Govind Belbase
<April 2024>
SuMoTuWeThFrSa
31123456
78910111213
14151617181920
21222324252627
2829301234
567891011
जङ्गलभित्र बगैँचा

संस्मरण
जङ्गलभित्र बगैँचा

संस्मरण
–गोविन्द बेल्वासे

कपिलबस्तुको उत्तरमा पर्ने गाउँ बोक्टापुरदेखि पश्चिम र गब्दहवादेखि पुर्वको घना जङ्गलको बीचमा आँपको एउटा बगैँचा थियो । त्यहाँ बाँझिएका खेतका गह्राले पहिला कुनै समयमा बस्ती थियो भन्ने पुष्टि गर्थे । करिब ४५ वर्ष अघि मैले देखेको दृष्य हो । अहिले जङ्गल धेरै पातलिए होला भन्ने अनुमान गर्न त सक्छु तर त्यो भन्दा बढि अरू अनुमान गर्न भने नमिल्ने अवस्था भैसक्यो । त्यो बगैँचाका आँप टिप्ने र खाने गार्इभैँसी चराउन जाने गोठाला बाहेक बाँदर तथा ढेँडुवाहरू हुन्थे । आँप पाक्ने महिनामा हजुरआमाले मलाइ गोठालाहरूसंग आँप टिप्न पठाएकाले त्यहा पुग्ने मौका जुरेको थियो । विकासे तथा कलमे आँपका रूख त अलि होँचा हुन्छन् तर स्थानीय जातका ती रूख निकै अग्ला थिए । अहिले त्यस्तो अग्ला आँपका रूखको बगैँचा भेटिँदैनन् । हुँदैनन् पनि । रूख भने निकै अग्ला तर फल भने साना र धेरै जसो अमिला–न–अमिला र कुनै कुनै साह्रै मिठा हुन्थे । एउटा रूखको फलमा त महको स्वाद थियो । त्यो स्वाद त्यसपछि मैले कुनै पनि आँपको फलमा खाएको छैन । आधुनिकरण बढ्दै गएर इटाका पक्की घर बन्न थालेपछि ती अग्ला आँपका रूख काट्दै इटा पोल्दै गरेकाले त्यस्ता रूख अव भेटिन्नन् ।
गाउँलेको भनाइ अनुसार त्यो ठाउँमा पहिले मानव बस्ती थियो । तर, डाँकाले सधै जसो लुट्ने र असुरक्षित भएपछि त्यहाँ मान्छे बस्न छाडेकाले खेत बाँझिए र सुनसान भएको हो । दशै–तिहार, विहावारी र हिउँदको फूरसदको समयमा गाउँमा देखाइने नौटङ्की (नाटक)हरूमा देखाइने डाँकु मानशिँह, डाँकु सुल्ताना जस्ता कथाबस्तुबाट त्यो विस्थापित भएको बस्ति अवस्थालाइ सहजै महसुश गर्थेँ । गाउँका धार्मिक भावनाबाट प्रभावित भएर वैराग्यता अपनाएका अर्धजोगीहरूले बगैँचा हुर्काउँदा धर्म हुने भावनाबाट बगैँचा लगाउँथे । त्यो बगैँचा पनि त्यस्तै कुनै जोगीले लगाएको र हुर्काएको भन्ने पनि सुनेको हुँ । त्यस्ता वैरागीहरूले जोगीको संगत गर्ने र धर्मग्रन्थहरूप्रति रूची राखेर लेख्न र पढ्न पनि जानेका हुन्थे । नत्र, अहिलेको जस्तो स्कूल हुन्थेनन् । धनी साहुहरूले गुरू(शिक्षक) घरमा पालेर केटाकेटीलाइ अक्षर चिनाउने पढाउने गर्थे । त्यस्ता गुरूहरूले पनि गाउँका अरू बच्चा थपथाप गरेर आफ्नो आमदानी थपथाप पार्थे । पढेका गुरूहरू बाहुन हुने हुनाले पुजा गराएर पनि कमाइ थप्थे ।
