Govind Belbase
<January 2023>
SuMoTuWeThFrSa
25262728293031
1234567
891011121314
15161718192021
22232425262728
2930311234
बेगारी –सक्लहरा
बेगारी –सक्लहरा
(अनुभूति–संस्मरण साहित्य)

नेपालको तराइ(मधेश) मा जिमिदारी ब्यवस्था हुँदा चल्तीमा रहेको बेगारी र सक्लहरा अहिले प्रचलनमा छैन । म सानो छँदा ती प्रचलनका केही अंश मात्र फेला पारेँ । म यो पृथ्विमा जन्मिएको एक वर्षमै जमिन्दारी ब्यवस्था हटाइए पछि, त्यही ब्यवस्थाका अवशेषका रूपमा बेगारी र सक्लहरा केही वर्षसम्म त चल्यो तर विस्तारै हराउँदै गयो । श्रमजीवीहरूका लागि रोजगारीका अवसर बढ्दै गएपछि ती प्रचलन हराए । पुर्व पश्चिम राजमार्ग निर्माण संगै बदलिएको समाजसंगै त्यो चलन पनि बदलियो । हरायो । उक्त राजमार्ग बनाउन आवस्यक ढुङ्गा बोक्ने ट्रक बोक्टापुर गाउँ निरबाट बग्ने झिङ्गइ खोलाको मुहान तिर पुर्याउने बाटो बनाउन डोजर आएको थियो । मैले र हाम्रा गाउँलेले जिन्दगीमा पहिलो पटक त्यस्तो डोजर देखेका थियौँ । गाउँलेले डोजरको स्थानीय नाम 'भेँड बहादुर' राखेका थिए र त्यही भन्ने गर्थे । त्यस अघिसम्म रैतीहरूले पेट भर्न र वर्षमा एक जोर आङ ढाक्ने कपडाकै लागिमात्र जिमिदारका लागि श्रम समर्पण गर्नु पर्ने अवस्था थियो । कपडा पनि के भन्नु र शरीरमा कन्धनी (कम्मरमा बाँधेको धागो) र धरो (लँगोटी) मात्र लगाएर खेतमा जोत्ने र खन्ने गरिरहेका हुन्थे ती थारूहरू । वर्षभरिमा उनीहरूले मालिकबाट पाउने त्यो धरो र एउटा सर्टको कपडा त हुन्थ्यो । अघरियाले भने एउटा धोती पनि पाउँथे । थरूनीहरूलेसम्म फूलबुट्टा सहितका लेहेँगा र चोली लगाएका हुन्थे । एउटा खरकी (बर्की) पनि पाउँथे । अहिलेको बुझ्ने भाषामा भन्दा अघरियालाइ सुपरभाइजर भन्दा धेरैले बुझ्न सजिलो पर्छहोला, तर खासै पेपर वर्क त उनले पनि गर्नु पर्थेन । प्राय अनपढ तथा निरक्षर नै हुन्थे अघरियाहरू पनि ।
बोक्टापुर निकै दुर्गम गाउँ थियो । बेलाबखत डाँकाहरू लुट्न आइपुग्थे । डाँका आउँदा गाउँलेहरू गाउँ नै छाडेर जङ्गल तिर गएर लुक्ने अनि डाँका गए पछि फर्कन्थे । डाँकाहरूले लुटेर लैजान गाउँमा खासै नगदी सुन चाँदी केही हुन्थेन, चामल दाल र खसी कुखुरा लैजाने त हुन । जिमिदारको पनि डाँकाहरूबाट बचाउने उपाय हुन्थेन तर प्रशासनसंगको सम्पर्क गर्न सम्म सामर्थ हुन्थे तर पुलिस प्रशासन भेट्न सदरमुकाम तौलिहवा पुग्नु पर्थ्यो । त्यत्तिन जेलमा डाँका भागेर गैसकेका हुन्थे । क्यउँवा थारूले सुनाएको एउटा प्रसंग रोचक छ । एक पटक डाँकाका दुइ फरक टोलीको