Govind Belbase
<March 2024>
SuMoTuWeThFrSa
252627282912
3456789
10111213141516
17181920212223
24252627282930
31123456
टुप्पी (ब्यङ्ग–साहित्य)
टुप्पी (ब्यङ्ग–साहित्य)

–गोविन्द बेल्वासे

टुप्पी भनेको मानव शरीरको सवैभन्दा माथिको भाग । राज्यका कार्यकारी प्रमुख ओलीको प्रधानमन्त्री पद पनि अहिले टुप्पी सरह नै छ । सनातन धर्ममा टुप्पीको महत्व पनि त्यत्तिकै माथि छ । अहिलेको बन्दाबन्दी अवस्थामा योगको पनि महत्व छँदै छ । शीर-आशन योग गर्दा भने टुप्पी नै सवैभन्दा तल पर्छ । टुप्पीको महत्व र सन्दर्भ राजनीतिका खेलमा पनि तुलना गर्न सकिन्छ । इतिहासमा पनि राजनैतिक इगो पालेका चाणक्यले मगधको सिंहासनमा बसेका राजाका विषयमा पनि शिखा (टुप्पी) खुलै राख्ने कसम खाएका थिए । इगो पुरा भएपछि मात्र शिखा बाँध्छु भनेर कसम खाएका थिए । सम्राट धनानन्दलार्इ राजगद्दिबाट फाल्नु उनको इगो थियो ।

खासमा नियम अनुसार त टुप्पी भनेको गार्इको खुर बराबरको साइजमा हुनु पर्छ भन्छन् । तर, म जान्ने हुँदासम्ममा कालिदासको क दुब्लाए जस्तै टुप्पी दुब्लाएर गार्इको खुर आकारबाट ट्रान्जिस्टरको एरियल जस्तो भैसकेको थियो । नाममात्रको धर्सो मात्र बचाएका हुन्थे । नौ कक्षामा पढ्दा तीन रूपैँया लिएर फूलचन्दको सैलुनमा गएर कपाल कटाएको थिएँ । उसले त टुप्पि नै नराखिकन गोलकट कपालको बान्की मिलेको बराबरी बनाइदिएछ । भयो फसाद, हजुरआमाले अलि दिन त थाहा पाउनु भएन, थाहा पाएपछि राम्रोसंग लम्बेतान नैतिक शिक्षाको लेक्चर दिनु भयो । स्कूलतिर बाटै अङ्गेजी शिक्षा तिर लगाव र संस्कृत शिक्षातिर वितृष्णा जगाइएको थियो । त्यसैको प्रभावले होला मनमा भने टुप्पी मोह छँदापनि थिएन । 'टुप्पी छैन यसको' भन्ने नपरोस भन्नलार्इ बरू अलि लामो कपाल पाल्ने धुन थियो । तर, अलि कपाल बढ्यो कि "जा कपाल काट" भनेर पठाइ हाल्ने घरबाट । कपाल कटाएर आयो, अलि छोटो नगराएकोमा टोकसो पाइहालिन्थ्यो । तर, समयसंगै विस्तारै विस्तारै टुप्पी पाल्न पर्ने कडाइको नियम पनिफेरिँदै गयो र पाल्नै छाडियो । ब्रतबन्ध गर्दा र अरू कुनै धार्मिक संस्कारका क्रममा मुडुलो टाउको पार्दा भने अझै पनि टुप्पी हुनै पर्ने चलन चलिआएको छ ।

अहिलेका टाउके टुप्पीवालको अध्यादेशको हल्लाले पनि त्यही सैलुनले सम्मै पारिदिएको टुप्पीको झल्को दिइरहेको छ।

नेपालको राजनीतिमा पनि टुप्पीको महत्व त्यस्तै नै छ । पार्टीमा ओलीले आफ्नो हैसियत पनि टुप्पी सरह नै बनाएका छन् । ठाडो शीर हुने मान्छेको उचाइ नै टुप्पीसम्म मात्रै त हुन्छ । त्यसभन्दा माथि सिमाना नै सकिन्छ । त्यसैले टुप्पीभन्दा पनि अग्लो कद बनाउन खोज्नुलार्इ अधोगति मानिन्छ । भलै त्यो गति मोटरगाडीको जस्तो तीब्र नभएर बयल-गाडाको जस्तै धिमा नै किन नहोस् । बैलगाडाको गति भनेको काजु कान्छालार्इ गणतन्त्रको गन्तब्यको लक्ष्य हासिल गर्न मन परेको गति हो । काजु कान्छा भनेको गणतन्त्रको लडाइ लड्दा रत्नपार्कमा काजु खाँदै परपर तर्कँदै हिँड्ने गरेकाले लेखक खगेन्द्र संग्रौलाले जानेरै ओलीका लागि राखिदिएको नाम हो ।