हामी बोक्टापुर गाउँमा बस्थ्यौँ । चारै तिरबाट घना जङ्गलले घेरिएको झिँगइ खोला र टाँकुको खोलाको बीचनमा टाँकु र बोक्टापुर नामका दुर्इवटा सानासाना गाउँ थिए । थारूहरूको मात्र बस्ती रकेका ती दुर्इ गाउँका जिमिदार पहाडिया भए पनि अरू सवै थारूहरू थिए । वि.स. २०२१ सालमा भूमिसुधार लागु भएपछि र औलो उन्मुलन भएपछि पहाडबाट झेरेका बासिन्दा थपिँदै गए । म त्यो जङ्गलका बीचको आँपको बगैँचामा पुग्दा, त्यहाँबाट १० किलोमिटर दक्षीणमा बनेको पूर्वपश्चिम राजमार्ग बन्न सुरू पनि भएको थिएन । पछि त्यो राजमार्ग बन्न थालेपछि हाम्रा गाउँका खोलाका ढुङ्गा बोक्न हाफ–ढाला ट्रक ल्याउन बाटो बनाउँदै आएका डोजरलार्इ मेरा थारू दौतरीहरूले 'भेँडबहादुर' भन्थे । ती दौँतरीहरूले पढ्ने स्कूल नै थिएनन् र उनीहरूलाइ लेखपढ महत्वको विषय पनि थिएन । म भने सदरमुकामको स्कूलमा पढ्थेँ र छुट्टीमा गाउँमा पुग्थेँ । उमेरले म भन्दा जेठा दोँतरीहरू मध्येका ललवा, घिसवाहरू भने मैले सात कक्षामा पढ्दा आधा घण्टाको जङ्गल हिँडेर पुगिने रन्गार्इ गाउँमा स्कुल खुलेपछि अक्षर चिन्न तथा पढ्न हिँडेका हुन ।
केही वर्षपछि बुझ्दै जाँदा सन् १९४७को भारत र १९४९ मा चीनको राजनैतिक परिवर्तनको प्रभावले नेपालमा फैलिएको जनचेतनाकै कारणले धमाधम स्कूल खुल्न थालेका थिए । रन्गार्इको स्कूल पनि त्यस्तै एउटा स्कूल थियो । मेरो अनुभव र अनुभूति अनुसार त्यस अघि बैराग्य मिस्रित धार्मिक भावनाले लेख्ने पढ्ने विषयमा उर्जा दिने गरेको थियो । रामायण, गीता जस्ता धार्मिक ग्रन्थको अध्ययन र साधनाबाट ‘मरेपछि स्वर्ग गइन्छ’ भन्ने भावनाले लेखपढको भावना बढेको थियो । धार्मिक भावनामा लिप्त नहुने र सामान्य दैनिकीमा रमाउने मानिसहरू भने लेखपढलार्इ पटक्कै महत्व दिँदैन थिए । हिन्दू धर्म अन्तर्गत आर्थिक कमाइ इज्जतसाथ हुने हुनाले ब्राम्हणहरूमा पढ्ने प्रचलन भने थियो । सायद पेशाको सुरक्षा र बर्चस्व कायम राख्ने उद्देश्यले ती पण्डितहरूले पढाइका लागि इश्वरले नै जात छुट्याएकोले तल्ला जातले बेद जस्ता ग्रन्थ अध्ययन गरे पाप लाग्ने डर फैलाएका थिए । पुरूष हैकम कायम राख्ने चातुर्यताका लागि गायत्री मन्त्र सुन्ने महिला पागल हुन्छन् भनेको सुन्ने गर्थेँ । तर, पछि प्रविधिको विकास संगै गायत्री मन्त्र रेडियो माइक हुँदै यूट्यूव आदिमा बज्न थालेपछि त्यो मन्त्र सुनेका महिला सद्दे नै देखेपछि बल्ल पण्डितहरूको धुर्त्याइप्रति वितृष्णा जाग्यो । जति बुझ्दै गएँ घृणा बढ्दै गयो ।
धुर्त पण्डित्याइमा होइन वैराग्य भावले अध्ययनको महत्व सहित मानव समाजको कल्याण चाहने एक ब्राम्हणजातका चिन्तामणि अधिकारी भन्ने ब्यक्ति बोक्टापुरको गाउँबाट हराए । त्यो बि.स. २०३१–३२ साल तिरको कुरा हो । पहाडबाट बड्का शीरको जग्गा किनेर हाम्रो गाउँमा बसाइ सरेका उनी पशुपालन (भैँसी)लाइ प्रमुख पेशा मान्ने गल्देली परिवारका एक किसान प्रतिनिधि थिए । मान्छे हराएको भन्ने सुनेको मेरो जीवनको पहिलो घटना थियो । अलि दिन त गाउँलेहरूले उनलाइ जङ्गल तिर पनि खोजे तर पत्तो लागेन । घरमा श्रीमती र छोराछोरीलाइ अलपत्र पारेर उनी वेपत्ता भए ।
