Govind Belbase
<January 2023>
SuMoTuWeThFrSa
25262728293031
1234567
891011121314
15161718192021
22232425262728
2930311234
उपन्यास: NRN (बेलायत)को कथाबस्तु – "एम्मा" – भाग १५
भाग –१५

तीन दिनको समुन्द्र घुमाइका लागि हामी हिड्यौ । यो मेरो लागि भने समुन्द्रको पहिलो अनुभूति हो । भूपरिवेष्ठित देशमा हुर्केकी हुनाले पनि अचम्मको कल्पना पुरा भएको सपना भने पनि हुन्छ । समुन्द्र भन्ना साथ दिमागमा आउने पहिलो सम्झनाले बचपन याद दिलाउँछ । अगेना वारिपरि बसेर घर परिवारले सुनेको स्वस्थानी ब्रतकथाको समुन्द्र मन्थन गरेर तारकासुर राक्षसको बध भएको विवरण याद आउँछ । तर, उतिवेला त्यो सवै विवरण सत्य लाग्थ्यो, अहिले जम्दार काईलाको गफ भन्दा स्वस्थानी कथा त पुरै काल्पनिक लाग्छ ।


हाम्रा गाउँका जम्दार काईलाले सुनाउने र बर्णन गरेको विश्वयुद्धमा लड्न जाँदा पानी जहाजको विवरण बडो रमाइलो हुन्थ्यो । उनी बेलायती सेनाबाट पेन्सन पाएका लाहुरे बुढा हुन । लाहुरे भएर कमाएको पैसाले घर जग्गा किनेर हाम्रो गाउँमा बस्छन् ।

जम्दार काइँला बुवा र आमाको कान्छो छोराको रुपमा कास्कीको याङ्जाकोट गाँऊ देउरालीमा जन्मिएका थिए । बुवा र उनको उमेर धेरै फरक रहेछ, झन्डै ५५ वर्ष । उनकी आमा बाउकी कान्छी श्रीमती । उमेरले धेरै कान्छी, उनकी आमा भन्नु हुन्थ्यो रे ‘भाग्यले यो बुढासित जबर्जस्ती भिडाएको, सोचेकी थिएँ’ ।

आमा चाहीँ बाठी रहिछन् र उनकै बच्पनमा उनलाई सेनामा भर्ति भएर पैसा कमाउन उक्साएकी थिइन रे । उनी दोश्रो बिश्व ताका भर्ति भएर युद्ध सकिएर नौकरी पुरा हुन भन्दा पहिला नै १७ देशमा लडाई लडी घर फर्किएका रहेछन् । संजोग उनले लडाईको दौरान ईटाली र जर्मनमा हुँदा गोरखालीको तर्फबाट अधिकृतहरुको आदेश अनुसार त्यति खेरका नेपाल सरकारका श्री ३ सरकार श्री जुद्दा समसेर राणालाई चिट्ठी पठाएका रहेछन र फर्कदा दाज्यु भाईले पदचूयत गरी पाल्पा बसाई सराई सवारी हुदाँ बाटोमा भेटेका पनि रहेछन् ।

जम्दार काइँला यती गफाडी थिए कि लडाइ गर्न बेलायती सेना बनेर पानी जहाजमा बर्मा, जापान लगायत जताततै पुगेको बर्डन गर्थे । हामीले पनि उनी बढ्ता नै गफाडी छन् भन्ने बुझेका थियौ । र सोध्थ्यौ– ‘भूगोल त पुरै थाहा होला तपाईँलाई ?’ भन्ने प्रश्न गर्दा ‘त्यहाँ त हाम्रो बटालियन तीन महिना बसेका थियौँ’ भनेर उनले भन्दा हाम्रो खित्का छुट्थ्यो । तर, उनी गफ गरिरहन्थे हामी सुनिरहन्थ्यो । यहाँ वर्णन गर्न थालेको जलयात्रा भने मेरो गफ नभएर अनुभव गरेको भावना हो ।

