Govind Belbase
<April 2024>
SuMoTuWeThFrSa
31123456
78910111213
14151617181920
21222324252627
2829301234
567891011
के हो सभ्यता ? विकल्प सोंच्नै नदिने संस्कृति वा विवेक प्रयोग गर्ने ज्ञान ?
के हो सभ्यता ? विकल्प सोंच्नै नदिने संस्कृति वा विवेक प्रयोग गर्ने ज्ञान ?

शनिवारको दिनको काम सकेर साँझ अल्पटन (लण्डन) डेरा तिर फर्कँदै गर्दा रेल (ट्यूब–अण्डरग्राउण्ड ) को म बसेको डिब्बामा एक स्थानीय गोरा बाबु र उनका छोरा मात्र थिए । त्यो छुट्टिको दिन करिब एघार बर्षको त्यो छोरालाई उनले लण्डन शहर घुमाएर फर्कँदै थिए भन्ने मैले अनुमान गरें । बाबुसंगै टासिएर बसेका ती बच्चाले अङ्ग्रेजीमै प्रश्न गरे 'ड्याडी, तपाईं त इश्वर मान्नु हुन्न, मैले पनि इश्वरप्रति आस्था राख्दिन है ?'
पिता चाहीँले पनि उनिहरूकै भाषा (अङ्ग्रेजी) मा छोरालाई सम्झाउँदै भने, 'तिमीले अझै यस विषयमा निर्णय गर्ने बेला भैसकेको छैन । अझै तिमीले यस विषयमा अध्ययन गर्नु पर्छ । त्यसपछि बल्ल अध्यात्मवादी हुने कि म जस्तो इश्वर पनि नमान्ने, अध्यात्मवादीहरूको विरोध पनि नगर्ने तटस्थवादी हुने ? कि अध्यात्मवादीको विरोध गर्ने 'नास्तिक' हुने भन्ने आस्था बनउनु पर्छ ।'
ती बाबु छोराको संवादले मेरो मस्तिस्कमा भने ती बच्चाकै उमेर छँदाको आफ्नो सिकाइको अवस्था सम्झायो । अध्यात्मवादी चिन्तन के हो ? भन्ने तर्क दिमागभित्र उथुल पुथुल हुन थाल्यो । रेल रोकिए पछि म झरेर डेरातिर लागें, उनीहरू आफ्नै बाटो लागे । सांच्चै भन्ने हो भने उनीहरूको त्यो संवाद अहिले १९ वर्षसम्म पनि मेरो मस्तिष्कमा ताजै छ । अझै पनि त्यो संवादमा "सभ्यता भनेको के हो" भन्ने प्रश्न सम्बन्धी ठूलो तार्किक बहस थियो भन्ने लाग्छ मलाई । उनीहरूको सम्बाद मैले स्थानीय रहन सहन र भाषा ज्ञान थप्ने मनसायले ध्यान दिएर सुन्दै थिएँ, तर त्यो संवादले ठूलो दर्शनिक तर्क उजागर गरेको थियो ।
सन् २००१ मा म बेलायत बस्न थालेको दुई वर्ष भएको थियो र समय मेरा लागि संघर्षमय थियो ।
*****
अर्घाखाँची र कपिलवस्तुको सिमानामा पर्ने पत्थरकोट बजार नगिचै एकजना जोगी (नागा बाबा) ले अखण्ड कीर्तन लगाएका थिए । विक्रम संवत २०३१ सालको कुरा हो । म एघार वर्षको थिएँ । भाञ्जे बुवा (काइँला बा) मथुरा वृन्दावनको संस्कृत विद्यालयबाट पढेर आउनु भएको हुनाले पनि स्वभावतः अध्यात्मवादी हुनुहुन्थ्यो । उहाँको आस्थामात्र होइन, उहाँको पेशा पनि अध्यात्मवादी चिन्तनको विस्तारमा फस्टाउने निश्चित नै थियो । उहाँकै नेतृत्वमा गाउँले सहित १० किलोमिटर यात्रा गरेर हामी त्यहाँ गएको संझना छ । त्यत्तिखेरको त्यो समाजमा त्यो भजनकीर्तन नै सभ्य समाजको पहिचानका रूपमा बुझिन्थ्यो । ती जोगीले फलफूलका बगैंचा बनाएका थिए । त्यहीँ बगैचाका बीच रातभरि "हरे राम, हरे राम, राम राम हरे हरे" भन्दै भजनको तालमा म पनि रमाएको थिएँ ।