झिँगइ खोलामा भिडन्त भएछ । एउटा डाँका मारिएछ । म जन्मनु भन्दा केही वर्ष पहिलाको कुरा हो । त्यो थाहा पाएर मेरा बुवा पहाड घरबाट घोँडामा गाउँमा पुगेपछि थारूहरूले के गर्ने भनेर सल्लाह मागेछन् । प्रशासनलाइ खबर गरे गाउँलेहरू साक्षी बक्न अड्डा धाउन पर्ने र पुलिसले दुख्ख दिन्छन् भन्ने डर थियो । जाँड र कुखुरा खुवाउन पर्छ भन्ने चिन्ताले सताइएका रहेछन् । बुवाले मारिएको डाँकालाइ जलाउने र कसैलाइ त्यो विषयमा नबताएर गुपचुप राख्ने भन्नु भएछ । त्यसै अनुरूप गुपचुप राखेकोले ठूलो आपतबाट बचियो भनेर गाउँलेहरू निकै खुसी भएका रहेछन् । बड्का शीरका हजुरबा भने त्यसबेला काठ्माण्डू जानु भएको रहेछ । खवर गर्न अहिले जस्तो टेलिफोनको प्रविधि पनि थिएन ।
सक्लहरा र बेगारीमा गाउँभरिका सवैले एकै ठाउँमा काम गर्ने, जम्मा हुने भएकोले पनि मेला लागे जस्तो रमाइलो हुन्थ्यो । मालिक (जिमिदारी–शीर) को खेती लगाउन गाउँलेहरूले सघाउने प्रथा हो बेगारी र सक्लहरा । त्यो सहयोग गरेबापत उनीहरूले ज्याला पाउँथेनन् । तीन छाक खाना कलवा (Lunch), मिझनी (Breakfast), बेरी(Deener) खान पाउँथे । सक्लहराका दिन दाल, भात र मासु पेटभरि खान पाउने हुनाले थारू–थरूनीहरू पनि निकै खुसी हुन्थे । ज्याला पाउनु पर्छ भन्ने त उनिहरूको सोँच तथा आशा नै हुन्थेन । उनीहरूको सोँचाइ नै त्यत्तिमै सिमित थियो । सवै मानव समान हुन र ज्याला पाउनु पर्ने अधिकारको मनस्थिति भए पो माग गर्ने !! जुलुस गर्ने, बिद्रोह हुने कुरै भएन । त्यस्तो त कुरै उठ्थेन । माघ महिनामा मालिक फेर्न भने थारू परिवार स्वतन्त्र हुन्थे । तर, नयाँ मालिक ऋण तिरीदिन मन्जुर हुनुपर्थ्यो । दार्शनिक हेगललाइ उदृत गर्दै फ्रान्सिस फुकुयामाले भनेको जस्तै इन्ड अफ हिस्ट्रको चरण थियो त्यो । सदियौँ देखिको मानसिकता हराएर नयाँ मानसिकता सुरूहुने दोसाँधको समय रहेछ त्यो ।
जमिन्दारी ब्यवस्था हुँदासम्म त रैतीको आफ्नो भन्ने भूमि नै हुन्थेन । जमिन्दारले गाउँमा कुलो र बिउँको ब्यवस्था गरेको भरमा उनीहरूले खुसी मान्ने गर्थे । कुलो पानीको राम्रो ब्यवस्था नभएकै कारण पानी धेरै नपरेर खेती भएन भने सुख्खा लाग्यो भनिन्थ्यो । सुख्खाले गर्दा नुन, मट्टितेल, कपडा, फलाम (फाली, फरूवा) किन्ने र मालपोत तिरेर केही बचत पनि गर्न जिमिदरले पनि मौसम साह्रै राम्रो भएको बर्ष कुर्नु पर्थ्यो । कुनै वर्ष सुख्खा भएर रैतीलाइ खुवाउने अन्नकै कमी हुन्छ कि भनेर एक वर्षको अन्नबाली सुरक्षित (स्टक) राखेर अघिल्लो वर्षको बालीमात्र बेच्ने चलन