Govind Belbase
<October 2024>
SuMoTuWeThFrSa
293012345
6789101112
13141516171819
20212223242526
272829303112
3456789
उपन्यास: NRN (बेलायत)को कथाबस्तु – "एम्मा" – भाग ५
भाग – ५

अघिल्लो दिनको सल्लाहा अनुसारै तयार भएर हामी परराष्ट्र मन्त्रालय पुग्दा विहानको साढे नौ बजेको रहेछ । काकाले फोनमा उहाँका साथीलाई हामी त्यहाँ पुग्दै गरेको विषय भनि पनि सक्नु भएको रहेछ । काकाले आफ्ना कर्मचारीलाई अस्मिताको सहीछाप गराएर निबेदन पत्र र साथमा पेश गर्ने पुर्जाका फोटोकपीहरु लगायतका कागज पेश गरेर सिफारिस तयार पार्न लगाउनुस । हामी मेरो साथी सहसचिवकोमा नै हुन्छौं । केही पर्यो भने फोन गर्नु ।


हमी ढोकाबाट छिर्दा साथ काकाका साथी तथा त्यो शाखाका हाकिमका पर्सनल एसिसटेन्टको अफिस रहेछ । हाकिमले हामी त्यहाँ पुग्न थालेको विषय पिएलाई भनिसक्नु भएको रहेछ । पिएले हामीलाई ‘एकैछिन है’ भनेर इन्टरकमको रिसिभर कानमा लगेर केही कुरा गरेपछि हुन्छ भन्दै रिसिभर सेटमा राख्दै हामीलाई हुन्छ हजुरहरु भित्र जानुहोस सरले हजुरहरुलाई नै पर्खि राख्नु भएको छ । भन्दै भित्र पस्ने ढोका देखाइ दिनुभयो ।

भित्र ठूलो कोठामा ठूला झ्यालबाट भित्र उज्यालो छिरिरहेको उज्यालो रहेछ । सोफाका तीन सेट वरिपरि विछाइएका । बीचको टी टेबलमा सिसाको फूलदानीमा ताजा फूल राखिएको । नमस्कार आदान प्रदान पछि हामीलाई सोफामा बस्ने अनुरोध गर्दै, हाकीम पनि डेस्कबाट आएर सोफामा काका कै छेउँमा बस्नु भयो ।

हामीले कुराकानी गर्न थाल्यौ । काकाले मेरो विदेशको नागरिकता भएकोले नीलो पुर्जा बनाउनु पर्ने कानूनका लागि सिफारिस लिन पर्ने विषयमा हाकिमलाई जानकारी गराउनु भयो । साथै निबेदन लिएर फाँटमा पठाएको र हामीमात्र त्यहाँ पुगेको पनि प्रष्ट पार्नु भयो । काकाको साथीले मेरो बुवालाई चिन्नु भएको रहेछ । उहाँले पनि शब्दमा समबेदना जनाउनु भयो । मैले ‘धन्यावाद’ भने । छोरीलाई पनि नेपालको काम गर्ने तरिका र वातावरण पनि थाहा हुन्छ भनेर पनि साथैमा लगेकीले छोरीको परिचय उहाँसँग गराएं । हाकिमले मेरो बुवालाई अङ्कल भन्नु हुँदोरहेछ ।

हाकिमः ‘अङ्कललाई त मैले आदर्श पुरुषको रुपमा लिने गरेको छु, मेरा रोल मोडल हुनुहुन्थ्यो । उहाँको दुर्घटना भएको र यस्तो भएको थाहा पाएर मलाई ठूलो चोट लागेको छ । हुन त छोरीलाई परेको दुखःका अगाडि मेरो पिडा “सूर्यका अगाडि दियो” बाले जस्तो होला तर मेरो कल्पना भन्दा बाहिरको घटना भयो । बुढाबुढीहरु राम्रा मान्छेलाई भगवानले पनि चाडै लैजान्छन्, भगवानको पनि उनीहरु प्यारो हुन्छन् भन्थे । त्यस्तै भयो । उहाँको मृत्यू छोरी र परिवार जन मात्र होइन हाम्रो समाजलाई नै ठूलो क्षती हो । उहाँ नभएको भए मैले लोकसेवा पास पनि गर्न सक्ने थिइन । उहाँको प्रेरणाले गर्दा अहिले यहाँ छु । मैले लोकसेवाको तयारी गर्दा हामी एउटै घरमा डेरा गरेर बस्थ्यौ । उहाँले नै लोकसेवाको तयारी गर्ने तरिका सिकाउनको साथै थुप्रै मेटेरियल (पढ्ने सामाग्री) समेत दिनु भएको थियो । अहिले त लोकसेवा तयारीका पनि थुप्रै कोचिङ क्लास हुन्छन् । त्यतिखेर त त्यस्तो लोकसेवा तयारीका कोचिङसोचिङ केही नहुने । सामान्य ज्ञानका किताब मात्र पाइन्थ्यो । अङ्कलले इण्डियाबाट ल्याएको एउटा सामान्य ज्ञानको किताब दिनु भएको थियो । त्यो किताबले गर्दा नै मैले नाम निकाल्न सकेको हुँ भन्ने मलाई अहिलेसम्म विश्वास छ ।’

काकाः ‘दाइको बखान हामीले जति गरेपनि पुरा हुँदैन । उहाँ त आखाँमा राखेर नविझाउने मान्छे । के गर्ने अब हामीले गुमाइ हाल्यौ । उहाँले लगाएका गुन हामी कसैले पनि तिरेर सकिने पनि होइन । अहिलेलाई परिस्थितिसँग जुध्नु नै हामी सवैको बाध्यता हो । उहाँको मृत्यूलाई लिएर एक्सिडेन्ट भएको गाडी चलाउने ड्राइभरलाई गाली गरेर पनि भएन, त्यो गाडीका मालिकलाई गाली गरेर पनि भएन । हाम्रा बाटोको अवस्था, ट्राफिक नियमका कमजोरी, सवारी साधनको प्राविधिक पक्ष, अझ सवै भन्दा बढि त सुरक्षालाई महत्व दिन नसकेको हाम्रो सरकारी प्रबृत्तिलाई नै दोष दिनु पर्ला । यो त नेपाली सभ्यताको एउटा पाटो हो । यहाँ ठेकेदारलाई ठेक्का दिँदा कमिसनका भरमा ठेक्का बाडिन्छ । ठेकेदारका विल भूक्तान गर्दा कर्मचारीका कमिसन काटिन्छ । ठेकेदारले गरेको कामको स्तरको कुनै मतलब छैन केवल कमिसनबाट सम्पन्नता जाचिन्छ । सवारी इजाजतपत्र नविकरण गर्दा यान्त्रिक अवस्थाको जाँच तथा प्राविधिक अवस्थाका भरमा नभएर सरकारी दस्तुरमाथि कर्मचारी दस्तुर थपेर पास गरिन्छ । यसमा हाम्रो पुरै समाजको सभ्यता नै दोषी छ । आखिर दाइ वितेर जानु भयो, उहाँले यो प्रबृत्ति तथा हाम्रो विकृत समाजिक मान्यताका विषयमा सधै गुनासो गर्नु हुन्थ्यो । उहाँले उठाउने गरेका ती गुनासाहरुलाई अझै चर्को गरी उठाउने जिम्मेवारी हामीमाथि आइपरेको छ ।’

