Govind Belbase
<January 2023>
SuMoTuWeThFrSa
25262728293031
1234567
891011121314
15161718192021
22232425262728
2930311234
अञ्चलाधीशको कुपन लिन जाँदा
यात्रा संस्मरण

> अञ्चलाधीशको कुपन लिन जाँदा

>

> आजभन्दा ३० वर्ष पहिलाको एउटा यात्रा संझना आयो। त्यो पैदलयात्रा अहिले सम्झँदा अपत्यारिलो लाग्दैछ। किनभने कालोपत्रे गरेको बाटोमा दगुर्ने हुनाले अब त्यो पैदलयात्रा फेरि हुने सम्भावना नै छैन। देशमा पञ्चायती व्यवस्था थियो। अञ्चलाधीशहरूको निकै दवदवा हुन्थ्यो। अहिले अञ्चलाधीशहरू छैनन्, त्यसैले नयाँ पिँढीलाई अञ्चलाधीशको कुरा अचम्म लाग्न सक्छ। तराईमा हाम्रो घर बनाउन थालेको सिमेन्ट किन्न पनि अञ्चलाधीशको कुपन चाहिन्थ्यो। एकजना काका बन विभागमा अधिकृत हुनुहुन्थ्यो। उहाँले अञ्चलाधीशबाट सिमेन्टको कुपन बनाइदिने भन्नुभएको रहेछ। त्यसैले बुबाले त्यो कुपन लिएर सिमेन्ट किनेर ल्याउन मलाई बुटवल पठाउनुभयो। गोरूसिंङ्गेबाट बसमा चढेर म बुटवलतिर लागेँ। महेन्द्र राजमार्ग बन्दै गरेकोले धुलो उडाउँदै बस करिव ३ घण्टामा बुटवल पुग्यो। कुपनवाला काका भैरहवा बस्ने हुनाले सिद्धार्थ राजमार्गको कालोपत्रे गरेको चिल्लो बाटो हुँदै भैरहवा पुग्दा काका त अफिसको कामले बर्दघाट जानुभएको रहेछ। उहाँसँग कुपन लिएर सिमेन्ट किनेर घर जानु थियो त्यही बाटोमा धुलो उडाउँदै खन्द्राङ–खुन्द्रुङ गर्दै ...।

> म त्यसवेला भरखर १५ वर्षको थिएँ। अलिकता उमेर बढाएर एसएलसी परिक्षा दिएर विदामा घर बसेको बेला व्यवहारमा सरिक गराउने उद्देश्यले पनि घरबाट मलाई सिमेन्ट किन्न खटाइएको थियो। चिल्लो कालोपत्रे बाटोमा मोटरमा घुँइकिन पाउँदा मलाई निकै रमाइलो लाग्थ्यो। बुटवलदेखि पश्चिममा कालोपत्रे बाटो थिएन। कि त कपिलवस्तुको सदरमुकाम तौलिहवादेखि भारत सिमाना जोड्ने बाटो कालोपत्रे थियो, कि त महेन्द्र राजमार्ग बनाउन भारतले कृष्णनगरदेखि चन्द्रौटासम्म कालोपत्रे गरेको थियो। नत्र धुलो उडाउँदै मोटरहरू केही महिना दगुर्थे अनि वर्षा लागेपछि केही महिना सवै रोकिन्थे। न त नदीहरूमा पुल नै बनेका थिए। त्यस बेला भर्खर घोडामा चढ्ने जमाना हराउने र मोटर गुड्ने जमाना सुरु हुने अवस्था थियो।

> कालोपत्रे बाटोमा सरर रमाउँदै बुटवलको वसपार्कमा रहेको आमा होटेलमा भात खाएपछि अर्को बस समातेर बर्दघाटतिर लागेँ – काकालाई भेटेर सिमेण्टको कुपन लिन। त्यहाँ पुग्दा अपह्रान्हको ३/४ बजेको थियो। तर त्यहाँबाट पनि काका त गुल्मीको श्रृङ्गा जानु भएछ। अव मलाई फसाद पर्‍यो। अर्‍हाएको काम फत्ते नगरी घर फर्कन पनि भएन। कुपन नभई सिमेण्ट पनि पाइन्न, अव के गरुँ? भन्ने सोँच्दै बस चढेर बुटवल पुगेँ। त्यतिञ्जेलमा श्रृङ्गा गएर कुपन ल्याउने विचारले बुटवलबाट पाल्पा जाने बसमा चढेँ।