थियो । त्यसैले गर्दा नयाँ धान नबेच्ने एक वर्ष पुरानो धान बेच्ने गरिन्थ्यो । भूमि सम्बन्धी ऐन लागु भए पछि रैतिहरूका भागमा पनि केही जग्गा परेका थिए । खेतीको लागि २५ विगहा र घरबासको लागि ३ विगहा गरी २८ विगहा भन्दा बढि जग्गा एक जमिन्दार परिवारले राख्न नपाउने भएका कारण पनि कतिपय रैतीहरूका भागमा जग्गा पएका थिए । मलेरिया नियन्त्रण भएपछि थारूका परिवार पनि बढ्न थालेका थिए । परिवार बढेपछि केही जाहानले जमिदारकहाँ काम गरेर खानाको जोहो गरेर अरू परिवारले बुट्यान फाँडेर केही खेती योग्य जग्गा बनाएका हुन्थे । त्यस्तो उखडा जग्गाको मालपोत बापतमा रकम उनीहरूले जिमिदारलाइ दिन्थे । खुख्खा परेर अनिकाल परेपनि जिमिदारले खाना जुटाउने जिम्मेवारीको भावनात्मक मान्यता थियो । जिमिदारी प्रथा सकिएपछि उनीहरूले पनि गोस्वारा अड्डामा मालपोत तिर्न थाले । जमिन्दारी ब्यवस्था हटेपछि रैतीहरू जिमिदारबाट पुरै बन्धनमा भने हुन्थेनन् । हरवा, हरवाइन, चरवाहको ब्यवस्था भने ती थारू थरूनीहरूको हातमुख जोर्ने उपाय बन्थ्यो । थारूले काम गरे बापत ७२ मन (१४ केजीको एक मन) र थरूनीले पनि संगै काम गरे ३६ मन थप धान वर्षमा पाउँथे । त्यत्तिले उनीहरूलाइ खान मात्र ठिक्क हुन्थ्यो । यदि रक्सी पारेर खाने गरे अथवा अरू फुरमाइस गरे भने उनीहरूले मालिकबाट त्यो भन्दा बढि धान माग्नु पर्ने हुन्थ्यो । त्यो बढि लगेको धान ऋण हुन्थ्यो । अधिकांश थारू परिवारको त्यस्तो ऋण थपिँदै जान्थ्यो । त्यस्तो ऋणलाइ 'भोट' भनिन्थ्यो । माघ महिनामा मालिक फेरेको खण्डमा नयाँ मालिकले त्यो भोट पुरानो मालिकलाइ तिर्नु पर्थ्यो ।
गाउँमा बेगारी र सक्लहरामा सवैले संगै काम गर्दाको रमाइलो र पेट भरि खुवाउन हाम्रो घरमा बाख्रा पनि पालिएको थियो । गाउँघरका अरू बाख्राका भन्दा लामा कान भएका जमुना पारी जातका ती बाख्रा अलि ठूला थिए । लामा कान गरेको एउटा खसी त ठूलै थियो । एक वर्ष सक्लहरामा काटेको त्यो खसी अहिले पनि सम्झन्छु । बड्का र छोड्का गरी दुइ शीर (जिमिदारी) थियो । जुन शीरका रैती हुन ती रैतिले पहिला त्यही शीरको रोपाइ सक्न सघाउँथे । त्यसपछि जुन शीरको रोपाइ पहिला सकिन्छ अर्को शीरको रोपाइमा उनीहरू पनि गएर सघाउँथे । रोपाइ सकिने दिन भए सक्लहरा भनिन्थ्यो र सक्किने दिन नभएर रोपाइ बाँकी हुने दिन सघाउन गएका भए बेगारी भनिन्थ्यो । 'बेगारी'को शाब्दिक अर्थ ज्याला नलिइ खानामात्र खान पाउने आशा गरेर काम गरेर सघाउने श्रम हुन्छ ।