यो टुप्पीलार्इ टुपी भने पनि हुन्छ । टुपीलार्इ उल्टायो भने "पीटु" हुन्छ । त्यसैले बयलगाडाको गति मन नपर्नेहरूले टुपीलार्इ उल्टाउन मन गरेको पनि नभेटिएको भने होइन । तर अहिलेको परिस्थितिमा सुरक्षा कवच तोडेर टुप्पीलार्इ उल्टाउन खोज्नेहरूलार्इ सजिलो भने छैन ।

टुप्पी त छाप-गाउँका कान्छा सार्कीको पनि लामै थियो । मैले सम्झने सवै भन्दा राम्रो टुप्पी उनकै थियो, लामो न लामो । आजभोलि त टुप्पी पाल्ने चलन पनि हराउँदै गएको छ । म सानो छँदा हाम्रो गाउँतिर टुप्पी नभएका कि त जोगी हुन्थे, कि त मुसलमान मात्र हुन्थे । क्रिश्चियन भन्ने त मैले सुनेकै थिइन । बुद्ध धर्म हिन्दूकै शाखा भनेर बुझाइएको थियो । विष्णुका दशौँ अवतार । अरू सवैले टुप्पी पालेकै हुन्थे । धेरै जसोको टोपीले टाउकोको सिमाना तोकेको घेरालार्इ नाघेर पनि पछाडि पट्टि टुप्पी झुण्डिएको हुन्थ्यो । अहिले लिपुलेक-लिम्पियाधुरासम्मको भागले नेपालको नक्साको सिमाना नाघेको जस्तै भनेर तुलना गर्न पनि सकिन्छ । महाकाली सन्धि गर्दा पनि काजु कान्छाको झेल्लि खेलको खुवै चर्चा चलेको थियो । उनकै कारण कालापानी टोपीको घेरा बाहिर झुण्डिएको झुण्डै छ पनि भन्छन्, जान्ने बुझ्नेले । कसैकसैको टुप्पीले त्यो घेरा तोडेर दायाँ वा बायाँतिर पनि झुण्डिएको हुन्थ्यो । त्यो घेरा तोड्ने टुप्पीलार्इ नयाँ चुच्चो परेको ढर्लक्क ढल्केको ढाका टोपीको घेरा हो कि, गाउँकै दर्जीले हातेकल घुमाएर सिलाएको एउटै रङ्गको खुइलेको टोपी हो भन्ने कुरासंग कुनै महत्व हुन्थेन । टोपी नयाँ राम्रो भए पनि झुत्रो मैलो भए पनि सहजै घेरा तोडिदिन्थ्यो ।

काखमा उचालेका केटाकेटीले मौका पर्दा टुप्पी समातेर तानिदिन्थे । भारतले कालापानीमा ताने जस्तै । पछि तराइ झरेपछि स्कूल पढ्दा अगाडिको बेञ्चमा बसेका साथीको टुप्पी पछाडिका साथीले तानिदिने चलन पनि सामान्य जस्तै थियो । उहिले उहिले पढ्ने विषयमा पनि टुप्पीको महत्व हुन्थ्यो । टुप्पी बानेर पाठ घोक्न बस्दा नीद लागेर टाउको झुल्दा टुप्पी तानिन्थ्यो र दुखेर नीद भागेपछि पढ्ने र घोक्ने गरिन्थ्यो । खासमा संस्कृत शिक्षा पढ्ने विद्यार्थीहरूका बीचमा टुप्पी बानेर घोक्ने चलन थियो । मैले पढ्ने समयमा गाइखाने विद्या (अंग्रजी) पढ्नुलार्इ समाजले सहजै स्वीकार गरिसकेको थियो । त्यसैले टुप्पी बानेर नाकमा ढेबरी (टुकी) को कालो धुँवा जम्ने गरी घोक्न परेन । आठ कक्षासम्म लाल्टिन बालेरै पढियो । दिनदिनै साँझमा खरानी हालेर लाल्टिनको सिसा माझ्न पर्थ्यो । कहिलेकाही त्यो सिसा झराम्मै फुटेर ढेबरीको धुवाँ त गजबले खाइयो नि खान त ।

टाउकोबाट टुप्पी हराउन सहज भए पनि पार्टी तथा संगठन सुचारू हुन त टुप्पी सहितको टाउको हुनै पर्छ । शरीरको टाउको जस्तै केन्द्रिय समितिमा टुप्पी जस्ता अध्यक्ष वा सभापति हुनै पर्ने । सामान्यतया टुप्पी एक वचन मानिन्छ तर आवस्यकता पर्दा पार्टीको टुप्पी भने टुप्पीलाइ पनि रौँ जसरि चिरा पारेर ओली र प्रचण्डको गठजोडको टुप्पी बनाउन पनि मिलिहाल्छ । तर, टुप्पीको हक भने ओली सापले लट्पटाएर प्रचण्ड रन्थनिएको भन्ने खबर पनि यत्रतत्र चर्चा छ । षडयन्त्रको गन्ध हरहरि गनाउने गरी अध्यादेश जारी हुँदा, त्यो हल्ला पनि 'सही हो कि क्याहो' भन्ने हल्ला पनि छ ।

