Govind Belbase
<April 2024>
SuMoTuWeThFrSa
31123456
78910111213
14151617181920
21222324252627
2829301234
567891011
खराउदेखि जुत्तासम्म

खराउदेखि जुत्तासम्म




सुन्नुहोस्

अग्रज पुस्ताका बुढाहरूले हामीलार्इ सिकाउँदै भन्थेः ‘फाटेको टोपी लगाउ तर चम्किलो रवाफदार जुत्ता लगाउ’ । त्यो उतिखेर सुनिने नीति कथन थियो । त्यो कथनलाइ ब्याख्या गरेर भन्थे मित्रले आँखा जुधाएर शीर तिर हेर्छ । त्यसैले फाटेको टोपीले मित्रतामा कमी हुँदैन, बरू आत्मियता बढ्छ । तर, दुस्मनको नजर निहुरिएको हुन्छ र पाउँतिर हेर्छ । त्यसैले दुस्मनको नजर पुग्ने ठाउँमा रवाफदार जुत्ता लगाउ । अझ सम्भव भएसम्म जुत्ता यति चम्काउ कि दुस्मनले आफ्नो बिम्ब त्यसैमा देखोस । दुस्मनको तेज गिराउने कला थियो उनिहरूको त्यो कथन । धेरै दशक वितिसक्यो त्यो कथन नसुनेको । सायद नयाँ पुस्ताका धेरैले त्यो नीति कथन नसुनेका पनि हुनसक्छन् । तर, उ बेला जुत्ता धेरै कम मान्छेका खुट्टामा हुन्थे । हैकम जमाउन सक्ने हुनेखानेका खुट्टामा मात्र जुत्ता हुन्थे । सर्बसाधारणका खुट्टा नाङ्गा हुन्थे । ती नाङ्गा खुट्टा यति बलिया भएका हुन्थे कि काँडे झाडी फाँडेर बारी बिराउँदा पनि काँडाले छेक्न सक्थेन । एक दुर्इ काँडा भने सियो वा बेलका काँडाले नै घोँचेर निकालिन्थ्यो र खुट्टो हल्का हुन्थ्यो ।


शिबजीलार्इ चढाइने तीन पाते बेलपत्र उत्पादन गर्ने बेलका रूखका काँडा खुट्टामा बिजेका काँडा निकाल्न खुब काम लाग्छ । नजिकमा बेलको काँडा नभेटिँदा अमिलाको काँडाले पनि उस्तै काम गर्छ । उतिबेला पीन, सीयो त्यत्ति छ्याप्छ्याप्ती भेट्न सजिलो नभएकाले अमिलोको काँडा बडो सहयोगी हुन्थ्यो । अहिले बिचार गर्छु, खुट्टामा घोच्दा स्टेरिलाइज गर्न नपर्ने अमिलाको काँडो स्वस्थ्यकर नै मान्न पर्ला ।


हिजो आज नाति नरसरी स्कूल जानेबेलामा रोजेर जुत्ता लगाउँछ । अनि मेरो उमेर उसको जति छँदाको ‘पादुका’ सम्झन्छु । अनि सम्झनाका तरेली गुञ्जन्छन्– माइजुले रातो माटोले लिपेको पिढींमा चकटी बिछाउँदै त्यसैमा बसेर घाम ताप्तै छन्दमा पढेको रामायणको ‘पादुका दान’ पर्व । पादुका अर्थात खराउ ।




हाम्रा पुरखाले खुट्टाका पैताला जोगाउन “खराउ” लगाउँथे । खराउ भनेको नबुझ्ने नयाँ पुस्ताको लागि काठको चप्पल भनेर चिनाउँदा बुझ्छन् जस्तो लाग्छ । संस्कृत शब्दका प्रचलनको रवाफ भएको समय हुँदा खुट्टा जोगाउन लगाइने बस्तुलाइ पादुका भनिने गरिन्थ्यो । हिउँदमा खेतीको काम अलि होलो भएका बेला घन्चराने परभू थारूले घारी(गोठ)मा मेरा लागी एक जोर खराउ कुद्दा यो दुनियाको अनुभव बटुलेको एक दशक जति वितेको थियो होला । मेरो उमेर ठ्याक्कै कति थियो त्यसबेला भन्ने हेक्का छैन ।