> पहाडका घुम्तीहरूमा हुत्तिदै दायाँ र वायाँ हुत्याउँदै टाटा बस घुँइकिंदै अगाडि बढ्यो। मेरो लागि यो यात्रा नयाँ र अनौठो थियो। म कालोपत्रे गरेको पहाडी बाटोमा त्यसरी मोटरमा हिँडेकै थिइन। पहिला त खुव रमाइलो पनि लाग्यो। तल तिनाउ नदीका वरिपरिका डाँडाबीच भिरमा कुदिएको बाटोमा बस अगाडि बढ्दै थियो। अझ ठाउँठाउँमा झरेका झरनाहरूले मन तरंगित पार्दै थियो। बसभित्र चुरोटको धुँवाले मलाई असर गर्दै गयो। छेउँमा बसेका एक यूवासँग सम्वाद पनि सुरु भयो। उनी गुल्मीको अमरपुरमा आफ्नो घरमा जाँदै रहेछन्। उनलाई पनि श्रृङ्गा भएर जानुपर्ने थाहा पाएर मेरो पाल्पादेखि अगाडि बढ्ने चिन्तामा राहत मिल्यो। उनीसँग सहयात्री बनेर मेरो गन्तव्यसम्म पुग्ने मेरो योजना बन्यो। उनी रमाइला गफाडी यूवा थिए।

> कहिले तिनाउको पुल तरेर वारि त कहिले पारि गर्दै हामी चढेको बस केराबारीमा चिया चमेनाको विश्रामपछि अगाडि बढ्दा विस्तारै घाम ढल्कँदै साँझ पर्दै थियो। अलि अगाडि पुग्दा झमक्कै भईहाल्यो। ठाउँठाउँमा यात्रीहरू झर्ने र चढ्ने क्रम जारी थियो। तानसेन मुनिबाट पाल्पाको झलझलाकार दृष्य बढो रमाइलो थियो। तानसेनका घुम्तीहरूमा उकालो चढ्दै बस बर्तुङबाट पोखरा जाने बाटो छोडेर बाँया लाग्यो र एकै छिनमा तानसेनको बसपार्क ओर्लिएपछि बसमा केही समय अघि परिचय भएका मित्रको साथ लागेँ म पनि।

> एउटा होटेलमा रात विताएपछि त्यहाँबाट हाम्रो पैदल यात्रा सुरु भयो। तीनै मित्रले तानसेनबाट ७/८ घ48टा हिँडेपछि श्रृङ्गा पुगिने कुरा बताए। उनको पैदल यात्रा त त्यहाँबाट आधा पनि हुँदैन रहेछ। मेरो लागि त्यो क्षेत्र र पहाडी घोडेटोको यात्रा परिचित थिएन। हुन त अर्घाखाँचीको पत्थरकोटदेखि ठाडासम्मको घोडेटो बाटोमा म यदाकदा हिँडेकोले सारै नौलो पनि थिएन।

> विहानको शितलमा हामी उठेर बाटो लाग्यौँ। ढाक्रेदेखि बटुवासम्मको उपस्थितिले बाटो रमाइलो नै थियो। केही उकालो हिडेपछि पानीट्याङ्की र पहाडको टुप्पाको समथर क्षेत्र रमणीय थियो। तलको तानसेन बजारले कथा सुनाउँदा वर्णन गर्ने स्वर्गका दृष्यहरूको संझना गरायो। हिमालमा पोखिएको विहानी घामले मलाई हजुरआमाले कथा सुनाउँदा वर्णन गर्ने स्वर्गका दृष्यहरूको संझना गरयो। हिमालका चुचुराहरूको सुन्दरता झल्किरहे पनि अलि तल तिर भरिएको सेतो बादलले हिमालदेखि तलका दृष्य ढाकिदिएकोमा बादलसँग म निकै रिसाएँ, तर मेरो रिसले केही लछारपाटो लगाएन। बरु उतापट्टिको सल्लाघारीले सान्त्वना दियो।

> अघिल्लो दिन बसमा परिचित मेरा मित्रको स्वादिला गफ सुरु भए। कति मिठा थिए तिनी गफ भने अहिले ३० वर्षपछि पनि ती गफको संझनाले मेरो मन हर्षित हुन्छ। त्यस दिनको त्यो ८ घ48टाको यात्रा पुरा गरुञ्जेल जारी भएको उनको गफको भ48डारलाई त प्रशंसा गर्नै पर्छ। तानसेन पानी ट्याङ्कीबाट ओरालो झर्दा भरखर उनका गफ सुरु भएका थिए। त्यत्तिवेला उनले भर्खर दिपक बोहराका दादागिरी र उनका पहिरनका प्रसंग उठाएका थिए। हामी भने गफका तालमा ओह्रालो बाटो हिँड्दै थियौँ। मलाई यात्राको आनन्द आइरहेको थियो। त्यो यात्रालाई आनन्द पार्नमा उनका गफको प्रमुख भूमिका थियो।

