला पारि हाल्छु’ खुसी मुद्रामा ठट्टा गर्ने भावमा उनले भनिन ।

हप्ता भरि नै कहिले क्रुज गएर आएर एम्मा सित भेट होला भन्ने भैरह्यो ।



भाग – १५ भाग –१३
 
 
There are no data records to display.
   
Comment:
Date:
Name:
LastName:
Address:
City:
PostalCode:
PhoneNumber:
EmailAddress:
WritingId:
Insert  Cancel

www.flykathmandu.co.uk

Received Comments



www.flykathmandu.co.uk
Please write email to belbase@flyktm.com to get permission to publish my article to your media.