हाम्रो समुन्द्र यात्रा बेलायतको दक्षिण किनारको साउथेम्टनबाट गाउञ्जी टापुसम्मका लागि निर्धाति भएको थियो । नेपालका पूर्व प्रधानमन्त्री जङ्गबहादुर राणा पनि बेलायत आउँदा यही साउथेम्टनसम्म पानी जहाजमा आएर यहाँबाट रेलमा लण्डन गएका थिए । हाम्रो यो यात्रा फुरसदको रमाइलो घुमघामको हो । कामकाजी यात्रा भन्दा पुरै फरक । अर्को शब्दमा यसलाई ऐयासी भ्रमण भन्दा पनि हुन्छ । एक प्रकारले परिवार गुमाएको पिडा दिमागबाट हटाउने बहानाका लागि पनि यो यात्रामा हिडेका हौँ ।

हामीलाई कारले निर्धारित समय अपरान्ह एक बजे भन्दा आधा घण्टा अघि नै गेट नम्बर दशमा पुर्यायो । गुडाउने झोला लिएर समुन्द्र किनारामा लम्पसार रहेको जहाजमा पस्ने भन्दै गेटमा गएर हाम्रो टिकट देखाउँदा हाम्रो जहाज त्यो नभएर अर्कै हो भन्ने थहा लाग्यो । गलत ठाउँमा पुगेको र हामीलाई पुर्याउन गएको कार पनि फर्किसकेकोले हाम्रो जहाजमा पुग्न कति समय लाग्ने हो र ढिला पुगेर छुट्नेपो हो कि ! भन्ने पिरलो सुरु भयो । तर, अलमल नगरी त्यहाँका गार्डले बताएको बाटोमा समयभित्र हाम्रो जाहाजसम्म पुग्ने कोशिस गर्दै हामी हतारिँदै हिड्न थाल्यौ । कति टाढा हो भन्ने पिरलो छँदै थियो ।

हाम्रो तीन जनाको टिम थियो । म, दिनेश र छोरी । हामी घरबाट विहानै ७ बजे हिडेर रेडिङमा देबेन्द्रजीकोमा पुगेर नास्ता खाइवरि तीनै जना त्यही कारमा साउथेम्टन पुगेर एक मित्रको घरमा कार राखेर उनै मित्रले हामीलाई गेट नम्बर १०मा पुर्याएर फर्किएका थिए । उता जहाज छुटेर बरबाद होला कि भन्ने पिरलो त्यस माथि एकआपसमा घोचपेच सुरु भयो । रेडिङ्मा सपिङ गर्दा अबेला गरेको मलाई दिनेशले लगाउने आरोप र ठीक गेटमा पुग्ने गरी तयारी गर्न नसेको हाम्रो कमजोरी गरेको भन्दै दिनेशलाई मैले लगाएको आरोप प्रत्यारोपबीच हामी समयमै हाम्रो जहाजसम्म पुग्ने आँट जारी राख्यौ । सवैका जोइ–पोइ बीचका घोचपोच यस्तै त हुँदाहुन ।

धेरै टाढा त रहेनछ, सामान लतार्दै १२ मिनेट हिँडेपछि हामीले हाम्रो जहाज देख्यौ र उत्साहित हुँदै गेटतिर लाग्यौ । अघिको भन्दा अलि सानो भएपनि बडेमानको जहाज रहेछ । हुन पनि १८सय यात्रु र साढे तीन सय र्कमचारी अटाउने जहाज सानो हुने त थिएन नै । दिनेशको भने पानीजहाजमा यो दोस्रो यात्रा थियो । हसङ्फसङ् गर्दै हामी एक बजे गेटमा पुग्यौ । हामी चेकइन गरेर(बोर्डिङपास लिएर) सँगै जहाजभित्र पस्यौ । सवैभन्दा माथिको सवैभन्दा अगाडिको कोठा परेको रहेछ । जहाज भित्र पस्दा पाँचतारे होटलमा पसेको अनुभव भयो । फर्समा लचक्क गर्ने लगैचा, चम्किला भित्ता, हाम्रो हातको मैला सर्छ कि जस्ता लिफ्टका रेलिङ बारहरु । कोठाहरुका बीचका गल्ली भने त्यत्ति फराकिला नहुनु स्वभाविकै जस्तो लाग्यो । तर, पनि एकोहोरो हिड्न फराकिलै भन्नु पर्छ । चेकइन गर्दा पाएको कार्ड छिराएर हेण्डिल घुमाउँदा ढोका खुल्यो । तन्ना तनक्क पारेर सिपालु मान्छेले सजाएको विस्तरा पारिको पर्दा ह्वाङ्ङ भएको झ्याल बाहिर समुन्द्र र त्यस भन्दा पारि साउथेम्टन सहरको अर्को फेरो खुला देखिन्थ्यो । खुला आकासमा विरलै भेटिने बेलायती घामको चमकले पारिको शहर पनि झल्झलाकार ।