मेरो बाल मस्तिस्कमा अध्यात्मवाद भन्दा बाहिरको चिन्तन हुन सक्छ भन्ने नै थिएन । मेरो परिवार, गाउँ, समाज तथा दिदीहरू सवै अध्यात्मवादी हुनुहुन्थ्यो । परिस्थिति कस्तो थियो भने अध्यात्मवाद तथा इश्वरको आस्थामाथि प्रश्न उठाउने छुट नै थिएन । हुन त मेरो दिमागमा 'नास्तिक' हुनु भनेको अपराध गर्नु हो भन्ने विचार गडिसकेको थियो, त्यस अघि नै । अध्यात्मवादको विकल्पको सम्भावना बारे थाहा नै थिएन । मलाई लाग्छ त्यस समयका युवा, वयस्क, वृद्ध सबैको भावना त्यस्तै नै थियो । अध्यात्मवादी नहुनु भनेको असभ्य हुनु हुन्थ्यो । त्यस भन्दा एक–डेढ दशक अघि चीन (१९४९) र भारत (१९४७) मा ठूला राजनैतिक परिवर्तन भएका थिए । उताको समाजवादको भनक साथै भौतिकवादी चिन्तनका प्रकाशन नेपालमा लुकेर पढ्न थालिएको रहेछ । मैले पछि बुझें । अध्यात्मवादी मेरा बुवाले मैले ८ कक्षामा पढ्ने ताक मलाइ पढ्न लगाएको मोदनाथ प्रश्रितद्वारा लिखित 'मनोहरादेखि मानव सम्म' भन्ने पुस्तक त्यसको एक उदाहरण थियो । अलि ठूलो भएपछि बुझें, त्यो पुस्तकको सरल विवरण त डार्विनको विकासवादी सिद्धान्त नै रहेछ ।
मेरो पुर्खा, परिवार र समाजले सिकाएको सभ्यता सलाइ र लाइटरको पनि आविस्कार नहुँदैको परिस्थितिमा विकास भएको थियो । आमाले साँझ सुत्ने समयमा अगेनामा खरानीले अगुल्टो पुरेर भोलि पल्टको लागि आगो बचाउनु हुन्थ्यो । तर, बेलायतीहरूले प्रविधिमा हाम्रो पूर्वीय दर्शनलाइ धेरै उछिनी सकेका थिए । उनीहरूले आविस्कार गरेको वाष्प इन्जनबाट चल्ने रेल र फलामे लिकले भारतका सबै ठूला सहरलाई छिचोलेका थिए । आधुनिक हतियारको प्रयोग गरेर भारतलाई उपनिवेश बनाए पछि स्वतन्त्र भएको डेढ दशकमात्र भएको थियो । पूर्वीय दर्शन अपनाएका मान्छेले आधुनिक प्रविधि विकास गर्न नसकेको वास्तविकता स्वीकार गर्नै पर्छ । पश्चिमाले आविस्कार गरेका प्रविधि खरिदकर्तामात्र हुँदा पनि हामीले अगुल्टो पुर्ने जमानामा विकास भएको सभ्यतामा गौरवान्वित भएको भ्रम छाड्न सकेका छैनौ ।
मेरो समाजको दैनिकी भित्र स्मार्ट फोन, मोटर गाडी, रेडियो, टेलिभिजन, डिजिटल र साइबर प्रविधि चलनचल्तिमा छन् । तर, हाम्रो सभ्यता झल्काउने संस्कृति र संस्कार भने मनुस्मृति, मुन्धुम, निर्णय सिन्धुका आदर्शमा च्यापिएको छ । उक्लन सकिरहेकै छैन । म्लेच्छ (गैर हिन्दू) को पानी नचल्ने हाम्रो सभ्यता हो । पानीका धारा र कालो पत्रे सडकदेखि मिसन अस्पतालका उपचार भने म्लेच्छहरूकै देशको अनुदानमा चलेका छन् । तर हामी पुष्पक विमानको शास्त्रको वर्णनका आत्मरतिमा रमाउन छाडेका छैनौं । संविधानले लैङ्गिक समानताको सिद्धान्त र पश्चिमा समाजले अपनाएको लोकतान्त्रिक संसदीय पद्धति अनुकरण गरेको छ । ऐन कानूनले जातीय विभेद र अन्धविश्वासहरूलाई कडा सजाय सहितको निषेधित कार्य भनेको छ । तर, हाम्रा चालचलन पुरानै छन् । अन्धविश्वास जोगाइ राखेका छन् । हाम्रो संस्कृतिले जातीय विभेदलाइ छुवाछुत सहित जोगाइ राखेको छ ।
मान्छेले आफ्नो वरिपरिको परिवेशमा आफ्नो वर्चस्वको पहिचान बनाउनमा सन्तोष मान्छ (thymos) । अरूका अगाडि फूर्ति लगाउने स्तर बनाउन चाहन्छ । त्यो मानिसको स्वभाव हो । त्यस मध्ये झेल्ली नगरी बर्चस्व कायम गर्ने असल स्वभाव (isothymia) को बाहुल्यता हुने समाज सभ्य हुन्छ । बेइमानी तथा झेल्ली गरेरै भए पनि नजानेको विषय पनि जानेको छु भनेर फूर्ति लाएर वर्चस्व कायम गर्ने (Megalothymia) समाज असभ्य हुन्छ । मान्छे सबै उस्तै हुन्, तर स्वार्थसिद्ध गर्ने प्रवृत्ति कस्तो छ भन्नेमा सभ्यता असल कि खराब भन्ने फरक पर्दोरहेछ ।
लण्डनमा अफिस सुरूहुने विहानको ९ बजे रेल (ट्यूव) मा निकै भिड हुन्छ तर यात्रुले एक अर्कालाइ नछोएको देख्दा सभ्यता भनेको के हो भन्ने बुझिन्छ । बीस वर्ष अघि त्यो समयमा रेल चढ्ने अधिकांश व्यक्ति स्थानीय गोरा हुन्थे । अहिले अन्य मुलुकको मूलका ब्यक्ति भन्दा स्थानीय गोराहरू कम हुन्छन् । डाउनिङ स्ट्रिट क्याविनेटमा दुर्इ दशक अघि अन्य मुलुकका मूलका मान्छेको प्रतिनिधित्व नै हुन्थेन तर अहिले तीन जना त दक्षीण एशियाली मूलका नै सामेल गरिएका छन् । यो दुर्इ दशकको अन्तरालमा पनि लण्डन रेलमा एक अर्कालाइ नछोइ यात्रा गर्ने सभ्यता कायम भैरहेकै छ । पहिलो चरण भनेको सभ्य सभ्यताको विकास गर्ने जनचेतना रहेछ र दोस्रो चरण भनेको त्यो सभ्यतालाई निरन्तरता दिनु पनि रहेछ ।

