Govind Belbase
<January 2023>
SuMoTuWeThFrSa
25262728293031
1234567
891011121314
15161718192021
22232425262728
2930311234
उपन्यासः NRN (बेलायत)को कथाबस्तु – "एम्मा" – भाग १८
भाग –१८

भाग –१ (प्रथम भाग– सुरूवात)



यो डिएनए परिक्षणको लागि दिएको सेम्पलको रिजल्ट आउन पर्खिएको चार हप्ता पनि चार बर्ष जस्तो भै सक्यो । पर्खनु परेको समय असाध्यै लामो जस्तो लाग्छ । मनले रमाइलो मानेको अवस्थामा समय निकै छिटोछिटो दगुर्छ तर मनले रमाइलो मानेको छैन भने समय यति ढिलो चलेजस्तो लाग्छ कि समय नै कट्दैन । यो चार हप्ता कटाउन त जिन्दगी कटाउन भन्दा पनि लामो जस्तो भै सक्यो । हुन पनि कुनै फिलिम हेर्न थाले पछि मन पर्यो भने फिलिम सकिएको पत्तै पाईँदैन तीन घण्टा बितिसकेको हुन्छ । अनि कतै कसैसँग भेट हुने समय मिलाएर ठिक समयमा आफू पुगियो र अर्को आउनु पर्ने मान्छे आउन ढिला गर्यो भने दश मिनेट पर्खन परेपछि महिनौ कुरे जस्तो लाग्छ । यता हेर्यो उता हेर्यो, पट्याट लाग्छ अनि कति बेर भयो भनेर घडि हेर्यो भने चाहीँ तीन मिनेट पनि वितेको हुँदैन । त्यसैले यो इन्ज्वाय नगरेको समय ढिलो हिँड्छ अनि इन्ज्वाय गरिरहेको समय ढिलो हिँड्छ ।


बल्लबल्ल चारहप्ता विते पछि खबर पनि आयो । एम्माले फोन गरेर डिएनए टेस्टको रिजल्ट आयो भनेर खबर गरिन । मन भने उनले त्यो रिजल्ट कस्तो आयो भन्ने बताउँदासम्म पनि छट्पटि नै भयो । अझ एम्माले भेटेर कुरा गरौँकि भनेर भन्दा त नजिकमा भए एम्माको कपालमा समातेर भुईमा पछारेर लात्तै लात्ताले पिटुँला झै झनक्क रिस उठ्यो । तर, म आफै समालिएं र भने ‘प्लिज एम्मा, त्यो रिजल्ट के आयो भनिहाल, म त यो रिजल्ट पर्खँदा पर्खँदा मरिसकेँ । मैले भेटभएर कुरा गर्दासम्म पर्खनै सक्दिन । म त हरेक सेकेण्ड मरिरहेको जस्तो लाग्दैछ ।’

एम्माले मेरो मनको पिडा महशुस गरेको भावमा भनिन ‘हो त नि म त यो चार हप्ता पर्खन, एउटा जिन्दगी नै पर्खिए जस्तो लागेको थियो । तर, हेर न अझै हाम्रो रहस्य झन बल्झियो ।’

मः ‘कुरा नचपाइ के रिजल्ट आयो छिटो भनन् । चाडै भनिनौ भने त मलाई रिङ्गाटा लाग्ला जस्तो भैसक्यो ।’

एम्माः ‘बडो अचम्मको रिजल्ट आयो । अघि भरखर बुवाले फोन गरेर टेस्ट रिजल्टको बारेमा बताउनु भएको हो । त्यो टेस्टले त तिमी र म दुवै यी बुवाआमाको सन्तान होइनौ भन्ने पुष्टि भयो । नेपालका तिमीले साथ पाएका बुवाआमा नै हाम्रा बुवाआमा हुनुहुन्छ भन्ने बाहेक विकल्प केही सोच्न सकिरहेकी छैन । तर, यसरी म यहाँ कसरि छुटेँ अनि यो रहस्य बुवाआमालाई किन थाहा भएन ? म त एकदमै चिन्तित भैराखेकी छु ।’

मः ‘यो त झन् गडबड पो भयो त ! अव भेटेर कुरा गरौं । मेरो यहाँ आज गर्नै पर्ने त्यस्तो अर्जेन्ट काम छैन हाफ डे छुट्टि हालेर घर पुग्छु तिमी पनि मेरो घरमा आउ र त्यहीँ कुरा गरौँला । म त विलखबन्धनमा परिसकेँ, के गरु के गरुँ भैरहेको छ ।’

एम्माः ‘म आउन त तुरन्तै आउँथे, तर बुवा र आमा पो त्यो रिजल्टबाट धेरै चिन्तित हुनु भएको छ । उहाँहरु अहिलेको फ्लाइटमा स्टानस्टिड एयरपोर्ट आउँदै हुनुहुन्छ म उहाँहरुलाई पिकअप गर्न एयरपोर्ट जान्छु ।’

मः ‘त्यसो भए म पनि सँगै एयरपोर्ट जान्छु तिमी यतैबाट आउँ ।’

एम्माः ‘हुन्छ तिमी हस्पिटल अगाडिको बसपार्क निर आइपुग, अनि सँगै एयरपोर्ट जाउँला ।’

म म्यानेजरको कोठामा गएर ‘हाफ–डे छुट्टि लिएर म बाहिर जान्छु खासै अर्जेन्ट केही छैन’ भनेर अनुरोध गरेँ । बुवाआमा वित्नु भएको पिरले गर्दा चिन्तामा रहेको साहानुभूति पनि थियो म्यानेजरको मनमा अनि अर्जेन्ट काम पनि केही नभएको अवस्थाले गर्दा उसले सहजै ‘हुन्छ’ भन्ने जवाफ दियो ।

म हत्तपत्त हिँड्दै बसपार्क तिर एम्मा आइपुग्दासम्म पुग्ने गरी छिटोछिटो हिँड्दै मोबाइलमा दिनेशको नम्बर खोजेर कल गरेँ । फोन उठेन सिधै भ्वाइमेलमा पुगेकोले म एम्मासँगै बुवाआमा लिन एयरपोर्ट जाँदैछु उहाँहरुलाई लिएर हामी चारजना आइपुग्छौँ भनेर म्यासेज छाडें । एक मनले डिएनए रिजल्टले नेदरल्याण्ड्सका बुवाआमा हाम्रै जेनेटिक बुवाआमा होइननन् रहेछन भनेर पनि म्यासेज छाँडु जस्तो लागेको थियो तर फेरि अर्को मनले पछि नै भनौला भन्ने सोचेर फोन काटें । बसपार्क आइपुग्नु अघिको हस्पिटलबाट कारहरु एग्जिट हुने बाटो काट्न लागेको एउटा कार आउँदै रहेछ उ जान्छ र बाटो काट्छु भनि पर्खिएको कारको ड्राइभरले कार रोकेर मलाई बाटो काटेर अगाडि बढ्न इसारा गरेपछि म हिँडें ।