धार्मिक नियम अनुसार टुप्पीमा गाँठो पारि राख्नु पर्छ । त्यस्तो टुप्पीलार्इ शिखा भनिन्छ । दिसा, पिसाब गर्दा तथा लास छुने जस्तो अशुद्ध हुँदा टुप्पीको गाँठो फुकाएर गर्ने र कार्य सम्पन्न भएपछि फेरि टुप्पीमा गाँठो पार्नु पर्छ । हातगोडा धुने, नुहाउने गरेर शुद्ध भएपछि फेरि गांठो पार्नु पर्छ । त्यसमा पनि बाहुनहरूले त आचमन गरेर गायत्री जपेर शुद्ध भएपछि बल्ल शीखाबन्धन गर्नु पर्ने हो । यस्तो चलन देख्दा टुप्पीको गाँठोले धार्मिक नियम तोड्न पाइँदैन भन्ने आदर्श बोकेको हो कि भन्ने पनि भान हुन्छ । टुप्पी भन्दा पनि माथि धार्मिक नियम छ भन्ने विम्ब पनि टुप्पीको गाँठोले झल्काउँछ । कानूनको शासन भनेको कानूनले बाँधेर राख्ने हुनाले कानूनभन्दा माथि कोही हुन सक्दैन भने जस्तै धार्मिक नियममा सबै बाँधिनु पर्छ भन्ने शिखाबन्धनको मर्म हुनु पर्ने हो । त्यसैले धनानन्दलार्इ मगधको राजगद्दिबाट फाल्न धार्मिक नियम उल्लंघन हुनसक्ने अवस्थालार्इ पनि स्वीकार गर्न चाणक्यले टुप्पीको गाँठो फुकाएको अर्थ लाग्न पनि सक्छ ।

टुप्पी जस्ता अध्यक्षहरूलार्इ पनि टुप्पीको गाँठो जस्तै संविधान, विधान, घोषणापत्रले बाँधेको हुनुपर्ने हो । तर, त्यस्तो गाँठो संशोधनको नाममा मनपरि खोल्ने र बांध्ने गर्न पाउने गर्न थालेको चाला भने फूलचन्दको सैलुनमा टुप्पी बिनाको गोलकट कपाल जस्तै भैसकेको छ ।

धर्म र संस्कार नमान्ने कम्निष्टहरूलार्इ केको टुप्पी र शिखाको नियम लाग्ने कुरा भयो र ! तै पनि ओलीज्यूले थरमा शर्मा थपेर टुप्पीको फुर्ति दिन छाडेका छैनन् । अङ्ग्रेजी तालमा नाम छोट्याएर खड्ग प्रसादबाट केपी बनाए । तर, जात जाला कि भन्ने पिरले थर छोट्याउन भने उनी निकै डराएका छन् । त्यत्तिले पनि नपुगेर टुप्पी अधिकारमा अध्यादेशको ध्वांसले चालीस पुगेसी रमाउँला भन्न थालेका छन् । कहिले मुरली बजाउँछन् कहिले चालीसेको गीत गाउँछन् । छन् त यिनी रमाइलै मान्छे छन् । ठट्टामा मात्र हैन चालीस पुगेसी रमाउन पनि सिपालु छु भनेर फुर्ति पनि लाउँछन् । उनका टाउकामा रौँ पो कति छन् कुन्नी टोपिको घेरा तोडेर वाहिर निस्कने जति टुप्पीका रौँ नै बाँकी छैनन् कि भन्ने शंका लाग्दैछ ।

तर, कालापानी नेपाली नक्साको टुप्पीबाट बाहिरिएको बाहिरिएकै छ, तै पनि यिनलाइ कुर्सी समाउन चालीस सूत्र समाउन परेको छ । संसद चालीस र पार्टीमा पनि चालीस गरी दुवै ठाउँमा चालीस प्रतिशत भए पार्टी फुटाउन पाउने ठाउँमा संसदीय दलमा मात्र चालीस प्रतिशत पुर्याएर पार्टी फुटाउन पाउने बनाएका छन् । चालीसे गीत बजाएकै छन् ।

 
 
There are no data records to display.
   
Comment:
Date:
Name:
LastName:
Address:
City:
PostalCode:
PhoneNumber:
EmailAddress:
WritingId:
Insert  Cancel

www.flykathmandu.co.uk

Received Comments



www.flykathmandu.co.uk
Please write email to belbase@flyktm.com to get permission to publish my article to your media.