Govind Belbase
<April 2024>
SuMoTuWeThFrSa
31123456
78910111213
14151617181920
21222324252627
2829301234
567891011
बालीघरे आरन र मल्लाह
बालीघरे आरन र मल्लाह

गोविन्द बेल्वासे
साउन १५


नेपालको हिमाल, पहाडदेखि तराईसम्मका गाउँगाउँमा आरन भेटिन्थे। अझै पनि कतैकतै भेटिन्छन्। आरन नेपालको परम्परागत औद्योगिक भट्टी हो। आगोको तपतपी राप निकालेर फलाम पगाल्ने भट्टी।

कोही छालाको ठूलै थैलो जोडिएको डण्डी तानेर कोइला फूक्ने आरन हुन्थे। कोही सहरबाट किनेर ल्याएको हेन्डल घुमाएर हावा फाल्ने पङ्खाले कोइलाको आगो तिखार्ने आरन हुन्थे। हावाले फुकेर रातो पारिएका कोइलाका भट्टीमा फरूवाको धार धारिलो पारिन्थ्यो।

हलोको फालीको टुप्पो माटो भित्रका जारा उधेन्ने गरी तिखारिन्थ्यो। डाले घाँसका मसिना हाँगा छ्याप्पै छिनाल्ने खुर्पादेखि चरप्प सिरू काटेर भारी पुर्याउने धारिला हसियाँको धारमा पानी पनि चढाइन्थ्यो, ती आरनमा।

धेरै वर्ष के भनुँ र, दशकहरू बिते त्यो भक्भकी बलेको आरनमा तताएका फलाम पिट्दाको आवाज सुन्न नपाएको। ट्याङ-ट्याङ, ट्वाक-ट्वाक, छङ्लङ्ग हुने ती ध्वनिले कानका जाली हल्लाउन नपाएको युगै बित्यो।

आजभोलि पेट्रोलियम इन्धनका कार फ्याक्ट्रीहरू हराउने क्रम सुरू भयो भनिन्छ। विस्तारै विद्युतीय गाडीमा परिणत हुन लागेका अहिलेका कार उद्योगसँग ती आरनको तुलना गरेपनि हुन्छ।

मोटर गाडीको प्रचलन कम हुँदासम्म नेपालको तराई क्षेत्रमा लडिया (गोरू-गाडा)को निकै प्रचलन थियो। काठको चक्कामा फलामको औँठी लगाइएको हुन्थ्यो। त्यो फलाम औँठीले काठको चक्कालाई टिकाउ बनाउँछ। चरप्प अठ्याएको हुन्छ।

हाम्रो तिर त्यो फलामलाई 'हाल' भन्ने चलन छ। त्यो हाल बेलाबखत चक्काबाट फुत्किन्थ्यो। आरने दाइले गोबरका गुइँठाले तताएर रातो पारेको हाल चक्कामा चढाउँथे र चक्का बलियो पार्थे। त्यस्ता चक्का कुनै समयमा समाज परिवर्तन गर्ने आधुनिक यन्त्र थिए।

हजारौँ वर्ष मानिसको सेवा गरेको त्यो प्रविधिको कालखण्ड सकिएको समय अवधि मेरो किशोर अवस्थासम्म रह्यो। यदाकदा गाउँतिर अझै त्यो चक्काको प्रचलन भेटिन्छ, हराइसकेको छैन। अब विस्तारै संग्राहलयमा मात्र भेटिने अवस्था आउने छ।

भावि पुस्ताका लागि इतिहास बुझ्ने माध्यम पनि हुन सक्ने छ। जसरी कि म हाल बस्ने गरेको पिटरबरो भन्ने सहरमा कास्य (ब्राउन्ज) युगका अवशेष खोज्ने र उतिखेरका घरका खाँबाका अवशेषहरू जम्मा पारेर म्युजियम बनाइएको छ।

नेपालका बजारमा फलाम बेच्ने पसलबाट किनेर गाउँ पुर्याइएका हुन्थे ती औजार बनाउने फलामका टुक्राहरू। जस्ता पाताको टिन (डिब्बा) भित्र डोकामा नाम्लोले बोकेर ल्याएको घिउ बेचेर किनिन्थे ती फलामका टुक्रा। कसैले लाहुरेले तिरेको ब्याजको पैसाबाट पनि किन्थे।

