Govind Belbase
<April 2024>
SuMoTuWeThFrSa
31123456
78910111213
14151617181920
21222324252627
2829301234
567891011
भुल्लीका जगल्टा
(साहित्य)
भुल्लीका जगल्टा
(साहित्य)

–गोविन्द बेल्वासे, UK



प्रसङ्ग जाडो याम सकिएर न्यानो दिन सुरू हुने तथा रात र दिन बरोबर जस्तै हुने बिहानको हो । त्यो विहान आजभोलि कै विहान हो । मध्यरातमा घडीको सुइ घुमाइने हप्ताको विहानको हो ।


उज्यालो भयो भनेर विस्तराको सिरक फालेर जुरूक्क उठ्ने मन बनाउँदै थिएँ । पिसापको दवावले चर्पी जानै पर्ने बाध्यता बनेको थियो । तर, शरीरले आलस्यता दर्साइरहेको थियो । दिमागले ‘मोबाइलको एलार्म त अझै बजेको छैन, एकछिन अल्छि मान्दै गरेपनि हुन्छ’ भन्दै थियो ।


त्यत्तिकैमा छिमेकीको धुपीको रूखमा बसेको चरो चीँ..चीँ.. गरेको धुन कानमा ठोक्कियो । आफ्नै बारीको चेरीको हाँगामा बसेको ढुकुर ‘ढुकर..कुर..कुर’ गर्दैरहेछ । त्यो मधुर स्वरले शरीरमा रमाइलो तरङ्ग छर्दै थियो, त्यत्तिकैमा बाटा तिरको रूखमा बसेको कागले तीखो स्वरमा ‘का..का..’ गरेर चिरवेरेको मधुर ध्वनिमा कर्कस उदास छरिदियो । आफ्नै घरको मझेरीमा दुर्इ परेवा गुटुर गुटुर गर्दै पिरति गाँसिरहेका र चोचो जोड्दै गरेका रहेछन् ।



उठ्नै थियो, दिमागले अलि दरिलो आदेश दिएपछि शरीर विस्तरा छाड्न बाध्य भयो । चेन अफ कमाण्डको नियम अनुसार माथि परेको दिमागको आदेश नमाने त शरीरले पनि कोर्ट मार्सलमा परिएला भन्ने डर मान्नै पर्यो । अनि, जर्फराउँदै उठैँ । दिमाग र शरीर बीचको अन्तर्विरोधलाइ चिर्दै विस्तरा छाड्नै पर्ने बाध्यताको मारमा विचरा सिरक पर्यो । फर्लक्कै पल्टियो र उता तिर हुत्तियो ।


चर्पीबाट फर्किएर पर्दा हटाउँदै पारदर्शी डबल ग्लेजिङको सिसा बाहिर हेरेको त बाहिर जगल्टा फैलाएर ठुस्स परेर बसेकी पो रहिछन् । भित्र ग्यास डढाइवरि ब्वाइलरले पानी तताएर रेडिएटरमा धकेलेकोले पो न्यानो छ त । बाहिर त बेलायती कठाङ्ग्रिने चिसो नै छ नि । फ्रिजभित्रको चिसो भन्दा बाहिरको तापक्रम अझै कम थियो । त्यस्तो चीसोमा कठाङ्गीएर बसेकी ! बिचरीलाइ देखेर दया जाग्यो ।


ठुस्सिएको मुहार देख्दा ‘ला हिजो साँझको बेसुरमा वित्यासै पारिएछ कि’ भन्ने डर पनि लाग्यो । ‘खुसी’ नामको पुस्तक लेख्ने बिजय कुमार पाण्डेले जस्तो छाद्ने गरी पिउने बानीले गर्दा वेसुर भएको पनि त थिइन् । त्यसरी दारू नै कहा खान्छु र म ? औषधिका रूपमा एक दुइ ढक्कन मिसिएर घाटीबाट तल छिरेको भए अर्कै कुरा । आखिर त्यस्तो केही गल्ती मैले गरेकै छैन भन्नेमा म त ढुक्कनै थिएँ । दिमागले हिजो साँझका घटनाक्रमलाइ एक–एक गरेर केलाएर निचोडका रूपमा ठहर खण्ड पढेर सुनायो । निस्चित भएँ, मैले त्यस्तो कुनै गल्ती गरेकै छैन ।


यसै–उसै अव यी ठुस्सिएर कठाङ्ग्रिँदै बाहिर कक्रक्कीएकीलाइ फकाउन त परिहाल्यो भन्ने मन बनाएँ । जाडो ! त्यसै माथि विहानको सिरेटोमा लट्टिएका जगल्टाका रौ फरफर गर्दै हल्लिरहेका । दायाँ–बायाँका कानका लोती पनि कहिले ढाक्ने तर कहिले उड्ने गरिरहेका भुत्लाको ताल देख्दा झनै दया जागेर आयो । ती कानका लोतीको घुमाउरो आर्क परेको बनोट देख्दा उहिले माइजुका कानमा सर्लक्कै सुनका मुन्द्रा झुण्डिएका हुन्थे भन्ने सम्झेँ । उति बेला चलन नै त्यस्तै थियो क्यारे अलि हुने खानेका घरका महिलाका कानमा सर्लक्कै सुनका सुत्ला झुण्डिएका हुने । आजभोलिका बजार तिर भेटिने पङ्क्स पनि के कम र जिब्रो, नाक, कान, नाइटो जता ततै छेँडेका र मुन्द्रा र बुलाकी झुण्डाएकै हुन्छन् । उहिले सुनका मुन्द्रा र ढुङ्गी, मढहरी झुण्डेका हुन्थे । अहिलेका सिल्टीका हुन कि चाँदीका हुन कुन्नि ? सेता सेता धेरै देख्छु ।


