Govind Belbase
<March 2024>
SuMoTuWeThFrSa
252627282912
3456789
10111213141516
17181920212223
24252627282930
31123456
पुनर्मूषिको भवः
पुनर्मूषिको भवः

आइतबार, पौष ५ २०७७
–गोविन्द बेल्वासे

नेपालको राजनीतिक घटनाक्रम भित्र “पुनर्मूषिको भव” भन्ने कथा पुनः चरितार्थ भएको छ । यो संस्कृत पाठशालाको पठ्यक्रममा धेरै पहिलादेखि पर्दैआएको नीति कथा हो । एक किसिमले यसले पूर्वीय दर्शनलाई पनि झल्काउँछ । ‘कौरव ’ प्रवृत्तिको निन्दा र पाण्डव प्रवृत्तिलाई प्रोत्साहन गर्ने मान्यताका भावले पनि उक्त नीति कथालाई बुझ्न सकिन्छ ।
उक्त कथा अनुसार बिरालोको डरबाट निरीह बनेको मुसालाई मुक्त गर्न ऋषिले बिरालो बनाइदिए । उक्त बिरालोले आफू कुकुरदेखि निरीह भएको गुनासो गर्दा कुकुर नै बनाइ दिए । कुकुर बन्दा पनि बाघदेखि निरीह रहेको अवस्था मनन गरेर बाघ नै बनाइ दिए । तर, बाघ बनेपछि ऋषिमाथि नै जाइ लाग्न थालेपछि ऋषिले उसलाई फेरि मुसो नै बनाई दिए ।
वि.सं. २०५१ मा गिरिजा प्रसाद कोइरालाको संसद विघटनको कदमलाई सर्वोच्च अदालतले वैधानिक ठहर्यायो । गिरिजाले जस्तै वर्तमान प्रम केपी ओलीले संसद विघटन गरेका छन् । गिरिजाको उक्त कदमले विकास गरेको समाजको विचलन हटाउन ०४७ को संविधानमा प्रधानमन्त्रीलाई संसद विघटन गर्ने अधिकार हटाइयो । कानून व्याख्या संबन्धी नियम अन्तर्गत न्यायपूर्ण समाज प्रवर्धन गर्न ‘मिस्चिफ नियम’ (The Mischief Rule) स्थापित भएको हो । उक्त नियम अनुसार अहिलेको संसद विघटनको कदम असंवैधानिक मान्नु पर्दछ ।
परिणामतः २०५२ सालदेखि ०६३ सम्म सशस्त्र युद्ध गरेको नेकपा माओवादीबाट सुराकीका आरोपमा नेपाली नागरिक मारिने घटना अहिले फेरि दोहोरिएको छ । उनीहरूनै सत्तामा भएको अवस्थामा अहिले विप्लब समूहबाट भएको शिक्षक हत्या लगायतका हिँसालाई निन्दा गर्दैमा एवं कडा कारवाहीका कुरा गर्दैमा यो समस्या सल्टिँदैन । यति कुरा बुझ्न सामान्य किसान पनि सक्षम छन् । यस घटना लाई त्रिकोणीय भावमा विश्लेषण गर्न जरूरी हुन्छ ।

प्रथम कोण : संविधानसभाको निर्वाचन गरेर लेखिएको संविधानको प्रस्तावना र धारा २ मा जनतालाई सर्वभौमसत्ता सम्पन्न भनेर लेखिएको छ । लेखे पनि नलेखे पनि सार्वभौमसत्ता नेपाली जनतामा निहित छ नै । नेपाली जनता त्यो कथाका ऋषि जस्तै हुन् । नेपाली कांग्रेसले राणा शासन विरूद्ध हतियार उचाले वापत नेपाली जनताले दुइ तिहाइ बहुमत सहित २०१५ सालमा उनीहरूलाई सत्तामा पुर्याइदिए । पञ्चायती ब्यवस्थाका अगाडि निरीह भएको गुनासो सुनेर २०४६ सालमा जनआन्दोलन गरेर बहुदलको सरकारमा पुर्याइदिए । माओवादीको सशस्त्र द्वन्द्वका अगाडि जोड चलेन भन्ने गुनासो सुनेर ज्ञानेन्द्रको सत्ता विरूद्ध जनआन्दोलन–२ गरेर लोकतन्त्रवादीहरूलार्इ सर्वशक्तिमान बनाइ दिए । उनै निरीह नेताहरू सर्वशक्तिमान बनेर शहरमा आलिसान महलमा बसेर हेलिकप्टरमा बोकेको केक झुपडीमा काटेर खाने गर्न थाले । अनि ५० लाख तोक्दा पनि जनताले जोगाएको टाउको ऐयासी खाटमा सुतेर पुनः जनतालाई नै शोषण गर्दैछन् । जनताको गास, बास र सिटामलको चाहना ‘पाइपमा आउने ग्याँस’ का गफमा उडाइदिए । मतपत्र चपाउँदै पानीजहाज तैरने पानीमा बगाइदिए । जनता तुइनमा झुण्डिएर प्राण धानेका छन् । यिनीहरूले ऋषिरूपी जनतालाई नै उल्टै झम्टिए पछि जनताले “पुनर्मूषिको भव” भनिरहेका छन् । विप्लवका सेना भने पनि सरकारका शब्दमा अपराधी भने पनि उनै जनता हुन् र मारिने शिक्षक पनि जनता नै थिए ।

