Govind Belbase
<March 2024>
SuMoTuWeThFrSa
252627282912
3456789
10111213141516
17181920212223
24252627282930
31123456
कागजी चिर्कटाको व्यथा
नेपाली स्थानीय उद्योगले बनाएको कागजमा लेखिएको मेरो एउटा कागज छ। त्यस्तो कागजलाई बाँसको कागज भनेर पनि चिनिन्छ। विदेशमा 'मेरो कागज' बन्यो भन्दा अथवा कसैलाई कागज पाइयो? भनेर सोध्दा खासगरी स्थायी बसोबास गर्न पाउने अनुमति अर्थात् ग्रीनकार्ड वा त्यसै सरहको कागजलाई बुझ्ने चलन हुन्छ।

फरक फरक देशमा फरक फरक नामले चिनिन्छ। तर त्यो नेपाली कागजमा हुँदैन। मैले बखान गर्न खोजेको कागज मेरो परिचय बताउने नेपाली भाषामा लेखिएको कागज हो। मेरो नाम, ठेगाना, जन्ममिति लगायतको प्रमाण पनि हो यो कागज। मेरो नालीबेली जनाउने प्रमाण पनि हो। ए-फाइभ साइजको त्यो कागज चार पटक पट्याउँदा खल्तीमा अटाउने साइजको हुन्छ।

यो कागज धेरै पुरानो भैसकेको छ। तर अक्षर प्रष्ट छन्। एक पटक पानीले भिजेको भाग जति गलेर नासिएको छ। अरू मुख्य चाहिने भाग जति सुरक्षित छ। अर्थात् लेखिएको भाग सुरक्षित छ। केही अक्षर छापाखानामा छापिएका छन्, अरू मेरा विवरण भने हातले लेखिएका छन्। मेरो भौतिक पहिचानलाई कानुनी मान्यता पनि दिन्छ यसले।

मेरो भौतिक शरीर आफैमा स्वतन्त्र छ। यो शरीरलाई बुवा-आमाले 'छोरो' भनेर, दिदीहरूले 'भाइ' भनेर, बहिनीहरूले 'दाइ' भनेर, कसैले 'साथी' भनेर, मामा माइजुले 'भान्जा' भनेर र अरू विभिन्न नाताले सम्बन्धित नाताले चिन्नु हुन्छ। तर सरकारी अड्डाले मलाई यही कागजका आधारमा चिन्छ र चिनाउँछ।

धेरैजसो व्यक्तिको हुन्छ यस्तो कागज। हो, मेरोजस्तै बाँसको नेपाली कागजमा नहुन सक्छ। अर्कै कागजमा हुन सक्छ। कसैकसैको हुँदै नहुन पनि सक्छ, अर्थात् हुँदैन पनि। यस्तो कागज नभएकै कारण दुःख पाउनेहरू पनि छन्। यस्तो कागज बनाउन दुःख गर्नेहरू पनि छन्।

यस्तै कागज नभएर दुःख पाएका हाम्रै गाउँका एकजना थारू थरका व्यक्तिलाई मैले नजिकबाट चिनेको छु। म जन्मिएकै गाउँमा उनको पनि घर छ। त्यही घरमा उनी जन्मिएका हुन। ६० वर्ष अघि हाम्रा गाउँमा पेट्रोलियम पदार्थबाट चल्ने एउटा मिल थियो। त्यो मिल खुब चल्थ्यो। उस समयमा लामो दूरीसम्म अर्को मिल नभएकोले पनि निकै राम्रो व्यापार गर्थ्यो त्यो मिलले। दैनकि १८ घण्टा चल्थ्यो त्यो मिल। त्यो मिलको लागि उनकै बुवाले काँधमा दुईतिर झुण्डाएको भारमा टिनका तेल बोकेर सदरमुकामबाट ल्याउँथे।

म कलेज पढ्ने बेलासम्म पनि त्यसैगरी उनले तेल बोकेको देख्थें। पुक-पुक् गर्दै धेरै टाढासम्म त्यो मिल चल्दै छ भन्ने सन्देश बोकेको आवाज पुग्थ्यो। धुवाँ फाल्ने पाइपको मुखमा बाँधेको लोटाले ठूलो आवाज निकाल्थ्यो। पछि भने अरू गाउँहरूमा पनि मिल थपिए। हाम्रा गाउँको मिलको व्यापार पनि पहिलेभन्दा घट्यो।

