Govind Belbase
<October 2024>
SuMoTuWeThFrSa
293012345
6789101112
13141516171819
20212223242526
272829303112
3456789
उपन्यास: NRN (बेलायत)को कथाबस्तु – "एम्मा" – भाग १०
भाग –१०

तेह्र दिनकै दिन साँझ पिताम्बर काका काठमाण्डौ गैसक्नु भएको हुनाले हामीसँग गाडी पनि भएन । हुन पनि उहाँले आफ्ना सवै काम छाडेर हामीलाई सवै सहयोग गर्नु भयो । यसरी आफ्नो सवै गुमाएर हामीलाई सहयोग गर्नुको पछाडि हामी प्रतिको उहाँको माया भन्दा पनि बुवाप्रति उहाँले दिनु भएको सहानुभूति थियो । बुवाले काकालाई गरेको सहयोगको प्रतिफल हामीले पायाँै । सामाजिक मान्यता त ममताहरु यसरि नै अगाडि बढ्छन् होला त्यसैले त अब काकाका कुनै सन्तानलाई वा काकालाई नै भनौ कुनै सहयोग गर्न हाम्रो मन आतुर हुनेछ । यस्तै परिस्थितिबाट ममता बढ्छ । समाजिक मान्यताहरु सौहाद्र्र हुन्छन् । यस्ता सौहाद्र्रताहरु विस्तार हुँदै गएको खण्डमा धार्मिक मान्यताबाट विकास भएका पाप गर्न नहुने अरुको सहयोग गर्दा धर्म कमाइने मान्यताहरु विलाउँदै गए पनि समाज अझै सभ्य हुँदै जान्छ होला । यस्ता योगदानहरु, उपकारहरुबाट विकास हुने सम्बन्ध कायम नहुने र एकआपसमा बैमनस्यता बढ्दै जाने हो भने समाज असन्तुलित र विक्रित हुँदै जाने सम्भावना रहन्छ ।


फ्लाइट समाउने गरी एयरपोर्ट पुग्न अर्जुन दाइले बोलाइदिएको टेक्सी चढेर छोरी, दिनेश र म एयरपोर्ट हिड्यौँ । अर्जुन दाइले भाडामा लागेका घरका कोठाका विषयमा हिसाव किताबको कुरा उठाउँदा मैले भने ‘अहिले त्यो सम्बन्धी कुरा गर्ने मुड छैन, हजुरले उचित सम्झेको गर्दै गर्नुस, म पछि मन अलि सान्त भएपछि उतैबाट फोनमा कुरा गरौँला र सल्लाह गरौँला । छ महिनाको समय पारेर फेरि आएर अरु विषय पनि मिलाउनु पर्ला, मालपोत कार्यालयमा गएर पुर्जाहरु बनाउन पनि बाँकि नै छ ।’ त्यत्ति भनेर विदावारी भएर हामी हिड्यौ ।

घरबाट हिँड्दा मन यति खिन्न कहिल्यै भएको थिएन । यो घरमा बुवाआमा हुनुहुन्छ भन्ने ढाढसले एउटा आँट र सान्त्वना दिइरहन्थ्यो । अव त्यो आँट हराएछ, त्यो ढाढस विलाएछ त्यसैले ड्राइभरले गियरमा हालेर गाडी गुडाउँदासाथ आँखाबाट भल्भल्ति आँशु बग्न थाले । यस्सो घर तिर हेरेँ भक्कानो फुट्यो । दिनेश अगाडि पट्टिको सिटमा बसेका थिए । उनी पनि निशब्द थिए । मेरो भक्कानो फुटेको आवाजले पछाडि फर्किए, केही बोलेनन् । छोरीले मेरो दाया हात आफ्ना दुवै हातले समाएर सहलाउँदै गर्दा छोरीका हातका स्पर्सले सान्त्वना दिलायो ।