हाकिमः ‘ठीक भन्नु भयो पिताम्बर जी । उहाँले भन्ने गरेका आदर्शलाई हामीले अगाडि बढाउनु पर्छ । उहाँले हामी दश बीस जनालाई ती आदर्श सिकाउनु भयो । अव हामी प्रत्येकले ती आदर्शहरु अझै दश–दश जनालाई सिकाएर विस्तार गर्यौ र उनीहरुले पनि त्यसै गरी प्रत्येकले दश–दश जनालाई सिकाएर विस्तार गरे भने हाम्रो समाज अलि सभ्य हुँदै जाने छ । हामी हुर्किएका गाउँघरका आदर्श पनि अहिले विलाएर गए । दशैमा पधेरा सफा गर्ने, बाटो खन्ने अनि बर्षा लाग्नु पहिला कुलो मरम्मत गर्ने, एक अर्कालाई सघाउने सवै मिलिजुली खेती लगाउने चलन पनि मासियो । समाज फेरियो । अहिलेको परिवर्तित समाजका विकृत मुल्य मान्यतालाई सुधार्ने जिम्मेवारी हामी सवैको हो । असल मान्छेहरुको संख्या धेरै र खराब प्रबृत्तिका मान्छेको संख्या कम हुने समाज सुखी हुन्छ तर अहिले त दिन प्रतिदिन खराब प्रबृत्ति बोकेका मान्छेको संख्या बढिरहेको छ । त्यसले गर्दा असल मान्छे र राम्रो प्रबृति मासिदै गएको छ । यही चाला रह्यो भने त यो समाज बस्ने लायकको नै रहने छैन । त्यसैले अङ्कलले देखाएको आदर्शको बाटोलाई फैलाउन हामी लागि पर्नुपर्छ ।’

त्यस्तै कुरा हुँदैगर्दा काकाको फोनको घण्टी बज्यो । मोबाइल उठाएर काकाले एस्सो हर्नु भयो र फोनमा भन्नु भयो ‘सवै कागज लिएर यहीँ आउनु । त्यहाँबाट वायाँ पट्टिको ठूलो विल्डिङमा भूइ तलाबाट सिढीं चढेर आएपछि पहिलो तलाको दायाँ पट्टिको पहिलो ढोकाबाट पस्नु । हामी यहीँ छौ ।’ त्यत्ति भन्दै फोन डिसकनेक्ट गर्दै भन्नु भयोः

‘निवेदन दर्ता गराउन गएका भाइको रहेछ । फाँटमा निबेदन दर्ता गर्न वडा कार्यायलयको सिफारिस नभइ हुँदैन रे । वडा कार्यालयबाट सिफारिस र यस वर्षको मालापोत तिरेको रसिद पनि लिएर आउनुस अनि बल्ल प्रकृया अगाडि बढ्छ भनेछन् ।’

हाकिमः ‘यस्तै छ सरकारको राजस्व उठाउने तरिका बनेको छ यो वडाको सिफारिस । जे गर्दा पनि वडाको सिफारिस नभै नहुने निर्देशन छ । वडामा पठाए पछि राजस्व बढ्छ र त्यसले विकास हुन्छ भन्ने मान्यता छ, त्यसैले जे गर्दा जहाँ जाँदा पनि सर्वसाधारण नागरिकलाई वडाको सिफारिसको तगारो लगाएर राजस्व तिर्न भनिन्छ । अङ्कलले सिकाएको आदर्श अनुसार यो सिफारिसको विरोधबाटै सुरु हुन्छ तर यो कुर्सिको पदको जिम्मेवारी लिएपछि त्यो आदर्शको पालन गर्न पनि हात वाधिँदा रहेछन् । मिटिङहरुमा यो विषय मैले उठाउने पनि गरेको छु तर म एक्लो पर्छु । आफैलाई सम्हाल्छु र कुनै न कुनै दिन यसको विरोध गर्ने अरु पनि त थपिएलान भनेर ।

अव हेर्नुस न यहाँबाट गाउँमा जाने अनि वडाको सिफारिस लिएर आउने अनि यहाँ सिफारिस बनाउने र फेरि गाउँ जाने । यो समय र श्रमको बरवादी हो भनेर बुझनेवाला यहाँ कोही भएनन् । जनतालाई यो समय र श्रम वेकारमा गुमाउनुबाट बचायो भने त नागरिकले त्यो समय र श्रमबाट अरु उत्पादनमा लगाएपछि पो राज्यको कोष थपिन्छ । त्यसबाट समाज विकास हुन्छ भन्ने बुद्धि यहाँ पलाउदै पलाउँदैन । नागरिकलाई जति सतायो प्रशासन उति राम्रो भन्ने पो बुझाइ भएको छ अहिलेको सरकारी पद्दतिको ।

त्यो निवेदन यहाँ आएपछि मैले अफैले तोक लगाइदिन्छु । सिफारिस त बनिहाल्छ । पछि अरु सवै कामको लागि पनि वडाको सिफारिस त चाइहाल्छ । त्यो बनाए पछि एउटा फोटोकपी गरेर यहाँ पु¥याइदिनु म मिसिलमा सामेल गर्न लगाउँला ।’

मः ‘काका र हजुर हुनाले हाम्रो काम त हुने भयो । तर, चिने जानेको नभएको भए त बेकारमा सिफारिस लिन वडामा जाने अनि सिफारिस बनाउने अनि फेरि गाउँमा जान पर्ने हुन्थ्यो । यस हिसाबले हामी त यहाँको पहुँचवाल वर्गमा परियो तर सर्वसाधारणको जीवन त यस्तैमा ब्यतित भैरहेको छ ।’

काकाः ‘त्यही त तिमीहरु बरु बेलायतमै बसाइ ब्यवस्था मिलायौ यो समस्या पार पाइहाल्यौ । हामी त यहीँ संघर्ष गर्नु पर्छ । सवै माहोल र संस्कार नै विग्रिए पछि सपार्न त उही सपना देख्यो देख्यो जाग्दा सवै हराउँछ भने जस्तै कुरा ग¥योग¥यो ब्यवहारमा उत्रिँदा फास्स न फुस्स हुन जान्छ । यसै गर्दा गर्दै जाने भयो हाम्रो जिन्दगी । दाइभाउजु गइहाल्नु भयो । यस्तै त रहेछ । जीवनको के ठेगाना आज हो कि भोलि !’

दिनेशः ‘हाम्रो विवाह दर्ता गर्दा पनि त्यस्तै भएको थियो नि । त्यत्तिखेर सिडियो अफिसबाट हन्थ्यो विवाह दर्ता । निबेदन दिन गएको गाउँ विकस समितिको सिफारिस चाहिन्छ भने । म, त जिल्लामा जाने तयारी गर्दै थिएं । आमाले सिडियो अफिसमा कोही चिनेको छ कि पत्ता लगाउन पर्यो वर्षा याममा गाउँ पुगेर आउँदा यात्रा पनि खतारा हुन्छ । समय पनि खेर जान्छ भनेर दुईचार ठाउँमा फोन गरेर सोध्नु भयो । आखिर फुपुका भाञ्जा त्यहाँ सहायक सिडियो हुनुहुँदो रहेछ । फोन गर्न लगाउनु भयो । भोलिपल्ट अफिस जाँदा फाँटमा भनिसक्नु भएको रहेछ । उहाँ आफु सेमिनारको लागि सिङ्गापुर जान पर्ने हुनाले अफिसमा नभए पनि अघिल्लो दिन गाविसको सिफारिस नभै हुँदैन भन्ने फाँटवालाले खुरुक्क सवै काम गरिदिए ।’