उसबेला मेरा लागि जुत्ता थिएन । तर, चप्पल लगाउँथे । मल्कान लवडां भएकोले मेरा खुट्टाका लागि चप्पल उपलब्ध थिए । श्रमिकका लागि चप्पल जुत्ता आशा गर्ने बस्तु नै थिएनन् । केही वर्षपछि चप्पलहरू अलि उलब्ध हुन थाले । त्यसपछि सम्धियान जान हिँडेका मझ्लाने थारू काकाले लठ्ठीको एकापट्टि सिरक र अर्को पट्टी चप्पल घुसारेर काँधमा बोक्दै साँझको पहेँली घाम हुँदा हिँड्दै गरेको देख्थें । अनि सोच्थेँ जङ्गल छिचोलेर सम्धियान गाउँ छिर्नेबेलामा उनले काँधको लठ्ठीको टुप्पाको चप्पल झिकेर खुट्टामा पड्काउँदै जानेहोलान ।


असारमा पहिलो झरीपछि जङ्गलमा फूड्की टिप्न जाने चलन थियो । फूड्कीलार्इ च्याउ अर्थात मसरूम जातिकै हो भन्छन् । अझै पनि बोक्टापुरमा त्यो चलन छ पनि होला । गाउँले मझली भउजीले भर्लाको टाटामा पटुवाका फित्ता हालेर बनाएको अर्गानीक चप्पल बोकेर फूड्की खोज्न जान्थिन । पुरूषहरू खेतबारीका बाहिरी धन्दामा ब्यस्त हुने र महिलाहरू घर भित्रका धन्धामा मस्त हुने हुनाले नारीका खुट्टा काका र भैयाका पैतालाका तुलनामा धेरै नरम हुने । खसीको कलेजो जस्तै स्वाद दिने फुड्कीको भित्रको भाग बडो मीठो हुन्छ । हेँकुलो जस्तै चबाइने कुरकुरे स्वाद दिने त्यसको बाहिरी भाग सम्झँदा अहिले मुखभरि पानी भरिइसक्यो । सुकाएर राखेपछि महिनौसम्म खान मिल्ने फुड्की जीवनमा खाएका सवैभन्दा मिठा खानकी मध्येको एउटा परिकार हो । भुटुवा होस वा झोल त्यो स्वादको तारिफ गरिसाध्य नै छैन । तर, त्यो खान नपाएको तीन दशक भन्दा बढि समय ब्यतित भैसक्यो । त्यो फुड्की टिप्दा जङ्गलका काँडाबाट ती भउजीले खुट्टा जोगाउन अर्गानीक चप्पल बनाउथिन होला । मेरो अनुमान मिलेकै जस्तो लाग्छ ।


मेरो अनुभूतिको दोस्रो दशकमा फित्ता खिर्इँदै गएको चप्पलको कथा पनि जोडियो । चुडिँएको फित्तालार्इ ढेबरीको ज्वालामा झोँसेर जोडेपछि चप्पलको आयू थप्ने चरण रमाइलै थियो । खास गरेर बर्खाको समयमा स्कूलबाट फर्कँदा चिप्लो माटोमा टासिएको चप्पलमा उचालिने खुट्टाको जोड पर्दा खिर्इएको भाग चुँडिन्थ्यो । भिजेको भूइका छिटा छर्केर चप्पलले पाइन्टको पछाडिको भागमा चित्र बनाउँथ्यो । तर, एब्स्ट्याक्ट पेन्ट बन्थ्यो । कसैले त्यो चित्रलार्इ फोहोरका छिटा भन्थे । कसैले दयनीय हालतको उपमा दिन्थे । कसैले गमबुटको अभावको बिम्बका रूपमा चर्चा गरिदिन्थे । कहिलेकाही नीलो त्यो चप्पलको पछाडिको भागले फालेको हिलोले टुप्पी छुन पनि पुग्थ्यो । अलि पछिल्लो पुस्ताले बाटाको नीलो चप्पलको ठाउँमा मोटो लचकदार हात्तिछाप चप्पल लगाउन थाले । त्यही चप्पलबाट पनि पहिरनको पछाडिको भाग रङ्गाउँथे । त्यत्तिखेर म ती चित्रकलाको अलिअलि तमासा हेर्ने भैसकेको थिए । खुट्टाको बुढीऔला र छेउँको औलाको घोटार्इले घिसिँदाघिसिँदा पातलीएर जुका जस्तो बनेको लुलो भाग सवैभन्दा पहिला चुडिन्थ्यो । पछाडि पट्टिका एक हल जोड भने अलि पछि चुडिन्थे । अगाडिको जुके भाग आगोले पोलेर जोड्न भन्दा पछाडिको भाग जोड्न झन्झट बढि हुन्छ । जोडेर एक छिन सेलाउन दिएपछि प्वालमा घुसाएर तयार पारेको चप्पल प्याट–प्याट पार्दै हिँड्न पनि मज्जै हुन्छ ।