धुलोको गन्ध हामीलाइ मात्र होइन छोरीलाई पनि बानी परिसकेछ र त होला खासै धुलोको गुनासो उनले पनि गर्न छाडिसकिछन् । घ्यार–घ्यार घुरघुर टाँ–टाँ–टुँ टुँको आवाजका बीचमा कति ट्रक र बसलाई उछिन्दै टेक्सिले हामीलाई समयमै एयरपोर्ट पुर्यायो । तुवाँलोले ढाकेको वातावरणका कारण एक घण्टाजति ढिलो भए पनि प्लेन आइपुग्यो । काठमाण्डौबाट आएको त्यही प्लेन फर्किएर जाँदो रहेछ । उताबाट आएको प्लेनबाट झर्ने यात्रुहरु धेरै जसो भारतीय मुलका जस्ता देखिने र यता उताको गाइँगुइबाट राजस्थान तिरका भारतीय टुरिस्ट भएको अनुमान गरेँ । लोग्ने मान्छेको लाइनमा बसेका दिनेश भन्दा छोटो रहेको महिला लाइनमा छोरी र म छिरेर सुरक्षा जाँच पास भए पछि विश्राम स्थलमा बसिरहँदा एकै छिनमा दिनेश पनि आएर छोरीका छेउँको खाली कुर्सीमा बसे । ठूला सिसाहरु जडान गरिएको त्यो प्रतिक्षा कोठाबाट बाहिर छर्लङ्ग देखिइइरहेको थियो । तुवाँलो पुरै खुलेको थिएन तर घामलाई पुरै छेक्न पनि सकिरहेको थिएन । विस्तारै तुवालोको बल घट्दै गएको र सूर्यको किरणले उज्यालो बढाइरहेको थियो । पीच गरिएको धावनमार्ग बाहेक अरु ठाउँको घाँस अग्लो भैसकेको रहेछ । गोलो आकारको रिङमा झुण्डाइएको रङ्गिन कपडा पनि फहराइ रहेको छ । सायद हावा कताबाट कता बग्छ भन्ने देखाउने पुरानो प्रविधि अहिले सम्म पनि चलिरहेको होला । सुरक्षा जाँच पास भएर प्लेन चढ्न आएका यात्रुहरु थपिँदै गर्दा प्रतिक्षा कोठा झण्डै आधा भन्दा बढि भरिइसकेको थियो ।

केही क्षणको त्यो पर्खाइ थियो । प्लेनका कर्मचारीहरुले लाइन लागेर बोर्डिङ पास देखाउँदै प्लेनमा जान बोलाए । लाइनमा हामी पनि बस्न पुगेपछि धेरै पट्याट नलगाइकनै समाधान भयो । बलिया स्टिलका पाताले बनेको जस्तो देखिने प्लेनमा सिढि चढेर पस्यौ । प्लेन करिब तीस जनाजति अटाउने सानै रहेछ । आखिर आधा घण्टा देखि पौने एक घण्टाजतिमा काठ्माण्डौ पुगिहालिन्छ जस्तो भै नै रह्यो । प्लेनमा चढ्दा नेपालका प्लेनलाइ यूरोपियन यूनियनले प्रतिबन्ध लगाएको प्रसँग संझिँदै हवाइ सुरक्षा विषयमा अलि चिन्ता चसक्क भए पनि त्यसबाट अताल्लिएर अरु उपाय अपनाउने च्वाइस (मौका) पनि थिएन । खुरुखुरु बोर्डिङपासमा लेखेको सिट नम्बर खोज्दै गएर छोरी र म बायाँ तिरको दुई सीटमा बस्यौ र अगि पछि गर्न मान्छे हिँड्ने गल्ली जस्तो ठाउँ छाडिएको क्षेत्र पारिको आयल्स सिटमा अर्को पट्टि दिनेश बसे । एकै छिनमा प्लेन उडेको आवाजले कान अलि असजिलो पनि भयो । एकै छिन पछि भने त्यो आवाज कम भएको होकि कानलाइ बानी परेर हो कुन्नि त्यो आवाज अलि सहज जस्तो भयो । छेउँमा बसेकी छोरीले प्लेनको गोलो सिसाबाट तल हेर्दै दिइन, घरि बादल र तुवालोले पटक्कै केही नदेखिने गरी छेकीरहेको र कति बेला अलि प्रश्ट देखिने लुकामारिमा पहिला तराइका फाँट अलि बेर हेर्दै गरिन अलि बेर पछि पहाड सुरु भयो र ती हरिया डाँडा, नदी र खोल्साको दृष्यले उनको मन अलि रमाएछ क्यारे अलि हसिँलो पनि देखिन थाल्यो ।