पण्डितहरूले पूजामा चढाइएको भेटी र दक्षिणा जम्मा पारेको पैसाले किन्थे। त्यो फलाम आरनमा तताएर, घनले ठटाएर, पाइन चढाएर प्रयोग गर्न लायक बनाइन्थ्यो। खरिया फाँड्ने फरूवादेखि आली ताछ्ने कोदालीमा धार हालिन्थ्यो। त्यसैले त अन्न उब्जाउन पाइन्थ्यो। बेसाहा किन्न परे इज्जत जाने समाज तयार पारिएको थियो।

त्यो आरन उसबेलाको आधुनिकताको प्रमाण थियो। लाहुरेले सुनाउने गरेको बाफको मुस्लो आकाश तिर फाल्ने छुकछुके रेलले टाढैबाट बोकेर ल्याएका हुन्थे रे ती काँचो फलाम। त्यो रेलमा तीन दिनको यात्रा गरेको पनि सुनाउँथे ती लाहुरेले।

फलामकै लिकमा गुडेर ल्याएको रेलले बोकेर ल्याउँथ्यो रे त्यो फलाम। हाम्रा गाउँको आरनले खुर्पेटोमा भिरेर बोक्ने र गाईभैँसीको पेट भर्ने घाँस जोहो गर्न प्रयोग गर्ने हसियाँ पनि तयार पार्थ्यो। त्यस्तै हँसिया तरकारी, धान र गहुँ काट्न पनि प्रयोग हुन्छ।

मधुस र मूल ढोकामा कुची कस्नेदेखि ढोका खोल्दा झुण्डाउने साङ्लो ठोकठाक पार्न पनि आरन नै चाहिन्थ्यो। ठूला फ्याक्ट्रीमा बनेका चुक्कल, कब्जा गाउँमा पुगेपछि चलन फेरिएको छ।

हाम्रा चलन चुक्कलमा मात्र हैन, समाजमा पनि फेरिएका छन्। आरने दाइहरूले स्कुल जान र पढ्न लेख्न पाएनन्। पण्डितहरूले 'तिमीले छोएको पानी विष्टले खाएमा तिमीलाई पाप लाग्छ र नर्कमा पर्छौ' भनेर सिकाए। सोझा दाइहरूले त्यही बुझे। त्यसैले भाग्यले उनले तल्लो जात पाएकोले अर्को जुनी फेर्न मजस्ता विष्टका सन्तानलाई सम्मान गरे।

उनले जस्तै दमई दाइ-भाउजूले पनि मेहनत गरेर सिलाएर दिएको कपडा हामीलाई सुनपानी छर्किएर (छिटो हालेर) लगाउन सिकाए। उनका सन्तान स्कुल जान पाएर चेतना बढेपछि बल्ल समानताको माग गर्न थालेका छन्। पण्डितहरू भने आफ्नो पेसा गुम्ने डरले अझै पनि दलितका छोराछोरीले पढेर धर्म नाश गरे भन्ने तर्क गरेको देख्दा त्यो परम्परागत आरन र सियोको अपमान गरिरहेको भान हुन्छ।

हामी पहाडमा बस्दा गाउँको पुच्छारमा आरने र दमाइ दाइका घर थिए। उनीहरूको नाम मलाई थाहा भएन। किनकि गाउँमा एक-एक जना मात्र थिए। धेरै जना भए पो नामले चिन्न पर्ने। आरने दाइ भन्ने एकै जना चिनिन्थे। दमाइ दाइ पनि एउटै थिए।

तराईको गाउँमा बस्दा गाउँको अन्तिममा दक्षिणपट्टि जुजुको दुकान थियो। त्यसभन्दा अलि वर भित्ता बिनाको छाप्रो थियो। त्यो छाप्रो भित्र आरन चल्थ्यो। फाली, हसिँया र कोदालो आदि पिटिन्थ्यो। लडियाको हाल हाल्ने काम भने त्यहाँ हुन्थेन।

हिउँद महिनामा मात्र 'हाल' हाल्ने काम हुन्थ्यो। हिउँदमा धानका ब्याड खाली नै हुन्थे हाम्रो गाउँमा। धान रोपेर सकेपछि केही समय खाली हुन्थे। त्यसपछि ती धानको ब्याड राख्ने गह्रामा तोरी छरिन्थ्यो। खेतका खाली गरामा गोबरको गुइँठा गोलो पारेर थुपारिन्थ्यो।