'शकुनी मन्त्रणाका पात्रहरू'
उक्त घटना न त ब्यक्ति हत्या मात्र हो, न त मानव अधिकार उल्लङ्घन मात्र हो, न त सरकारले यस्ता अरू घटना दोहोरिनबाट रोक्न सक्ने आकस्मिक घटना नै हो । सत्ताका शकुनी मन्त्रणाका पात्रहरू बालुवाटार जग्गा प्रकरणदेखि सुमार्गी, यति र ओम्नीका मुकुण्डो धारण गरेको विषयबाट जनताहरू विरक्त भएका छन् । महाभारतका पात्र कौरवको अन्याय र अत्याचारको सीमा असैहय भएपछि रणमैदानमा पाण्डवहरू उत्रिएका थिए । युद्ध मैदानमा पुगेर पनि बाँण चलाउन इन्कार गर्ने अर्जुनलाई कृष्णले हतियार चलाउन दिएको उपदेश नै गीता हो । त्यही गीतालाई धर्मग्रन्थ मानेर पुज्दै आएका नेपाली जनतालाई अन्याय विरूद्ध विद्रोह गर्न मार्क्सवादको वर्ग संघर्षको ब्याख्या नै पर्खन पनि पर्दैन । गीताको मार्गदर्शनलाई अङ्गाल्नुपर्ने वाध्यता बोध गरिरहेको परिस्थिति अहिलेको वस्तुस्थितिको एउटा कोण हो ।
विप्लब विद्रोहदेखि माइतीघर मण्डलामा जम्मा भएर हिन्दू धर्म र राजाको गुहार गर्नेहरू दुवै त्यही गीतामा कृष्णले भनेको कर्म गर्ने पात्रहरू मात्र हुन् । सत्ता, विप्लव विद्रोह र पश्चगामी गरी अहिले तीन शक्ति देखिन्छन् । यो त्रिपक्षीय शक्तिबीचमा एक अर्कालाई निषेध गर्न सक्ने शक्ति छैन । जनताको आक्रोसलाई मत्थर पार्ने शक्ति भने तीन वटै पक्षसंग भएको विश्वास गर्न सकिने परिस्थिति हालसम्म बनिसकेको छैन । तर, जुन ब्यक्तिले जतातिर समर्थन गर्छ उसले भविष्यमा त्यही शक्ति बलवान हुँदै जाने तर्क गर्ने गर्छ । टाउकाको मूल्य बढाउँदै ५० लाख गराउने शेरबहादुर देउवा अहिले निरीह छन् । ‘किलो शेरा टु’ को प्रतिहिंसाबाट केही पनि सिक्न नसकेका पात्रहरूका हातमा सत्ता छ ।
जनताको हितसँग कुनै मतलब नै नभएका न्यून पूंजिवादी चिन्तनका पात्रहरूले समस्याका विरूद्ध दमनको भाषा बोल्नु अचम्म नभए पनि हास्यास्पद भने हो । शान्तिको मार्ग देखाउने दमननाथ ढुङ्गानाका आह्वान सुन्ने यहाँ कोहि देखिँदैन ।