सभ्यताको विकास र निरन्तरता

म बेलायत आउँदा नेपाली बानी बेहोरा लिएरै आएको थिएं । एक दिन रेल (ट्यूब) चढ्न एउटा अलि उमेर ढल्केका गोरा स्थानीय ब्यक्ति र म बरोबरि मै हिँड्दै थियौ । मैले उनलाइ उछिनेर रेलमा चाडै चढ्न कदम छिटो चलाउन थालें । उनले भने एक पाइला पछि सरेर मलाइ बाटो छाडि दिए । उनले केही भनेनन् तर मैले ठूलो पाठ सिकें । सहयात्रीलाइ बाटो छाडिदिए दुवैले छिटो बाटो काटिन्छ, तछाडमछाड गरे दुवैलाइ ढिला हुन्छ भन्ने नीतिकथा ब्यवहारमा लागु गर्न उनले मलाइ सिकाए । त्यो नीतिकथा त हाम्रै संस्कृतिमा सुनेको थिएं तर लागु गर्न भने लण्डनको सभ्यताले सिकायो । त्यही संस्कारले होला लण्डनमा रेलयात्रु संख्यामा आगन्तुक (विदेशी) मुलका ब्यक्ति थपिए पनि सभ्यताले भने निरन्तरता पाएको छ ।
मैले बचपनमा देखेको अध्यात्मवादको विकल्प सोंच्नै नदिने संस्कृति भन्दा कुन आस्था अपनाउने भन्ने विवेक प्रयोग गर्ने ज्ञान सिक्न दिने सभ्यता राम्रो हुन्छ भन्ने मेरो निस्कर्ष छ । आध्यात्मिक, नास्तिक अथवा अध्यात्मवादी पनि नहुने, विरोध पनि नगर्ने स्वतन्त्र आस्थाको छनोट गर्न सक्ने ज्ञान सहितको संस्कृतिको विकास गर्न सके समाज झन् सभ्य हुने छ । बच्चालाई नै हामीले सही र बेठिक छनोट गर्ने ज्ञान नदिइकनै अध्यात्मवादी नै बन्नुपर्ने बाध्यता थोपरेका कारण सभ्यता विकास हुन नसक्ने हुँदोरहेछ ।
हाम्रो समाजले स्वस्थानी ब्रतकथा एवं सत्य नारायणको कथाजस्ता ज्ञान सुनाएर बच्चाहरूलाई अध्यात्मबादी हुनै पर्ने वाध्यतामा पार्छ । पछि बच्चाले विद्यालयमा सिकेको ज्ञान त्यो ज्ञानसंग मेल खाँदैन र संस्कृतिप्रति वितृष्णा जगाउँछ । त्यसैले नयाँ पिंढी सांस्कृतिक बन्धन तोड्न विद्रोहमा उत्रन्छन् । अन्तर्जातीय विवाह पनि गर्छन् । तर, अघिल्लो पुस्ताले पुरानो संस्कृति जोगाउनै पर्ने परिधि छाड्न चाहँदैन । परिणाममा अपृय घटनाहरू घटिरहेको समाचार एक पछि अर्को प्रकाशमा आउने गरेका छन् । यो पुरानो पिंढी र नयाँ पिँढी बीचको अन्तर्विरोध हो । सभ्य समाजको विकासको लागि संस्कृति जोगाउने नाममा अडिएका छुवाछुत जस्ता अन्धविश्वासहरू अघिल्लो पिँढीले जति त्याग गर्न सक्यो त्यत्तिनै समाज सभ्य हुने छ । सभ्यता सुन्दर हुने छ । Published on https://globalnepalese.com
 
 
There are no data records to display.
   
Comment:
Date:
Name:
LastName:
Address:
City:
PostalCode:
PhoneNumber:
EmailAddress:
WritingId:
Insert  Cancel

www.flykathmandu.co.uk

Received Comments



www.flykathmandu.co.uk
Please write email to belbase@flyktm.com to get permission to publish my article to your media.