फलामको गोलो 'हाल' त्यही गुइँठामाथि राखेर गुइँठाले पुरिन्थ्यो। त्यसभन्दा पहिला नै आरने दाइले धागोले काठको चक्का नापेर फलामे पातोलाई ठिक्क मिलाएर दुई छेउँमा प्वाल पार्थे। सानो टुक्रा फलाम भकभकी बलेको आगोमा तताएर रातो कोइला जस्तै पार्थे। सनासोले चरप्प पारेर रातो फलाम ती प्वालमा छिराउँथे।

उनको अचानो पनि फलामकै थियो। भुइँमा पुरिएको दह्रो काठमा बलियोसँग अडिएको हुन्थ्यो त्यो फलामे अचानो। त्यो अचानोलाई उनले अर्कै नाम भन्थे। तर, के भन्थे कुन्नी मैले बिर्सिएँ। त्यही अचानोमाथि प्वालमा छिराएको टुक्रा सनासोले अठ्ठाउँदै गोलो 'हाल' अडाउँथे।

उनकै अह्रोटमा घनले रातो टुक्रामा हिर्काउन लगाउँथे। प्रायः जसले त्यो काम उनलाई लगाएको हुन्थ्यो उसैले घन उचालेको देख्थेँ। तर, ती व्यक्ति अलि बुढा वा कमजोर रहेछन् भने अरू कोही दरिलो ज्यान हुनेले घन बजार्थ्यो।

त्यो फलामको लामो पातो साइज मिलाएर जोडिन्थ्यो र ओलम्पिकको लोगोमा देखिने चक्काहरू जस्तै एउटा चक्का बन्थ्यो। त्यही हो लडियाको 'हाल'।

तराईमा सिपालु सिकर्मीले साजको काठको बीचको भाग, सालको सोइला र सालकै काठ ताछेर गोलाकार चक्का बनाउँथे। दुई चक्का जोड्ने फलामको डण्डीलाई सबैभन्दा बढी नगद खर्च गर्नु पर्थ्यो। लडियाका अरू भाग काठकै जुवा र सोइलासम्म सबै काठकै हुन्छन्।

रस्सीले बेरेर हल्का पनि हुने र सामान अडिने जुक्ति जुराइन्छ। दुई बलिया गोरू वा राँगाको बलले तान्दा १० क्विन्टलसम्मको वजन ढुवानी गर्न सकिन्छ। आजभोलि चलनबाट हराउँदै गएको जुटले बुनेको फर्सा भित्र धान भरेर खलोबाट आँगनसम्म पुर्याएको धान ढकियामा भर्दै डेहरीमा थन्काउने गरिन्छ।

धानको भुस र माटो मुछेर खाद्यान्न थन्काउन बनाइने परम्परागत डेहेरी भने लुप्त हुँदै गएका छन्। ती डेहरीले मानवसमाजमा धेरै हजार वर्षसम्म सेवा गरेका हुन्।

आरनमा एउटा काठको सानो-सानो मुढो बञ्चराले बीचको भागका चपरा झिकेर पानी भर्ने बनाइएको डुँड हुन्थ्यो। बञ्चरो, खुर्पा, हसियाँ, फरूवा र फाली आदिको धार गतिलो पार्न पानी चढाइन्थ्यो। धारिलो भागलाई फलामे अचानोमा ठटाउने र पिट्ने गरेर धारिलो पारेपछि आगोमा फेरि तताएर रातो पारिन्थ्यो।

त्यो रातो भएको धारिलो भागलाई ढुडको पानीमा चोब्दा धार अडिलो हुन्छ। त्यसैलाई पानी चाढाउने भनिन्छ। त्यसरी रातो फलाम पानीमा चोब्दा निस्कने ध्वनि गजबको हुन्छ। आरनबाट घनले फलाम ठटाउँदा निस्कने कर्कश स्वर टाढैसम्म पुगे पनि पानी चढाउँदाको धुवाँ उडाउँदै निस्कने ध्वनि संगीतमय हुन्छ। धेरै टाढा पुग्दैन।

आरनमा पालो कुरेर बस्ने किसानहरू कहिले दाम्लो बाट्दै गरेका त कहिले माछा मार्ने जाल बुन्दै गरेका देखिन्थे। वर्षा यामको धान रोपाइँमा छतरीको ओत लागेर आरन पुग्ने किसानले छेउको खाँबोमा ठडाएको छतरीबाट पानी भुइँमा तर्किन्थ्यो।

