Govind Belbase
<June 2022>
SuMoTuWeThFrSa
2930311234
567891011
12131415161718
19202122232425
262728293012
3456789
हुलाकीको घुँघुरूका धुनमा सुनिएको पोष्टकोड
हुलाकीको घुँघुरूका धुनमा सुनिएको पोष्टकोड

गोविन्द बेल्वासे
माघ १३, 2077

मथुराबेसीबाट वाङ्लाको उकालो चढ्दै गुन्यू चोली लगाएकी, बर्की ओढेकी र पिठ्यूमा सोली बोकेर माइत हिँडेकी युवतीले घुँघुरूको आवाज सुन्थिन्।
त्यही घुँघुरूको धुन जति चर्को सुनिदैँ जान्थ्यो, उनले बाटो छाड्न पर्ने समय त्यति नै चाँडै आउन थालेको महशुस गर्थिन्। जब लठ्ठीमा बाँधेको घुँघरूको धुनले उनको बाटो उछिन्ने समय भएको जानकारी दिन्थ्यो, तब उनी बाटोको भित्तातिरको भागमा सोली हुने गरी अडिन्थिन् र बाटो छाड्थिन्।
अग्ला र दरिला पुरूषको पिठ्यूमा खाकी रंगको रूकसेट झोला झुन्डिएको हुन्थ्यो। दह्रो र बलियो देखिने लठ्ठीमा बाँधिएको घुँघुरूको ध्वनिबाट उनले पाइलै पिच्छे उचाल्ने र भुइँमा टेकाउने गर्दा झन्कार फुट्थ्यो।
त्यो धुन सुन्दा बाटो छाडिदिनु पर्छ भन्ने बुटुवाहरूलाई थाहा थियो। सामाजिक दायित्व थियो। अभिभावकहरूले केटाकेटीलाई त्यही सिकाएका हुन्थे। त्यसैले उनलाई सबैले बाटो छाडिदिन्थे।
उनको यात्राको गति अरू बटुवाको भन्दा छिटो छिटो हुन्थ्यो। उनले गन्तव्य सकेसम्म चाँडै भेट्याउनु पर्थ्यो। उनको यात्राले धेरै मानिसको सूचनाको समय निर्धारण गर्थ्यो। ती मध्ये अधिकांश सूचना सकेसम्म चाँडै प्रापककहाँ पुग्न जरूरी हुन्थ्यो।
अझै अगाडि अधबैँसे पुरूषले दाम्लो समातेर भैसी डोर्याइरहेका हुन्थे। पछि पछि उनको छोरोले सिप्नाले भैसीलाई बेलाबेला हिर्काउँदै अगाडि बढाइरहका हुन्थे। उनीहरूले पनि त्यही घुँघुरोको आवाजका भरमा ती युवकलाई बाटो छाडिदिन्थे।
युवक तेज गतिमा बढ्थे। ती महिला र राँगो लगाउन भैँसी लिएर हिँडेका किसान लगायत सबै बटुवाले उनलाई बाटो छाडिदिन्थे।
उनी हुलाक बोक्ने हुलाकी हुन्। सरकारी जागिरे। गाउँमा राम्रै इज्जत हुन्थ्यो। जिम्माल, मुखिया, पञ्च-भलाद्मीपछिको इज्जतको क्रममा उनको इज्जत पर्थ्यो। निरन्तर नगद आम्दानी हुने हुनाले, आर्थिक हिसाबले पनि तुलनात्मक रूपले अरू गाउँलेभन्दा सबल नै हुने।
त्यो युग भोग्ने मानिसहरू अझै थुप्रै जीवित छन्। माथि वर्णन गरेको अर्घाखाँचीको एउटा दृष्य नेपालको पश्चिम भेकमा मात्र होइन, पूरै नेपालभरि नै देखिन्थ्यो।
फोक्ल्यण्डको युद्धमा ज्यानको बाजी थापेर जिउँदो शरीर घर पुग्छ कि पुग्दैन भन्ने धरमर हुँदै गर्दा गणेश राईले टेन्ट भित्र बसेर लेखेका चिठी पठाउँथे। पूर्वी नेपालको उनको घरमा पुर्याउन पनि त्यस्तै घुँघुरू बाँधेका लठ्ठी टेक्ने युवाले बोकिरहेका हुन्थे।