त्यत्तिकैमा कागज लिएर निबेदन दर्ता गराउन गएका भाइ पनि आइपुगे । हाकिमले निबेदन मागेर सरर निबेदन पढेपछि एकएक गरेर साथमा भएका सवै कागज एकपटक पढेपछि ‘आ.का. गरी सिफारिस बनाइ दिनु” भन्ने तोक लेखेर कागज लिएर फाँटमा जान भन्नु भयो । उनी कागज लिएर फेरि कोठाबाट वाहिर निस्किए । उनी गएको एकै छिनमा ढोका खुल्यो र हातमा चियाका कपहरु भएको ट्रे लिएर एक महिला आएर सवैका अगाडि कालो चिया राखिदिइन ।

चियाको कप देख्नासाथ मलाई कतिबेला ओठमा लगेर सुरुप्प तानौ भन्ने भैरह्यो । तर, अरुले नखाँदै खाइहाल्दा असभ्य भैहालिन्छ कि भन्ने डर लागेर एकैछिन पर्खिएं । त्यत्तिकैमा हाकिमले ‘चिया लिउँ है’ भन्दै आफु अगाडिको कप उठाएर ओँठमा जोड्न थाल्नु भयो । मेरो मनले पर्खिरहेको त्यो चिया खाने अनुमति पाउनासाथ चियको सुरुप्प ताने । चियाको टर्रो खालको स्वादलाई मुखमा एकैछिन खेलाएपछि आउने मिठो स्वादको लागि मेरो मन आतुर थियो तर, चियाको गहिरो गुलियोले चियाको स्वादको लागि आतुर मन खिन्न भयो । तर, चियाको स्वादको असन्तुष्टि पोख्ने हिम्मत आएन । चुप लागि बसें ।

त्यो चियाको नमिठो पनले एक्कासी मेरो मनमा किन हो कुन्नी उही अस्पतालकी आफु जस्तै भएकी केटीको संझना आयो । आफ्नै जुम्ल्याहा दिदी–बैनी होलिन कि होइनन भन्ने अन्योलले मन विचलित भयो । त्यो डिएनए टेस्टको रिपोर्ट त आएहोला तर म यता अल्झेको अवस्थाले गर्दा मन भित्रको उल्झन बल्झिरहेको पीडा बोध भयो । फेरि अर्को मनले ती केटी जुम्ल्याहा हुन कि होइनन् भन्ने विषयले कतै मलाई मानसिक असन्तुलनको समस्या उब्जन थालेको त हैन भन्ने विचार आयो । उता मेरो मनमा कुरा खेल्दै गर्दा काका र हाकिम बीचमा भएका केही बार्तालाप समेत मैले ध्यानै नदिएर नसुनेको महसुस भयो । मनमा म यो मानसिक तनाव तथा अनसन्तुलनलाई ब्यवस्थित गर्न अलि सतर्क हुनुपर्छ भन्ने विचार जन्मियो ।

काका र हाकिमका बीचमा गैर आवासीय नेपालीहरुको नयाँ पुस्ताका विषयमा चर्चा हुँदै रहेछ । उहाँहरुले त्यहीँ सँगै बसेकी छोरीको भविष्य तथा विदेशमा बढ्दै गरेका नेपाली सन्ततिहरुको सामाजिक अवस्था कसरी बढ्ला ? नेपाली संस्कृति भाषा, संस्कार कति पुस्तासम्म बच्ला ? वा केही मिश्रित हुँदै नेपाली भाषामा अङ्ग्रेजी शब्द मिसिने अहिलेको परम्परा नेपालमा भोगिरहेको जस्तो मुल रुपमा भने जस्ताको तस्तै विस्तार हुँदै जाला कि ! परिमार्जन गरिएको भाषाशैली र संस्कृति संस्कारहरु जिवित रहलान भन्ने लामै कुरा कानी मैले सुनिरहेँ । छोरीलाई त्यस विषयको एक पात्रको रुपमा चित्रण गर्दै छलफाल गरिरहनु भएको थियो । त्यत्तिकैमा काकाले भन्नु भयो
‘साच्चै अस्मिता हामीले तिमीहरुको विषयमा यतिवेर कुरा गर्यौैै तिमी त सुनिरह्यौ । वास्तवमा अव विदेशमा बस्दै गरेका तिमीहरुको भविष्य तथा आगामी पुस्ता कस्तो होला ? यहाँको संस्कार संस्कृति त्यहाँ पनि विस्तार हुँदै जाला कि हराएर जाला कि के होला ?’

मलाई त्यो छलफल सुनिमात्र रहुँ बोल्न नपारोस भन्ने लागिरहेको थियो । तर, काकाले गरेको प्रश्नको जवाफमा त म बोल्नै पर्ने भयो । मन भित्र ती जटिल प्रश्नका उत्तर कसरि दिने भन्ने विषयमा एकदमै छिटोछिटो कुराहरु खेलिरहे तर म चुप लागेर बस्न मिल्ने भएन उत्तर दिनै पर्ने महशुस गरेर भने
‘विदेशमा बस्न थालेका नेपालीहरु पनि सवैको एकै खालको रहनसहन छैन । अव हामी बेलायतमा बस्ने मध्येमा पनि तीन–चार थरिका रहनसहन विकास हुँदैछन् । अरु देशमा कसरि भैराखेको छ त मलाई खासे थाहा भएन, अनुमान मात्र गर्ने हो । विदेशमा गएर विस्तार भएको नेपाली बस्तीको आठ–दश पुस्ता पछिको अवस्थाको प्रत्यक्ष उदाहरण त बर्माको नेपाली समाज हो भन्ने सुनेकी छु । दार्जिलिङ, सिक्किम, भुटान तिरको नेपाली बस्ती र संस्कृति त छुट्टै देश भन्दा पनि नेपालीहरुको सिमा बिभाजन मात्र भन्ने रुपमा बुझ्नु पर्छ र विदेशमा गएर विस्तार भएको रुपमा बुझ्नु हुँदैन जस्तो लाग्छ मलाई । यो सवै त नेपाली समाज नै हो जस्तो लाग्छ । खासमा एक्काइसौ सताब्दिमा भने नेपालीहरुको ठूलै संख्या बेलायत, अमेरिका, अष्ट्रेलिया, हङ्कङ्मा विस्तार भएको छ । त्यस मध्ये पनि हङ्कङमा भने नेपाली समाज बीसौ सताब्दिबाटै ब्यवस्थित हुँदै गएको हो । खास गरेर बृटिस सेनामा भर्ति भएका नेपालीहरुको बसाइ त्यसको कारण रह्यो । त्यो हङ्कङको नेपाली बस्ती पनि ठूलै भाग त्यहाँबाट एक्काइसौ शताब्दिमा बेलायतले भूतपुर्व गोर्खा सेनालाई आवासीय सुविधा प्रदान गरेपछि बेलायतमा सेरेको छ । सेनाको जागिर छाडेपछि हङ्कङ नबसेर नेपालमै आएर बसेको सवैभन्दा ठूलो भूपू गोर्खाहरुको समुदाय पनि बेलायतमा बसाइ सरेको छ । ती गोर्खा समुदायहरु पनि सम्पूर्णमा नेपाली भैरहँदा पनि जातीय समुदायका रुपमा फरक फरक संस्कृति र संस्कारहरु पालन गर्ने गरेका छन् । खास गरेर राइ, लिम्बु, गुरुङ, शेर्पा, तामाङ, थकालीहरुले आ–आफ्ना चाड पर्व छुट्टै अवसरमा छुट्टै तरिकाले मनाउने गर्छन् । यी सवै समुदायको संस्कृति हेर्दा खेति किसानी गरेर बस्दाको समाजले मान्ने गरेका प्रचलनहरु खेती स्याहार्ने र लगाउने प्रचलनका बीचका ब्यवहार झल्कने खालका नै हुन्छन् । अव विदेशमा खेती किसानी पटक्कै नगर्ने जागिरे वा ब्यवसायको जीवनशैली अपनाउने नयाँ पुस्ताले कृषिको मुल आधारबाटै परिचित नहुने हुनाले धेरै पुस्तासम्म त्यो संस्कृति तानिएला भन्ने अनुमान गर्न सक्ने अवस्था छैन । अहिलेको पुस्ता त कृषिमा आधारित समाजमा हुर्किएको हुनाले यी संस्कृति, पहिरन र त्यसै अनुसारका संस्कारलाई आत्मिय भएको मन भित्रबाटै अनुभव गर्छन र जस्ताका जस्तै नेपालमा जस्तै भेला भएर मनाउने गर्छन । डोका, नाम्ला, ढोल, मादल, चमर, सुपा, सोली नेपालबाटै लगेका छन् । बचपनमा भोगेका पधेरा, गाग्री, ढिँकी, जाँतो र रातो माटोेले दलान पोतेका प्रचलनमा रमाउने बानी परेका छन् । तर, नयाँ पुस्ता अव त्यही जन्मेर हुर्केकाहरुलाई ती नेपालका स्वादको परख हुने छैन । बाबु आमाले अपनाउने गरेका संस्कृतिलाई उनीहरुले वेवकुफी प्रचलन मान्ने सम्भावना देखिन्छ । उनीहरुले गोठ, मही पार्ने ठेकी, दुध दुहुने गाबुलाई महसुस गर्नै सक्दैनन् । नौनी घिउ तताउँदाको त्यो गन्ध त महसुस गर्ने सक्दैनन् । ब्रेडमा दलेको बटरले त्यो गन्ध दिनै सक्दैन । आधुनिक सुविधासम्पन्न ठूला फार्महरुमा पालिएका गाइभैसीका दुध ग्रोसरीबाट किनेर ल्याएका दुध दही र बटरले उनका पुर्खाले अनुभव गरेको गोबरको गन्ध, मकैबारीको सुस्साहट, धान रोप्दाको रमाइलो र हिलोको गन्धबाट विकास भएका संस्कृतिलाई बुझ्न सक्ने नै छैनन् । त्यसैले बाबुआमाले अपनाउने गरेका दैनिकी र खानपानमा उनीहरुले अपनाउनै नसक्ने अब्यवहारिक प्रचलन पाउने छन् । अहिले पनि जुन परिवारमा जानु भयो भने पनि केटाकेटीले भात खान नरमाउने, दिनदिनै दालभात तरकारी खान पार्यो भने झर्को मान्ने गरेको खुन्न र देख्न पर्ने हुन्छ । उनीहरु माघ महिनामा हजुरआमाले पढ्ने गरेको स्वस्थानी कथाका कुराहरु वाहियात भएको मान्दछन् । हुन त माघ महिनामा स्वस्थानी पढ्ने घर विरलै भटिएला तर आमाहरुले पुजागर्ने गरेको हिन्दू देवी देउताको मुर्ति र फोटोका विषयमा उनीहरु सकारात्मक रहेको पाइँदैन ।’