कोठामा छिर्नासाथ जहाजका कर्मचारी चिटिक्कको पहिरनमा आएर ‘म तपाइहरुको स्टेवाड, सुरेश’ भन्दै परिचय गरे । उनको नेम ट्याग छातीमा टाङ्गिएको पनि थियो । भारत गोवाका रहेछन् । हाम्रो तीन दिनको त्यो यात्रामा उनको मिठासपूर्ण कहिले हिन्दी त कहिले अङ्गे्रजी भाषाको सम्बादले रमाइलो बतावरण बनाइदियो । एटेच बाथरुममा नुहाइधुवाइ गरिसक्दा जहाजका क्याप्टेनको प्रषारण सुनियो । उनले यात्रुहरुलाई आपतकालीन सामाग्रीहरु लिएर तोकिएको स्थानमा जुट्न भन्दै थिए । सुरेशले त्यस अघि नै दराजको उपल्लो खनामा राखेका दुई आपतकालीन सामाग्री देखाएका थिए । आपतकालका लागि दिइने तालिम चौथो तलामा रहेछ । आपत परिहाले ती सामाग्री कसरि लगाउने र के गर्ने भन्ने विषयको तालिम बेलायती संस्कारको एक हिस्सा जस्तै अनुभव गर्दै तोकिएको ठाउँमा भेला भएर सिक्यौ । फेरि सामाग्री यथास्थानमा थन्काइयो ।

तेह्र तल्ले जहाजको एघारौँ तलामा हाम्रो कोठा थियो । त्यसभन्दा माथिका तलामा स्वीमिङ पुल, बफेट–रेस्टुरेन्ट आदि रहेछन् । एकै छिन विश्राम गरेपछि जहाजमा के के रहेछ भनेर घुम्ने विचारले हामी कोठा बन्द गरेर हिड्यौ । स्वीमिङ पुलमा मान्छेहरु सँगीतको तालमा रमाउने र धेरै जसोको हातमा वाइनका सुर्लुक्कका गिलास थिए । सवैजना खुलाआकासको न्यानो घाममा प्रफुल्ल देखिन्थे । अर्को स्वीमिङपुल अलि सान्त थियो, चर्को सँगीत नरुचाउनेहरु पनि त्यहा घमाइरहेका थिए । हामी बफेट रेस्टुरेन्टमा पुगेर खाना खायौ । भारतीय, अङ्गे्रजी, कन्टिनेन्टल सवै प्रकारका परिकार तयार थिए । आफ्आफूलाई मन पर्ने स्वाद अनुसारको खाना लिएर दृष्यको मजालिने गरी किनारको टेबलमा बसेर खान थाल्यौ । ती सवै ऐयासी जीवनशैली थिए । मेरो बचपन जुन थारु गाउँमा हुर्कियो त्यहाको गरिवीसँग तुलना गर्न थाल्नेहो भने त्यहाको अनुभव मैले लिन नै सक्ने थिइन । देखे भोगेका गरिबी र यहाँको ऐयासी बीचको फरकबाट मस्तिस्कलाई जोगाउने भरमग्दुर प्रयास जारी राखें ।

खाना खाएपछि हामी जहाजको अवलोकनमा लाग्यौ । पानीमा हिड्दै गरेको जहाजले साउथेम्टनको किनार छाडेर आइलअफ ह्वाइटको टापुलाई दायाँ पार्दै अगाडि बढ्दै गर्दा हामी जहाजमा कता के रहेछ हेर्दै थियौ । तर, तल्लो तलाको जहाजका कर्मचारी बस्ने तलमा भने हामी गएनौ । सायद, यात्रुहरुलाई उक्त तलामा नजाने गरी ढाँचा मिलाइएको रहेछ क्यारे । हामी त्यता नगएको हामीले नै चाल पाएनौ ।