त्यो जमानामा टाँकु बोक्टापुरमा काठ, खर–टाटीमा माटो लिपेका भित्ता र खरकै छानो छाएका घर मात्र थिए । त्यस्ता भित्तामा माटोले मजुर, हरिण जस्ता जङ्गली जनावरका र फूल विरूवाका चित्र बनाइएका हुन्थे । ती अर्गानिक कलाकृति थिए । एकदुर्इ वर्षमा नविकरण गरेर ठडाइने ति भित्ताहरूमा कलाकारिता फेरि जन्मन्थे । इटा, सिमेन्ट तथा गाह्रो परखाल भन्ने एउटा पनि थिएन । ती दुर्इ नदिका बीचमा ‘इनार खने अफाप हुन्छ’ भन्ने गाउँलेहरूको विश्वासका कारण खोलाको जरूवाको पानी खाने चलन थियो । काठका अग्ला खाँबा गाडेर बनाएको हाम्रो अग्लो ठाँटीबाट जङ्गलको मुखसम्मकै बाटो छर्लङ्गै देखिन्थ्यो । ठाँटीमा माथि हामी सुत्थ्यौ तल बाख्राको खोर थियो । त्यो जङ्गलको मुखसम्म पुग्न करिव ७ मिनेट लाग्थ्यो । खेतका अलि मोटा आलीलाइ नै बाटो मानेर हिँड्ने चलन थियो । म भने ती हराएका ब्यक्ति कुन दिन फुत्त त्यही जङ्गलतिरबाट आइपुग्छन् जस्तो मानेर हेर्ने गर्थेँ । अलिदिन उनको अत्तोपत्तो लगाउने क्रममा छिमेकी गाउँहरूमा देखिएका बटुवाको हुलियाका भरमा गाउँलेहरूले उनी कुनै तिर्थ तिर गएको अनुमान गरेका थिए । उनको धार्मिक र बैराग्यभाव देखेका अलि पाका गाउँलेहरूको अनुमान थियो त्यो । मेरो दिमागमा त्यहि छाप बसेकोले होला कुन दिन फुत्त आएको देखिन्छ भन्ने भान भैरहन्थ्यो ।
अहिले जस्तो सिसिटिभीका प्रविधि प्रचलनमा थिएनन् । वितेका ५० वर्षमा सर्वसाधारणले प्रयोग गर्ने प्रविधि यति विघ्न बढ्यो कि त्यस अघि कुनै प्रविधिले पनि मानिसको जीवनमा यति विघ्न दख्खल कहिल्यै दिएन भन्ने किटान गर्न सकिन्छ । मोबाइल फोन त आविस्कार नै भएको थिएन, तर बोक्टापुर गाउँभरिमा एउटा रेडियो (ट्रान्जिस्टर) थियो । त्यो हाम्रै घरमा थियो । नेसनल पानासोनिकको त्यो रेडियो आकारमा कन्तुर जत्रो थियो । त्यसका बेट्रि बुवाले बेलावेला घाममा सुकाउनु हुन्थ्यो । धेरै वर्षसम्म मैले त्यो रेडियोमा भित्र बसेर बोल्ने मान्छेहरू भेटाउने आशा गर्ने गर्थेँ । खम्पाहरूसंगको नेपाली सेनाको लुकाछिपी लडाइका समाचार त्यही रेडियोमा सुनेको हल्का सम्झना छ । रेडियोले अमेरिकी हतियार उनीहरूसंग भएको बताउँथ्यो । तिनताक हराएका मानिसको सूचना त्यो रेडियोमा सुनेको भने संझना छैन । राजा महेन्द्र मरेको समाचार पनि त्यही रेडियोले हाम्रो गाउँसम्म पुर्याएको थियो । त्यसपछिका धेरै दिनसम्म शोकधुन र समाचार मात्र सुनियो रेडियोमा । बसन्त काकाहरूले राजा मरेको भनेर टाउको मुडुलै पार्नु भयो । कतिपय गाउँमा राजाको कृया पनि बसेको गाइगुइ थियो ।
पछि ती हराएका चिन्तामणि गाउँमा फर्किए भन्ने सुने । तर, हामी त्यो गाउँमा बस्न छाडिसकेका थियौँ । बसाइ अर्कै गाउँमा थियो र पढाइ मेरो सदरमुकाममा हुँदा उनी फर्किए अरे भन्ने थाहा पाए पनि भेट भएन । तर मैले त्यो जङ्गलबाट उनी फुत्त निस्केको देख्न नपाए पनि उनी फर्किएको थाहा पाएर मन खुसी भएको थियो । उनी बनारस गएका रहेछन् । जोगीहरूको संगत गरेर धेरै बसेर किन फर्किए रहस्य नै रह्यो । मैले त्यो विषयमा बुझ्ने मौका जुराउनै सकिन ।