मैले भन्दै गरेका कुरामा समर्थन खोज्ने भावमा दिनेश तिर हेरेर भनें
‘होइन त ? मैले आफुले महसुस गर्ने कुरा भन्दै छु, ब्यक्ति ब्यक्तिका अनुभूति फरक हुन सक्छन् । अव दिनेशले अनुभव गर्ने र महशुस गरेको तथ्य मेरो भावना भन्दा फरक पनि हुन सक्छ ।’

दिनेशः ‘अस्मिताले भनेका कुराहरु विचार नभएर सवै यथार्थ तथ्य हुन । यसमा त कसैको दुईमत हुनै सक्दैन । अहिलेको यथार्थ यही नै हो । यी यथार्थलाई ब्याख्या गर्यो भने अरु नसमेटिएका ब्यवहार र चलनहरु जोड्न त सकिन्छ तर सार बुझ्नको लागि यति पनि प्रयाप्त हुन्छ । जुँगा चल्यो कुरा बुझ्यो भनिन्छ नि त्यस्तै गरी यसबाट ब्यापक परिबेसलाई मनन् गर्न सकिन्छ । अँ, भविष्य कता जाला भन्ने र नेपालीपन जोगाउन जोड गर्ने कि जता जान्छ जान दिने ? भन्ने विचार आ–आफ्नो हुन सक्छ । जस्ताको तस्तै पुस्तौ पुस्तासम्म जोगाउँछु भनेर त सम्भव छैन बरु कतिसम्म परिमार्जन गरे कतिसम्मको प्रचलन र संस्कृति जोगिन्छ भन्ने छलफलको मुख्य विषय हुनु पर्ने हो समाजका अगुवाहरुको । मैले सुनेको र बुझे अनुसार बर्मामा गएका नेपालीहरुको दोस्रो तेस्रे पुस्ताले जन्म मृत्यू आदिमा अपनाउने संस्कार अपनाउन न स्थानीय प्रचलन स्वीकार गर्न मनले मान्ने न नेपाली प्रचलन अपनाउन ढंग पुग्ने भए पनि संस्कृति जोगाउन आवस्यक भएको महशुस गरेर जौँ, तिल, सस्कृत र नेपाली भाषा शिक्षा आदिको चाँजो मिलाउन थालेका हुन । यही अवस्था अहिले अन्य देशमा विस्तार हुँदै गरेको नेपाली समाजको दोस्रो तेस्रो पुस्ताले भोग्ने छ जस्तो लाग्छ । तर, नेपाली समाज भन्दा पहिला अन्य नेपाली विस्तार हुँदै गरेका अमेरिका, बेलायत, अष्ट्रेलिया आदि देशमा भारतका हिन्दूहरु ब्यवस्थित भैसकेका र हिन्दू मन्दिर लगायत हिन्दूहरुले प्रयोग गर्ने सामानहरुको विक्री वितरण भैराखेको हुनाले बर्मामा नेपाली समाजले पहिलो चरणमा भोगेका कठिनाइ त्यही रुपमा नपरिकनै पनि नेपाली संस्कृति ब्यवस्थित हुन सक्छ जस्तो लाग्छ ।’

काकाः ‘हजुरहरुले प्रत्यक्ष भोगेको अनुभव सुन्दा हामीले अनुमान गरेको र समाचार र टिभीमा देखेको भन्दा फरक लागेन ।’

हाकिमको टेबलको इन्टरकममा आवाज आएपछि उहा सोफाबाट उठेर आफ्नो कुर्सीमा बस्दै इन्टरकमको रिसिभरमा केही शब्द सुने पछि भन्नु भयो ‘हुन्छ पठाइदिनुस ।’

ढोका उघ्रियो र एउटा फाइल हातमा लिएर हेर्दै कर्मचारी जस्ता देखिने, खैरो कोट पाइन्ट र खरानी रङको सर्ट साथै टल्कने कालो जुत्ता लगाएका, पेट अलि वाहिर निस्किएका अधवैंसे ब्यक्ति भित्र आएर हाकिमलाई नमस्कार गर्दै हातको फाइल खोलेर टेबलमा राखिदिए ।

एकै छिन फाइलका केही पन्ना पढेपछि पत्रमा दस्तखत गर्दै फाइल ती कर्मचारीलाई दिँदै ‘त्यो श्रीलङ्काको रिपोर्ट भोलि सम्ममा तयार पारेर दिनुस है ।’ भने पछि ‘हस’ भन्दै ती कर्मचारी कोठाबाट बाहिर निस्किए ।

काकाः ‘हामी आएर तपाइलाई गफमा भुलायौ, तपाइ बीजी हुनुहुन्थ्यो होला ।’ हाकिमको ध्यान आर्कषण गर्ने गरी सोध्नु भयो ।