राजमार्गमा कालोपत्रे बाटो बनेर मोटर गुड्न थालेपछि सदरमुकामबाटै तेल बोकेर ल्याउन नपर्ने अवस्था भएकोले ती बुढा मान्छेको त्यो रोजगारी पनि हरायो। उनको पनि त्यही गाउँमा जन्म भएको थियो। त्यहीँ हुर्के बढेका निरक्षर ती मजदुरको मेरोजस्तो माथि वर्णन गरेको कागजको प्रमाण नै थिएन। नेपालमा बहुदल पद्धतिको राजनैतिक व्यवस्था पुनर्स्थापना नहुँदासम्म उनका दुवै छोराको त्यस्तो कागज थिएन। उनका नातिको पनि किशोरावस्था हुँदासम्म त्यस्तो कागज थिएन।

मैले जानेका उनका तीन पुस्ताले नै लेख्न पढ्न जानेका थिएनन्। स्कुल पढ्न नै पाएनन्। कसैले पढाउँदा पनि पढाएन। तेल बोक्ने बुढामान्छे त्यस्तो परिचय दिलाउने कागज बिना नै यो दुनियाँ छाडेर गए। बहुदलको चलन चल्तीबीच उनका दुवै छोराको मेरोजस्तै कागज बन्यो। तर उनीहरूको कागज नेपाली कागजमा होइन, आधुनिक कारखानामा बनेको कागजमा लेखियो।

उनीहरूको परिचय ओकल्ने कागज भएपछि उनीहरूले एैलानी पर्ती जग्गामा सुकुम्बासी बनेर खेती गर्न पाए। अहिले त उनीहरूसँग त्यो खेती गर्ने जग्गाको जग्गाधनी प्रमाणपुर्जा पनि पाइसकेका छन् भन्ने विश्वास छ मलाई। तर पक्कापक्की भने भन्न सक्दिनँ।

त्यस्तो कागज नभएको उनीहरूको पुरानो व्यथा सम्झिएर म विचलित हुन्छ। ती विषय सम्झँदा म झसंग हुन्छु। मेरा पुर्खाहरू अन्तैबाट बसाइ सरेर त्यो गाउँमा आएका थिए। तर ती थारूकै पुर्खाले जङ्गल फाँडेर खेतीयोग्य जमिन तयार पारेका थिए र त बस्ती बन्यो। उनीहरूकै गाउँ बसेको थियो, जहाँ म जन्मिएँ।

गाउँको उत्तरमा ठूलो ताल छ। ५२ बिगाहाको त्यो तालभन्दा पारि उत्तरतिर जङ्गल छ। अग्ला सालका रूखहरू त कतै अलि होचा पोथ्राका झाडी थिए। अलि पर मूल कुलोको छेउको रूखमा चढेर फँडेल टिपेर खाँदा राता कमिला र बारूलाले टोकेको झट्का खाएको धेरै वर्ष बिते पनि भर्खरै जस्तो लाग्छ। वर्षामा पानी भरेर राखेको तालले खडेरी परेर धानका खेत खुक्न लाग्दा तालको पानी बग्ने कुलामा बग्दै गरेर सिँचेका खेतमा माघ तिर पहेँला धानका बाला झुल्ने बडो सुन्दर गाउँ।

तालको छेवैछेउको फराकिलो बाटोमा लस्करै उभिएका कदमका रूखले वैशाखको चर्का घाममा शीतल दिने छहारी। मडैयाको खपडाले छाएको छप्पडमुनि माटाका राता घोडा, हात्ती, हरिण सहितको गाउँभरिको आस्थाको मन्दिर। धान रोपेर सकेपछि हेलका (माछा मार्ने गाउँमै बनाएको काठमा बेरिएको जाली) बोकेर माछा मार्न हिँडेका युवतीहरूको खित्काले साँच्चै सुखी जीवनको बखान गरिरहेका हुन्थे। माघमा भारका दुईतिर झुण्डाउँदै धानका बाला हल्लाउँदै खरियानमा थुपारेका खराइले वर्षभरिलाई ढाढस दिइरहने। वाह रे त्यो गाउँ!