म कारपार्क पुगेर उभिएकी मात्र के थिएं एम्माको गाडी पनि अगाडिको ट्राफिक लाइटमा रातो बत्तिबलेकाले रोकिएको देखें । एकैछिनमा उनले कार अगाडि बढाउँदै मोडेर म नगिच आएर रोकिन । म पनि ढोका खोलेर अगाडिको सिटमा बसें उनले कार कुदाउन थालिन ।

एम्माले बाटोमा अगाडि हेर्दै गाडी गुडाइरहँदा नै मैले उनको अनुहार तिर हेरेर भने ‘हामी दुई बैनी भएको त सजिलै पुष्टि भयो तर अरु सवै कुरा झन रहस्य बन्दै गैरहेको छ । यो रहस्य पनि कहाँ पुगेर टुङ्गिने हो कुन्नि ! हुँदाहुँदा बाँचेका बुवाआमाबाट रहस्य पत्ता लाग्छ भनेको उहाँहरु नै झन् यो रहस्यको भूमरिमा पर्नु भयो ।’

एम्माले ‘यो रहस्य बढेको बढै छ, तिमीर म मा पनि को दिदीको बहिनी भन्ने पनि थाहा हुन सकेन, जे सुकै होस म तिमीलाई दिदी नै भन्छु है ।’ भनिन् ।

मैले पनि त्यो कुरा सहजै स्वीकार गरेँ र भनें ‘हुन्छ नि, यस्सो हेर्दा पनि म दिदी नै जस्तो देखिन्छु क्या । तिमी साइकिलिङ गर्ने, हरेक दिन मर्निङवाक गर्ने र बच्चाबच्ची पनि नजन्माएकीले तिमी म भन्दा सानै देखिन्छौ । त्यसैले पनि तिमी बैनी म दिदी ल.. आज देखि ।’

हामी बीच दिदी बैनीको टुङ्गो पनि लगायौं । दुई बैनीले कुरा गर्दै जाँदा बाटो पनि कति छिटो काटिएछ । एयरपोर्ट पुगेर कारपार्कमा गाडी राखेर हिँड्दै भित्र एराइभल लेखेको बोर्ड पच्छाउँदै गएर एकछिन कुरेपछि बुवाआमा पनि आइपुग्नु भयो । बुवाले पाइन्ट सर्ट माथि बाक्लोखालको कोट र घाटीमा गल्बन्दी भिर्नु भएको रहेछ, आमाले पाइन्ट टिसर्ट माथि पातलो खालको स्वीटर लागउनु भएको रहेछ । बुवाले चक्कावाला सुटकेर लतार्दै र आमाको काँधमा आफ्नो हाते झोला भिरेर आउनु भयो ।

सामान्य हेलो हाय भए पछि कारमा बसेर हामी घर पुग्दा आधाबाटो देखि नै पानी परेको परै गर्यो । म अगाडिको बायाँ सिटमा बसें, एम्माले गाडी चलाइन र बुवा र आमा दुवैजना पछाडिको सिटमा बस्नु भयो । बाटोभरि नै त्यो डिएनए टेस्टको बीचमा कुरा गरेनौ । अरुअरु कुरा गर्दै बाटो सजिलै कट्यो । एम्मालाई भने झरीले गर्दा वाइपरको सहारामा गाडी चलाउन अलि असजिलो त भए होला तर खासै उनले पनि केही गुनासो गरिनन् ।

घरमा पुग्दा दिनेश र छोरीले बाटो हेरेर बसेका रहेछन् । हाम्रो गाडी रोकिएपछि दिनेशले ढोका खोल्दै स्वागत गर्न ढोकामै आइपुगे । सवै जना भित्र छिरे पछि दिनेश, छोरी र बुवाआमाको परिचय पनि भयो । दिनेशले ‘नेपाली खाना बाउ–छोरी मिलेर तयार गरेका छौं । अहिले खाँदै कुरा गर्दै गर्ने कि ?’ भनेर प्रस्ताव गरे ।

मैले आमाबुवा र एम्माले पहिला उत्तर दिए सजिलो होला भनेर चुप्प बसेकीं थिए, आमा भने यस्तो कुरामा अलि बोल्ने आदत पनि रहेछ अनि ‘ठिक्क खाना खाने समय पनि भएको छ, भोक पनि लागेको छ खाना आउँ न त’ भन्नु भयो । उहाँले अंग्रेजीमा बोल्दा अलिअलि यूरोपियन टोनमा बोलेको बडो मिठो सुनिदो रहेछ । सायद टेस्ट रिजल्टको चिन्ताले हो कि किन हो बुवा अलि चिन्तित भए जस्तो र कम बोलिरहनु भए जस्तो लागिरह्यो ।

बुवाले कोट खोलेर लबीमा हामीले कोट झुण्डाउन सजिलो हुन्छ भनेर राखेको दराजमा राख्नु भयो । अनि बाथरुममा छिरेर हातमुख धोएर डाइनिङ टेबलमा आउनु भयो । आमाले भान्साकै सिंकमा हात धुनुभयो र ‘बडो मिठ्ठो बासना आइरहेको छ, खाना खुब मिठो होला ?’ भन्नु भयो ।

दिनेश र छोरीले मिलेर खाना तयार पारेका रहेछन् । हरियो सलाद पनि ट्रेमा ठिक्क पारेका । अरहरको दालमा लसुनले झानेको घिउको स्वाद । भात र आलु परवरको एउटा तरकारी र आफ्नै बारीको रायोको साग टिपेर साग पनि पकाएका रहेछन् । नेपाली खानाको परिकारको बारेमा बुवाआमा र एम्मालाई दिनेशले ब्याख्या गरे । खाना सम्बन्धमा दिनेशको मिठासपूर्ण ब्याख्याका बीचमा छलफलको कुराले रमाइलो पारा मै खाना खायौं ।

खाना खाएपछि सवै जना सोफामा बसेर कुराकानी गर्न थाल्दा मैले र छोरीले मिलेर जुठा भाँडा सफा गर्ने डिसवासर मेसिनमा हाल्यौं र हामी पनि सँगै बसेर कुराकानीमा सामेल भयौँ ।

बुवाले डिएनए परिक्षणको रिजल्टबाट पिरपरेको मनलाई गाठो पार्दै ‘जीवन सधै सिधा रेखामा नचल्ने रहेछ, एम्मा र अस्मिताको भेट भए पछि तिमीहरुको मनमा ज्वार भाटाहरु छचल्किएछन् । त्यसपछि हामीसँग अस्मिताको भेट हुँदासम्म पनि झन रमाइलो थपिएको थियो । तर, आज विहान त्यो टेस्ट रिजल्ट आएपछि हामी बुढाबुढी त अचम्म परेका छौं । यो रहस्यको गुथ्थी झन जेलिएर गयो ।’

बुवाले त्यो भन्दै गर्दा उहाँका आँखा रसाइरहेका थिए । स्वर भारि भएको थियो । न हामी यो रहस्य विर्सिएर अगाडिका दिन रमाउन सक्ने अवस्थामा थियौं, न त रहस्य खोतल्ने शुत्र नै भेटिरहेका थियौ । हामीले त बुवाआमाको भेटबाटै रहस्य पत्ता लाग्ला भनेर सोचेको डिएनए टेस्ट गर्दा समेत झन बल्झियो ।