हाकिमः ‘होइन, म फुरसद मै छु । तीन बजे एउटा मिटिङ छ । त्यसको लागि हिज घरमै साँझ बसेर मिटिङमा पेश गर्ने रिपोर्ट तयार पारेको थिएँ । त्यो रिपोर्टको शुद्धाशुद्धि हेरेर तयार पार्न लगाएको थिएं । त्यो पनि तयार भैसकेछ त्यही देखाउन आउनु भएको थियो अघि । अव तीन बजेसम्म त म फुरसद मै छु । अँ बरु, अघि विदेश बस्ने नेपालीको सन्दर्भमा कुरा हुँदै थियो मलाई पनि निकै चासो लागेको छ । कुरा अगाडि बढाउँन ।’

काकाः ‘हो त नि साच्चै । मलाई पनि अस्मिता र दिनेश ज्वाइको कुरामा निकै चासो लागिरहेको छ । अरु भन्दै जानुस ।’

मः ‘म एकोहोरो बोलिरहेकी थिएं । हजुरहरुलाई मेरो कुरो कत्तिको चासो लागेको भन्ने बुझ्ने आसयले पनि अघि विषय सन्धर्भमा दिनेशलाई पनि सामेल गर्ने कुरा मिलाएकी थिएं । म त एकोहोरो कुरो लम्ब्याएं कि भनेर डराएकी थिएं । अव त्यसैमा अरु कुरा थप्छु है त ।

बेलायतका भूपू गोर्खाहरु एक किसिमले स्थापित भएको समुदाय नै भैहाल्यो । बेलायतमा एक लाख भन्दा बढी संख्यामा गोर्खा समुदाय र अरु नेपाली पनि जोड्दा झण्डै डेढलाख नेपाली छन् भन्ने अनुमान छ । वास्तवमा यथार्थ तथ्याङ्क भने छैन । बेलायती नागरिकता ग्रहण गरेका नेपालीको संख्या नै ३५ हजार भन्दा बढि रहेको बेलायती सरकारी तथ्याङ्कबाट थाहा हुन्छ । अरु समुदाय मध्ये रेस्टुरेन्ट ब्यवसाय गर्ने सामाजिक अभियानमा अलि बढि सक्रिय भेटिन्छन् । बेलायतमा कार्यरत डाक्टर हरु पनि झण्डै चार सय जति छन् । तर, डाक्टरहरु पेसामै बढि समय ब्यस्त हुने हुनाले सामाजिक सक्रियतामा आवद्ध हुन सक्दैनन् । केही प्राज्ञहरु पनि बेलायती सरकारसँग समेत आवद्ध भएका पहुचवाला छन् ।

विदेशमा विस्तार हुँदै गरको नेपाली समाज दशैं, तिहार, तीज, नयाँ वर्ष (वैशाख) जस्ता चाड पर्व भेला भएरै रमाइलो गरी मनाउँछन् । साउने सक्रान्ति र लुतो फाल्ने प्रसङ्ग जस्ता साना पर्व समेत सोसल मिडियामा प्रासङ्गिक हुने गरेको भेटिन्छ । नयाँ पुस्ता तथा हाम्रा नानीहरुले भने हामिले रमाइलो मान्ने गरेका संस्कृतिमा रमाउन सकेका हुँदैनन् । हुन पनि दशै हाम्रो घर भित्र आएको हुन्छ । तर घर वाहिर घेटिँदैन उनीहरुको लागि । त्यस्तै गरी क्रिसमस घर वाहिर स्कूल कार्यस्थल जताततै आउँछ तर केटाकेटीले घर भित्र भेट्न सक्दैनन् । यस्ता कुराले उनीहरु यता न उताका भएर सांस्कृतिक रुपले त अलमलमा परेका छन् ।

सन् २०१५को मेरो एक दिनको कुरा गर्छु । त्यो दिन बालाचतुर्दशीको दिन परेको थियो । बालाचतुर्दशीका दिन हजुरआमाले दुध ठेकामा हाल्न हुँदैन भन्नु हुन्थ्यो । बालाचतुर्दशीका दिन भकारी भर्ने दिन हो । दुध जमाएर दही तथा मही बनाउन नुहुने भएको हुनाले त्यस दिन खिर खाने चलन छ । साउने सक्रान्तिमा जस्तै । बेलायतको क्यालेण्डरमा डिसेम्बर १०, मानवअधिकार दिवस हो, बेलायतका छिमेकीहरू क्रिसमस उपहार किन्नमा मस्त हुन्छन् । थ्याङ्क्स गिभिङ डे पनि त्यस अघि पर्छ । बेलायतमा थ्याङ्क्स गिभिङ डेमा त्यस्तो धुमधाम हुँदैन । अमेरिकामा भने थ्याङ्क्स गिभिङ डे मा अन्नपात थन्काउने तथा हाम्रो बालाचतुर्दशी जस्तै भकारी भर्ने दिनका रूपमा र क्रिसमसमा भेट हुन तह पर्ला–नपर्ला भनेर भेटघाट, खानपीन साथै रमाइलो गर्ने चलन छ ।

धार्मिक रूपले मलाइ क्रिसमस चाडको कुनै महत्व छैन तर बेलायत बस्ने हुनाले सांस्कृतिक रूपमा मलाइपनि यसले असर पारेको हुन्छ । कतिपय स्थानीयले भेटहुँदा अरू समयमा जस्तै हेलो, हाउ अर यू ? का साथमा क्रिसमस गिफ्ट तयार भयो ? भनेर प्रश्न तेर्साउने गर्छन् । कतिसँग मैले क्रिसमस हैन दशै र तिहार मान्छु भनेर भन्दै हिड्नु त भनेर आलटाले कुराले टाल्ने प्रयास गर्छु । तर कसै कसैले त किनमेल गरेको विवरण र क्रिसमसमा कहाँ जाने परिवारसँग कहाँ भेट गर्ने सवै आफ्नो विवरण विस्तार लाउँछन् । मानौ, खुसी साथ फुर्ति लाउने सिजन हो क्यारे त्यहाँको डिसेम्बरको ठिहिर्याउने जाडो । तर, उनीहरूमा पारिवारिक ममतामयी न्यानोपन यसै समयमा उन्मात हुन्छ क्यारे । अरू समयमा आफ्नै धुनमा ब्यस्त र मस्त हुन्छन् । अरू समयमा त उनीहरूको ममता झल्काउने विषय फुटबलको विषय बनेको हुन्छ ।

बाइबल र क्रिस्चियनको बारेमा मैले जीवनमा पहिलो पटक नेत्रदाइबाट सुनेको हुँ । उहाँको सानोठीमीमा स्नातक तहको पढाइ गर्दा काठमाण्डौमा गोरे क्रिस्चियनहरूसँग सँगत भएछ । नेपालमा धर्म प्रचार गर्न बाइबल उनीहरूले सित्तैमा नदिएर पच्चीस पैसामा बेच्ने गरेको प्रसँग नेत्रदाइबाट सुन्दाको त्यो छंड अहिलेसम्म पनि याद छ । उनीहरूको तर्क रहेछ “सित्तैमा दिए कसैले पढ्दैनन् त्यही भएर नाममात्रको दस्तुर लिएर दिए खर्च गरेको रकम असुल गर्ने भावनाले पढ्छन” । पंचायती ब्यवस्थाको त्यो समयमा धर्म प्रचार गर्ने विरूध्द सरकार र ब्यवस्था अलि कडा नै थियो । कानूनी रूपमा जबर्जस्ति धर्म परिवर्तन गर्न नपाइने भनिएको भए पनि ब्यवहारमा क्रिस्चियनहरू प्रति अलि नै नियन्त्रण हुने गथ्र्यो । तर, प्रचारकहरू पनि के कम र मिसन अस्पताल भन्दै परोपकारी भावनाबाट नेपालीको मन जितेर धर्मलाइ नेपाली समाजमा छिराउँदै थिए । गोर्खाको लुइंटेल स्कूल लगायत शिक्षण संस्थाहरूलाइ पनि त्यस्तै रूपमा बुझिन्थ्यो ।