पछि एसएलसी पास भएपछि म काठमाण्डौ पढ्न गएँ । एक पटकको छुट्टीमा म बोक्टापुर गएको थिएँ । एउटा जाँगरिला पशुपालक भाञ्जे–भाइ (माइला)संग मह काड्ने र खाने भन्दै जङ्गल गयौँ । उही पुरानो जङ्गल बीचको बगैचा तिर पुगिन्छ कि भन्ने लाग्यो तर त्यतै कतै पुगे पनि मलाइ अन्धाधुन्ध लाग्यो । ती भाइ र उनका दौँतरीहरूले त्यो जङ्गलसंग चितपरिचित ब्यवहार देखाइरहेका थिए । भैसीहरूसंग उनीहरू त्यो जङ्गल चाहरिरहन्थे । मैले ती अग्ला रूखहरू मध्ये कुनै एउटा रूखको हाँगामा झुण्डिएको मौरीको घार देखिएला र धुवाँ लगाएर मौरी भगाएर मह काढेर खाने होला भन्ने बुझेको थिएँ । तर, ती ठिटाहरूले एउटा मझौला आकारको रूखमा बञ्चराले काट्न थाले । अलि धेरै बेर नै बञ्चरा चलाए पछि रूख ढल्यो । त्यस पछि उनीहरूले त्यो ढलेको रूखको बीचतिर बञ्चराले हिर्काउन थाले । रूख भित्र धोन्द्रो भेटियो । उनीहरूले त्यो धोन्द्रो भित्र मह भएको पहिचान गरेर त्यो रूख ढालेका रहेछन् । तर, त्यो मह मैले सोँचे जस्तो मौरीको थिएन, मौरी भन्दा अलि साना काला पुत्लाको मह रहेछ त्यो । स्वादमा अलि फरक हुँदो रहेछ । गाउँघरमा मौरीको महभन्दा पुत्लाको महमा औषधि गुण हुन्छ भन्ने विश्वास छ । खुब धेरै खाउँला भनेको थिएँ । त्यो मह थोरै खाए पछि मटक्क पार्यो । धेरै खान सकिँदो रहेनछ । अर्को दिन म बोक्टापुरबाट फर्किएँ । ती चिन्तामणि गाउँमा फर्किएर केही वर्ष बसेपछि फेरि हराएछन् ।
सायद उनी फेरि बनारस वा भारत तिरै कुनै तिर्थ तिर गएका पनि हुनसक्छन् । उनी पहिला किन हराए ? किन फर्किए ? किन फेरि हराए ? केही थाहा छैन । तर, अनुमान गर्छुः बैरागी भनाइमा जोगी बनेर घरबार त्यगेका सन्तहरूका बीचमा पनि गुरू चेलाको राजनीति तछाडमछाडको द्वन्द्बाट दिक्क भएर उनी गाउँ फर्किए होलान । गाउँमा झन ठूला दाउपेच, ठगी देखेर ‘मरे पछि पुग्ने स्वर्ग जाने आशा’ले उनलाइ फेरि त्यही जोगिको अखाडातिर पुर्यायो होला । मेरो अन्दाजै त हो । तर, मानिसको दिमागले जे कुराको उत्तर भेट्दैन त्यसको उत्तरमा अध्यात्मबादको कल्पनामा सन्तोष मनाउने जुक्ति खोजिरहन्छ । बैराग्यमा सन्तोष नगर्नेहरूले नभेटिएका उत्तर खोज्ने जिम्मा पुस्ता दरपुस्ता जिम्मेवारी दिँदै जान्छन् । त्यसैको परिणाममा कृत्रिम बौद्धिकता (आर्टिफिसियल इन्टेलिजेन्सी)सम्म पुगेको छ । मान्छेले भेटाउन नसकेका रहस्य भेट्नमा यो नयाँ प्रविधिको विकासले गन्तब्य सम्म त पुर्याउला कि नपुर्याउला अहिलै भन्न सकिन्न ।Published on satopati.com
 
 
There are no data records to display.
   
Comment:
Date:
Name:
LastName:
Address:
City:
PostalCode:
PhoneNumber:
EmailAddress:
WritingId:
Insert  Cancel

www.flykathmandu.co.uk

Received Comments



www.flykathmandu.co.uk
Please write email to belbase@flyktm.com to get permission to publish my article to your media.