बुवाले नै अगाडि थप्नु भयो ‘नेपालमा अस्मिताको बुवाआमा पनि रहनु भएन भन्ने थाहा पाएर पनि झन् पिडा भैरहेको छ । उहाँहरुको केही शरीरका कुनै कुरा ‘रौँ’ सम्म भए पनि फेला पार्न पाए पनि तिमीहरुका बायलोजिकल बाउआमा उहाँहरु नै हो कि होइन भन्ने त यकिन गर्न हुन्थ्यो । नेपालको संस्कृति संस्कार कस्तो छ मलाई थाहा पनि भएन, यदि सम्भव छ भने उहाँहरुलाई गाडिएको ठाउँबाट कुनै सेम्पल झिकेर टेस्ट गर्न पाए हुन्थ्यो ।’

बुवाले पाश्चात्य सभ्यता अनुसार मृत शरीरलाई गाडेर सद्गत गरिने परम्परा अनुसार प्रस्ताव गर्नु भएको विषय मैले सहजै अनुमान गरिहालें र भने ‘हामीले हिन्दू संस्कृति संस्कार पालन गर्ने हुनाले मृत्यू पछि शबलाई जलाइन्छ र बुवा र आमा दुवैलाई जलाइसकिएकोले उहाँहरुको डिएनए सेम्पल भेटाउन त्यो सम्भावना रहेन ।’

हुन त नेपालबाट सेम्पलको जोहो गरेर बायलोजिकल बुवाआमा उहाँहरु हो कि होइन भन्ने निधो गर्दैमा पनि हाम्रो रहस्य त सुल्झि हाल्ने वाला छैन । बुवाआमाको निधो भए पनि हामी दुई बैनी कसरी छुट्टियौं भन्ने प्रश्न पनि छँदैछ । त्यसैमाथि बुवाले आशा गरेको त्यो सहजै सेम्पल भेटाउन सकिने अवस्था नरहेको जानकारीले बुवालाई थप पिडा भयो । उहाँले मेरो कुरा सुने पछि लामो स्वास फेरेको भावले उहाँको पीडा झन् बल्झिएको सवैले बुझियो ।

यो रहस्यको जालोले आमालाई पनि उत्तिकै पिरोलीरहेको थियो । एक महिना अघिसम्म आफ्नै बायलोजिकल छोरी मानेकी छोरी, त्यो पनि एकमात्र सन्तान समेत अफ्नो वास्तविक छोरी नभएको र अन्य ब्यहोरा पनि केही नरहेको प्रश्ट हुँदाहुँदै जीवनका उत्तरार्धका समयमा जेलिएको पारिवारिक असमन्जसले उहाँलाई आघात (विलखबन्धनमा) पर्नु स्वभाविकै भन्न पर्यो । तै पनि ‘एक छोरीको ठाउँमा झन दुई छोरी पाएकोमा खुसी महसुस पनि भैरहेको छ र यो रहस्यले पिरोलिरहेको पनि छ । यस सम्बन्धमा केही कुरा थाहा हुन सक्ने मेरी एउटी साथी छन् । उनी नर्स थिइन । अहिले रिटायर्ड भएर यहीँ यूकेमा बस्ने गर्छिन । म सुत्केरी हुँदा अपरेसन थिएटरमा पनि उनी नै थिइन । उनी मेरो सारै मिल्ने साथी हुन । हामी सँगै एउटै स्कूलमा पढ्थ्यौँ । त्यो दोसती अहिले सम्म नै चलिरहेको छ । अव उनलाई भेटेर सोध्यो भने केही थाहा हुन्छ कि एउटा त्यो आशा बाँकी छ ।’ भन्नु भयो ।

आमाको कुरा सुनेर बुवाको मनिल अनुहारमा पनि थोरै चमक झल्कियो । ‘ए त्यो तिम्रो इभा भन्ने साथी हो । अँ त नि एम्माको जन्म अस्पतालमा हुँदा उनी नै थिइन त त्यहाँ । अहिले जस्तो थिएन हाम्रो समाज । म अपरेसन थिएटरमा भित्र थिइन । उनी त अपरेसन थिएटर मै थिइन । हो त नि उनलाई केही थाहा हुन सक्छ ।’ अलि उत्साहित हुँदै बुवाले भन्नु भयो ।

आमाले आफ्नो फोन झिकेर इभालाई फोन लगाउनु भयो । पुरै घण्टी जाँदा पनि फोन उठेन । तर एकै छिन पछि उताबाट इभाले आमालाई कल ब्याक गर्नु भयो । अनि आमाले आफू यूकेमा आएको र भेट्न चाहेको कुरा बताउनु भयो । इभाले भोलि पल्ट विहानै भेट्ने आशय जनाउँदा पनि आमाले ‘एउटा जरुरी काम पनि छ, हामी अहिले तिम्रो घरमा आउँछौ है, प्लिज दुख्ख नमान, मलाई एकदम ठूलो सहयोग हुने छ । मैले तिम्रो एड्रेस चेक पनि गरेकी छु, यहाँबाट आधा घण्टा जतिमा हामी आइपुग्छौ ।’ भन्नु भयो ।

अति मिल्ने साथीको त्यस्तो आग्रह उहाँले नकार्ने कुरा पनि त भएन अनि ‘हुन्छ, आइहाल नत’ भन्ने जवाफ पाउनु भएछ आमाले ।

हामी दुई वटा गाडी लिएर दिनेश र छोरी समेत सवै जना जाने सल्लाह भयो र करिब पैतालीस मिनेट जतिमा हामी अध्यारो चिर्दै उहाँको घरमा पुग्यौ । डायनिङ नेबुलमा ग्रीन टीको जग र साना कप प्लेटहरु देखेर हाम्रो लागि राखिएको होला भनेर मैले अनुमान गरिहालें ।

एक जना बुढीमान्छे मात्र बस्ने घर एकदम सफा रहेछ । कतै छोइए पनि दाग लाग्ला जस्तो । उहाँको घरमा एकै पटक यत्ति धेरै मान्छे नआउने भएर पनि होला कुर्सी धेरै नभएकोले म र छोरी भूइमै बस्यौं । आमाकी साथी इभाले अप्ठेरो मान्नु भयो तर फरक पर्दैन भनेर चित्त बुझाउन लगायौ ।

एक छिनका भला कुसारी गरेपछि आमाले आफ्नी साथीतिर हेर्दै भन्नु भयो ‘हामी एउटा ठूलो रहस्यमा फसेकोले तिम्रो शरणमा आएका छौं ।’

आमाको कुरा सकिन नपाउँदै ‘एक्कासी तिमीहरु आएको र यी दुईटी केटीहरुलाई देख्ने वित्तिकै मैले सवै कुरा बुझिसकें ।’ इभाले भन्नु भयो ।

बुवाले रहस्य यिनलाई थाहा रैछ भन्ने बुझेर होला लामो सन्तोषको स्वास फेर्नु भयो । आमाले ‘हेर इभा यो रहस्यले हाम्रो निद हराम भएको छ । तिमीलाई केही थाहा छ कि भन्ने झिनो आशा लिएर हामी आएको तिमीलाई खास रहस्य थाहा छ जस्तो भान भयो । प्लिज यो रहस्य तिमीलाई थाहा छ भने हाम्रो मन सान्त पारिदेउ । सवै बताइदेउँ ।’