काठमाण्डौ पुग्न थालेको अनुभूति त पहाडका आकारहरु र फाँट र घरहरुको आकारले सूचना दिइहाल्यो छोरीले तल हेरिरहेको झ्यालबाट पुरै नभए पनि अलिअलि त मैले पनि देखिरहेकै थिएं । पाइलट क्याप्टेनले हामीलाई ब्यस्त हवाइ ट्राफिकका कारण पन्ध्र मिनेट जति ढिलो अवतरण हुने जानकारी गराए अनुसारै थोरै ढिलो गरी हामी काठमाण्डौ अवतरण गरे पनि हाम्रो विराटनगर जाने प्लेनको लागि धेरै ढिलो भैसकेको थिएन ।

हाम्रा ठूला सुट्केस जति पछि गाहरो हुन्छ भनेर पिताम्बर काकाकै गाडिमै पठाइसकेकोले हामीसँग हाते झोला मात्र भएकोले लगेज पर्खने झण्झट गर्न परेन । हामी, प्लेनबाट झरेर अरु यात्रीसँगै बाहिर निस्किए पछि फेरि विराटनगर जाने प्लेनको बोर्डिङपास लिन लाइनमा बस्यौ ।

बोर्डिङपास लिइसकेपछि दिनेशले चिया खान मनलागेको बताए । प्रतिक्षा कोठामा छिर्नुभन्दा पहिला नै एउटा सानो क्याफेमा पसेर दिनेशले चिया, मैले कफि लियौ, अनि छोरीले एक बोतल पानी लिइन । मलाई त्यहीँ बसेर कफी खान भन्दा त्यो लिएर गएर प्रतिक्षा कोठामा गएर खान मन थियो तर दिनेशले चिया कफी लिएर जाँदा सुरक्षा जाँचमा असजिलो हुने बताए पछि त्यहीँ बसेर खान थाल्यौ । बाहिर पट्टिको वातावरण भन्दा सुरक्षा जाँच भित्र छिरेपछिको प्रतिक्षा कोठामा अलि सफा हुने हुनाले उतै गएर कफी खाने इच्छा थियो ।

आखिर विराटनगर जाँदा पनि प्लेनको सफर उही भैरहवाबाट काठ्माण्डौ पुगे जस्तै नै रह्यो । हामी रातभरि विराटनगर घरमा बस्यौ । उही सान्त्वनाका शब्द र परम्परागत ढोगभेट र सादा खाना र बुहारीले भान्सा पसेर निभाउनु पर्ने कर्तब्यहरु मेरालागि असहज थिएनन् । जुन वातावरणमा हुर्किएँ त्यसैबाट सवै जसो सिकी सकेकी थिएँ । सधै सँगै बस्ने भएको भए सासु, नन्द आमाजु, देवर जेठाजु प्रतिका गुनासा र बुहारी प्रतिका कटुबचन, अपहेलनाको अनुभव पनि हुनसक्थ्यो होला तर पाहुना सरी बसाइ हुने परिवेसले म ती कुराको अनुभवी कहिल्यै भएकी छैन ।

नेपाल आउँदा आमाबुवा हुँदा कति रमाइलो लाग्थ्यो । फर्किएर बेलायत जाँदा खासै मन रमाउँथेन । तर यस पाली अव बुवाआमा हुनुहुन्न भन्ने भावनाले हो कि ती एम्मा मेरी जुम्ल्याहा दिदी वा वहिनी हुन वा होइनन् भन्ने पत्ता लगाउन हतार भएर हो कुन्नि बेलायत चाडै पुग्न पाए हुन्थ्यो जस्तो भैरह्यो । बुहारीको बुहार्तनका विषयमा पढेको र सुनेको मात्र हो आफुले कहिल्यै अनुभव नगरेकोले त्यसले त मलाई चाडै बेलायत जान पाउँ हुन्थ्यो भन्ने भएको त हुँदै होइन भन्नेमा त म ढुक्क नै छु ।

