Govind Belbase
<January 2023>
SuMoTuWeThFrSa
25262728293031
1234567
891011121314
15161718192021
22232425262728
2930311234
यात्रा संस्मरण

कोइलाबासमा एकरात बितायौँ
यात्रा संस्मरण

कोइलाबासमा एकरात बितायौँ

त्यतिबेला पूर्वपश्चिम (महेन्द्र) राजमार्ग बनेको थिएन । कपिलवस्तुको सदरमुकाम तौलिहवाबाट दाङको देउखुरी जान भारतको सोहरतगढ गएर रेलमा कोइलाबास गएपछि हिँडेर जान नजिक र बाटो सजिलो पर्थ्यो । कोइलाबास भारत सीमानादेखि दाङसम्म मोटरबाटो खनिएको थियो तर बर्षामा मोटर हिँड्दैनथ्यो । बर्षाको समय भएकाले पनि हामीले कोइलाबासको बाटो रोजेका थियौँ ।

मैले त्यस समयमा कक्षा ५ मा पढ्थेँ । त्यसैले म सायद १०–११ वर्षको थिएँ त्यसबेला । आज भन्दा २९/३० वर्ष पहिलेको यात्रा भएपनि त्यो यात्राका कतिपय कुरा मैले अहिलेसम्म पनि ताजै सम्झेको छु। कोइलाबासका खिया लागेकाजस्ता पाताका घरका छाना र ती छानादेखि रूखका हाँगासम्म उफ्रिने र फुङ्गाल्ने बाँदरको दृश्य त मेरो मानसपटलमा ताजै छ । पोहोरसाल नेपाल जाँदाको यात्राका घटना भन्दा मलाई त्यो यात्राका कुरा बढी सम्झना छ ।

हाम्रो त्यो यात्रा कपिलवस्तुको बूड्ढी गाउँबाट दाङ देउखुरीको लालमटियासम्मको थियो । त्यस्तै दुई तीन वर्षअघि मेरी दिदीको विवाह लालमटियामा भएको थियो । त्यसपछि मेरा बुबाका मामाका छोरा अर्थात् नेत्र दाजुको विवाह पनि केही महिना पहिलेमात्र त्यही लालमटियामा भएको थियो । मेरो स्कुलमा बर्षे विदा थियो । दाइ पनि नयाँ बेहुलीलाई माइत पुर्‍याउन जानु पर्ने थियो । त्यसैले दिदी भेट्न जान त्यो यात्रा गर्ने मौका पाएको थिएँ मैले । त्यसबेला जीप र रेल चढेर यात्रा गर्ने मौका पाउनु ठूलै कुरा हुन्थ्यो ।

अहिले त्यो बुड्ढी गाउँबाट लालमटियासम्म जान पर्‍यो भने गाउँबाट राजमार्गसम्म निस्कन २० मिनेट लाग्छ । त्यसपछि प्रत्येक घण्टामा कम्तिमा एउटा बसको दरले हिँड्ने बसले करिब २ घण्टामा लालमटिया पुर्‍याई दिन्छ । नेपाल बन्द भएर हिँडेरै जान पर्ने भयो भने पनि दिनभरि हिँड्यो भने पुगिन्छ । तर त्यसबेला त्यो बर्षाका समयमा पुल नभएका ती नदी तरेर जान सम्भव नै थिएन । मौसम राम्रो भएर नदीमा पानी कम भएको खण्डमा दुई दिनको पैदल यात्रा हुन्थ्यो । त्यसैले हामीले सजिलो यात्राका लागि कोइलाबासको मार्ग रोजेका थियौं । पूर्व पश्चिम राजमार्ग बन्न सुरु भईसकेको त्यसैबेला पनि कोइलाबास बजारको भविष्य राम्रो नभएको चर्चा हुने गर्थ्यो र मेरो त्यो बाल मस्तिष्कले पनि त्यो ठहर्‍याएको थियो । कोइलाबासको त्यो यात्रा प्रथम र अहिलेसम्मको अन्तिम यात्रा ठहरिएको छ । अब कोइलाबास गइएला जस्तो पनि लाग्दैन । सम्भावना पनि कम छ । हामी बुड्ढी गाउँबाट तौलिहवासम्म पैदल नै गयौँ । म अलि सानो भएकोले हाम्रो सेतो घोडामा म थिएँ र अरू पैदल हिँडे । बिहान अलि चाँडै खाना खाएर दाइ, म, एकजना पठ्ठे भन्ने थारु (भरिया) र दिदी हिँड्यौँ । नेत्र दाइले मेरो बुवाकी फुपूकी छोरी विवाह गरेकाले मैले दाइलाई दाइ र उहाँकी श्रीमतीलाई भाउजु नभनी दिदी नै भन्ने गर्छु । हामी रामघाट नदीमा ढुङ्गाबाट तर्‍यौँ । नदीमा धेरै पानी थिएन । घोडा पनि डुङ्गामा चढाएरै तारियो । त्यहाँका डुङ्गा सञ्चालकहरूले हरेक वर्ष धान पाकेको समयमा गाउँमा आएर धान लैजान्थे र त्यस वापत हामीलाई नदी तारिदिन्थे । यसो भन्नु उपयुक्त होला कि उनीहरू बालिघरे माझी थिए । घोडा हुनेहरूसँग घोडा तार्ने भनेर थप धान पनि लैजान्थे । कति पटक ओहोर दोहोर गरियो भन्ने मतलव हुँदैनथ्यो । थारु गाउँका सबै घरबाट उनीहरूले धान लैजाने हुनाले थारुहरूसँग उनीहरूले पैसा माग्दैनथे । थारु बाहेकका अरू गाउँले मध्ये, कसैले धान दिने, कसैले नदिने हुनाले कहिलेकाँही नदी तरेको पैसा माग्ने र धान दिएको विवादहरू पनि सुन्न पाइन्थ्यो ।