इभाले ग्रीन टीको चुस्की मुखमा लगेर एक श्रुप तान्नु भयो र भन्नु भयो ‘यो रहस्य यसरी कहिलै खुल्ला र तिमीलाई थाहा होला भनेर मैले कल्पना नै गरेकी थिइन । त्यसैले तिमीलाई यस विषयमा केही बताइन पनि । यी दुईटी केटी कसरि भेट भएर यो स्थिति आयो, मलाई थाहा छैन । तर, जे भैरहेछ ठिकै भएको होला । यस्तो यो रहस्य तिमीलाई बताउनै पर्ने बाध्यता नपरेको भए मैले तिमीलाई यस विषयमा बताउने वाल पनि थिइन ।’

आमाले अलि हतासिए जसरि ‘प्लिज इभा, हामी छट्पटाइरहेका छौ । यी दुईटी जुम्ल्याहा हुन र हाम्रा बायलोजिकल छोरी होइनन् भन्ने कुरा तिमीलाई पहिला देखि थाहा रहेछ । यो रहस्य यसरि किन गोप्य राखेको के कस्तो बान्ध्यताले गोप्य राख्न परेको हो छिटो भनिदेउ ।’ भन्नु भयो ।

‘मेरा श्रीमान अहिले जिवित भएको भए मैले अहिले पनि तिमीलाई यो रहस्य बताउन सक्ने थिइन होला । तर अहिले मेरा पति वितिसकेको हुनाले मैले उनलाई दिएको बचन उलंघन गरेको पनि हुने छैन । त्यसैले यो रहस्य बताउन मलाई अव समस्या छैन । यो रहस्य मैले उनको जीवनकालसम्म कसैलाई पनि बताउँदिन भनेर बचन दिएकी हुनाले म बाधिँएकी पनि थिएं । अनि तिमीलाई यो रहस्य थाहा नभएकोले पनि यस विषयमा सोधेकी पनि थिइनौ । तर, अहिले स्थितिले काल्टे फेरेछ र तिमी मसँग यो कुरा सोध्न आयौ ।’ इभाले भन्नु भयो ।

आमाले ‘यस्तो केही रहस्य भएको विषयमा हामीलाई केही पनि थाहा नभए पछि तिमीसँग केही सोध्ने कुरा पनि त भएन । अहिले यी दुई केटीको संयोगले भेट गराएछ । उनीहरुलाई एक आपसमा आफू जस्तो अर्की केटी देखेपछि कतै जुम्ल्याहा कारणबस छुट्टिएका त होइनौ ? भन्ने शङ्का लागेपछि डिएनए परीक्षण गरेर हेर्दा दुई बहिनी रहेको थाहा पाएछन् । त्यस पछि हाम्रो पनि डिएनए परीक्षण गर्दा यी दुवै हाम्रा बाइलोजिकल सन्तान होइनन् भन्ने पुष्टि भए पछि हामी त यो रहस्यमा फसिहाल्यौ नि । अव भने तिमीलाई यस विषयमा थाहा रहेछ र रहस्य के हो भन्ने हामीले थाहा पाउने भयौँ भनेर मन सान्त भएको छ । मन पनि अलि शान्त भयो ।’ भन्दै कुरा सकेर ग्रिन–टीको स्रुप तान्नु भयो ।

इभा अन्टिले कुरा अघि बढाउनु भन्दा पहिला फेरि एक स्रुप कपको चिया तान्नु भयो । अव अलि लामो गरी विस्तार गरेर रहस्यको पर्दाफास गर्नुहुने भयो भन्ने अनुमान गरें । उहाँले अघि भन्न थाल्नु भयो ‘पहिला मैले यो रहस्य मेरा पति जिवित हुँदासम्म नबताउने भनेर बन्धनमा परेको विषयमा बताउँछु त्यसपछि के के भएर यी दुई जुम्ल्याहा बैनीहरु छुट्टिएर यता र उता भए भन्ने बताउने छु ।’ अन्टिले त्यो भन्न नपाउँदै कुरा टुङ्गिनु भन्दा पहिला नै आमाले भन्नु भयो ‘म त यो खुल्दुलीले मरिरहेकी छु, त्यसैले कृपया पहिला यी दुईटी कसरि छुट्टिए ? म सुत्केही हुँन अपरेसन थिएटरमा गए पछि मलाई बेहोस पारिएपछि के के भयो भन्ने मलाई बताइ देउ ।’

अन्टिः ‘भन्छु, भन्छु, नआत्तिउ अव त सवै म बताउनै लागेकै छु नि ! एक छिन धैर्य गर । तिमीलाई हातार भएको मैले बुझेँ पहिला के के भयो भन्ने बताउँछु । त्यस पछि मैले यो रहस्य खोल्न नसकेको बाध्यता पनि बताउँछु । ल सुनः
तिमी र म सानै छँदैदेखि सँगै हुर्कियांै, पढ्दा पनि सँगै भयौं, तिम्रो सवै कुरा तिमीले मसँग शेयर गर्ने हुनाले मलाई सवै थाहा छँदै थियो । मेरा कुरा पनि सवै कुरा तिमीलाई थाहा नै थियो । तर यो रहस्यको विषय तिमीले पनि थाहा नपाउँदा तिम्रो नै भलाइ छ भन्ने भएकोले पनि तिमीलाई मैले नबताएकी हुँ । तिमीलाई बच्चाको असाध्यै रहर थियो । तिम्रो गर्भ रहँदा कम्प्लीकेशन भएको पनि तिमीलाई थाहा नै छ । विर्सेकी छैनौ होला ।’

‘हो तिम्रो श्रीमान नै मेरा गायनोकोलोजिस्ट (स्त्री रोग विशेषज्ञ) भएको हुनाले उनले मलाई सम्भव भए जति सहयोग गरेको पनि मलाई थाहा छ । उनको सहयोगले गर्दा नै मैले बच्चाको सुख्ख पाएकी भन्ने पनि मलाई थाहा छ । त्यस्तो कम्प्लिकेशनको गर्भ पछि बच्चाको सुखः पाएकीमा म त अर्को बच्चा जन्माउन अव सम्भव छैन भनेर तिम्रो श्रीमानले भन्दा पनि मैले खासै पीर गरिन नि त ! तर, बच्चा जन्माउन मलाई अपरेसन थिएटरमा पुर्याएर बेहोस पारिए पछि के भयो भन्ने मलाई केही थाहा भएन । अहिलेसम्म थाहा नपाउँदा पनि फरक परेको थिएन । तर, अहिले मैले त्यो रहस्य थाहा नपाइ नहुने अवस्था भयो । साथै, रहस्य छ भन्ने थाहा पाए पछि त्यो रहस्य नखुल्दासम्म मेरो आधा प्राण मात्र बाँकी छ । अँ अरु के के भएको हो, सवै भन ।’ आमाले अनुनय विनयको भावमा अनुरोध गर्नु भयो । मानौ आमा निरिह हुनु भएको छ ।