> केही तल पुग्दा एउटा सुरुङ देखियो। पहाडको वल्लो टुप्पोबाट पारि उज्यालो देखिन्थ्यो। तानसेनमा पानीको कमी भएकोले त्यो सुरुङ खनेर पाल्पाका राजाले बजारमा पानी पुर्‍याएका रहेछन्। त्यस बेलाका नेपालका मिस्त्रीहरूको दक्षताका वारेमा प्रशंसा नै गर्न मन लाग्छ। त्यत्रो पहाडमा कहाँबाट खन्न थालेर ठिक्क भनेको ठाउँमा निस्कने गरी उनीहरूले त्यो सुरुङ कसरी खने होलान्? अहिले जस्तो प्रविधि सम्पन्न र औजारको सुविधा उनीहरूसँग थिएन तर उनीहरूसँग भएका सिमित साधन, श्रोत र औजारबाट पनि उनीहरूले सफलता पाएका थिए। सुरुङ खनेर वारिको पानीलाई पारि लगिएको रहेछ। तानसेनको बस्ती बाक्लिँदै गएपछि त्यो पानीले पनि नपुगेपछि धेरै तल भुल्केबाट पानी मोटरले तानेर तानसेनको डाडाँका ट्याङ्कीमा पुर्‍याइएको थियो। त्यो सुरुङको कथासँगै जोडेर भुल्केबाट पानी तानेको कुरा मेरा सहयात्रीले बताउँदै थिए। ती रमाइला वर्णन सुन्दै हामी ओह््रालो बाटो लाग्दै थियौँ। जति गयो त्यति ओरालो बाटोमा मेरा घुँडा अलि अलि दुख्न थालिसकेका थिए। उकाली ओराली हिड्ने बानी थिएन। मेरो मनमा तानसेनका लागि पानी तानिएको भुल्केको दृष्य नाच्न थाल्यो। कतिखेर देख्न पाइएला मुल थलो भन्ने कौतुहलता जाग्दै गयो। खुला आकाश भएको त्यो दिन रमणीय थियो। साथीको त्यो गुणजस्ता मिठा गफका स्वादसँगै हिड्दा हिँड्दै भुल्केबाट तानसेनका लागि पानी तानिएका पाइपहरूपनि देखिए। अलि माथिसम्म पानी पुर्‍याएपछि फेरि अर्को पम्पले झन् माथिसम्म पानी पुर्‍याउँदो रहेछ।

> एकै छिनमा भुल्के पनि आयो। पानीको मुहान र त्यहाँबाट पाइप जोडेर पानी पम्पले तानेर लग्दा लाग्ने विजुली खर्चको हिसाव गर्दै ओरालो लाग्दा खोलामा पानीको मात्रा पनि बढ्दै थियो। जति तल गयो पानी त्यत्ति धेरै हुँदै थियो। जोर्ते पुगेर थकाली होटेलमा भात खाँदा केही विश्राम भयो। पहाडको चीसो पानी र विहानभरीको हिडाइको थकाइले पनि होला खानाको स्वाद सामान्यभन्दा अलि मिठो लाग्यो। ओहोरदोहोर गर्ने बटुवा र भरियाको कमी थिएन। बाटो रमाइलो थियो। खोलाको पानीको धुनमा रमाउँदै मित्रको गफको रफ्तारमा सम्मफाँटको रमाइलोले त यतै पो बसाई सर्न पाए हुन्थ्यो भन्ने चाहना बढ्यो। पहाडी शितलतालाई पहाडहरूले घेरेर राखेको स्टेडियम भित्र रिडी नदीको मन्द सुस्साहटले आनन्द दिए जस्तो त्यो फाँटको सम्म बाटोमा हिँड्न पाउँदा ओरालो हिँड्दा हिँड्दा पाट्टिएका खुट्टाले पनि अलि राहत महसूस गरे। रिडी तरङ्गको रमणीयता र भावनामा रमाउँदा रमाउँदै रिडी बजारको रौनकता देखियो। कतै कतै ढाक्रेले खाना बनाउन तीन ढुङ्गा जोडेर बालेको आगोले रङ्गाएका ढुङ्गाहरूले त्यस युगको प्रतिनिधित्व गरिरहेका थिए। रिडी खोलो नदीमा मिसिनुभन्दा पहिला नै जुत्ता मोजा खोलेर खोलो तर्‍यौँ। चियाको चुस्कीसँगै रिडी बजारको चहल पहल देखियो। थाकेको शरीरले विश्राम खोजिरहे पनि गन्तव्यसम्म पुग्नुपर्ने बाध्यतालाई आत्मसात गरेेर बाटो लागियो। अविरल गफ गर्न सक्ने क्षमतावान मित्रले त्यत्ति बाटो काड्दासम्ममा रिडीपछि हामी हिँड्नुपर्ने निकै उकालो र सल्लाघारीको पट्यारलाग्दो बाटोको वर्णन गरिसकेका थिए।

