Govind Belbase
<June 2022>
SuMoTuWeThFrSa
2930311234
567891011
12131415161718
19202122232425
262728293012
3456789
पँधेरामाथिको कोलमा देखिएको अपरिचित मानव
कथा

> पँधेरामाथिको कोलमा देखिएको अपरिचित मानव

>

> गोविन्द वेल्बासे

> आजभन्दा करिव ४० बर्ष पहिलेको कुरा हो। त्यो गाउँमा त्यतिबेला यन्त्रबाट चल्ने कुनै यातायातको साधन पुग्ने बाटो थिएन। मोटर हिड्ने बाटोसम्म पुग्न दिनभरि हिडेर जानुपर्दथ्यो। त्यो गाउँमा मैले एक आकृतिलाई देखेँ। त्यो आकृति सेतो पहिरनमा थियो। त्यो सुनसान ठाउँमा ५–६ वर्षको मेरो वालमस्तिष्कले त्यो आकृतिलाई मानिस नै हो भन्ने ठम्यायो। तर, सामान्य मानिसकोभन्दा उसको उचाई निकै धेरै थियो।

> मेरो बचपनका थुप्रै कुराहरु आज मेरो मस्तिष्कको मेमोरी स्टिक र हार्ड ड्राइभबाट उडिसक्दा पनि त्यो इमेज फाइल भने जस्ताको तस्तै सेभ छ। मैले थुप्रै पटक त्यो आकृतिको बारेमा सोँचेको छु। बिज्ञानका आधारभूत कुराहरुसँग मिलाउने जमर्को गरेको छु, तर कहीँ, कतै कुनै तथ्य त्यो आकृतिसँग मेल खान्न।

> म हुर्के बढेको सामाजिक परिवेश, त्यो पहाडको सुनसान खोँच र गाउँको वातावरणबाट बसाई सरेर तराई, तराईबाट शहर अनि शहर हुँदै देशबाटै टाडा बेलायत आउँदासम्म पनि त्यो आकृतिको पहिचान हुन सकेको छैन। न त त्यो मानव आकृति फेरि कहँीँ कतै देखेको छु। मलाई पुरै याद छ, त्यो बिपना थियो। मेरी आमा, दिदीहरु र गाउँलेहरु पानी लिन जाने त्यो पँधेरामाथिको कोलमा त्यो दृष्य देख्दा अँध्यारो पनि भएको थिएन। तर, ठिक्क साँझको वेला, पहेली घामले आफू डुब्दै सन्ध्यालाई यो पृथ्वी हस्तान्तरण गरिरहेको समयमा त्यो आकृतिसँग मेरो जम्काभेट भएको थियो।

> म स्कूलबाट वल्लो पल्लो घरका साथीहरुसँग घरमा पुग्दा एकजना दिदी मात्र घरमा हुनुहुँदो रहेछ। मैले आमा खै? भनेर दिदीलाई सोधेँ। अरु साथीहरु आ–आफ्नो घर गइसकेका थिए। दिदीले आफ्नो धन्धामै व्यस्त हुँदाहुँदै आमा कोलमा तेल पेल्न गएको बताउनुभयो। दिदीले आमा तेल पेल्न कोलमा गएको बताउनुले मेरो दिमागमा त्यहीँ पँधेरामाथिको कोल याद आयो। घरबाट धेरै टाडा थिएन त्यो कोल। करिव ७–८ मिनेटमा पुगिने त्यो काठको कोल हुुँदै सधै पानी ल्याउने गरेको पँधेरा जानुपर्ने हुनाले त्यो सबै मेरा लागि निकै सहज थियो। त्यो काठको कोलको छेउमा तोरी भुट्ने अनि दुई तीन जनाले कोल घुमाउने र खाल्डो पारिएको ठाउँमा तेल थाप्ने गरेको देख्दा मलाई रमाइलो लाग्थ्यो। त्यो त एकदम रमाइलो खेल जस्तो लाग्थ्यो मलाई। कोललाई छिटो छिटो घुमाएर तोरीलाई पेलेर तेल निकाल्नेलाई त्यो काम गाह्रो थियो होला, तर म त्यसबेला बच्चै थिएँ। मलाई त्यो तेल पेल्दाको थकाई थाहा थिएन। मलाई त त्यो रमाइलो खेल जस्तो लाग्थ्यो। म अलि ठूलो हुँदा हामी तराईमा बसाई सरिसकेका थियौँ। त्यहाँ मेसिनले तेल पेल्थ्यो, जहाँ कोलमा तेल पेलेको रमाइलो खेल हेर्न पाइदैनथ्यो। तर, 'तेल पेल्दाको थकाई आमालाई र सिकार खेल्दाको थकाई बाउलाई थाहा हुन्छ' भन्ने उखान सुनेपछि भने त्यो कोलमा तेल पेल्दा निकै थकाई लाग्दोरहेछ भन्ने मेरो मस्तिष्कले बुझ्दै गयो।