आमा प्रति मेरो दयाँ जाग्यो । एक मनले त एउटी विरामीका रुपमा एम्मा भेटिए पछि यो निधिखोजी गर्न नथालेको भए शान्ति हुन्थ्यो जस्तो पनि लाग्न थाल्यो । न हामी यो खोजतलासको लस्करमा फस्नु पर्ने थियो, न त यी बुवा र आमालाई नै यो बुढेसकाल चिन्तामा पर्नुहुने थियो । उहाँहरुलाई सोच्दै नसोचेको रहस्य खोतल्ने झन्झट् र दिमागी दवाव पनि पर्ने थिएन । संयोगले एम्माको उपचार गर्न पनि मैले नै परेको । मेरो सट्टा अरु कुनै डाक्टरकहाँ उनको उपचार पुगेको भए पनि हामी सवैले यो परेसानी भोग्न त पर्ने थिएन भन्ने लाग्न थाल्यो । नहुनु पर्ने दुर्घटना भैहाल्यो नेपालका बुवाआमा वितिहाल्नु भयो । उहाँहरुले यो अलमल र रहस्य तथा कल्पनै नगरेकी एउटा हुर्किकी पाकी छोरी बुढेसकालमा पाउनु हुने थियो । तर, यो दुनियाँलाई विदा गरेर गैहाल्नु भयो उहाँहरुले यो कसरि यस्तो विछोड भयो भन्ने चिन्ता भोग्न पनि परेन । रहस्य खोतल्न मेहेनत गर्नु पनि परेन । नजानीकनै दुनियाँ छाडेर जानु भयो अव कहिलै जान्नु हुने पनि छैन ।

इभा अन्टिले विस्तार लगाएर रहस्य भन्दै गर्दा मेरा मनमा भने ती कुरा पनि खेलिरहेका थिए । उहाँले भन्दै हुनुहुन्थ्यो ‘तिम्रो गर्भ एकदमै कम्प्लिकेशन भएकोले बच्चा जिउँदो जन्मन सक्ने अवस्था करिब थिएन नै भन्ने मेरो पति लाई थाहा थियो । उनले मलाई त्यो कुरा बताएका थिए । तर, तिम्रो बचपन देखिको आदत मलाई थाहा थियो । मलाई कहिल्यै बच्चाको चाहना भएन तर तिमी भने बच्चा नभै नहुने मनस्थितिमा थियौ । त्यो त तिमी र मेरो बीचमा धेरै छलफल नै हुन्थ्यो । त्यो कुरा मैले मेरा पतिलाई बताएकी थिएँ । त्यसैले उनले मानव समाजको हितका लागि गर्न थालेको एउटा उनको अनुसन्धानबाट तिमीलाई पनि सन्तान सुख हुने, दुनियाँलाई पनि राम्रो उपलब्धि पुर्याउने उनको नीजी ध्याय पनि पुरा हुने भनेर एउटा योजना बनाएका रहेछन् ।

मेरा पति नवित्दासम्म पनि नेपालका यी अस्मिताका बुवासँग मेरा पतिले सम्पर्क गरिरहन्थे । अस्मिताको हरेक गतिविधिको उनले रेकर्ड पनि लिइरहन्थे । उनी धेरै पटक नेपाल पनि गएका छन् । अस्मिताका नेपालका बुवा र मेरो पति निकै मिल्ने साथी थिए । तर, अस्मिताका बुवालाई मेरा पतिले मानव समाजको हितका लागि अनुसन्धान गर्न उनको सहयोग लिन पनि दोस्ती गरिरहेका थिए भन्ने चाही उहाँलाई थाहा थिएन । त्यो कुरा थाहा भएको भए सायद त्यो अनुसन्धान त्यत्ति सजिलरि अगाडि पनि बढ्ने थिएन होला । उनीसँग म पनि नेपालमा धेरै पटक गएकी छु । सधै त म जान्थिन तर उनी धेरै पटक जान्थे ।’ मैले नेदरल्याण्ड्सका मेरा बुवाका साथी जो नेपाल गै राख्नु हुन्थ्यो उहाँको बारेमा संझिएं । यी अन्टीसँग भेट नभएको भने धेरै वर्ष भएछ त्यसैले विर्सि पनि सकेकी रहेछु । उमेर छिप्पिएर अलि रुप नै पनि फेरिएछ । त्यसैले गर्दा पनि नचिनकी हुँला । तर, अहिले अन्टिका कुरा सुने पछि भने मैले पुराना कुरा संझिएँ । ती नेपालमा भेटिरहेका ती अंकलको अनुसन्धान के थियो होला भन्ने जिज्ञासा मनमा भरिएर आयो । सवै कुरा जान्ने खुल्दुली भरिएर आयो । तर, रात छिप्पिँदै थियो । बाहिरँको अन्धकारलाई स्ट्रिट लाइटले हराइरहेको थियो । ती लाइटको प्रकाशले भगाउन नसकेको भए अन्धार चुक घोप्टाए जसरी पोखिने थियो । पुर्णिमाको रात भएको भए पनि जुनको उज्यालोले केही त देखिन्थ्यो होला तर औसीको रात भएकोले अन्धकार थियो तर भौतिक सुविधासरी बिजुलीबत्तीको सुविधाले अन्धकारको मार भने भोग्न परिरहेको थिएन ।

ती अंकलले सधै मेरा लागि कत्ति सामान लगिदिनु हुन्थ्यो । मेरो पढाइको, चाहनाको र भावनाहरुको विषय निधै धेरै कुरा सोध्नु हुन्थ्यो । अरु कसैले मसँग त्यसरि सवै जानकारि लिएको मैले अनुभव गरेकी थिइन । अहिले बल्ल उहाँले कुनै अनुसन्धानका लागि मसँग ती कुराहरु सोध्नु हुन्थ्यो होला भन्ने अनुमान गर्न सकिरहेकी छु ।

अन्टिले अगाडि भन्न थाल्नु भयोः ‘अस्मिताकी आमा पनि त्यसैबेला गर्भवती हुनुहुन्थ्यो र उहाँको गायनोकोलोजिस्ट डाक्टर पनि मेरै पति थिए । संयोगले पनि सवै कुरा साथसाथै भैरहेको थियो र सुत्केरी हुने समय पनि तिमीहरु दुवैको सँगसगै चलिरहेको थियो । सुत्केरी हुने दिन पनि एउटै दिन तोकेर तिमीहरु दुवैलाई एकै दिन अस्पतालमा भर्ना गरिएको थियो ।’