अझ अघिल्ला पुस्ताका लाहुरेले विश्वयुद्ध लड्दै गर्दा पठाएका चिठी बोक्ने हुलाकी पनि उस्तै हुन्थे। त्यस्तै तेज गतिमा हिँडिरहेका हुन्थे। उनीहरूको हिँडाइ भेटाउन केटाकेटी त दगुर्नै पर्थ्यो। ठूलो वर्णमाला पढ्ने केटाकेटीले पनि हुलाकीप्रति सम्मान जगाउने भाव भेटाएका हुन्थे।
अहिलेका केटाकेटीले ती हुलाकीको अस्तित्व भेट्दैनन्। भाव पनि बुझ्दैनन् किनकि प्रविधि, परिस्थिति र यन्त्रले अवस्था नै बदलिदिएको छ।
विदेशबाट पठाएका चिठी धरहरा नजिकको गोस्वारा हुलाक अड्डाबाट पूर्व पश्चिम कता पठाउने हो भन्ने छुट्याइन्थ्यो। त्यो कार्यालयको काम अहिले पनि उस्तै छ तर चाप घटेको छ।
अहिलेका सन्देश बोक्ने इमेल, भिडिओ, फोटो तथा म्यासेज र डिजिटहरू समुन्द्रपारिका अपरेटिङ सर्भरले छुट्याए जस्तै। उसबेला हुलाकी झोला सार्दै र साट्दै गाउँघरसम्म खबर पुग्थे।
कम्प्युटर प्रविधि प्रचलनमा थिएन। म स्कुल पढ्ने समय अर्थात् पचास वर्ष अघि नै नेपालमा आवा (आकाशवाणी) प्रविधि चलनमा चलिसकेको थियो। हुलाकीको चिठीभन्दा चाडै सन्देश गाउँसम्म पुग्न थालेका थिए। तर, अति जरूरी सन्देशमात्र आवाबाट पठाइन्थे।
अरू सामान्य सन्देश चिठीमै हुन्थे। सदरमुकाममा आवा अफिस हुन्थे। ध्वनि संकेत तथा शब्दबाट अपरेटरले अक्षर टिप्ने त्यस्ता कार्यालयहरू सदरमुकाममा हुन्थे। त्यसरी टिपिएका आवा सन्देशहरू गाउँघरसम्म पुर्याउने कर्मचारीहरू पनि पैदल नै हिँडेका हुन्थे।
तराई तिर भने साइकलको प्रयोग भएको पनि देखिन्थ्यो। सरकारी अति जरूरी सूचना भने कहिलेकाहीँ प्रहरी कार्यालयका घोँडाले बोकेर गाउँसम्म पुर्याउने अवस्था पनि हुन्थ्यो। आवाको प्रचलन चलेको पनि एक दशकभन्दा बढी भएको थिएन। त्यसअघि त हस्त लिखित चिठी नै हुलाकीले बोक्ने अवस्था थियो।
परेवाले बोक्ने सन्देश त किम्बदन्ती जस्तो लाग्छ। अस्तित्वमा भएकै भए पनि सर्वव्यापी प्रचलन थिएन।
त्यस समयको जीवनशैलीका कथा सुन्ने अहिलेका केटाकेटीले हामीलाई अनौठा प्रश्न सोधेर छक्क पार्छन्। ‘मोबाइल फोनको टेक्स्ट म्यासेजमा सन्देश नपठाएर हुलाकका चिठी हप्ता–हप्ता किन पर्खेर बस्थे?’ भन्ने जस्ता प्रश्न हाम्रा कानमा ठोक्किनु सामान्य भैसक्यो।
हातहातै स्मार्ट फोनको जमानामा हुर्कने बच्चाहरूले स्कुल कलेज पढ्दै समाज विकासक्रम बुझ्दै गएपछि बल्ल एक शताब्दी अघिका मानिसका दैनिकी कस्तो थियो भन्ने बुझ्दै जान्छन्। त्यसपछि बल्ल ती प्रश्नहरू अलि फेरिन्छन्।
हामीले बच्चा अवस्थामा हाम्रा अभिभावक तथा अग्रजहरूलाई सोध्ने प्रश्न उनीहरूको लागि त्यति अनौठा हुन्थेनन्। बितेको पाँच दशकमा भएको मानिसको सामाजिक परिवर्तन त्यसअघि हजार वर्षमा भएको परिवर्तनभन्दा पनि तीव्र हुन गयो।