> सिकार खेल्न जंगलमा एक दुई पटक गएको छु। सिकार खेलेर थाकेर घर फर्कदा बुवाले सुनाएको त्यो उखानबाट आमालाई तेल पेल्दा लाग्ने गरेको थकाईका बारेमा मलाई बोध हुन्छ। तर त्यो कोलमा आमालाई खोज्न दगुर्दै जाँदा आमा त्यहाँ हुनुहुन्नथ्यो। तेल पेल्ने ठाउँमा हुनुपर्ने कमसेकम ४/५ जना मानिस पनि थिएनन् त्यहाँ। न त तेल पेल्ने रमाइलो खेल नै थियो त्यहाँ। त्यहाँ त टाउकोमा सेतो फेटा बानेको र शरीरैभरि सेतो पहिरन गराएको सामान्य मानिसभन्दा धेरै अग्लो मानिसले कोलमा आड लगाएर बासुरी बजाइरहेको थियो। बासुरीको धुन पनि सुनेजस्तो लाग्छ तर धुन सुने नसुनेको बारेमा यकिन छैन अहिले। तर, त्यो सेतो पहिरनको मानिसको आकृति पुरै ताजा छ मेरो स्मरणमा। एउटा बारीको डोरै डोर हिँडेर गएपछि ठिक्क मोडिने बित्तिकै त्यो कोल छ। त्यहाँबाट अलि तल झरेपछि पँधेरो छ। त्यो मोड मोडिनासाथ अप्रत्यासित रुपमा आमाहरुको अनुपस्थिति र असामान्य मानवको दृष्यबाट म आत्तिएँ। आमालाई छिटो भेट्ने आशाले दगुर्दै गएकोले म थाकेको थिएँ त्यहाँ पुग्दा। तर, त्यो अप्रत्याशित दृष्यबाट म आत्तिएँ। चिर..... र, चिच्याएँ, अनि फनक्क फर्किएर पछाडि नहेरी न्वारनदेखिको बल लगाएर दगुर्दै घर पुगेर सास फेरेँ।

> दिदी अझै पनि के के धन्धामा व्यस्त हुनुहुन्थ्यो। साँझ ढल्कँदै गएर अँध्यारोले ढाक्ने क्रम सुरु हुँदै थियो। म आत्तिदै दिदीको काखमा पुगेर आमाहरु त कोलमा हुनुहुन्न भन्दै आफुले देखेको आकृति बर्णन गरेँ। दिदीले त्यो कोलमा तेल राम्रो निस्कन्न भनेर अलि टाढाको कोलमा आमाहरु जानुभएको कुरा बताउनुभयो। म दिदीको काखमा टाँसिए। दिदीलाई कट्कुरोबाट दाउरा ल्याउनु थियो, तरकारी काट्नु थियो, दुध तताउन बाँकि थियो, तर मैले उहाँलाई केही काम पनि गर्न दिइन। विस्तारै मलाई ज्वरो आउँदै गयो, ज्वरो बढ्दै गयो। अलिबेरपछि आमाहरु पनि आउनुभयो। हाम्रो घरभन्दा नजिकै घर भएका एक जना काका नाता पर्नेलाई बोलाएर झारफुक गरेपछि बिस्तारै एक–दुई दिनमा मलाई ठीक भयो। अरु धेरै कुरा त सम्झन्न तर त्यो आकृति झल्झलि अहिले पनि सम्झन्छु। र कौतुहल लाग्छ।