केही क्रिस्चियन धर्म मान्ने नेपालीले त क्रिसमस मनाउने नै भए, आजकाल त हिन्दू धर्म मान्छौँ भन्ने अरू नेपालीको घरमा पनि झिलिमिली सहितको क्रिसमस ट्री सजाएको भेटिन्छ । कसैले बेलायती रवाफ पनि छाट्छन् । त्यसमा, कसैले चाहीँ स्कूलमा साथीहरूको सँगतले केटाकेटीले रहर पनि गरे, दवावै जस्तो पनि भयो भन्ने गर्छन् । जे होस बेलायत बसेपछि सांस्कृतिक रूपले क्रिसमसले भेटिहाल्छ, झम्झम लागि पनि हाल्छ ।

किनमेल गर्न जाँदा पसलमा घुइचो, कामको रोटामा असर त कतै ट्रेन पर्खदा समेत क्रिसमस किनमेलका वार्तालाप कानमा ठोकिनु त्यसका सामान्य प्रभाव हुन । बजार तिरको झिलिमिली त भन्नै परेन । एकातिर रमझम छ तर कतिपयलाइ क्रिसमसको किनमेलले बोकाउने ऋणको पिरलोले थिचेको पनि हुन्छ । सामान्यतया ऋण बोकाउने क्रिसमसको चर्चा धेरैले गर्दैनन तर मनमिल्नेसँग पिरलो पोखिपनि हाल्छन् । अघिल्लो वर्षको क्रेडिटकार्डको ऋण तिरेर नसक्दै अर्को क्रिसमसले सताउँछ । जत्रो आम्दानी उत्रै खर्च सवै चिनेजानेका परिवार, आफन्त इस्टमित्र, साथीभाइ छरछिमेकी सवैलाइ केही न केही सम्झनै पर्ने । त्यसैले त ऋणको भारि बोकाएर जाने डिसेम्बरपछि जनवरीबाट रित्तो खल्ती लिएर काममा मस्त हुन्छन, हेप्पी न्यू इयर भन्दै । मानौ नयाँ वर्षमा ऋण तिर्ने शाहस बोकेको छ उनका ज्यानले ।

क्रिसमसमा टर्कीको कुरा चाही नेपालमा अस्टमीको बोका काट्ने चलन जस्तो रहेछ । तर बलि होइन रहेछ । परम्परादेखि क्रिसमसमा टर्की पकाउने र खाने बाध्यता जस्तै । यसको धार्मिक महत्वको बारेमा चाहीँ मलाइ थाहा भएन, तर, खासै धार्मिक महत्व छैन भन्ने बुझेकी छु । भिक्टोरिया रानीको शासन कालबाट क्रिसमसमा टर्की खाने प्रचलन बसेको भनाइ पनि छ । पहिले पहिले धनाढ्यहरूले क्रिसमसमा टर्किको भत्तेर लगाउने चलन भए पनि ब्यापारिकरण हुँदै गए पछि सामान्य नागरिकले पनि टर्की किनेर क्रिसमसको भत्तेर लाउने चलन बसेको अनुमान छ । अझैपनि टर्कीको मासु क्रिसमसको समयमा अलि महगो नै हुने गर्दछ । क्रिसमस इभका दिन पसलहरू बन्दहुने समयमा पुग्नेहरूले बचेखुचेका टर्कीको प्याकेट अलि सस्तो पाउने गरेको भेटिन्छ । दुइ दिनसम्म पसल बन्द हुने भए पछि विग्रने डरले पनि अन्तिम समयमा सस्तो पारेर बेच्ने गर्छन ।’

दिनेशः ‘विहा गर्दा जग्गे बनाएर, सात फेरा घुमेरै गर्ने चलन चलेकै छ । अहिले त बेलायतमा पनि संस्कृत भाषाका पुजा गराउने पुस्तक बोक्ने नेपाली पण्डितहरु नै भेटिन्छन् । त्यसै गरी ब्रतबन्ध पनि जग्गे लगाएर होम गरेरै गर्ने चलन छ । तर, ब्रतबन्ध गरे पनि गायत्री मन्त्र जप्ने, टुप्पी पाल्ने, जनै भिरेर हिँड्ने गर्दैनन् । केटाकेटीले त्यसको अर्थ छैन भन्ने अर्थ लागाउने गर्छन् । तर, पनि नेपालतिरबाटै लागेको बानी नेपालमा जस्तै गर्न पनि छाडेका छैनन् । यो हामी जस्ता बीचका पुस्ताको चलन हो । हाम्रा केटाकेटीले बैज्ञानिक हिसाबले पुष्टि नभएका जनै भिर्न पर्ने, महिनावारी हुँदा कसैसँग नछोइकन बस्ने, भान्सा नपस्ने परम्परालाई धानेर राख्छन भन्ने छैन । खास गरेर पुरुष सर्वेसर्वा हुने र महिला भनेका पुरुषको सहयोगीमात्र हुने मान्यता बोकेको नेपाली संस्कारलाई त बदल्न पनि पर्छ भन्ने नै लाग्छ ।’

हाकिमः ‘नयाँ पुस्ताकी नानी पनि यहीँ छौ, तिम्रो विचार जान्न पाए हुन्थो नि । बुवा आमाको कुरा सुन्यौ तिम्रो विचार के छ नि यसमा । कस्तो लाग्छ तिमीहरुलाई तिम्रो साथीहरुलाई ।’

छोरीः ‘आमा र बुवाले भनेको सवै ठीकै हो । कत्ति कुराहरु नेपालीहरुले के गरेको होला यस्तो । किन गरेको होला । धेरै कुरा साइन्टिफिक छैन जस्तो लाग्छ । तर, हामी पनि सकेसम्म बुवाआमा, हजुरबुवा, हजुरआमाहरुको मन नदुखोस भनेर मन नलाग्ने कुरा पनि गरिदिन्छौ ।

मेरो कक्षा मै पढ्ने एउटा केटा साथी छ । उसलाई ब्रतबन्ध गर्नपर्छ भनेर फेमलीले भनेपछि उसले हुँदैन भनेन । प्यारेन्टसको इच्छा पुरा हुन्छ भनेर मान्यो । उसले बताएको कुरा उसको फिलिङ्स मैले थाहा पाएर आज भनेको हो । तर त्यो सवै गरेको उसलाई बेकार लाग्छ । कपाल पुरै खोरिनु पार्यो तर स्कुलमा पुरै कपाल खौरेर जान एलाउ छैन । उसलाई केही दिन स्कूल जान गाहरो भयो । तर टिचरलाई आफ्नो कल्चर र रिचुवल प्रोसेसको लागि गरेको बताए पछि स्कूलले उसलाइ एलाउ गर्यो । तर, टिचरले क्लासमा उसले भनेको कुरा सवै विद्यार्थीलाई सुनायो । मिक्स कल्चरको बारेमा र मिक्स कल्चरका मन्छेहरु सोसाइटिमा मिलेर बस्न एउटा कल्चरको मान्छेले अर्को कल्चरको मान्छेको ब्यवहार मन नपरे पनि सहनु पर्छ भनेर पनि सिकायो । तर, हामीलाई अलि गाहरो त हुन्छ नि ।’

काकाः ‘अनि तिमीहरु पछि ठूला भएपछि तिमीहरुका बालबच्चाहरु पनि हुन्छन् अनि उनीहरुलाई यो कल्चर सिकाउँछौ कि के गर्छौ ?’