त्यहाँबाट हामी तौलिहवा पुगेपछि जिप चढेर करिब ३ घण्टामा सोहरतगढ पुग्यौँ । त्यसबेला पनि तौलिहवादेखि सोहरतगढसम्म बाटो कालोपत्रे थियो । सोहरतगढ पसेपछि पत्थर कोइलाको फरक गन्ध नाकले थाहा पायो । नेपालमा पत्थर कोइला बाल्ने प्रचलन नभएकोले पनि सोहरतगढ पस्नासाथ अर्कै गन्ध अनुभव हुन्थ्यो । तौलिहवादेखि सोहरतगढसम्म घोडाले तान्ने टाङ्गाको प्रचलन बढी भएपनि छिटो पुग्न हामी जिपमा गएका थियौँ । जिपको भाडा जनही ३ भारूका दरले तिर्‍यौँ ।

अहिलेको अवस्थालाई नेपालमा अर्ध सामन्तवाद भनिएको देख्दा त्यस समयको प्रचलन सम्झँदा त्यसबेला पूर्ण सामन्तवादी व्यवस्था थियो जस्तोलाग्छ । सोहरतगढका राजाको जमिन्दारी कपिलवस्तुको भेलाईमा पनि थियो । ठूलो कम्पाउण्डले घेरेको त्यो राजाको दरवारले भारतका टुक्रे राजाहरूको झल्को दिन्थ्यो । सोहरतगढको रेल स्टेसनमा गोरखपुरबाट आउने १२ बजेको रेल करिब डेढ घण्टा ढिलो गरेर आइपुग्यो । कालो मुस्लो सिधै आकास तिर उडाउँदै त्यो कोइलाबाट चल्ने रेल आइपुगेपछि 'चाय.. गरम' भन्दै माटाका साना कपमा चिया बेच्नेदेखि घाँटीमा रस्सी बाँधेको ट्रेमा राखेका मम्फली र समोसा बेच्नेहरू रेलको अघिपछि सल्वलाउँन थाले । त्यस समयमा सोहरतगढ स्टेसनबाट निकै मानिसहरू चढ्ने र झर्ने हुनाले निकै चहल पहल थियो । रेलले पानीसमेत त्यहाँ भर्ने र अन्य साना स्टेशनका तुलनामा सोहरतगढमा रेल पनि धेरै बेर रोकिन्थ्यो । तर, नेपालमा पूर्व पश्चिम राजमार्ग खुलेपछि आजभोलि सोहरतगढमा त्यो रौनक छैन । बरु सोहरतगढभन्दा कृष्णनगरमा रेल धेरै बेर रोकिन्छ, आजकल ।

हामी रेलमा चढेर एउटा डिब्बाको सिटमा बस्यौँ। रेलका ढोका थिए तर लगाउने चलन थिएन । पछाडिको गार्डले हरियो झण्डा हल्लाएपछि सिटी बजाएर छुक–छुक गर्दै रेल बिस्तारै अगाडि बढ्यो । नदी माथि पुग्दा भने अलि फरक गड्याक गुडुकको आवाज गर्दै रेल दगुर्यो । साना तिना स्टेसनमा एकछिन रोक्दै यात्रुलाई झर्ने र चढ्ने मौका दिँदै रेल तुल्सीपुर पुगेपछि हामी त्यो रेल छाडेर अर्को रेलमा चढयौं । हाम्रो रेल कोइलाबास पारिको भारत भूमिमा रोकिँदा सूर्य भर्खर डुवेर शीतल वातावरण बनेको थियो । वर्षाको मौसम भएका कारण पनि वातावरणमा हरियाली थियो । कोइलाबासबाट करिब ४ घण्टाको पैदल यात्रापछि हाम्रो गन्तव्यस्थल आइपुग्थ्यो । तर हामी चारजना मध्ये कोहीपनि त्यस भन्दा अघि त्यो बाटो हिँडेका थिएनौँ । तर, कोइलाबासको त्यो नाका, दाङ तिरबाट हिँड्नेहरूका लागि मुख्य नाका थियो । दाङका हुने खानेहरूले आफ्ना छोरा बनारस पढ्न पठाउँथे र उनीहरू त्यही बाटो हिँड्ने गर्थे । त्यो चलन दाङको मात्र होइन सल्यान, प्यूठान हुँदै रोल्पासम्म पनि थियो । त्यसैले कोइलाबास जोड्ने मोटरबाटो पनि खनिएको थियो । धेरै उकालो ओरालो नभएका कारणपनि दाङदेखि भारत सीमासम्म मोटरबाटो जोड्न त्यो मार्ग सजिलो थियो । तर राप्ती लगायतका नदीका कारण वर्षामा मोटर चल्दैनथे । हिउँदमा भने जिप र टेक्टर चल्थे ।