रबरका चप्पलका चलन भन्दा धेरै पहिलादेखि खराउको चलन चलेको थियो । तर खराउ खास गरी ऋषि, मुनि पण्डितहरूका लागि चित्रित गरिन्छ । श्रमजीवीहरूका जस्तो दह्रा खुट्टा एवं पैताला नहुने कोमल खुट्टाका लागि खराउ प्रयोग गरिन्थ्यो । राजा–महाराजाहरू, भाइभारदार तथा सामन्तका लागि मात्र परापुर्वकालदेखि नै जुत्ता उपलब्ध थिए । रामायणको पादुका दानको प्रसंगले भने राजा–महाराजाहरू पनि घरभित्रको प्रयोगमा खराउ नै लगाउँथे भन्ने बुझिन्छ । राम बनबास जान हिँडेपछि भाइ राजकुमार भरतले दाजु रामलार्इ राजपाटमा फर्काउन गरेको बिन्ति असफल भयो । त्यसपछि रामको खराउ राजगद्दीमा राखेर भरत नै रामको प्रतिनिधि शासक बनेको प्रसंग नै रामायणको पादुका दानको प्रसंग हो । भरतको दाजुप्रतिको माया र सम्मानको बिम्ब पस्किएर समाजमा अग्रजको सम्मानको आदर्श सिकाउन अभिब्यक्त भानुभक्तका शब्द रचना अमृतबचन मान्ने गरिन्छ । साहित्यको उत्तम पक्ष भनेर ती शब्दजाललाइ बुझ्न पनि सकिन्छ । आमा कैकइको झेल्ली माया विरूद्ध भरतको ममता र सम्मान भाव नै रामायणबाट समाजले सवैभन्दा बढि सिक्नु पर्ने शिक्षा हो ।


बैदिक कालदेखि नै प्रचलनमा रहेको जस्तै दुर्इ जोर खराउ मेरालागि प्रभू थारूले बनाइदिएका थिए । खराउ लगाएर अलि पर पुग्दा खुट्टाको बुढिऔँला र छेउँको औँलाबीचको जोडिएको भाग दुख्न थाल्थ्यो । घरको वरिपरिमात्र हिड्न सक्थेँ म । चप्पलको विकल्प नभैदिएको भए ऋषिमुनिहरू जस्तै मैले पनि त्यो दुख्ने भागलाइ ठेला पर्ने गरी बानि पार्नु पर्ने हुन्थ्यो होला । उनले बनाइदिएको एकजोर खराउ अलि सादा थियो । बुट्टेदार थिएन । अर्को एकजोर खराउ भने उनले धेरै मेहेनत गरेर बुट्टेदार बनाइदिएका थिए । सादा खराउ बनाउन उनले काठलाइ बसुलाले ताछेर रन्दा लगाएर पैतालाले टेक्ने भाग सम्मो पारेर नबिझाउने बनाइदिएका थिए । बुढीऔँला निरको भागमा पसेको डण्डीको माथि छातरी जस्तो बनाइदिएका थिए । त्यही भागमा दुर्इ औँलाले अठ्याएर खुट्टा उचाल्दा खराउ पैतालासंगै जोडिएर माथि उचालिन्थ्यो । पाइला अघि सारेर टेक्दा खराउ भूर्इमा र पैताला त्यही खराउ माथि अडिन्थ्यो ।