विहान समय तालिका अनुसारनै प्लेनले विराटनगरबाट काठ्माण्डौ झारेपछि टेक्सि लिएर नेत्र दाइकहा गयौँ । राति दुई बजेको फ्लाइट भएकोले हामीसँग पुरै दिन समय थियो । मनले जति सुकै चाडै बेलायत पुग्न पाए हुन्थ्यो भने पनि सामान सुट्केश नलिइ जानेकुरा पनि भएन । पुग्दा भाउजु र दाइ मिलेर खाना पनि पकाइराख्नु भएको रहेछ । पहिला आएर त्यहीँ बसेको भएर होला सायद बुटवल घरमा भन्दा पनि त्यहाँ अपनत्व महसुस भयो । बुवाआमा विनाको आफ्नो घर पनि आफ्नो जस्तो नलागेर त होला । भाउजुको मिठा कुराले गाँसेको अपनत्व आमापछिको सवै भन्दा सापिप्यता भएर पनि होला दिनभरि बसुन्जेल आफ्नै जस्तो लागिरह्यो । त्यत्तिकैमा नेत्र दाइको फोनमा घण्टि बज्यो र अर्को पट्टि पिताम्बर काकासँग कुरा गर्दै हुनुहुन्छ भन्ने पनि उहाँको कुरा गराइ र शब्दबाट बुझेँ ।

फोनमा कुरा सकिए पछि नेत्र दाइले भन्नु भयो ‘काका अफिसबाट सिधै यतै आउनु हुन्छ रे अनि यतैबाट तिमीहरुलाई एयरपोर्ट पठाएर बल्ला घर जानु हुन्छ रे ।’

भाउजुलाई भने मलाई जस्तै त्यो एम्माको विषयमा निकै खुल्दुली लागिरहेको रहेछ । दिनेश एकछिन इमेलहरु पठाउन भन्दै माथि कोठामा ल्यापटप लिएर बसे । छोरी पनि स्कूलमा बुझाउने भनेको विवरण लेख्न माथि कोठामै बसिन । नेत्र दाइ एकछिन मिटिङ गएर आउँछु भन्दै बाहिर जानु भयो । भाउजु र म मात्रै थियौ, सिटिङ रुममा अनि भाउजुले कुरा निकाल्नु भायेः ‘अव गए पछि त्यो जुम्ल्याहा नानीको राम्ररी पत्ता लगाएर यहीँ लिएर आउनुस है ।’

‘जुम्ल्याहा दिदी र बैनी नै हुन भन्ने त कहाँ छर भाउजु, आफु जस्तै आफ्नो उमेरकी केटी भेट्दा शङ्का गरेको मात्र हो । तै पनि मलाई पनि कस्तो खुल्दुली त लागिरहेको छ । डिएनए रिपोर्ट पनि पक्कै आइसकेको होला अव जाने वित्ति कै त्यो चेक गर्छु । त्यसमा मेरो र उनको डिएनए सिक्वेन्सले सम्भावना देखाएन भने कुरै सक्कि हाल्यो । उनलाई खोज्नुको पनि हुनै मतलब नै भएन । यदि डिएनएले हामी दुई बहिनी भएको पुष्टि गर्यो भने मेरो बुवाआमा अव नभए पनि उनका बावुआमा त छँदैछन् पत्ता लागि हाल्छ । साच्चै जुम्याहा रहेछौँ भने त यहाँ ल्याइ हाल्छु बुावआमाको सम्पत्तिमा उनलाइ पनि भाग दिइहाल्छु । तर, अहिले त गफै मात्र त हो नि भाउजु ।’ मैले भने ।

भाउजुले ‘उनका बुवाआमा कहाँ रहेछन ? छोरी अस्पतालमा विरामी अवस्थामा भए पछि त त्यहाँ आउँदा तपाइसँग भेट हुन पर्ने हो नि ?’

