Govind Belbase
<October 2024>
SuMoTuWeThFrSa
293012345
6789101112
13141516171819
20212223242526
272829303112
3456789
उपन्यास: NRN (बेलायत)को कथाबस्तु – "एम्मा" – भाग ११
भाग –११

योजना अनुसारै रातपरेपछि हाम्रो प्लेन काठ्माण्डौबाट उड्यो । दोहामा चार घण्टाको ट्रन्जिट भएकोले एक छिन कुर्न बसिरहेका थियौं । काठमाण्डौबाट उड्दा नै प्लेनले करिब एक घण्टाजति त ढिलो गरेको थियो । तर हाम्रो चार घण्टाको पर्खाइ नै घटेकोले हामीलाई खासै असर परेको पनि थिएन । काठ्माण्डौबाट त्यहाँसम्म आएको प्लेनबाट फेरि चढ्न पर्ने प्लेनको टर्मिनलमा पुगेर गेट नम्बर हेर्दै यात्रुलाई प्रतिक्षा गर्न राखिएका कुर्सीमा हामी बस्यौँ । एकै छिन पछि दिनेशले ‘कफी खाने ?’ भन्दै सोधे । दिनेश र मलाई कफी र छोरीलाई उनकै इच्छाअनुसारको आइसक्रिम किनेर ल्याउने भन्दै एक छिन गए । छोरी र म बसिरहेका थियौ ।


छोरीले ‘मलाई एउटा कुराको टेन्सन भैरहेको छ ।’ भनिन ।

‘केको टेन्सन हो ? भनन् त । अलि दिन देखि यो सवै यत्ति छिटोछिटो घटनाहरु भैरहे । यात्रै यात्रा पनि भयो तिमीसँग पनि राम्ररी कुरा पनि हुन पाएको छैन । के भयो र केही टेन्सन लिनु पर्दैन के समस्या लाग्यो र भन न ।’ मैले छोरीले कुर्सिको डन्डामा राखेको हातलाई समातेर आफु तिर तान्दै भने । एयरपोर्टको एनाउन्स स्पिकरमा पहिला अरबी भाषामा के के भन्यो केही बुझिएन । त्यस पछि अङ्ग्रेजीमा जर्मनी जाने लुफ्थान्सा एयरवेजको गेटका यात्रीलाई गेट नम्बर चेन्ज भएकोले जानकारी दिँदै रहेछ । छोरीले पनि त्यो एनाउन्स बजुञ्जेल पर्खिए पछि भनिन ‘मेरो पिरियड यस पाली दश दिन ढिला भैसक्यो । हामी यूकेबाट नहिँड्दै हुन पर्ने अझैसम्म पनि भएको छैन ।’

‘कहिले काही पिरियड तलमाथि हुन सक्छ । चिन्ता गर्नु पर्दैन । यो सवै चिन्ता आदिको कारणले पनि र हावा पानी फेरिएको र यात्राको एग्जर्सन(थकाइ)ले पनि त हुन सक्छ आज भोलिमा भै हाल्ला !’ मैले सहज पाराले छोरीलाई सम्झाउने कोशिस गर्दै भनें । तर, मेरो मनमा अलि खुल्दुली भरिइसकेको थियो । उनलाई मेरो चिन्ता भरसक लुकाउने गरी ती शब्दहरु भनें । टिन एज भैसकेकी छोरी बेलायती खुला माहोलमा केही तलमाथि भै हाल्यो कि भन्ने चिन्ताले मनमा जोड पारिसकेको थियो । बेलायती मानसिकता र वातावरणमा खासै ठूलो कुरा थिएन तर त्यो कुरा हाम्रो परम्परागत मान्यतामा कथम कदाचित तलमाथि भएको रहेछ भने पचाउन साह्रै गाहरो हुन्छ भन्ने चिन्ता पर्यो । नेपालका आफन्तहरुले त्यस्तो कुरा थाहा पाए भने त झन बाच्नै कठिन पो बनाउँछन् त ।