> त्यो आकृति न त गाउँको कुनै व्यक्ति थियो न त सामान्य मानव नै थियो। मैले उसलाई देखेँ म आफै डराए। न त उसले मलाई केही गर्‍यो, न त मलाई उसले केही भन्यो। म उसलाई देख्नासाथ डराएर, भागेँ। म बिरामी परेँ त मेरो आफ्नै डरका कारण। ती छिमेकी काकाले फुकेको खरानीले सायद मलाई सान्त्वना भने दिए होला। तर न त त्यो आकृतिको बारेमा अहिलेसम्म बुझ्न सकेको छु न त मेरो मानसपटलबाट त्यो आकृतिको सम्झना हटाउन सकेको छु।

> मेरो त्यो घटनाको विवरण सुनेर, मेरी आमाले गाउँको प्रचलित भाषामा शिद्धलाई देखेको बताउनुहुन्छ। त्यहाँ त्यो आकृति कहिल्लै कसैले देखे देेखेनन् यकिन भन्न सक्दिन। तर त्यहाँ पँधेरावरिपरि शिद्धलाई देख्ने गरेको भनाई प्रचलित भने छ। मैले आफूलाई बिज्ञानसम्मत र भौतिक बस्तुका आधारमा केन्द्रित गरेर त्यो आकृतिको बारेमा सोँच्ने गर्छु। त्यसरी सोँच्ने क्रममा बिज्ञान र प्रविधिलाई मैले बुझेको सिमाना र दायराभित्र मनन् गर्ने क्रममा टेलिभिजनमा देखिने आकृतिसँग दाँज्न खोज्छु।

> मैले सोँच्ने क्रममा त्यो घटनालाई जोड्न टिभीको बारेमा थाहा नै नभएको कुनै व्यक्तिका वारेमा कल्पना गर्छु। हुन पनि त्यो समयमा मेरो दिमागमा टिभीको बारेमा कुनै ज्ञान थिएन। एउटा स्कुलमा देखिने मानिस र दृष्यहरुको कल्पनासम्म गर्न सक्ने क्षमता म मा थिएन। यदि त्यस्तै टिभीको बारेमा केही थाहा नभएको व्यक्ति हाम्रो सिटिङ रुममा बसिरहेको समयमा कुनै समय मिलाएर राखिएको समयमा आफै टिभी अन भएर कुनै कार्यक्रम सुरु भयो भने त्यो व्यक्तिले के सोँच्छ होला, अप्रत्यासित दृष्य स्त्रि्कनमा देख्दा उ कति डराउला भन्ने पनि मैले कल्पना गर्ने गर्छु।

> आखिर टिभीमा देखिने दृष्य पनि त प्रकाशको सम्मिश्रणलाई प्रविधिको तालमेल मिलाएर देखिने दृष्य हो। त्यसैले त्यो साँझको बेला त्यो खोँच परेको ठाउँमा प्रकाशहरु सम्मिश्रण हुँदा कुनै आकृति देखिएको थियो होला भन्ने निचोडमा म पुग्ने गर्छु। सँाझको त्यो घाम डुब्दै गरेको समयमा कोलको कालो रङ्गमा प्रकाशहरु ठोक्किएर बनेको त्यो आकृतिका बारेमा त्यो बालकपनको मेरो दिमागले बुझ्ने कुरा पनि त भएन। सायद त्यस्तै साँझको बेला देखिने दृष्यहरु र आकृतिले भूत प्रेतका कथाहरु पनि बनेका होलान्।

>
 
 
There are no data records to display.
   
Comment:
Date:
Name:
LastName:
Address:
City:
PostalCode:
PhoneNumber:
EmailAddress:
WritingId:
Insert  Cancel

www.flykathmandu.co.uk

Received Comments



www.flykathmandu.co.uk
Please write email to belbase@flyktm.com to get permission to publish my article to your media.