सादा खराउ लगाएर हिँड्दै रहर पुरा गर्दै गर्दा उनले बुट्टेदार खराउ बनाएका थिए । उनी गाइको गोठमा मचिया बिछाएर बसेका हुन्थे । एक जना सहयोगीले सन (जुट)को रस्सीले घ्यार्रघ्यार्र तान्तै घुमाएको काठमा साहुलको धारिलो भागले काठका पातला परत छुट्याउँदै हुन्थे प्रभू थारू । दुर्इ तिर ठडिएका काठकै खुँटामा किलाले दुबैतिर अठ्याएको भाग रस्सीले घुमाउँदा खराउको काठमा बुट्टा कोरिने प्रभूको कला म छेउँमा टुक्रुक्क बसेर हेरिराख्थे । काठको भूस वा चपरो आखामा पर्ला भन्दै अलि पर बस्न भन्नु हुन्थ्यो हजुरआमा । प्रभूको जस्तै बसुलाले ताछ्ने । साहुलको धार अठ्याएर काठमा सुन्दर आकार निकाल्ने र रन्दा लगाएर काठ चिल्लो पार्ने कला सिक्ने खुबै रहर हुन्थ्यो । तर, उनको हातमा जुन कला थियो त्यो कला जो कोहीका हातले सिक्न सक्दैन थियो । उनका हातले कलात्मक बुट्टा भरिएका जिउरे खाटका खुट्टादेखि मचियाका खुट्टामा पनि आकर्षक बुट्टा बनाउन सक्थे । उनलार्इ त्यो कला सिकाउने गुरू पनि कोही त थियो होला तर मैले जान्ने अवसर जुराउनै सकिन ।


उनीहरू घन्चौरा भन्ने गाउँबाट बसाइ सरेर त्यहाँ आएका हुनाले उनीहरूलार्इ घञ्चराने भन्थे सवैले । उनकै घरमा एकजना बोल्न र सुन्न नसक्ने लाटा मेरा साथी थिए । हामी उनीसंग इसारै इसाराले कुरा गर्थ्यौ । प्रभू थारूले शिर (जमिन्दार मालिक)बाट बर्षमा पाउने एकजोर वरापरि मध्येको सर्ट र धोती लगाएका हुन्थे । लाटोले बिचरा एउटा धरो मात्र लगाएको हुन्थ्यो । मेरी आमाले मेरो पुरानो भएको सर्ट जडौरी भन्दै दिनुभएको थियो । अलि बाहुला छोटा भएको च्यातिएको र बटन टुटेको सर्ट ती लाटा साथीको ज्यनमा पुष महिनाको जाडो छेक्ने सहारा हुन्थ्यो । जाडो नहुने महिनामा त उनको शरीरमा हुने बस्त्र भनेको त्यही धरो हुन्थो जसलाइ उनको कम्मरको कन्धनीले धानेको हुन्थ्यो ।


ती दुवै खराउ शिसौ जातबाट चिनिने काठका थिए । छिप्पिएको शिसौको रूखको भित्रको काठ निकै मजबुत हुन्छ । दुर्इ आराकसले दुर्इ तिरबाट तान्दै फलामको आराले चिर्दा ती मुढाबाट आगोका फिलिङ्गा उड्थे । खराउ बनाउन चाहिने दह्रा काठ त्यही शिसौको उपयूक्त हुनेरहेछ । लडिया (गोरूगाडा)को बीचको डल्लो काठको भाग पाएसम्म साज भन्ने काठको बनाउँथे । त्यो नपाए शिसौको छिप्पिएका मुढाले काम चलाउँथे । तराइमा साजको रूख हुँदैन । हाम्रो गाउँबाट पहाड नगिचै भएकाले हाम्रा तिरका लडियाका चक्का साजको बीचको मुडका, गोलो आकार निकालिने भाग शिसौको र दुबैभाग जोड्ने सोइला सेखुवाका काठको बनाइन्थ्यो । पहाडबाट टाढा भएका तराइका दक्षीण तिरका गाउँले हरूले शिसौकै काठ लडियाका बीचको डल्लोमा उपयोग गर्थे ।