त्यही गाउँमा नागरिकताको कागज बाँड्ने सरकारी टोली आयो। विसं २०३२ सालतिर त्यहाँ पुगेका टोलीले गाउँका धेरैलाई नागरिकता दियो। मेरी आमालाई पनि नागरिकताको अस्थाई निस्सा भन्दै दियो। पछि त्यसैको भरमा सक्कल नागरिकता बन्यो। बुवाको नागरिकता भने त्यसभन्दा पहिला नै बनेको थियो। भूमिसुधार कार्यालयले नागरिकता नभई भएन भन्दा जिल्ला प्रशासन कार्यालयबाट बनाउनु भएको थियो।

म नाबालक भएकोले ढड्डामा मेरो नाम पनि लेखियो भनेका थिए। नभन्दै पछि दश कक्षा पास गरेर कलेज पढ्न जाने समयमा त्यही ढड्ढाको नाम मिलेको भन्दै निलो रङ्गको पकेटबुक भित्र नेपाली कागजमा नागरिकताको प्रमाणपत्र दिए। त्यही नै हो मेरो बयान र परिचय दिने नेपाली बाँसको कागजको नागरिकता। अझै त्यही चल्दै छ। कतिपय दौँतरीले अहिले अरूको जस्तै खल्तीमा अटाउने कार्डजस्तो नागरिकता बनाए पनि मसँग त्यही असली नागरिकता प्रमाणपत्र नै छ।

तर ती मिलको तेल बोक्ने बुढा मान्छे र उनका छोराहरू नेपाली हुन् भन्नलाई उनीहरूको घर परिवारको कुनै पनि व्यक्तिको नाममा जग्गाधनी पुर्जा थिएन। नेपाली हुँ भन्ने प्रमाणित गर्ने कुनै कागज पनि उनीहरूले देखाउन सकेनन्। स्कुल धाउनु पर्ने उमेरको उनको किशोर नातिले पढ्ने औकात नहुँदा बाख्रा चराउँथ्यो। नागरिकता टोलीले लालपट्टा नहुने परिवारको व्यक्तिलाई नागरिकता मिल्दैन भन्दै उनीहरूलाई निरास पारेर गए। तर तत्काल नागरिकता नभएर उनीहरूको खासै काम रोकिएन।

न त बैंकमा खाता नै खोल्नु थियो उनीहरूलाई न कलेज पढ्न जाँदा कसैलाई नागरिकता देखा भनेर कसैले भन्नेवाला नै थियो। प्लेन चढेर विदेश जान पासपोर्ट बनाउने भन्ने त जानेका र सुनेका नै थिएनन्। त्यसैले त्यो कागजको खोस्टो उनीहरूलाई नभए पनि भएकै थियो। त्यो परिवारका हरेक सदस्य त्यही माटोका आदिबासी हुन् भनेर उनका पुर्खाले रोपेका अग्ला आँपका रूखहरूले सोस्याउँदै चिच्चाएका थिए।

तर ती कर्मचारीको बुझ्ने भाषा त्यो थिएन। उनीहरूले जोतेका हलोका सियोमा उधिनिएका माटोले चिनेको छ। जोत्दा माटो पल्टने र कहिले हिलो बनेर धान गाडिने र कहिले गहुँका नल उभिने गर्दाको व्यस्ताले रेकर्ड राख्न त्यहाँको धरातलले बिर्सेको पनि हुन सक्छ। खेतका आलीले त्यो परिवारका हरेक सदस्यको पैतालाका रेखाको दस्ताबेज रेकर्ड गरेका थिए। तर ती रेकर्डलाई निस्सा मान्ने विवेक थिएन र अझै पनि छैन त्यहाँ।

उनको घरको छानो भएको घरको धुरीले सदियौंदेखि यिनीहरूलाई मैले ओत दिएर राखेको हुँ भनेर साक्षी बकपत्र गर्छु भन्थ्यो तर धुरीको भाषा रेकर्ड गर्ने रेकर्डर नै रहेनछ। खरको छानाबाट झरीको पानी बलेसीमा खस्दा पानीले खोपेका डोबले अन्याय भयो, भूमि सन्ततीलाई नागरिक होइन भन्नु पाप हो भन्दै चिच्याए। तर कसैले सुनेन।

झरीलाग्दा धुरीबाट पानीका थोपा गुल्टँदै गुल्टँदै छानोको टुप्पमा पुगेपछि तल फुङ्गाल्थे। खरलाई बाँसका टाटले अठ्याएर ठडाएको बारमा माटोले लिपेको भित्ताभन्दा डेढ हात पर खसेका पानीका धाराले आँगनमा खोप्दाखोप्दै बुट्टा बनाउँथ्यो। बिदो भएका बेला घरकी बिठिनिया (युवती)ले गोबरमाटो लिपेर फेरि आँगन चिल्लो पार्थिन्। फेरि पानी दर्कँदा उस्तै गरी बुट्टा भर्थ्यो।