आमाले पनि अलि निधार खुम्चाएर सोँच्नु भयो । सायद पुराना दिन संझन खोज्दै हुनुहुन्थ्यो क्यारे, पुराना कुरा संझिन दिमागमा जोड्दिँदै भन्न थाल्नु भयो ‘मलाई याद छ, त्यस दिन म अस्पतालमा भर्ना हुँदा एउटी एसियन महिला पनि हुनुहुन्थ्यौ । अरु सवै गोरा रङ्गका आइमाइहरु मात्र थिए हामीहरु भएको वार्डमा । उहाँले पनि एउटी छोरीलाई जन्म दिनु भएको थियो । उहाँ भने छोरीलाई लिएर अस्पतालबाट अपरेसन भएको अर्को दिन नै जानु भएको थियो । तर, म भने एक हप्तासम्म अस्पतालमा बसेकी थिएं । डाक्टरले पनि मेरो गर्भको कप्लिकेशले गर्दा मेरो अपरेसनको घाउ पनि अलि जटिल नै हुन पुगेको बताएका थिए ।’ इभा अन्टि एक छिन म ट्वाइलेट गएर आउँछु भनेर उठेर कोठा बाहिर निस्कनु भयो । अनि बुवाले आमालाई सम्बोधन गर्दै सोध्नु भयो ‘तिमीले सुत्केरी हुँदा एसियन महिला पनि भर्ना भएको भन्ने विषय मलाई भने थाहा थिएन । तिमीले एम्मा सानैँ छँदा, उनको कपाल कसरि कालो भयो भन्ने तर्क गरेको भने म संझन्छु । हाम्रो परिवारका अरु सदस्यको भन्दा एम्माका आँखा पनि काला रङ्गको भएको विषयमा पनि हल्का चर्चा त हामीले पनि गर्ने गरेको याद त छ तर त्यस विषयमा हामीले खासै महत्व राखेर सोचेनांै पनि र कुनै शङ्का त झन् गर्दै गरेनौ । अहिले बल्ल त्यो प्रसँग जोडिंदै गएको महशुस गर्दै छ ।’

बुवाले कुरा सक्नु भएको थियो कि इभा अन्टि ट्वाइलेटबाट फर्किएर कोठाभित्र पस्न थालेकोले कुरा सक्नु भएको हो बुझ्न सकिन । उहाँले आफ्ना कुरा र तर्क प्रस्तुत गर्न भन्दा पनि इभा अन्टिले खुलासा गर्न थाल्नु भएको रहस्य थाहा पाउन पनि आफ्ना कुरा छोट्याएको हुन सक्ने अनुमान पनि गरें । सायद बुवाका ठाउँमा म भएको भए पनि त्यसै गर्थे जस्तो भान भयो ।

इभा अन्टिका घुडा दुख्दा रहेछन् भन्ने उहाँ उठ्दा बस्दा र हिँड्दा पनि चाल पाइहालिने रहेछ । उहाँलाई पहिला नेपालमै गएको समयमा मैले भेट्दा त उहा हट्टाकट्ठा नै हुनुहुन्थ्यो । सायद अर्थोराइटिस बाथ रोगले होला घुडा दुख्ने ।

घुँडाको दुखाई गाहरोसँग खटाउँदै र मुखमा आएको आईया भन्ने स्वरलाई दबाउँदै सोफामा बस्नु भयो । उहाँ बसेपछि हामीले उहाँका कुरा सुन्न मौन थियौं । उहाँले थोरै हिँड्दा पनि अलि बढेको स्वासलाई अलि मत्थर हुन्जेल विसाएर भन्न थाल्नु भयो ‘वास्तवमा मेरा पतिलाई तिम्रो पेटको बच्चा जिउँदो जन्माउन सकिँदैन भन्नेमा पक्का पक्कि नै थिए तर कुनै चमत्कार भएर जिउँदै भैहाल्छ कि भन्ने आशा पनि थियो । तिमीसँगको कुराकानी र तिमीसँग मैले गरेका वार्तालापका आधारमा मैले मेरा पतिलाई दिएको जानकारी अनुसार बच्चा जिउँदो नपाउँदा तिम्रो मानसिक अवस्था नै खल्बल हुन सक्ने सम्भावनाबाट उनी बडो चिन्तित थिए । उनले पहिलादेखि नै यदि बच्चा जिउँदो निकाल्न सकिएन भने के गर्ने भन्ने विषयमा सोचिसकेका रहेछन् । त्यसबाट तिम्रो पनि भलाई हुने र उनको अनुसन्धान पनि सफल हुने विश्वासमा थिए उनी । उनी त्यो अनुसन्धानबाट मानव जगत पुरैलाई फाइदा हुने र घाटा कसैलाई पनि नहुने तर यो रहस्य खुल्न हुँदैन भन्नेमा बडो सचेत थिए ।’

अन्टिको घाँटी अलि सुक्न थालेको जस्तो मानेर अर्को कोठाको डाइनिङ टेबलमा राखेको पानीको बोतल ल्याएर मैले उहाँलाई दिएं । पानीको दुई घुटकी पानी खाए पछि अन्टिले फेरि भन्न थाल्नु भयो ‘उनलाई रहस्य खुल्छ कि भन्ने ठूलो चिन्ता थियो त्यसैले मसँग पनि उनले बचन लिएका थिए । उनले मलाई यो रहस्य गोप्य राख्ने बचन कसरि लिएका थिए भन्ने विषयमा पनि मैल अलि पछि जनाउँने छु । त्यत्तिखेरसम्म अल्ट्रसाउण्ड जस्तो प्रविधि सजिलै उपलब्ध पनि थिएन र बच्चा जन्मिए पछि बल्ल छोरा कि छोरी भन्ने थाहा हुन्थ्यो । गर्भमा जुम्ल्याहा बच्चा छन् भन्ने पनि सिपालु गाइनोकोलोजिस्टले अनुमान गर्न त गर्थे तर पक्का पक्कि हुन्थेन । प्रविधि अहिले जस्तो नभएकोले त्यत्तिखेर भएका प्रविधिको अनुमान गर्यो भने तिमीले उनको अवस्था पनि बुझिहाल्छ्यौ । तर, उनलाई यिनीहरुकी नेपालकी आमाको पेटमा दुईवटा बच्चा रहेको अनुमान थियो । उनको योजना अनुसार यदि तिम्रो बच्चा जिउँदो निकाल्न सकिएन र एसियन आमाका दुई जुम्ल्याहा बच्चा जन्मिए भने दुईवटै आमाहरुलाई एकएक वटा बच्चा जिम्मा लगाइदिने उनको योजना थियो । उनले तिमीलाई खुसी पार्न मात्र त्यो योजना बनाएका भने होइनन् । त्यसरि एउटा छुट्टै समाज, संस्किृति र संस्कारमा हुर्कने बच्चा र फरक संस्कृतिमा हुर्कने बच्चाको स्वभाव र गतिविधिको विषयमा अध्ययन गरेर जेनेटिक हिसावले कतिसम्म मानव विकासमा भूमिका खेल्छ र समाज संस्कृतिले कति फरक पार्छ भन्ने यी दुई केटीबाट अनुसन्धान गर्नु उनको मुख्य योजना थियो । उनको रिसर्च पेपर उनले काम गर्ने यूनिभर्सिटीको ठूलो सफलता ठहरिएको छ । उनको त्यो रिसर्चको दुई वटा प्रतिलिपी यहाँ छन् म एउटा प्रति तिमीहरुलाई दिने छु र तिमीहरुले त्यसलाई आवस्यकता अनुसार कतिवटा बनाउनु पर्छ फोटो कपी बनाएर लिन सक्ने छौ ।’