छोरीः ‘हामी डिफरेन्ट कल्चरमा हुर्केका छौ । हामीले रिजन विनाको कल्चर स्वीकार गर्न सक्दैनौ । हाम्रो पुस्ताले कल्चर तथा चलनचल्तिलाई बैज्ञानिक तवरले पुष्टि गरिएको भए मात्र स्वीकार गर्दछ । उदाहरणको लागि हजुरहरुको पुस्ता भन्दा अघिल्लो पुस्ताले बाल विवाहलाई स्वीकारेको थियो । तपाइहरुको पुस्ताले त्यसलाई बदलेर यूवा यूवती बयस्क भएपछि विवाह गर्ने प्रचलन बसाल्यो । तपाइहरुको पुस्ताले महिनावारी हुने विषयलाई नछुने र पाखा लगाउने रुपमा स्वीकार गर्यो तर हाम्रो पुस्ताले महिनावारी प्रकृतिको एक नियम भएको र सफाइमा ध्यान दिने रुपमा स्वीकार गर्छ । छुनै नहुने अपवित्र भएको रुपमा होइन उत्पादनको बैज्ञानिक कडीका रुपमा यसलाई बुझ्नु पर्छ भन्ने मान्यता राख्छ । त्यसैले पुराना नियमहरु अध्यात्मबादी भावनाले मात्र प्रेरित भएको पाउँछौँ हाम्रो पुस्ताले बैज्ञानिक रुपमा पुष्टि हुने नियमसँग दाँजेर चलनहरु अपनाउने वा परिमार्जन गर्ने गर्नु पर्छ भन्ने मान्यता राख्दछौ । हजुरआमाहरुले स्वस्थानी कथालाई भगवानको नियम भनेर बुझ्दै पढ्नु भयो भनिन्छ । हामी त्यस्ता कथाले समाजमा भ्रम छर्ने मान्दछौ । घरघरमा सन्देश दिने त्यस्ता पुस्तक पढ्ने चलनलाई कायम गर्ने तर उचित सन्देश तथा विज्ञानले पुष्टि गरेका सूचनाहरु घरघरसम्म पुर्याउने पुस्तकका रुपमा स्वस्थानी कथाहरु पुनर्लेखन गरिनु पर्छ भन्ने हाम्रो मान्यता छ । उक्त कथामा भनिए जस्तो ७ वर्षकी बालक गोमालाई ८० वर्षका वुढा शिब ब्राम्हणसँग विवाह गर्नुलाइ हाम्रो पुस्ताले विरोध गर्नु त स्वभाविक नै हो नि । हामीले स्वस्थानीको उक्त कथाको विरोध गर्दा धर्म र भगवान तथा देवीले सजाय दिने भनेर डराइएको पुस्तक कुनै पनि हालतमा जायज हुन सक्दैन । सवै सृष्टि गर्ने र सञ्चोालन गर्ने नै भगवान र देवी हुन भने उनीहरुलाइ पुजा गर्नु भनेर डराउन दिनु पर्छ त ? त्यसैबाट पनि यस्ता ग्रन्थहरु भ्रमका मुहान हुन भन्छु म । हामीले कल्चरका नाममा आगामी पुस्तालाई यो भ्रम कदापी सिकाउने छैनौ ।’

काकाः ‘तिम्रो कुरा वास्तविक लाग्यो । हामी सानो छँदा हामीलाई सिकाइएको सना जातले छोएको नखाने जस्ता छुवाछुत हामीले त्याग्दै गएका छौ । त्याग्नु पर्छ भनेर छोराछोरीलाई सिकाइ राखेका छौ । त्यस्तै तिमीहरु हामी भन्दा एक कदम अगाडि बढेर सामाजिक न्यायका लागि संस्कृति र संस्कारमा सुधार गर्नु पर्छ नै । हामी हुर्कँदा रेडियो सम्म थियो । त्यसैले रेडियोबाट प्रशारित भएका जागरणका विषयले हामीलाई प्रभाव पार्यो । अव, तिमीहरु हुर्कँदा त इन्टरनेट र सामाजिक सञ्जालको सुविधाले तिमीहरुलाई ज्ञान बाड्न र त्यसै अनुसारको विवेकी बन्न पनि सिकाइएको छ । तिमीहरु यस्तै विवेकी बन्दैजानु मेरो आशिर्वाद छ ।’ टेबलमा राखिएको इन्टरकममा बजेको घण्टी पछि रिसिभरमा हाकिमले भित्र पठाइ दिनुस भनेको एकै छिनमा ढोका खुल्यो र हाम्रो सिफारिस बनाउन फाँटमा जानुभएको भाइ आइपुग्नु भयो । कागजहरु आफुले बोकेको झोलामा राख्दै हाकिमलाई धन्यबाद सहित आभार प्रकट गर्नु भयो । हामीले पनि काकाले जस्तै आभार प्रकट गर्दै त्यहाँबाट बिदा भएर बाहिर निस्कियौँ । गाडी पार्क गरिराखेको ठाउँमा पुगेर गाडीमा बस्दै गर्दा काकाले भन्नु भयो
‘अब आजै बुटवल जान त अबेला भैसक्यो । भोलि विहानै जाउँला । अब सवै जना मेरोमा नै बस्न जाउँ ।’

मः ‘त्यो त हुन्थ्यो काका, तर झोला कपडा सवै नेत्र दाइकहाँ छ । आज त्यहीँ बस्छौ । बरु बुटवलबाट आएपछि हजुरकहाँ नै बसौँला ।’

कताकता पुरै आत्मियता पिताम्बर काकासँग पनि जोडिएको हुँदाहुँदै पनि नेत्रदाइसँग जस्तो सहज रुपमा दुखःसुख गर्न सहज नलागेकोले पनि भनेकी हुँ । पहिले पनि बुवाको जागिरको सिल्सिलामा जिल्ला तिर कहाँ कहाँ सरुवा हुन्छ त्यतै जानु पर्ने, पछि पनि पढाइको सिल्सिलामा कहिले होस्टल त कताकता हुनाले पनि खासै पिताम्बर काकासँग हेलमेल बढि हुन पाएन । नेत्र दाइसँग त उमेर पनि उस्तै उस्तै र दौँतरि जस्तै भएकाले पनि सवै कुरामा सजिलो लाग्ने ।

हामीलाई नेत्रदाइको घरमा पु¥याएर काका बाहिरबाटै जानु भयो । उहाँका कर्मचारी पनि सँगै जानु भयो । हामी घरभित्र छिर्दा भाउजुले कोठाका सामान ठीकठीक ठाउँमा राखेर चिटिक्क पार्नु भएको रहेछ । खुच्मुचिएका सोफाका खोल पनि तन्काइवरि मिलाउनु भएको रहेछ । घरमा पुगेर हामी सुतेको कोठामा गएर कपडा फरेर किचन(भान्साकोठा)मा पुग्दा दाल, तरकारी, अचार बनाएर भाउजुले राखिसक्नु भएको रहेछ । सुक्का रोटी खाने भनेर उहाँले पिठो ठिक्क पार्नु भएको रहेछ । अव रोटी तात्तातै पकाउँदै खाने भन्न थाल्नु भयो । दाइ, दिनेश र छोरीलाई खान बसालेर मैले रोटी बेल्न थालें । भाउजुले रोटी पकाउँदै पालोपालो डाइनिङ टेबलमा पुर्याउँदै गर्न थाल्नु भयो । त्यही बीचमा भाउजुले कुरा कोट्याउनु भयो ‘साच्चै नानी तपाइले त्यो तपाइकी जुम्ल्याहा केटीको कुरा भन्नु भएको थियो नि ! मलाई त कस्तो खुल्दुली लागि राखेको छ ।’