छानाका खरबाट गुल्टिँदा पानीले आफ्नो रङ बिर्सिएर खरको रातोपन आफूभित्र समाहित गर्थ्यो। आकाशबाट खस्दाको त्यो फटिक सफा पानी छानामा गल्टिँदै आँगनमा छुन पुग्दा हल्का रातोपनमा रङ्गिन भएको हुन्थ्यो।

आखिर दिन बित्दै गए। उनका घरमा र हातमा समय बताउने घडी नभए पनि सुई भने घुमिरहे। बिहानको सूर्योदय साँझ पर्ने बेलामा पश्चिममा अस्ताउने क्रम चलिरह्यो। अलि वर्ष बितेछ र सरकारी टोली चिल्लो जीप-गाडीमा धुलो उडाउँदै गाउँ पसे। त्यसरी आउनेहरू सुकुम्बासी आयोगका मान्छे थिए।

तेल बोक्ने बुढा यो दुनियाँ छाडेर गैसकेका भए पनि दुवै छोरा अब आफ्नो भनेर जोत्न पाउने जग्गाको लालपुर्जा पाइने भइयो भनेर लाईनमा बसे। टेबुलमा कागज राखेर कुर्सीमा बसेका मान्छेले नागरिकता देखाउन भने। तर उनीहरूले नागरिकता देखाउन सकेनन्। सुकुम्बासीलाई दिने जग्गा उनीहरूले नपाउने वचन सुनेर उनीहरू फेरि सधैंको दिनचर्यामा जुटे। यस पटक चाहिँ नागरिकता नभएकोले लालपुर्जा पाएनन्। पहिले लालपट्टा नभएकोले नागरिकता नपाएको विडम्बना दोहोरियो।

उनीहरूको घर थियो। त्यो घरको जग्गाधनी पुर्जा भएको भए सुरूमै उनीहरूको नागरिकता पनि बन्ने थियो। उनीहरूको त्यो घर सरकारी नक्सामा २ नम्बर भनेर जनाइएको मिन्ही डीमा थियो। हाम्रो गाउँ गुचुप्प बसेको क्षेत्र जति विक्रम सम्वत २०२६ साल तिर जग्गा नाप्ने टोली आउँदा एउटै कित्ता बनाएर भोग चलनका आधारमा स्वामित्व हुने गरी तोकिएको छ। त्यसैले न त हामो घरबासको छुट्टै लालपुर्जा छ न त उनीहरूकै घरबासको लालपुर्जा बन्यो। हाम्रो गाउँका ती जग्गाको लालपुर्जा अहिलेसम्म पनि छैन।

तर विवाद छैन, सदियौंदेखि गाउँमा परम्परागत रूपमा तेरो यहाँसम्म मेरो यहाँसम्म भन्ने विश्वासमै शान्तिपूर्ण तरिकाले समाज चलेको छ। जान्ने हुँ भन्ने अन्तबाट बसाइ सरेर आउने मान्छे र सरकारी कर्मचारी हुँ भन्दै कागज बाँड्नेहरूले त्यहीँ जन्मेर हुर्केर त्यहीँ मर्नेहरूलाई नागरिकता तैँले पाउँदैनस् भन्दै आएका छन्।

मेरा पुर्खा अन्तैबाट त्यहाँ बस्न आउनु भयो। म त्यहीँ जन्मिएँ। मेरो नेपाली नागरिकताको प्रमाणपत्र बन्यो। त्यसैका भरका पासपोर्ट बनाएर विदेशमा पुगेर नेपाली हुँ भन्दै बसेको छु। तर ती मिलको लागि तेल बोक्ने बुढा बाको नागरिकता नबनेकोमा मलाई किन ग्लानि हुन्छ? मन कुँडिएर आउँछ र मनमा कुरा खेल्छ। उनको त्यो बाख्रा चराउने कलुवा नातिले नागरिकता पाए होला कि पाएको छैन होला?

प्रकाशित मिति: आइतबार, साउन २९, २०७९, १७:०४:४७ setopati.com मा प्रकाशित
 
 
There are no data records to display.
   
Comment:
Date:
Name:
LastName:
Address:
City:
PostalCode:
PhoneNumber:
EmailAddress:
WritingId:
Insert  Cancel

www.flykathmandu.co.uk

Received Comments



www.flykathmandu.co.uk
Please write email to belbase@flyktm.com to get permission to publish my article to your media.