खराउ भनेको ती बचपनका कुरा न भए, पछि इटालियन जुत्ता राम्रा र महगा भन्ने थहा भयो । ब्राण्ड अनुसारका जुत्ताको अहिलेको जमाना छ ।


उहिले पूर्णकालीन कृषक भएर गाउँमा बस्दा बीबीसी हिन्दी रेडियोमा टेनिस खेलाडीले जुत्ता लगाए बापत लाखौँ डलर पाउँछन् भन्ने सुनेको थिएँ । फूटबल– क्रिकेट खेलाडीले एक वर्षसम्म खेल खेल्दा लगाउने जुत्ताको कन्ट्राक्ट गरेर लाखौँ डलर पाउँछन भनेर सुन्दा नपत्याउँ त बीबीसी रेडियोका कुरा नपत्याइ भएन । पत्याउँ त विश्वास गर्न मुसकिल हुने । आफूलार्इ भने राम्रो जुत्ता किन्न बजेट मिलाउन पर्छ, कसैलार्इ जुत्ता पनि सित्तैमा लगाए बापत उल्टै ठूलै रकम हात पर्ने । पर्न त केको हातमा पर्छ होला र ब्यांक खातामा जान्छ होला । उतैबाट अनलाइन ट्रान्सफर गर्ने र कार्ड घोट्ने गर्छन होला । विकसित देश तिर पैसा गन्न त हराइसक्यो । पैसा गन्ने भनेको एका देशमा भनेर कथा सुनाए जस्तो हुने समय पो आयो त ।


कलेज पढ्दाको कुरा हो, घरबाट पाएको महिनाभरिको खर्चबाट जोगाएर काठ्माण्डू बिशाल बजारमा गएर एकजोर खेलाडीले लगाउने जस्तो स्पोर्ट जुत्ता किनेँ । तर गोदाममा कुहिएको परेछ । एक महिना पनि चलेन । त्यो जुत्ताको तलुवा फुत्कियो । यति मनखत लाग्यो कि अहिलेसम्म त्यो पीर हराएको छैन ।


बिश्व बजारका जुत्ताको प्रचलन नहुँदासम्म गाउँघरमा जरायोको छालाको जुत्ता सवैभन्दा राम्रो हुन्छ भन्ने सुनेको थिएँ । हुन पनि जरायोको छाला गर्मीमा सित्तल र जाडोमा न्यानो हुन्छ । जरायो जिउँदो हुँदा पनि गर्मीमा जङ्गलमा आगो सल्केका मुढा ताप्ने र जाडोमा पानीको रहमा आहाल बस्ने स्वभाव छालामा पर्ने भएरै होला । हाम्रो घरमा पनि एउटा जरायोको छाला थियो बैशाख जेठको गर्मीमा त्यो बिछाएर बस्दा सित्तल हुन्थ्यो । पछि एउटा जोगीले बुवासंग त्यही छाला मागे । बुवाले उनैलाइ दिनु भयो । त्यो छाला ती जोगीले लिएर गए ।


बडो मात्तिएका अहिलेका यूवालार्इ छुट्टाछुट्टै पार्टी शुज, स्पोर्ट शुज, रनिङ् शुज, गम बुट, गार्डेन बुट, डिङ्गो बुट जोर्दा जोर्दा हैरान । जुत्ता धेरै भएर स्टोरबाट खोजेका समयमा खोजेको जुत्ता नभेटिने पीर पो कति हो कति !! आच्छा लिकिन ब्लूकलर जबमा पनि सेफ्टी बुटको जमाना । वाह रे जमाना !!


सेतोपाटी.com मा प्रकाशित

 
 
There are no data records to display.
   
Comment:
Date:
Name:
LastName:
Address:
City:
PostalCode:
PhoneNumber:
EmailAddress:
WritingId:
Insert  Cancel

www.flykathmandu.co.uk

Received Comments



www.flykathmandu.co.uk
Please write email to belbase@flyktm.com to get permission to publish my article to your media.