हामी हुर्कँदै गर्दा गाउँघरमा सलाई-लाइटरको पनि सहज पहुँच थिएन। ग्यास चुलोको सहज प्रचलन कल्पनामा पनि थिएन। राति सुत्ने समयमा अगेनामा खरानीले अगुल्टो पुरेर भोलिपल्टका लागि आगो जोगाएर राख्नु पर्थ्यो। त्यसरी आगो जोगाएर राख्ने प्रचलन हजारौँ वर्षदेखि चलिआएको थियो।
प्रचलनमा धेरै आइनपुगेको भए पनि सालइ-लाइटर बजारमा थिए। लाहुरेले लाइटर बालेर चुरोट सल्काएको देख्दा आधुनिकताको चरमचुली त्यही होला जस्तो लाग्थ्यो। कम्प्युटरको अस्तित्व नै थाहा नभएको अवस्थामा अहिलेको आर्टिफिसियल इन्टेलिजेन्सी र डीप लर्निङका विषय त हाम्रा शिक्षकका दिमागमा पनि छिरेकै थिएन।
हुन त हामीले पनि केही अनौठा प्रश्न नगरेका होइनौँ। दिनभरि घाममा सुकाएका ब्याट्री (सेल) हालेर साँझमा बुवाले बजाएको रेडियो (ट्रान्जिस्टर) भित्र कसरी मान्छे अटाउँछन भन्ने हाम्रा प्रश्न पनि अनौठा हुन्थे। तर, हामीले गर्ने जस्ता प्रश्न सोध्ने प्रविधि गुरूको पाठ घोक्ने चेलो हुँदाको अवस्थामा मेरा बुवाहरूले देख्नु भएन।
त्यसैले त्यस्ता प्रश्न गर्नु भएन। बाजेहरूका जमानामा जे थियो, त्यो त हजारौँ वर्ष अघिदेखि जे थियो त्यही थियो। त्यसैले बाजेहरूले उत्तर दिन अप्ठ्यारा हुने कुनै प्रश्न नै सामना गर्न परेन।
बच्चाहरूले पनि अग्रजले नबुझ्ने कुनै प्रश्न सोध्नै परेन होला हाम्रा बाजेका पालासम्म। तर उतिबेला पनि सोधिए होलान्, आकाशमा तारा कति छन्? सूर्य किन उदाउने र अस्ताउने गर्छ? रातिमा अध्यारो किन हुन्छ? मान्छे छोरा र छोरी कसरी हुन्छन्? मरेपछि हामी कहाँ जान्छौँ? अहिलेका केटाकेटीहरू पनि त्यस्तै प्रश्नहरूसँग गुगल सर्चमा खेलिरहेका हुन्छन्।
बेलाबेला चर्चा हुने हुलाकी सडक त्यही पहिले हुलाकी हिँड्ने मुल बाटोको प्रसंग नै हो। स्थानीय अगुवाहरूले हरेक दशैँमा मर्मत गरेर घोडा हिँड्न मिल्ने फराकिलो घोडेटो बनाउने चलन थियो। हुलाकी हिँड्ने मूल सडकलाई मोटर हिँड्ने बनाउने कुरा राजा महेन्द्रको पालामा नै चलेको हो।
पछि, अन्तर्राष्ट्रिय सहयोगमा आर्किटेक्टहरूले डिजाइन गरेको महेन्द्र राजमार्ग बन्यो। म सानो छँदा हुलाकी सडकलाई फराकिलो पारेर मोटरबाटो बनाउन जनश्रम गर्न गाउँले गएको पनि सम्झना छ। तर, त्यो क्रम धेरै दिन चलेन पनि र धेरै ठाउँमा भएन पनि होला।
उस समयमा चिठी बोकेर पठाइने खबरहरू अहिले इमेल, फेसबुक, भाइबर, ह्वाट्स एप जस्ता प्रविधिले हुलाकी व्यवस्था नै अनावश्यक बनाएको त हैन भन्ने भान पनि हुन सक्छ।