एकछिन कोठामा विस्राम गर्न जाँदा स्टेवार्डले कोठा मिलाएर चिटिक्क पारिदिएका । हामीले कपडा फेरेर छरल्त पारेका पहिरन पनि पट्याएर सरलक्क परेको । खास गरी दिनेश भन्दा मैले त्यो जलभ्रमणको आनन्द सोँचेभन्दा बढि भएको अनुभव गरिरहेँ । सुरेश भाइले छैटौ तलाको रेस्टुरेन्टमा खाना खाने सिफारिस गरे र सातौ तलाको थिएटरमा नाटक मन्चन हुने जानकारी दिए । अर्को रेष्टुरेन्ट अङ्गे्रजी परिकारमा जोडदिने खालको र हामीलाई सिफारिस गरिएको सिन्ध खानका परिकारमा केन्द्रित रहेछन् । हामी साउथ एसिया मुलका मान्छेको चाहनालाई मध्यनजर गरेर उनले त्यसरी सिफारिस गरेको हामीले सहजै बुझ्न सक्थ्यौ । रेन्टुरेन्ट भएकै तल्लामा किनमेल गर्ने पसलहरु पनि रहेछन् । कुनै देशको कर र भन्सार नलाग्ने भएर पनि होला भोड्काका बोतल त बेलायतका पसलको मुल्य भन्दा तीन गुना सस्तो रहेछ । हाम्रो कार घरमा राखिदिएर जहाजसम्म छाडिदिएका भाइलाई उपहार दिन हामीले पनि भोड्काको बोतल लगिदियौ ।

सिनेमा तथा अन्य मनोरञ्जन तिर नलागेर हामी नाटक मञ्चन हुने थिएटरमा गयौ । त्यो जहाज (क्रुज) त एउटा सानो सहर जस्तो नै हुँदो रहेछ । रिसेप्सन डेस्क, लिफ्ट र सिंडीहरु सामान्य फराकिला भए पनि कोठाहरुबीचका गल्ली लगायत अरु ठाउँहरुमा भने सकेसम्म क्षेत्रफल बचाउने गरी बनाइएको हुँदोरहेछ । हामी सवैभन्दा अगाडिको लाइनमा बसेर नाटक मञ्चनको आनन्द लियौ । उक्त तीन दिनको यात्रामा प्रतिब्यक्ति खर्च बेलायतको न्यूनतम ज्यालादारीमा काम गर्नेको एक हप्ताको कमाइ बराबरको रकम तिरेका थियौ । त्यही खर्चमा खाना, बसाइ, मनोरन्जन आदि सवै समेटिएको थियो । मदिरा र थप किनमेल भने त्यसमा समाबेस थिएन । पहिलो रातमा मञ्चन गरेका सवै काला जातिका कलाकारहरुले भोलिपल्टको उनीहरुको कार्यक्रम हेर्न जहाजकै अर्को थिएटरमा पैसा तिरेर जान पर्ने उद्घोष गरेका थिए । अमेरिकीशैलीको उक्त मञ्चन निकै रोचक थियो । पछिल्लो रात पनि हामी उही थिएटरमा नाटक हेर्न गयौं । त्यस दिन सवै गोरा जातका कलाकारहरुले मञ्चल गरेका थिए । अघिल्लो रातको नाटकका सँगीत पनि लाइभ थियो तर दोस्रो रातको कार्यक्रम भने ट्रयाकमा मञ्चन गरिएको थियो । दुवै बडो मनोरञ्जनात्मक तथा रोचक थिए ।

जहाज हिँडेको त चाल नै पाइँदो रहेन छ । न हल्लिने न थर–थर गर्ने त्यसैले पनि हामी विहान जागेपछि झ्याल बाहिर हेर्दा गन्तब्य टापु गाउञ्जी भन्दा करिब दुई किलोमिटर पर पानी माथिनै जहाज रोकिएको रहेछ । उक्त टापुको किनारको सुमुन्द्रमा ठूलो जहाज जाने गहिराइ नपुग्ने भएकोले परै रोकिएको बुझियो । विहानको नास्ता खाएपछि हामी उक्त टापुमा घुम्न जाने भयौ । मोटरबोटले हामीलाई जहाजबाट टापुको जमिनसम्म पुर्यायो । मोटरबोटमा चढ्ने पालो अनुसार सुरक्षा मिलाउने डेस्कमा दुई नेपाली जहाज कर्मचारी पनि भेटिए ।