> रिडीको सल्लाघारीको उकालो सुरु भयो। आकाशका घाम पश्चिमतिर ढल्किसकेका थिए तर उकालो चढ्दा शरीरले पनि अलि गाह्रो मानेर होला पसिना चुहिन थाले। सल्लाघारीको बीच नपुग्दै तिर्खाले अत्याउन थाल्यो। एक ठाउँमा पानीको जडान गरेको धारो भेटियो। तर त्यहाँ धारो मात्र थियो, पानी थिएन। निधारको पसिना पुछ्दै लामो सुस्केरा काढ्दै हिँड्नै पर्ने वाध्यता थियो। म भन्दा पनि धेरै बाटो हिड्नु पर्ने ती सहयात्रीको मागलाई ध्यानमा राखेर पनि मैले मेरो शरीरलाई अगाडि धकेल्नै पर्ने थियो। धेरै थकाइ लागेपछि यस्सो बस्यौैँ। शरीरलाई अलि राहत दियो। फेरि उकालो लाग्यौँ। त्यो क्रम जारी रह्यो।

> त्यो उकालोमा हिँड्दा हिँड्दै पनि ती सहयात्रीका गफ भने जारी नै थिए। उनले आफ्नो गफको एउटा च्याप्टर त त्यहीँ उकालोको लागि संगालेका रहेछन्। म तराईवासी भएको र मेरो उमेरलाई ध्यानमा राखेर पनि त्यो उकालोमा आईपर्ने समस्या पार लगाउन उनको त्यो नयाँ च्याप्टरले खुबै काम गर्‍यो। उनको त्यो च्याप्टर वास्तविक थियो, कि बनावटी थियो त्यो यकिन भन्न सक्दिनँ, तर त्यो साह्रै रमाइलो थियो जसले गर्दा त्यो उकालो काट्नमा अग्ला सालका रुख र त्यो जंगलको गर्मीले मलाई रोक्न सकेन।

> उनले फरक फरक केटीसँग गाउँमा विताएका रमाइला क्षणहरूलाई कलात्मक ढंगले प्रस्तुत गर्दै थिए। मेरो त्यो कुरकुरे वैंसको समयमा त्यो गफ सारै रमाइलो लाग्यो। मेरो मनस्थितिमा ती रसिला गफले जे प्रभाव पारे पनि त्यो यात्रा आनन्दपूर्ण रह्यो। उनले आफ्ना रसिक र रमाइला क्षण व्याख्या गर्दै थिए। उनले फरक फरक पात्रसँगको सम्वन्ध व्याख्या गरेकोले सामाजिक तवरले त्यसको नकारात्मक पक्ष संवेदनशील रहे पनि अरु सवै जीवनका रमाइला क्षणका वर्णन थिए। ती रमाइला वर्णनमध्ये एउटा त उनकी केटी साथी स्वइच्छाले उनीसँग धान स्याहारि सकेको बेलामा गएको तर परालमा त्यसपछिका गतिविधि ती केटीको इच्छाविपरित रहेको प्रशङ्ग झन् रोचक थियो। ती दुवैका सल्लाहमा बिताइएका ती क्षणलाई उनले रोचक बनाउन जोडेका फुर्का समेतका चुरा फुटेका र चुल्ठो अँठ्याएका वर्णन रोमाञ्चक पनि थिए। त्यो रमाइलो पैदल यात्राका सहयात्री धरमपोखरा पुगेर तेर्सै अमरपुरतिर लागे। म भने उनै मित्रले साथ लगाइदिएका एक जनासँग थोरै ओरालो हिँडेर त्यो सिमेन्टको कुपन राख्नुभएको काकाको घरमा पुगेँ। तर त्यहाँ पुग्दा उहाँ त विहानै भैरहवा फर्कनुभएछ। काकी र अरु आफन्तका ममतामा भुलेर म एक हप्ता त्यहीँ विताएँ र पछि घर फर्किएँ।

>
 
 
There are no data records to display.
   
Comment:
Date:
Name:
LastName:
Address:
City:
PostalCode:
PhoneNumber:
EmailAddress:
WritingId:
Insert  Cancel

www.flykathmandu.co.uk

Received Comments



www.flykathmandu.co.uk
Please write email to belbase@flyktm.com to get permission to publish my article to your media.