आरनका छाप्रोको खरको छानोबाट चुहिने पानीको रातो रंगले मेरो मन रंगाइदिने गर्थ्यो। त्यो रङ हराएको छ। म अन्तै विदेशमा भौँतारिरहँदा टिनको बाल्टी बलेसीमा थापेको सम्झना मात्र बाँकी छ।

वैशाख र जेठको गर्मीमा गाईको गोठमा शितल खोज्दै बाँसका मसिना चिरा बनाइरहेका हुन्थे किसानहरू। तिनै चपरा बुनेर बनाएको छतरीको फ्रेममा असार लाग्दा टिपेर जंगलबाट ल्याएका भर्लाका पात हालेर पानी छेक्ने छतरी बनेको हुन्थ्यो। हजारौँ वर्षदेखि हाम्रा पुर्खाले प्रयोग गरेको त्यो छतरी विलुप्त हुँदै छ।

म गाउँमा छँदा ती आर्ने दाइलाई गाउँभरिका भाँडा कमाउन वर्षदिनको लागि नियुक्त गरिन्थ्यो। सात सय घर भएको ठूलो गाउँ भएकोले हरेक घरले माघ महिनामा खलाबाटै जोखेर दिने धानले उनको साधारण किसानको जति कमाइ त भैहाल्थ्यो।

लडियाका हाल हाल्ने काम त्यो वार्षिक बालीमा पर्थेन। उनको थप कमाइ हुन्थ्यो त्यो लडियाको हाल। हुन पनि सबै घरमा लडिया पनि त हुन्थेनन्। अलि सानो गाउँमा आर्नेहरू वर्षामा अलि दिन र अरू समय कहिलेकाहीँ मात्र गाउँमा पुग्ने गरी नियुक्त भएका हुन्थे।

अहिले समाजको र गाउँको धेरै परिवेश फेरिएको छ। सायद ती आरनको र ती इन्जिनियरको पनि परवेश फरक भएको होला भन्ने अनुमान गर्छु।

हाम्रो गाउँमा वार्षिक बालीघरे चौकीदार, नाउ र मल्लाह पनि हुन्थे। नाउले छुरा-कैँचीले कपाल काटिदिए बापत माघमा खलैबाट धान हरेक घरबाट उठाउँथे। हरेक वर्ष चुनिने गाउँको मुखियाले माघ महिनामै गाउँको आरन, चौकीदार, नाउ र मल्लाह पनि निर्धारण गर्थे।

चौकीदारले हाक हालेर तोकिएको समयमा जम्मा भएका हरेक घरबाट उपस्थित प्रतिनिधिको सल्लाह र छलफलपछि अर्को वर्षलाई नियुक्त गर्ने चलन थियो। अघिल्लो वर्षका व्यक्तिको कामको मूल्यांकन गरेर निरन्तरता दिने वा गुनासो धेरै भएमा अरू व्यक्ति खोजेर नियुक्त गर्ने प्रचलन हो।

सदरमुकाम जाँदा रामघाटको नदी तर्नु पर्ने र वर्षा याममा डुंगा तर्नु पर्ने हुनाले त्यो डुंगा तार्ने मल्लाह पनि माघ महिनामा धानको ज्याला पाउने बालीघरे नै तोकिएका हुन्थे। अहिले त त्यो नदीमा पनि पुल बनेको छ। ती चेत्रादेहीका मल्लाहहरू बेरोजगार भए होलान् र छोराहरू रोजगारी खोज्न विदेशिएका त होलान्?

हो, गाउँका मुखियाको चलन पनि फेरिएको छ। ती मुखिया इमान्दार थिए। त्यसैले अहिलेका नेता देशमा मुखियाहरू पनि उनै। मुखियाहरू जस्तै इमान्दार भैदिए हुन्थ्यो भन्ने आशा अझै मरेको छैन।

प्रकाशित मिति: शुक्रबार, साउन १५, २०७८, १६:२२:३६Published on Setopati
 
 
There are no data records to display.
   
Comment:
Date:
Name:
LastName:
Address:
City:
PostalCode:
PhoneNumber:
EmailAddress:
WritingId:
Insert  Cancel

www.flykathmandu.co.uk

Received Comments



www.flykathmandu.co.uk
Please write email to belbase@flyktm.com to get permission to publish my article to your media.