टापुमा सेलरोटी घुमेजस्तो समुन्द्रको किनारै किनारको बाटो भएर चक्कर लगाउने बसमा चढेर दुई घण्टा जतिमा जहाँबाट चढेको उसै ठाउँमा आइपुगियो । उक्त टापु बेलायतकै स्वायत्त प्रदेश रहेछ त्यसैले हामीलाई भिषाको झन्झट भएन । बेलयाती नागरिक नभएकोले दिनेशको पासपोर्ट भने जहाजले नै राखिदियो फर्कँदा फिर्ता दियो । जहाजको यात्रासमय भरि दिनेशको पासपोर्ट उनीहरुले नै राखे । हाम्रो समुहका सवैलाई चेकइन गर्दा दिइएको कार्डबाट जहाजको पुरै परिचयपत्र तथा त्यहाँ भित्र रहँदासम्मको खर्च गर्न पनि उपयोगी रह्यो । ब्याङ्क कार्डको जत्रो उक्त कार्डलाई कर्मचारीले हाम्रो क्रेडिट कार्डसँग समायोजन गरेका थिए । जहाज भित्र भने नगद वा अरु ब्यङ्ककार्डहरुबाट भुक्तानी गर्न नपाइने रहेछ ।

त्यो गाउञ्जी टापु अलि रुखो लाग्यो । दक्षिण भेकमा अलिअलि अग्ला रुख भए पनि अरु भागमा अग्ला रुख पनि रहेनछन् । घरै पिच्छे मोटरडुङ्गा हुँदो रहेछ । त्यो टापुमा एउटा एयरपोर्ट पनि रहेछ । खेतिपाती त हुँदोरहेछ तर खासै फस्टाएजस्तो लागेन । आधुनिकता र राशायनिक मलको बलले उब्जाउछन् जस्तो अनुभूति भयो । बचपनमा थारु गाउँमा बाल्टीमा पानी भरेर लोटाले नुहाउँने गरेको चापाकल (नल) बस भित्रैबाट दुई ठाउँमा देखियो । उत्तरी किनारापट्टि एउटा गल्फ–क्लब पनि रहेछ । बसबाटै टापुलाई एक फन्को लगाएपछि त्यहाँको म्यूजियम तथा अरु घुम्ने जिज्ञासा त्यत्ति तीखो नभएपछि फेरि मोटरबोटमा चढेर जहाजको रमझममै फर्कियौँ ।

फर्किने दिनको जहाजको सन्ध्या भोजन कालो टाइ सहितको औपचारिक पोषाकमा निर्धारित थियो । निर्धारित समयको निस्चित टेबल बुक नगरेर स्वतन्त्र भोजन बुकिङ गरेकोले हाम्रो अनुकुल समय मिलाएर रेष्टुरेन्ट जाँदा औपचारिक पहिरन विना रेस्टुरेन्ट छिर्न नपाइने तर बफेट रेस्टुरेन्ट तिर भने पहिरनको मतलब नहुने थाहा लाग्यो । हुन त जहाजको टिकट किन्दा पनि अलिअलि थाहा त थियो तर ब्यवहारिक ज्ञान त्यहीं पुगेर पाइयो । रेस्टुरेन्ट स्टाफले तोकेको हाम्रो टेबल समुन्द्र देखिने छेउँको रहेछ । ५ वटा कुर्सी भएको टेबलमा हामी म, दिनेश र छोरी गरी तीन जनासँगै बेलायती चर्चका पास्टरका जोडी रहेछन् । रमाइला रहेछन् । उनीहरु हरेक वर्ष त्यस्तो जहाज यात्रामा रमाउँदा रहेछन । बेलायती होलिडे जाने प्रचलनको एउटा हिस्सा भन्दा हुने रहेछ । खानाखादै गर्दा उनीसँगको परिचयमा धर्म सम्बन्धी एउटा प्रश्न सोध्ने अनुमति मागें । धर्म संवन्धी उत्तर दिन रमाउने उनको भनाइमा थप्दै मेले उनीसँग प्रश्न गरेः– ‘गड, इस्वर, अल्लाह जे भनेपनि उनीसँग सोच्ने शक्ति भएकोले उनले सोचेर सृष्टि गरेको अध्यामबादीहरु मान्छन् । रगत, मासु, मुटु, फोक्सो आदि सवै अङ्गले काम गरेपछि बल्ल दिमागले सोच्न सक्ने भएकोले सोच्ने शक्ति भन्दा पहिला त पदार्थ उत्पन्न भएको हुनुपर्छ ।’ मेरो प्रश्नमा उनले लामो उत्तर हुने बताउँदै गोलमाटोल जवाफ दिए, म उनको उत्तरमा सन्तुष्ट त भइन नै, तर जवाफ दिनै पर्छ भनेर कर गर्ने कुरा पनि भएन ।