त्यस समयको यातायातको मुख्य साधन घोडा हुन्थ्यो । कपिलवस्तु तिर घोडामै ढुवानीको काम पनि गरिन्थ्यो । हिउँदमा गोरु गाडा मुख्य ढुवानीको साधन भएपनि वर्षामा घोडा मात्र प्रयोग हुन्थे । तर कोइलाबासको त्यो मार्गमा मैले त्यसअघि कहिल्यै नदेखेको ढुवानीको साधन देखेँ । त्यतातिर राँगोमाथि सामान बोकाएर ढुवानी गरिँदो रहेछ । राँगालाई त मिनी ट्रक नै भनेपनि हुन्छ । तराईतिर निकै प्रचलित एउटा उखान छ – 'गैल भैस पानीमा' भन्ने, त्यो उखान पनि त्यतैबाट प्रचलित भएजस्तो लाग्यो । किनभने त्यतातिर राँगालाई नुन बोकाउने गरिँदो रहेछ र गर्मी भएर नुन बोकेको राँगो पानीमा खाल (आहाल) खेल्न बस्यो भने एकातिर नुन पग्लेर नोक्सान हुने अर्कोतिर नुनले गर्दा राँगोको छाला खुइलिने भएकोले त्यो उखान प्रचलित भएको जस्तो लाग्छ ।

कोइलाबास बजारको मन्दिरको धर्मशालामा हामी वास बस्यौँ । त्यहाँ थुप्रै बाँदर हाँगा–हाँगा फुङ्गालेको पनि देखिन्थ्यो । भोलिपल्ट बिहानको शीतलमा हाम्रो यात्रा सुरु भयो । बाटो कोइलाबासबाट अलिअलि उकालो जस्तो सुरु भएपनि समग्रमा सबै बाटो तेर्सै लाग्यो । पानी परेको समयमा मात्र भल आउने खोलाका गग्रेटा थुप्रै भेटिए तर त्यहाँ पानी थिएन । एक ठाउँमा पानी भएको नदी तरेपछि दुई तीनवटा साना पसल भएका ठाउँमा हामीले खाना खाने मेसो मिलायौँ । खाना पाकुन्जेल म त थाकेकोले पनि होला निदाएछु । मलाई खाना खान उठाएपछि मुख धोएर भात खान थालें तर पहिलो गासमै ढुङ्गोले दाँत थर्कायो । चामलको ढुङ्गाको चर्चा चलेपछि होटलवालाले खलोमा मसिना ढङ्ंगा भएको गुनासो गर्दै थियो । तर, कुनै गास पनि ढुङ्गा विनाको गास हुन सकेन तर त्यो यात्रा भने निकै सम्झनापूर्ण रह्यो । अहिले त्यो कोइलाबास बजारको चलह पहल हराएको मैले अन्दाज गर्न सक्छु । कोइलाबास हुँदै बनारस पढ्न जाने खुमबहादुर खड्काहरू चुनावमा भोट माग्नसमेत कोइलाबास गएनन् होला जस्तो लाग्छ । तर त्यसबेला जङ्गल र बस्तीको बाटो हिँडेर गढवा आइपुग्दा पुक–पुक कराएको मिलको आवाजको सङ्गीतमा देउखुरीको फाँट बडो रमणीय देखिन्थ्यो । अलिबेर हिँडेर राप्तीनदी तरेर लालमटिया पुग्ने बेलामा मलाई बगाउने जति पानी बगिरहेको पर्गन्ना त नदी नभएर कुलो पो रहेछ । पर्गन्नाको काठे पुल तरेर लालमटिया पुग्दा घाम ओरालो लागिसकेको थियो ।

त्यही कोइलाबासबाट अहिले बासिन्दाहरू विस्थापित भएको र भारतले अतिक्रमण गरेको समाचारले मन दुखेर आएको छ । मेरो वाल्यावस्थाको सम्झना कोइलाबासबाट विस्थापित भएकाहरूसँग एकाकार गर्न पनि त्यो यात्रालाई शब्दमा कोर्न मन लाग्यो।
 
 
There are no data records to display.
   
Comment:
Date:
Name:
LastName:
Address:
City:
PostalCode:
PhoneNumber:
EmailAddress:
WritingId:
Insert  Cancel

www.flykathmandu.co.uk

Received Comments



www.flykathmandu.co.uk
Please write email to belbase@flyktm.com to get permission to publish my article to your media.