उहाँले सवै कुरा बताउँदै गर्दा उहाँका आफ्ना पतिको निर्दोषिता प्रमाणित गर्न मेहेनत गरिरहनु भएको थियो । उनी दोषी थिएनन् यो मानव भलाईको लागि गरिएको अनुसन्धानको लागि उनले गरेको त्याग थियो भन्ने विस्वास दिलाउन जोड गरिरहनु भएको थियो । उहाँले पतिको निर्दोषिता जनाउन गरेको मेहेनतलाई मैले भने सकारात्मक रुपमा नै लिइरहेकि थिएं । एम्मा र बुवाआमाले कसरि लिइरहनु भएको थियो मैले अनुमान गर्न सकिरहेकी थिइन तर उहाँहरुले पनि सवैको भलाई गर्न उहाँले त्यसो गर्नु भएको सकारात्मक रुपमा लिनु भए हुन्थ्यो भन्ने आशा गरिरहें ।

अन्टिले फेरि एक घुटकी पानीले गला भिजाउनु भयो । यस पटक उहाँले पानीको घुट्की लिँदा उहाँलाई डायविटिज (मधुमेह) रोगले गर्दा पियास बढि लागेको अनुमान पनि गरें । तर, उहाँले बताउँदै गरेको मेरै विषयको रहस्य थाहा पाउने लालचका कारण उहाँको डायविटिज रोगको विषयमा मैले कुनै पनि कुरा गरिन । अगाडि भन्न थाल्नु भयो ‘त्यस दिन म पनि तिमीहरु दुई वटैलाई लगिएको अपरेसन थिएटर मै थिएं । तिम्रो बच्चा जिउँदो जन्मन नसके पछि, यस्तो सम्भावित अवस्था सोचे जस्तै भए पछि, अस्मिताकी आमाका दुई बच्चा मध्ये एउटा बच्चा तिमीलाई दिने ब्यवस्था गर्नका लागि त्यहाँ अपरेसन थिएटरमा भएका अरु नर्स र डाक्टरलाई त्यही ठीक समयमा मेरा पतिले बहाना बनाएर अरु कुरामा अल्मलाएका थिए । अस्मिताकी आमालाई पनि बेहोस पारेर अपरेसन गरेर बच्चा निकाल्न परेकोले उनले पनि दुईवटा बच्चा नै थिए भन्ने निस्चित हुने कुरा पनि भएन । त्यसैले पतिको र मेरो पुर्व सल्लाह अनुसारै मैले एउटा बच्चा तिमसँग र एउटा बच्चा अस्मिताकी आमासँग सुताइदिएकी थिएं ।’

कोठामा शान्ति थियो । अन्टि बोलिरहनु भएको थियो हामी अरु सवै चुपचाप उहाँका कुरा सुनिरहेका थियौँ । सियो खस्दा पनि आवाज सुनिने शान्ति बातावरणमा हामीले अन्टिका कुरा सुनिरहेका थियौँ । त्यत्ति भनिसके पछि अन्टिले ‘साच्चै हामी कुरा मात्र गरिरह्यौ, तिमीहरुलाई भोक लागे होला, म विस्कुट लिएर आउछु किचनबाट’ भन्नु भयो ।

एम्माले ‘हजुरले कुरा भन्नुहोस भान्सामा कहाँ निर छ भन्नुस म विस्कुट लिएर आउँछु’ भनिन् ।

अन्टिले ‘किचनको ढोकाबाट छिरेपछि दायाँ घुम्दा माथि भित्तामा झुण्डाइएको कप बोर्डको दोस्रो खण्डामा विस्कुटका डिब्बाहरु छन् झिकेर ल्याउँ । म बुढी मान्छेलाई उठ्ने बस्ने गरिरहन पनि समस्या हुन्छ । मैले गर्न नसकेकोले तिमीले आफै दुख्ख गर्नु पार्यो । के गर्ने बुढि भए पछि यस्तै गाहरो हुँदोरहेछ ।’

एम्माले विस्कुट एउटा ट्रेमा लिएर आइन । ग्रीन टीको मगबाट सवैको कपमा मैले चिया थपिदिएँ । हामीले त्यसो गर्दै गर्दा अन्टिले कुरा अगाडि बढाउँदै गर्नु भयो ‘नेपालकी आमाले लिएर गएकी छोरी यीनी अस्मिता रहिछन् । र, नेदरल्याण्डसकी आमासँगकी त्यो बच्ची एम्मा त मेरै अगाडि हुर्कि बढेकी त हुन नि । हुन त अस्मितालाई पनि मैले धेरै पटक भेटें तर एम्मा जति नजिक रहिनन् । मेरा पतिले तिमी दुईटीको स्वभाव हावभाव सवै लिखित रुपमा विस्लेषण गरेर रिसर्च पेपरमा विस्तार गरेका छन् । उनले रिसर्च पेपरको अन्तिममा एक डाक्टरले आमाहरुको जानकारी विना नै परिस्थिति सिर्जना गरेर सम्पूर्ण मानव हितको लागि गरेको अनुसन्धानको रिपोर्ट बाहिर प्रकाशन नगर्न यूनिभर्सिटीलाई पनि आग्रह गर्नु भएकोले यो रिपोर्टमा तिमीहरुको नाम कोड भाषाका रुपमा र देश र ठेगाना पनि कोड भाषाका आधारमा गरिएको छ ।’

अन्टिले कुरा विसाएको अनुभव गरेर आमाले भन्नु भयो ‘खास रहस्य त अव हामीले बुझ्यो । यसमा सवैको हित नै रहेकोले मलाई यो सवै जे भयो सवै स्वीकार्य छ, सायद यी दुवै छोरी र मेरा पतिलाई पनि स्वीकार नै होला भन्ने आशा छ । अव यो रहस्य तिम्रा पतिको जीवन रहँदासम्म गोप्य राख्न तिमीले गरेको प्रतिबद्धताको विषयमा तिमीलाई इच्छा लाग्छ भने बताइ देउ । तर, यति कुरा बुझे पछि तिमीले यो कुरा गोप्य राख्न बाध्य हुन परेको परिस्थिति तिमीलाई बताउनै पर्छ भनेर मैले कर भने गर्दिन ।’

अन्टिले कुरालाई अगाडि बढाउन थालिन, हुन पनि उनलाई हामी दुई बैनी किन छुट्टिन पुग्यौ ? कसले छुट्यायो ? भन्ने विषय जानकारी गराउनु भन्दा पनि यो छुट्याउनुको उद्देस्य सम्पूर्ण मानव हितका लागि अनुसन्धान कार्य अगाडि बढाउने उद्देस्यले छुट्याइएको थियो भन्ने बताउन हतार थियो । यो बताउँदा उनको मन पनि भारि विसाए जसरि हल्का भएको अनुभव भैरहेको थियो । त्यो उनको बडि ल्याङ्ग्वेज, आवाजको उतारचढाव र आँखाले झल्काइरहेका थिए । मलाई लाग्यो मलाई मात्र होइन हामी सवैले त्यो अनुभव गरिरहेका थियौ । उनलाई यो रहस्य पति जिवित हुँदासम्म आफूले गोप्य राख्न गरेको बाचाको विषयमा जानकारी गराउन पनि उनको मन उत्ताउलो भैरहेको थियो ।