त्यस पछि हामी आफ्नो कोठामा गएर सुत्यौ र विहान उठ्दा साउथेम्टन पुगिसकेका रहेछौ । जहाज भित्रै विहानको नास्ता गर्दा दार्जिलिङ्गका नेपाली भाषी वेटर परेका थिए ।

जहाजबाट निस्कने समय भए पछि हामी पनि अरु यात्रुहरु जस्तै हाम्रा सुटकेसहरु गुडाउँदै निस्कियौ । कार राखेको र्पाकसम्म हिँडेर पुगे पछि त्यहाँबाट कार लिएर घर जान बाटो लाग्यौ । निर्धारित स्पिड भन्दा बढी कुदाउन पनि नपाइने नत्र त अलै चाडै पनि पुथिन्थ्यो होला । ल त नि भनेर कुदाइ हाले पनि क्यामराले समाइहाल्छ । घरमा कारको गती बढि भएका कारण चिठ्ठी आयो भने नतिरेर सुख्ख पनि त हुँदैन नि त । हुन पनि एका तिर पेनाल्टी तिर्न पर्छ भन्ने डर फेरि गाडि कतिसम्म गुडाउँदा सुरक्षित यात्रा हुन्छ भनेर सरकारले विभिन्न अनुसन्धान गरेर बनाएको गति सीमा त हाम्रै लागि त हो नि । जति नियम भित्र हामी बस्यो हामी नै सुरक्षित हुने त हो नि । त्यसैले नियम अरुकालागि पालन गरेको होइन आफ्नै हितको लागि आफैले नियम मानेको हो भन्ने भावना बोक्दा नै राम्रो हुन्छ भन्ने सोँच्दै ड्राइभ गर्दै गरें ।

छोरीलाई मन पर्ने गीत र हामीलाई मन पर्ने गीत भने उमेर र जमानाले पनि होला अलि फरक पर्ने । त्यसैले छोरीको चाहनालाई पनि ध्यानमा राख्दै गीत पनि त्यसै अनुसार बजाउँदै गाडी गुडीरह्यो । करिब आधाबाटो पुगे पछि पिसापले पनि च्यापेछ, दिनेशले कफी पनि खान मन लाग्यो भने पछि सर्भिसमा झर्न गाडी बायाँ मोडेर थोरै ओरालो झरेर राउण्ड एबाउटबाट तेस्रो एग्जिट निस्कँदै अगाडि बढे पछि लरीहरुको पार्किङ गर्ने तिर नगएर कारको पार्किङ साइडमा मोडेर एउटा खाली बे(पार्किङ स्पेस)मा रोकेँ । भित्र ट्वाइलेट बाट निस्केर क्याफेमा बसेर दिनेशले कफी मैले चिया र छोरीले आइस क्रिम खायौ । त्यस पछि भने गाडी दिनेशले चलाउन थाले ।

एक छिन त दिनेशले चलाइरहेको कारमा मजा आइरहेको थियो । एकैछिन पछि भने म त कारमै निदाएछु । घरमा पुगियो । उही सामान्य दैनिकी जस्तै खानपिन अनि सुतेर उठेपछि कहिले उज्यालो होला र एम्मासँग भेटेर रहस्य पत्ता लगाउने जिज्ञासा मनमा खेल्दाखेल्दै कत्ति बेला निदाएछु पत्तै भएन ।

भाग – १६ भाग –१४
 
 
There are no data records to display.
   
Comment:
Date:
Name:
LastName:
Address:
City:
PostalCode:
PhoneNumber:
EmailAddress:
WritingId:
Insert  Cancel

www.flykathmandu.co.uk

Received Comments



www.flykathmandu.co.uk
Please write email to belbase@flyktm.com to get permission to publish my article to your media.