तल झरेँ । ठूलो कपमा चियापत्तीको थैलो हालेँ । केत्लीमा भल्किएको पानी खनाएँ । त्यही चियाको कप लिएर फकाउने बहाना सोँच्दै ढोकाबाट बाहिर निस्किएँ । चुपचाप लट्टा परेका जगल्टा फिजाएर लम्पसार परिरहेकी देखेँ ।


त्यो ताल देखेर अव भनसुन गरेर काम छैन भन्ने बुझेँ । ग्यारेजमा गएर भुत्ला काट्ने मेसिन झिकेँ । मेसिन त बाहिर पुर्याएँ तर छोटो तार भएकोले बिजुलीको प्लगसम्म एक्सटेन्सन तार चाहियो । ग्यारेजको कप्टेरा नभएको दराज भन्ने जस्तै तखतामा राखेको एक्सटेन्सन तारको गजुल्टो खोलेर बिजुली जडान गरेपछि भुत्ला काट्ने मेसिन तयार भयो ।


कोही बोल्ने नभए पछि म पनि कानमा हेडफोन घुसारेर रेडियो सुन्न थालेँ । भुत्ला काट्ने मेसिनको कर्कस हल्लाले छिमेकीको निद विगार्ला भन्ने सम्झेँ । छिमेकीलाइ रिसाउने बहाना दिन पनि त भएन । विकेण्ड (सनिवार–आइतवार छुट्टि) को बेला विहानमा अलि ढिलैसम्म सुत्ने धेरै हुन्छन् भन्ने लाग्यो । त्यत्तिनजेल पात झरेर कक्रक्क परेका गुलाफका हाँगा काटेर ठुटै पारिदिएँ । टिपन टापन पारेर खैरा ढोङ्गामा हालेँ ।


मेसिन चलाएर हल्ला गर्दै जगल्टा काट्ने अझै समय भैसकेन कि भन्ने हुँदासम्म कैँचीले दायाँ बायाँ तिरका उनका भुत्लाका टुप्पा मिलाउन थाले । कैचीको ट्वाक ट्वाकको मधुर स्वरका विरूद्ध छिमेकीले डिस्टर्ब भएको गुनासो गर्ने गुञ्जाइस पनि थिएन ।


मेसिन चलाउन मिल्ने समय हुँदासम्म मेरो ठूलो कपको चिया पनि रित्तिएछ । कति स्रुपमा सकियो भन्ने चाहीँ गनिन है । गन्ने चलन नै छैन, मेरो । त्यो हल्का टर्रो स्वादले जिउ भने फुर्तिलो पार्छ । आज पनि त्यसैको प्रभावले हो कि कैचीले उनका दयाँ बायाँ कानतिरका जगल्दा मिलाउँदा शरीरमा उर्जा जलन पो भएर हो कि अलि फुर्ती बढ्दै गएको भान भयो ।


रूप राम्रै भए पनि कोरीबाटी चुलठी गर्यो भने उज्याली देखिन्छ । नत्र, जगल्टा परेका, नकोरेको कपालले गर्दा भुल्ली देखिन्छ । रङ् रोगन गरेर पाउडर दलेर लिपिस्टिक लर्काएपछि झलक्क बल्ने त हो नि । नबोली बसेकी लाटीको भुत्लाका छेउँ टुप्पा कैचिले नै मिलाए पछि सर्लक्क मेसिन चलाएर एकनासको सर्लक्कको दुवे चौर पारेँ । दायाँ बायाँका कानका लोती पनि आर्क आकारमा प्रष्ट नै देखिन थाले ।


नोभेम्बर महिना देखि कठाङ्गिएका जगल्टा पनि थुप्रै पो रहेछ त । विजुलीले चल्ने मेसिनको पुच्छर तिर बसेको ढोङ्गो पनि पाँच पटक खैरो ढोङ्गामा खनाउन पर्यो ।


त्यति गरेपछि बल्ल बाहिर जाडोमा कठाङ्गिएर भुल्ली भएर बसेकी मेरी गार्डेन(बारी) गजब सुन्दरी देखिइन । अव दिन प्रतिदिन रात छोटिँदै जानेछ । घाम न्यानो हुँदै जानेछ । दायाँ वायाँ लोती पारिको भागमा खनी खोस्री टमारका बेर्नामा राता दाना झुण्डिँदा यी भुल्लीको पनि बैस चढ्ने छ । पल्लो पट्टिको छेउँमा हरियो भएर ढर्लक्क ढल्किएको धनियाको पातले बासना छर्ने छ ।


गुलाबको फूलको थुङ्गाले यी भुल्लीको सिरै ढलक्क हुनेछ र रमाइलो दिनको पर्खाइरमा यो सप्तान्तको बारि सिङ्गार्ने फुर्तिको अनुभूति सुखदायी हुने छ ।
सेतोपाटी.कम मा प्रकाशित
 
 
There are no data records to display.
   
Comment:
Date:
Name:
LastName:
Address:
City:
PostalCode:
PhoneNumber:
EmailAddress:
WritingId:
Insert  Cancel

www.flykathmandu.co.uk

Received Comments



www.flykathmandu.co.uk
Please write email to belbase@flyktm.com to get permission to publish my article to your media.