उस समयमा अहिलेको जस्तो राशासयनीक मल, विषादी, उन्नत बीउ हुन्थेनन् । मुख्य बालि धान हुन्थ्यो । धान पनि थोरै पानीमा फल्ने र अलि रूखो खेतमा छरेर ओसहन धान फलाइन्थ्यो । धेरै पानी चाहिने र मलिलो खेतमा जडहन धान फलाइन्थ्यो । जडहन धान पाकेर काट्नु भन्दा तीन हप्ता जति पहिला छिटाको बिउ छरिन्थ्यो । त्यो छिटाको दाल थोरै मेहेनतमा तयार हुन्थ्यो र नगदे बालीका रूपमा त्यो दाल, तोरी र आलस हुन्थ्यो ।
त्यत्तिबेला सम्म पुरानो भएको त्यो यूग भरखर सकिएर नयाँ यूग सुरू भएको थियो । त्यो पुरानो यूग धेरै सताब्दीदेखि खासै धेरै परिवर्तन भएको थिएन । तर, म जन्मिए पछिको यूग भने धेरै छिटो छिटो परिवर्तन भैरहेको थियो । त्यत्तिखेरसम्म प्रविधिको नाममा सलाइ र लाइटर पनि प्रचलनमा थिएन । अगेनामा अगुल्टोको आगो खरानीले पुरेर भोलि पल्टका लागि आगो जोगाउने चलन थियो । म सानो छँदा दाल तथा मासु पकाउने प्रेशर कुकर थिएनन्, कसौँडीमा लोटामा पानी भरेर त्यही लोटाले ढाक्दै, दाउराको आगोमा पकाउने गरिन्थ्यो । त्यो लोटाको तातो पानी थप्दै धेरै बेर पकाएपछि बल्ल पाक्थ्यो । प्रविधि विकास हुँदै, भुसे चुलोको चल्ती सदरमुकाम पढ्न थाल्दा भेटियो । काठ चिर्ने मिलबाट काठको धुलो भरेर आगो बाल्ने चुलो भन्दा अलि आधुनिक प्रविधिका रूपमा हाम्रो घरमा गोबर ग्याँसको चुलोको चलन चल्यो । कलेज पढ्दा दम दिने मट्टितेलको स्टोभको चलन भेटियो । त्यस पछिको ग्यास चुलोको चलन पुग्न भने अलि धेरै वर्ष लाग्यो ।
कलेज पढ्ने बेलामा काठ्माण्डौको मासाङ गल्लीमा भडियोमा फिलिम हेर्न पाइन थाल्यो । त्यस अघि सम्म उपत्यकामा चार वटा मात्र फिलिम हल थिए । केही समय पछि नेपालमा पनि टेलिभिजनको चल्ती र एन्टिना घुमाएर झिरझिर कम गराउने कसरत सुरू हुन थाल्यो । उता गाउँमा पनि स्कूल खुल्न थाले । म सानो छँदासम्म त बोक्टापुरबाट सवै भन्दा नगिचको स्कुल पुग्न महराजगञ्ज बजार पुग्नु पर्थ्यो जुन, १८ किलोमिटर टाढा पर्छ ।
म बुढ्ढि गाउँमा जन्मदा विहारबाट ल्याइएका कुञ्जविहारी मास्टरले पढाउन थालेका थिए । गाउँमा बुवाले स्कूल खोल्ने प्रयास गर्दा उपाय नलागेपछि 'आमरण अनसन' बस्नु परेको रहेछ । त्यस विषयमा अर्को अङ्कमा लेख्ने छु ।
 
 
There are no data records to display.
   
Comment:
Date:
Name:
LastName:
Address:
City:
PostalCode:
PhoneNumber:
EmailAddress:
WritingId:
Insert  Cancel

www.flykathmandu.co.uk

Received Comments



www.flykathmandu.co.uk
Please write email to belbase@flyktm.com to get permission to publish my article to your media.