दोस्रो कोण भनेको साम, दाम, दण्ड, भेदको हतकण्डा अपनाएर सत्ताका वरिपरि झुम्मिन पाएका ब्यक्तिहरूको आपसी अन्तर्विरोध हो । गास र बासकै लागि विदेश जानु सर्वसाधारण जनताको वाध्यतालाई सत्तासीनहरूले रमाइलोको रूपमा रेमिट्यान्स बुझ्ने गरेका छन् । बैदेशिक रोजगारीका दलालबाट खर्च बटुल्ने बानी पारेका छन् । भाषणमा आदर्श र ब्यवहारमा ‘दुशाशन चरित्र’ को पर्दाफास भैसकेको लाज पनि पचाएका छन् । अन्याय, अत्याचार र विभेदबाट विरक्त भएका जनताको आक्रोशलाई क्रान्तिको रूपमा भजाउन खोज्नु पनि अग्रगमन कै नियम भित्र पर्दछ । सत्ता पक्षको कमी कमजोरीलाई सुधार गरेर अन्याय, अत्याचार र विभेद घटाउने लक्षणको अभाव छ । वस्तुस्थितिले हिंसा अनिवार्य बनाएको विषय समाज विज्ञानको सरल नियम भित्र नै पर्दछ । त्यही उन्मत्त सत्ता विरूद्धको आक्रोसलाई विप्लवले नभए अरू कसैले समाउने नै छन् । जन आक्रोसलाई शान्तिपूर्ण माध्यमबाट सम्बोधन गर्न सक्ने राजनैतिक पद्धतिलाई प्रजातान्तिक मान्न सकिन्छ । त्यस्तो पद्धतिको अभावमा हिंसापूर्ण विद्रोहको परिस्थिति सिर्जना हुने पद्धतिलाई प्रजातान्त्रिक मान्न सकिन्न । बि. सं. २०४६ मा बहुदलीय राजनैतिक ब्यवस्था पुनर्स्थापित हुँदा पनि त्यो ब्यवस्थाभित्र महाकाली सन्धिदेखि पजेरो काण्ड लगायतका अपराध भए । जनतालाई चित्त बुझ्ने परिवर्तनको अभावले सशष्त्र माओवादी विद्रोह भोग्न देश वाध्य भयो । अहिलेको सत्ताले गरेका गल्तिहरू झन विकराल भएकै कारण नेपाली जनताले “पुनर्मूषिको भव” को कथा दोहोर्याउन वाध्य छन् । अझै पनि सत्तासीनहरू सुध्रिन सक्ने समय नभएको हैन । तर, नेतृत्व आफू बाहेक अरू सक्षम नै छैनन् भन्ने भ्रममा छ भने दोस्रो पुस्ता पनि आदर्शवान बन्ने र बनाउने पक्षमा अग्रसर छैन । पिँडो धान्नमात्र कहिले खस्ला र खाउँला भनेर चाकडीमा जुटेको जमातबाट आशा गर्न सकिने अवस्था छैन ।

तेस्रो कोण : प्रविधि सम्पन्न भूमण्डीकरणको विश्व राजनीतिक माहोलबीच मेची–महाकालीको महत्वपूर्ण भूगोलले सम्भावना र चुनौती दुवै बोकेको छ । सम्भावनाको विकल्पमा अमेरिकी सहयोगको एमसीसी र चिनीयां नेतृत्वको बीआरआई (बेल्ट एण्ड रोड इनिशेटिभ) रोज्ने जमात सत्ताकै वरिपरि भन्किएका छन् । अर्को तर्फ सम्राट अशोकको साम्राज्य विस्तार गर्न सक्ने शक्ति प्राप्त गरेको उग्र, मत्त भएको भारतीय जनता पार्टीको उद्दण्डता झल्किएको छ । जम्मु काश्मिरको पछिको उसको लक्ष्यका विषयमा समयमै सचेत नहुने हो भने केही वर्षमै पछुताउनु पर्ने अवस्था पनि नकार्न सकिँदैन । भविष्यमा त्यस्तो खतरा टरिहालेछ भने पनि अहिले सचेत हुँदैमा केही बिग्रनेवाला छैन । नेपालको संसदभित्र नेपाली शब्द उच्चारण गरेर लोभ्याउने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका शब्द पछिका क्रयाकलापलाई मूल्याङ्कन गर्ने हो भने त्यस विषयलाई वाहियात तर्क भनेर टार्न मिल्दैन । भारत र चीनको नेपालमा प्रभाव बलियो पार्ने आ–आफ्ना वाध्यता छन् । निकट भविष्यका महाशक्तिको सम्भावना बोकेका दुई राष्ट्र बीचको भूभाग पश्चिमा शक्तिको लागि झनै बढी महत्वपूर्ण छ । त्यस्ता दुई शक्तिका बीचमा रहेको भूभागमा आवश्यक पर्दा सुरक्षित उपयोगको वातावरण बनाउनु उनीहरूको पनि स्वार्थ हो । विश्वमा भएका दुई सय हाराहारीका राष्ट्रहरू मध्ये नेपालको भूभाग विश्व भूराजनीतिको सवैभन्दा महत्वपूर्ण रहेको भूभागमा राजनैतिक सानो गल्तीले पनि यहाँका जनतालाई धेरै ठूलो पीडा दिनसक्ने सम्भावना हुन्छ । यस विषयमा सवै नेपालीहरू सचेत हुन जरूरी छ ।