‘त्यो त हो भाउजु, उनका बाउआमा नेदल्र्याण्ड्समा बस्छन् । उनी पहिला अर्कै अस्पतालमा हुँदा आएका रहेछन् । पछि हो मैले काम गर्ने अस्पतालमा उनलाई ल्याएको त्यसैले मेरो भेट हुन पाएनन् । पछि त्यो अस्पतालमा पनि आउने थिए होलान । तर, उनीहरुको पहिलादेखि नै होलि डे बुक भएको रहेछ । फेरि छोरीको पनि अस्पतालमा उपचार भै हाल्ने अनि खासै खतराको स्थिति पनि नभएकोले उनीहरु इटलीमा होलीडे गएछन् । उनीहरु पहिला इटलीबाट नेदल्र्याण्ड्स सरेका रहेछन् ।’ भाउजुलाई मैले जाने सम्मको विवरण सुनाएं ।

भाउजुले अर्को प्र्रश्न थप्नु भयोः ‘उनका बुवाआमाले पनि ती नानीको नेपाल र नेपालीसँगको सम्बन्ध वा वास्तविक बावुआमा बारे मा बताएका रहेनछन् ?’

‘हजुरले भने जसरी खुलस्त त मैले सोधिन तर हामी जुम्ल्याहा जस्तो देखिने विषयमा ती एम्मा र मेरो बीचमा कुरा भएकोले त्यस्तो केही थाहा भए त उनले मलाई भनि हाल्थिन । फोनमा बावुआमा सँग त्यस विषयमा सोध्न पनि खोजेकी थिइन तर नेटवर्क राम्रो भएन । फोन मै भए पनि उनका बावुआमासँग सोध्ने सल्लाह त गरेका थियौं । फेरि त्यत्ति खेरसँग त बुवा र आमासँग मैलेपनि सोध्छु भन्ने थियो । भोलिपल्ट नै उनको खुट्टाको अपरेसन गरेर टुक्रा परेका हड्डिका टुक्रा जोडेर अपरेसन कोठा बाहिर निस्कना साथ यहा बुवाआमाको एक्सिडेन्ट को कुराले गर्दा यता आइहाले । यति छिटोछिटो भयो कि केही मेसो नै भएन । अझ हेर्नुस न भाउजु अव म यहाँबाट जाँदासम्ममा ती एम्मा पनि अस्पतालबाट डिस्चार्ज भएर गैसकेकी होलिन । डिएनए रिपोर्ट त अस्पतालको रेकर्डबाट हेर्ने चाँजो मिलाउन सक्छु जस्तो लाग्दै छ । तर, डिएनए रिपोर्टबाट हामी जुम्ल्याहा हौ भन्ने भयो भने अरु कुरा पत्ता लागउन फेरि उनलाई खोज्न कति मेहेनत गर्नु पर्ने हो केही थाहा छैन ।’ मैले आफ्नो चिन्ता पनि भाउजुलाई जनाए ।

भाउजुले पनि मलाई सान्त्वना दिने भावमा भन्नु भयोः ‘डिएनएबाट पनि निस्सय नै तपाइहरु जुम्ल्याहा भएको देखिन्छ जस्तो मान्दै छु म त । अव हेर्नुस न तपाइहरु हुबहु उस्तै भएको मात्र भए त एउटा कुरा अव जेठाजु र दिदी पनि नेदल्र्याण्ड्समा हुँदा हजुर पनि त्यहीँ जन्मनु भएको, ती नानी पनि नेदल्र्याण्ड्स की सवै कुरा मिलिरहेको छ । अव त्यो डिएनए भनेको के हो कसरि थहा हुन्छ त्यसको रिजल्टले ठ्याक्कै निधो हुन्छ कि हुँदैन मलाई थाहा भएन । तर, मेरो मनले भने हजुरहरु त जुम्ल्याहा दुई बैनी नै हो भन्छ । अव जेठाजुहरु नरहे पनि उनका बाबुआमाबाट तपाइहरु मध्ये को पहिला जन्मेको हो ? को दिदी हो ? को वहिनी हो भन्ने पनि थाहा त भै हाल्छ होला । चिन्ता नगर्नुहोस ।’

भाग – ११ भाग –९
 
 
There are no data records to display.
   
Comment:
Date:
Name:
LastName:
Address:
City:
PostalCode:
PhoneNumber:
EmailAddress:
WritingId:
Insert  Cancel

www.flykathmandu.co.uk

Received Comments



www.flykathmandu.co.uk
Please write email to belbase@flyktm.com to get permission to publish my article to your media.