एकातिर छोरीले आफ्नो समस्या म सँग नलुकाएकोमा ठूलो सन्तोष महसुस गरेँ । उनलाई मैले साथी सरहको ब्यवहार गर्न प्रयास गर्ने प्रयासकै फलस्वरुप नै उनले मलाई समस्या बताएकी हुन जस्तो भान भयो । छोरीको चिन्तालाई मैले हतोत्साहित नपारि सुल्झाउनु पर्छ भन्ने जिम्मेवारी बोध गर्दै भनेः ‘चिन्ता नगर । छ हप्ता कुनै धेरै समय होइन, तिमीले स्वइच्छाले नै महिनावारी रोकिन नगएको अवस्थामा औषधि प्रयोग गरेर समाधान गर्न सकिहालिन्छ । भोलि यूके पुगेपछि जिपी (जनरल प्रयाक्टिसनर–डक्टर) लाई भेटेर समाधान गरौँला ।

छोरीको चिन्तालाई मैले राम्ररीले महशुस गरिरहेकीले ‘केही छैन, नआत्तिउ । ठूलो समस्या होइन । समाधान भै हाल्छ ।’ भनेँ । समस्यालाई बल्झाउनु भन्दा कसैले थाहा नपाउँदै गोप्य रुपमा समाधान गर्नु नै बुद्धिमानि हुन्छ भन्ने मनमा लाग्यो ।

त्यत्तिकैमा दिनेश दुईवटा कफी र एउटा आइसक्रिम लिएर अहाइपुगे । उनी आइपुगेकोले छोरीसँगको कुरा न दिनेशका अगाडि जारी नै राख्न मन लाग्यो न त लुकाउन नै मन थियो । दिनेशले पहिला छोरीलाई उनको आइसक्रिम दिए, अनि एउटा कफी प्रतिक्षा गर्न राखिएका कुर्सीको बीचमा राखिएको सानो टेबलमा राखे र एउटा कफी मलाई हातमा पुर्याइ दिँदै भने ‘म ट्वाइलेट गएर आउँछु ।’ त्यत्ति भन्दै उनी ट्वाइलेट खोज्दै गए ।

छोरीलाई मैले भने ‘अव तिमी टिनएजमा छौ, आफ्नो विषयमा आफै सोच्नु पर्छ । कन्ट्रसेप्टिभ (परिवार नियोजनका साधन) साथमा छुटाउनु हुँदैन । कहिले कस्तो अवस्थामा परिन्छ थाहा हुँदैन । तिम्रो उमेरमा हाम्रो अवस्था त फरक थियो । हामीलाई त विवाह भन्दा पहिला सम्बन्ध बनाउने अनुमति नदिने सामाजिक मान्यतामा हामी थियौँ । तिमीलाई जस्तो अवस्था हामीलाई त्यसबेला परेको भए त धेरै जसो सुसाइड गर्नुपर्ने अवस्था सिर्जना हुन्थ्यो । तर, तिमी सुरक्षित अवस्थामा छौ । हामी कन्जरभेटिभ सोचाइका छैनौ । दिनेशले पनि यसलाई सामान्य रुपमै समाधानका रुपमा हेर्छन् । मेरो विचारले त तिम्रो क्यारियरको हिसावले पनि बच्चा नराख्न सल्लाह दिन्छु तर तिमीले आफै विचार गर । यो तिम्रो शरीरको कुरा भएकोले तिमीले आफै अन्तिम निर्णय लिने हो । तिमी परिपक्क नभएकी र टिन एजर भएकोले तिमीले एभोर्सन गर्न नै उचित हुन्छ जस्तो लाग्छ । हुनत छ हप्ता नहुँदै बच्चा नै हुनसक्छ भन्ने त छैन, कहिले काहीँ त्यसै पनि एक दुई हप्ता महिनावारी पर सर्न सक्छ । तर, तिम्रो कुराको अवस्थाले सतर्क त हुनै पर्ने देखियो ।’