निकासको उपायः
विप्लव विद्रोह र पश्चगामी शक्ति लगायतका समस्या समाधानको उपाय सहज छ । तर त्यस्तो उपायका लागि इच्छाशक्ति जगाउन मुस्किल छ ।
समस्या समाधान गर्न सबैभन्दा पहिला समस्या पहिचान गर्नु पर्छ । पहिचान भैसकेको समस्या भनेको नेतृत्व तहमा भएको ‘कौरव’ (‘मेग्यालोथैमिया’) प्रबृत्ति हो । हाम्रा प्राग ऐतिहासिक दस्तावेजहरूले देखाएको त्यही प्रवृत्तिलाई फ्रान्सिस फुकुयामाले ‘मेग्यालोथैमिया’ भनेर “द इन्ड अफ हिस्ट्रि एण्ड द लास्ट म्यान” भन्ने पुस्तकमा ब्याख्या गरेका छन् । मानिसको मानसिकता र प्रवृत्ति हाम्रा पुरखाले जस्तै गृक दार्शनिकहरूले पनि केलाएका थिए । दार्शनिक हेगलको विवेचनालार्इ समेत केलाएर फुकुयामाले ‘आइसोथेमिया’ भनेर गरेको ब्याख्या र महाभारतमा पाण्डव प्रवृत्तिका रूपमा प्रस्तुत गरेको मनोभाव समान देखिन्छ । अरूलाई पीडा नपुर्याउने गतिविधिकासाथ आफ्नो आवस्यकता र इच्छापूर्ति गर्नका साथै सम्मान एवं गौरव हासिल गर्ने प्रवृत्ति (‘थमोस’) नै पाण्डव प्रवृत्ति हो जसलाई फुकुयामाले भनेको ‘आइसोथेमिया’ का रूपमा बुझ्न सकिन्छ । खड्गप्रसाद ओलीले चारू मजुमदारको आदर्श पछ्याउँदादेखि भैरहवा जेलमा बस्दासम्म पनि त्यही पाण्डव प्रवृत्तिको अनुयायी भएकाले उनी संलग्न भएको हिंसापूर्ण वर्ग दुस्मनको नीतिलाइ पनि सकारात्मक बुझ्ने गरिन्छ । तर, अहिले उनी नै सत्ताको बागडोर सम्हालेर प्रत्यक्ष हिंसा विरोधी शब्दहरू ब्यक्त गर्दा पनि ‘कौरव’ प्रवृत्ति देखिनु नै अहिलेको वास्तविक समस्या हो । उनीमात्र होइन, उनका आसेपासे, पुष्पकमल दाहाल नेतृत्वका उनका प्रतिद्वन्द्वीदेखि प्रतिपक्ष नेपाली काङ्ग्रेसका नेतृत्वसमेत सबै नै मिलीजुली त्यही ‘कौरव’ प्रवृत्तिलाई प्रवर्धन गरिरहेका छन् ।
चिल्ला, भड्किला तथा ऐयासी विदेशी गाडी चढ्ने नेताको चाकडी नै गर्ने जनताले पनि त्यस्ता नेतालाई घृणा गरेका हुन्छन् । बरू, नीति र कार्यनीतिमा आशा नभए पनि चित्र बहादुर केसी जस्ता नेताको चरित्रको चाहना राखेका हुन्छन् । अमेरिकाका पूर्वराष्ट्रपति ओवामाले छोरीको यूनिभर्सिटीको फिस जुटाउन पढाउने काम गरेको जनतालार्इ मन पर्छ । बेलायतका पूर्व उपप्रधानमन्त्री निक क्लेगले फेसबुकको कार्यालयमा र पूर्व अर्थमन्त्री जर्ज असवर्नले पत्रिकामा जागिर खाएको जनतालाई मन पर्छ । तर, जनतालाई नेपाली नेताले अस्वाभाविक कमाइ गरेर सन्तान दरसन्तानलाई सम्पत्ति जोरिदिएकोमा घृणा जाग्छ । यो विषय नबुझेर जनताबाट घृणित भैरहेको विषयलाई इज्जत ठान्ने र महंगा घडी, भड्किलो पहिरनमा