उस समयमा सरकारले नै हुलाकको व्यवस्थापन र अन्तर्राष्ट्रिय जिम्मेवारी सहित सञ्चालन गरेको हुन्थ्यो। अहिले निजी कुरियर कम्पनीहरूले छिटोछरितो दिने सेवाले गर्दा पनि सरकारी हुलाक व्यवस्था ओझेलमा परेको छ।
बेलायतमा हरेक मूल गल्ली (स्ट्रिट) मा रोयल मेल (हुलाक) काराता डिब्बाहरू भेटिन्छन्। हुन त सरकारी स्वामित्वबाट रोयल मेल पनि निजी कम्पनीमा परिणत भैसकेको छ। बेलायतको हुलाकको विषयलाई हेर्दा पोष्टकोडको महत्व बुझ्न जरूरी छ।
लण्डनमा सन् १९५७ बाट पोष्टकोडको अवधारणा सुरू गरिएता पनि हाल प्रचलनमा रहेको आधुनिक पोष्टकोड १९५९ देखि लागु भएको हो। बेलायतको आधुनिक प्राविधिक विकासमा पोष्टकोडको ठूलो महत्व बुझेर नेपालले अवलम्बन गर्न जरूरी छ।
सामान्यतया ६ अक्षर अंकको पोष्टकोड र घर नम्बरले हरेक घरको ठेगाना निर्धारण हुन्छ। त्यस्तो पोष्टकोडको विकास गरेर सूचना तामेलीलाई इन्कार गर्ने बहाना हटाउन सकेको खण्डमा नेपालको अदालतको ३० प्रतिशत मुद्दाहरू कम हुन्छन्।
न्यायक्षेत्र मात्र होइन, यसबाट विकास योजना र कानून नियमनमा पनि ठूलो उन्नति हुन जान्छ। इन्टरनेटको जमानामा अनलाइन अर्डर जस्ता डेलिभरी पनि यही पोष्टकोडकै भरमा चलेका हुन्छन्।
नेपालमा पनि मोबाइल फोनको सुविधाले पार्सल पुर्याउन सहयोग गरेता पनि पोष्टकोडको अभावले गर्दा अर्डर गर्ने र डेलिभरी गर्ने विषयका विवाद बढ्न जान्छन्। साथै प्रमाणहरूको अभावले गर्दा अन्य अप्ठ्याराहरू पनि पर्न जान्छन्।
ठूला एयरपोर्ट, पानीजहाजका अफिस र ग्यासका पाइप घर घर पुर्याउने राजनैतिक गफ सुनाउनभन्दा पहिला वैज्ञानिक पोष्टकोडको व्यवस्था गर्नु पहिलो आवश्यकता हो। पोष्टकोडको नियमित व्यवस्था समृद्धिको जग ठहरिने छ।
नेभिगेटरमा पोष्टकोड र घर नम्बर हाल्नासाथ निर्धारित घरको ढोकामा पुगिने न्यूनतम आधार बिनाको सेटलाइटको अधिकारमाथिको दावीलाई हावाको गफभन्दा अतयुक्ति हुने छैन।
नेभिगेटर जडित अत्याधुनिक मोटरहरू नेपालका मन्त्री र उच्च तहका कर्मचारी तथा धनाढ्यहरू चढ्ने गरेका छन्। तर त्यो नेभिगेटर प्रयोग गर्न नभइ नुहने पोष्टकोड प्रति उनीहरूको ध्यान नगएको हो कि महत्व थाहा नभएको हो, खुल्दुली लागिरहेको छ।
प्रकाशित मिति: मंगलबार, माघ १३, २०७७, १४:५३:४१

setopati.com मा प्रकाशित
 
 
There are no data records to display.
   
Comment:
Date:
Name:
LastName:
Address:
City:
PostalCode:
PhoneNumber:
EmailAddress:
WritingId:
Insert  Cancel

www.flykathmandu.co.uk

Received Comments



www.flykathmandu.co.uk
Please write email to belbase@flyktm.com to get permission to publish my article to your media.