‘फोकल्याण्ड टापुको विषयमा अर्जेन्टिना र बेलायतको झगडा वार्ताबाट समाधान भएन । दुईदेश बीच लडाइ चलिरहेको थियो । त्यही लडाइको समयमा बेलायतले फोकल्याण्डमा लड्न गोर्खा सेना पठाउन लागेको भनेर निकै प्रचार गर्यो । त्यो समयमा मिडियामा गोर्खा सेनाको विषयमा निकै चर्चा चलाइयो । संसारभरि नै बीबीसी भरपर्दो मिडियाका रुपमा स्थापित भएको फाइदा उठाउँदै गोर्खा सेनाको बहादुरी र मर्न नडराउने, लडाइमा दुस्मनको मासु नै पनि खान परे त्यसो गर्न पनि पछि नपर्ने क्रुरताको प्रतिकको रुपमा मिडियामा खुब प्रचार गरेको देख्ने र सुन्ने गरेपछि मेरा पति र मेरो बीचमा मान्छे जन्मदा नै स्वभाव लिएर जन्मन्छ कि समाज संस्कृति र संस्कारले मान्छेको स्वभाव निर्धारण गर्छ ? भन्ने छलफल हुन थाल्यो । हामीले त्यस विषयमा दिनदिनै जस्तो करिब एक महिनाजति निकै छलफल गर्यौ । यूनिभर्सिटीका प्रोफेसरहरुलाई खानखान निम्ता गरेर विविध विषयका विज्ञहरुसँग हामीले निकै चर्चा पनि गर्यौ । मेरा पतिलाई त्यस सम्बन्धमा जानकारी बटुल्न र अनुसन्धान गरेर पुष्टि गर्ने नसा नै चढ्यो । उनको सँगतले गर्दा पनि होला म पनि उनको त्यो जिज्ञासा पुरा गर्नमा मैले जति सहयोग गर्न परेपनि तयार हुन्छु जस्तो लाग्न थालेको थियो ।

त्यसबेलाको हाम्रो त्यो छलफल चल्ने ताका नै तिमीहरु गर्भवती भएका थियौ । मेरा पति नै तिमी दुवै आमाका डाक्टर भएकाले तिमीहरुको अवस्थालाई उपयोग गर्न सकिने भावना उनमा जागिसकेको थियो । तर, तिम्रो बच्चा जिउँदो जन्माउन भरमग्दुर प्रयास गर्नमा कुनै कसर बाँकी नराख्ने कुरामा उनी ढुक्क थिए । तर, मेडिकल साइन्सको उन्नति त्यो अवस्थाको भ्रुणलाई जिउँदो राख्न सकिने अवस्थामा उनलाई विस्वास नभएकोले अनुसन्धानलाई नयाँ प्रयोगको अवसर मिलाउने अवसर समाउन उनी अग्रसर भैसके पनि त्यो अवस्थालाई गोप्य राख्नु पर्ने विषयमा डाक्टरहरुको नैतिक जिम्मेदारी उलंघन भएको आरोपबाट उनलाई बच्नु पनि परेको थियो । उनी डाक्टर र म नर्स भएको परिवेषले पनि उनको त्यो विचारले सहायता पाइरहेको थियो । तर, उनको मनमा उक्त घटनाक्रमलाई कसरि गोप्य राख्ने भन्ने चाँजो मिलाउन भने समस्या भैरहेको अवस्था थियो । त्यसै बीचमा उनले मलाई बाचामा छिराउने निधो गरेछन् ।

हुन त उनले साधारण बचनमा मलाई बाधेको भए पनि सायद उनले भने जसरि मैले घटनाक्रमलाई गोप्य राख्थेँ होला नै तर उनी अझ बढि सुरक्षित हुन चाहन्थे । फेरि हामी भन्दा अघिल्लो पुस्तामा भन्दा हाम्रो समयसम्मको समाजमा लोग्ने स्वास्नीका बीचमा झगडा गर्ने र डिभोर्स गर्ने प्रचलन बढिरहेको थियो । हाम्रै कतिपय साथीहरुले पनि डिभोर्स गरेका थिए । त्यसैले पनि उनले कथम कदाचित उनको र मेरो बीचमा झैझगडा भएको खण्डमा, अझै झगडा बढ्दै गएर डिभोर्स कै स्थिति कथमकदाचित भै हाले पनि यो रहस्य अरुले थाहा नपाउन भनेर उनी अझै कडा प्रतिबद्धतामा मलाई बाध्न चाहन्थे । उनी एकदमै इमान्दार थिए त्यसैले हाम्रो त्यस्तो झगडाको स्थिति हुनेवाल त थिएन, आखिर भएन नै । अव त उनी नै यो दुनियामा नरहे पछि त्यो सम्भावना पनि रहेन । तै पनि उनी सुरक्षित हुन स्वभाव अनुसारको पुरै पाको काम गर्न चाहन्थे । उनको बानी बरु ढिलो नै किन नहोस गर्न थालेको काम दोहोर्याइ तेहर्याइ परीक्षण गरेर पाको काम गर्ने बानी थियो । कहिले काहीँ त उनले गरेको काम ढिलो हुँदा मलाई रिस पनि उठेर आउँथ्यो । कराउँथे पनि । तर, म जत्ति कराए पनि हतारिएर कुनै काम गर्दैन थे उनी । बरु धेरै पटक त पाको काम गर्छु भन्दा काम सक्नु पर्ने डेडलाइन नै नाघ्न पुग्दथ्यो । तै पनि उनले हतारिएर कामलाई कच्चा हुन भने कहिल्यै पनि दिएनन् ।

त्यहीँ पाको काम गर्ने बानीका कारण उनले मलाई अचम्मको परिस्थिति पारेर रहस्य नखोल्ने बाचामा बाधेँ । उनले अनुसन्धान गर्न दुई अलग समुदायका बच्चा साटेर परिक्षण गरेको खण्डमा जिनले मानिसको आनिबानी निर्धाण गर्छ कि हुर्किएको समाज, संस्कृति र सस्कारले निर्धारण गर्छ भन्ने पक्का पक्की हुन्छ त्यसैले दुई बच्चाको आमाबुवा साट्ने विषयमा त जानकारी दिएका थिए तर तिमीहरुकै बच्चाको विषयमा परिक्षण हुने भनेर भनेका थिएनन् । मलाई अहिले पनि त्यो रात खुब याद छ ।

मैले उनिसंग यो रहस्य कसैलाई पनि नबताउने बचन दिएकी थिएँ र आज सम्म कायम रहेँ । अव उनी छैनन् । त्यसैले मैले तिमीहरुलाई यो कुरा बताएर बाचा तोडेकी छैन । म खुसी छु ।’

समाप्त ------------------समाप्त ----------------------------समाप्त

भाग –१७

भाग –१ (प्रथम भाग– सुरूवात)
 
 
There are no data records to display.
   
Comment:
Date:
Name:
LastName:
Address:
City:
PostalCode:
PhoneNumber:
EmailAddress:
WritingId:
Insert  Cancel

www.flykathmandu.co.uk

Received Comments



www.flykathmandu.co.uk
Please write email to belbase@flyktm.com to get permission to publish my article to your media.