मः ‘कहाँ भाउजु नि ! जुम्ल्याहा नै हो त कहाँ भनेको हो र । उ कहाँ नेदरल्याण्ड्सकी म कहाँ नेपालकी । खाली सवै जीउ डाल दात कपाल समेत मिल्ने र जन्म मिति पनि एउटै भएकोले बुझ्न खोजेको मात्र पो भनेको हो त । जुम्लाहा दिदी वा बैनी नै भनेको त हैन नि, भाउजु ।’

भाउजुः ‘हजुर जे भनेनि मलाई त जुम्ल्याहा नै हो जस्तो लागेको छ । हजुर पनि त त्यही नेदरल्याण्ड्मै जन्मिएको त हो नि । त्यत्तिबेला काका (मेरा बुवा) पनि त स्कलरसिपमा त्यही पढ्नु भएको हो । अव काकाले विदशी गर्लफ्रेण्ड बनाउनु भएको भनौ भने काकी पनि सँगै हुनुहुन्थ्यो । फोरि जन्म मिति पनि एउटै भएपछि हजुरहरु जुम्ल्याहा त पक्कै हो के । तर, पत्ता कसरि लाउने हो कुन्नी । कि त अस्पतालमा नर्सहरुले चोरेर बच्चा नहुनेलाई दिएका हुन कि ? विदेशमा त बच्चा जन्माउन गाहरो हुन्छ भनेर पाउँदैनन् रे त आइमाइहरुले । पैसा खुवाएर नर्सडाक्टर मिलाएर चोरेकै हुन क्या हो ?’

मः ‘भाउजु पनि के के तर्क गर्नुहुन्छ के के ! विदेशमा त्यस्तो बदमासी हुन्छ जस्तो लाग्दैन मलाइ त । म पनि त अस्पतालमै काम गर्छु । सवै रेकर्ड हुन्छ । अहिले कम्प्यूटर र भिडियो आदिले जस्तो सवै रेकर्ड नभए पनि कागजमा सवै रेकर्ड राखिन्थयो नि । अस्पतालमा बदमासी गर्ने चान्स त म देख्दिन । खाली जुम्ल्याहा हुन सक्ने सम्भावना तथा शङ्का गरेको मात्र त हो नि ! फेरि यहाँ यस्तो भएर यता आउनु परेर पो त । डिएनए रिजल्ट पनि अहिले सम्ममा त आइसके होला । त्यो हेर्न पाए त जुम्ल्याहा होइनौ भनेर ढुक्क हुन्थ्यो । तर, त्यही ढुक्क हुन नपाएको कुरा मात्र गरेको भाउजुले त नर्स र डाक्टरलाई चोर समेत बनाइ हाल्नु भयो ।’

डायनिङ कोठाबाट दाइको आवाज आयो ‘यहाँ तरकारी सकियो थप्न भ्याउँछेउ कि म लिन आउँ ?’

त्यत्ति भन्दा भन्दै भाउजु र मैले उत्तर पनि दिन भ्याएका थिएनौ दाइ त तरकारी राखेको भाँडो बोकेर किचन(भान्सा)मा आउनु भएछ । दाइः ‘बेलायत बस्ने भए पनि नानीले त गहुँका सुक्का रोटी खुब मन पराउँदी रहिछन् ।’

मः ‘हामीले पनि फुरसद पाउँदा मिलिजुली रोटी पकाएर खान्छौ नि त । ताजा रोटीको मजा नै अलग हुने । अझ हामी त कहिले काही फापर अनि कहिले काहीँ कोदोको रोटी पनि खान्छौ । छोरीले कोदोको रोटी त त्यत्ति मिठो मान्दिन तर फापरको रोटी भने खुब मन पराउछिन् ।’

भाउजुले कराइ ढाकेको ढकनी झिकेर तरकारी भाँडोमा हालिदिएपछि दाइ जानु भयो । दाइ कै पछिपछि पाकेको रोटी पनि भाउजुले लगेर छाडेर किचन(भान्सा)मा आउनु भयो ।

भाउजुः ‘बेलायतमा पनि कोदो र फापरको पिठो पनि पाइन्छ र ?’

मः ‘पाउँछ नि भाउजु, जे पनि पाइन्छ । बरु एक पटक नेपाली सामान बेच्ने नेपालीहरुले नै चलाएको एउटा पसलमा हामी बस्ने सहर भन्दा टाढाको सहर गएको बेला ल्याएको त ढुङ्गा लाग्ने अलि मज्जा नआउने भयो । त्यसपछि त त्यहीँको पिठो नै किनेर खान थाल्यौं । त्यसपछि नेपाली पसलबाट केही पनि किनेकै छैनौ ।’

भाउजुः ‘ती नानी हजुरको जुम्ल्याहा नै भए त के गर्ने होला हो ?’

मः ‘भाउजु पनि के के भन्नु हुन्छ । जुम्ल्याहा त हुनै सक्दैन । अव भै हाले पो के नै हुन्छ र । एक्ली छोरी हुँ भन्ठानेर आधा जिन्दगी वितिसक्यो । आधा जिन्दगी दिदी बैनी भनेर विताउँन पाइएला नि । जुम्ल्याहा नै भए त बुवा आमाले भन्नु हुन्थ्यो होला नि । केही भन्नु भएन । ती केटीको नाम “एम्मा” हो नि भाउजु । उनको नाम पनि नेपाली छैन । नेपाली नाम भए त सीता, गीता, रेस्मा जस्तो केही हुन्थ्यो होला । उनका बुवा आमालाई भेट्न पाए पनि उहाँ हरुले बनाउनु हुन्थ्यो होला । यहाँ यस्तो नभएको भए अहिलेसम्ममा त मैले पत्ता पनि लगाइसक्ने थिएं । पत्ता लगाएर जुम्ल्याहा होइनौ भन्ने निधो गर्न नपाएर छट्पटि चाहीँ भएको छ ।’

भाउजुः ‘भने पछि, हजुरले मलाई जुम्ल्याहा होइनौ भने पनि आफुलाई पनि जुम्ल्याहा नै जस्तो लागेको त रहेछन नि त ! जुम्ल्याहा हो कि होइन भन्ने प्रमाण मात्र खोज्नु भएको जस्तो लाग्यो ।’

मः ‘त्यो त हो भाउजु । कस्तो ठ्याक्कै म जस्तै छिन क्या ! तर, जुम्ल्याहा हुने कुनै सम्भावना नै छैन नि त !’

कुरै कुरामा हाम्रो पनि खाने पालो आयो । दिनेश र दाइ मिलेर रोटी पकाउँदै आउजु र मलाई दिनु भयो र हामीले पनि खायौ । भोलि विहानै ५ बजे हिँड्ने भनेर काकाले ‘तयार भएर ठीक पाँच बजे बाहिर निस्कनु म गाडी लिएर आइपुग्छु भन्नु भएको छ ।’

भाग – 6 भाग– ४
 
 
There are no data records to display.
   
Comment:
Date:
Name:
LastName:
Address:
City:
PostalCode:
PhoneNumber:
EmailAddress:
WritingId:
Insert  Cancel

www.flykathmandu.co.uk

Received Comments



www.flykathmandu.co.uk
Please write email to belbase@flyktm.com to get permission to publish my article to your media.