सजिने, महँगो खाटमा सुत्ने गर्दा इज्जत गुम्न पुगेको थाहा नपाउने मानसिकता नै ‘कौरव’ प्रवृत्ति हो । त्यस्तो ‘कौरव’ प्रवृत्ति हटाएर असल शासनको सम्भावना देखाउने राजनीतिलार्इ जनताले मन पराउँछन् । मनपरेको र विश्वास गरेको नेतृत्वका पछि जुनसुकै त्याग गर्न जनताले साथ दिन्छन् । ज्यानको बाजी थापेर विप्लवको पछि लाग्ने कार्यकर्ता पनि त्यस्तै जमात हो । सत्ताले तर्साएर त्यस्ता जनता रोकिने भएको भए ०५२ देखि ०६३ सम्म सशष्त्र द्वन्द्व उत्कर्षमा पुग्ने थिएन । तर, उस बखत विश्वास गरेका नेतृत्वको पतन अहिलेको अवस्थामा पुग्छ भन्ने थाहा पाएका भए जनता उनीहरूका पछि लाग्ने थिएनन् । पुरानाले विश्वासघात गरेपनि नयाँले इमान्दारिता कायम राख्नेछन् भन्ने विश्वास गर्नुपर्ने जनताको वाध्यता हो । मानव प्रवृत्ति पनि त्यही नै हो ।
त्यसैले गरिसकेका गल्ती प्रायश्चित गर्ने, राजधानीमा खडा गरिएका आलिसान महल राज्यलाई बुझाएर सादा जीवनमा फर्कन सक्ने नेतृत्वको त्यागले भने विप्लवको हिँसा रोक्नेछ । तर, त्यसको लागि विग्रिएका नेताहरूको इच्छाशक्ति कसरि जगाउन सकिन्छ भन्ने नै आजको मुख्य समस्या हो । उनीहरू सुध्रन सक्दैनन् भनेर निरास भएर पनि विप्लव विद्रोह रोकिनेवाला छैन । सवैभन्दा ठूलो डर त के हो भने बदमासी गरेर राजधानीमा खडा गरिएका महल र तडकभडकहरू पनि जायज हुन् भन्ने वकालत गर्ने नेता र उनका समर्थक तथा कार्यकर्ता छन् । त्यो चर्तिकला जनताबाट लुकेको छैन भन्ने बुझाउन मिडिया पनि असमर्थ भएको छ ।
मिडिया प्रविधिले सुसज्जित छ, तर त्यही बदमास नेतृत्वको तावेदारी गर्दैछ कि भन्ने प्रश्न गर्नेहरूको कमी छैन । सामाजिक सञ्जाल पनि त्यही मिडियाको अंश हो । प्रायश्चित गर्न सत्ता सम्हालेका नेतृत्वलाई वाध्य पार्ने मिडिया आजको आवस्यकता हो । तर, मिडिया नै उनीहरूको चङ्गुलबाट फुत्काउन असम्भव पो भएको हो कि भन्ने प्रश्न गर्ने समय भएको छ । मिडियाको इमान्दारिताले समाधान पैलाउन भने सक्छ । संसद विघटनसम्मको अहिलेको घटनाक्रमले सत्तापक्षले नेपाली जनतालाई निरास परिसकेको विषयमा दुई मत हुनै सक्दैन ।https://globalnepalese.com मा प्रकाशित
 
 
There are no data records to display.
   
Comment:
Date:
Name:
LastName:
Address:
City:
PostalCode:
PhoneNumber:
EmailAddress:
WritingId:
Insert  Cancel

www.flykathmandu.co.uk

Received Comments



www.flykathmandu.co.uk
Please write email to belbase@flyktm.com to get permission to publish my article to your media.