हामीलाई छोरीले ठूलो अप्ठारो स्थितिमा पारेको महसुस हुन थाल्यो । हाम्रो मानसिकता नेपालको परिवेशको छ, तर छोरीको समाज र मानसिकता खुला समाजको हुँदा भोग्न परेको चिन्ताले भित्रभित्रै म जल्न थालेँ । उता बाउआमा गुमाएको चिन्ता, यता एम्मा जुम्ल्याहा हो कि होइन ? यदि हो भने रहस्य के हो भन्ने चिन्ता ! चिन्ता माथि चिन्ता थपिएकोले भगवानको अस्तित्व बारे मनमा कुरा पनि खेल्न थाल्यो । दुखः थपिँदै गर्दा भगवान प्रति विश्वासको प्रश्न जाग्दो रहेछ । दिमागले भागवान भन्ने चेतनशील प्राणी छ भन्ने विश्वास गर्दैन तर पनि अदृष्य शक्तिको भ्रम मनमा खेल्न थाल्छ ।

हाम्रो समाजको केटीहरुको यौन स्वतन्त्रतामा रोक लगाउने चलन जायज हो त ? भन्ने प्र्र्रश्न पनि उठ्छ घरिघरि मनमा । यौन प्यास त प्रकृतिले सिर्जना गरेको नियम भित्रको आवस्यकता हो । गाउँघर तिर पनि बैँस चढेपछि केटाकेटी आवस्यकता बारीको डोरा देखि खलो, खर्यान र खोल्सा तिर पनि प्यास बुझाउँदा आइपर्ने समस्या जस्तै त हो, अहिले छोरीले मलाई चिन्तामा पारेको समस्या पनि । हाम्रा सामाजिक नियमहरुले त्यो प्यास बुझाउँदाको परिणाममा केटीलाई दोषी मान्ने तर केटालाई छुट दिने गर्दै आएको परिप्रेक्षमा बेलायती समाजले केटीहरुलाई दिएको छुट मलाई आफु महिला भएको कारणले मात्र होइन, सामाजिक न्यायको दृष्टिले पनि उचित हो भन्ने लाग्छ । यौन सम्बन्धी शिक्षा दिन पनि हाम्रो समाजले कञ्जुसाइ गर्ने गर्छ त्यसैले त उमेर पुग्दा आउने उत्सुकतामा केटाकेटीहरु गल्ती गर्छन् र अविभावकहरुलाई चिन्तामा पार्छन, अप्ठेरोमा पार्छन् । आखिर नेपालका गाउँघर तिर बेला बखत बच्चा जन्माएर फालेको घटनाले चर्चा पाउने पनि त समयमा केटाकेटीलाई यौन शिक्षा नदिएकै परिणाम त हो नि । आखिर यो टारेर नटारिने विषय हुनका साथै ढिलो चाँडो यसमा सवै भुक्तभोगी हुने भए पछि यस विषयमा लाज लाग्ने र मान्ने गर्नको सट्टा खुलेर छलफल गर्ने अनि समयमै आवस्यक ज्ञान दिने गर्नु नै उपयूक्त उपाय हो, न कि इज्जतका नाममा चलिआएका कुरितिलाई पाल्ने सामाजिक नियमलाई पच्छाइरहनु । तर, के गर्नु मैले मात्र भनेर समाज त्यता तिर लम्कँदैन । सवैले यस विषयमा सकारात्मक भएर सोँचे त हुन्थ्यो नि !

दिनेश ट्वाइलेटबाट आएपछि अहिले नै छोरीको विषय उनलाई भन्न उचित ठानिन । छोरीले पनि आमासँग जति सजिलरि समस्या बताइन दिनेशसँग उनले भन्न सक्ने अवस्था पनि हुँदैन । उनकै अगाडि दिनेशसँग त्यस विषयमा कुरा गर्न पनि उचित लागेन । तर, दिनेश र म मात्र भएको अवस्था पारेर पछि त्यो विषयमा छलफल गरेर समाधान गर्नु पर्छ भन्ने मनमा लाग्यो । हामी नेपालमा हुँदा छोरीको उमेरमा यस्तो अवस्था भएको भए जुन केटासँग सम्पर्क भएर महिनावारी रोकिएको हो उसै सँग विवाह गरिदिने मान्यता थियो । एभोर्सन त समाज र कानून दुवैले अनुमति दिँदैनथ्यो । यस्तो अवस्थामा केटा र केटीको विवाहको उमेर नभएर बाल–बालिका नै भए पनि विवाह गरिदिन्थे । अझ गाउँ घर तिर त जातभात आदिका समस्या उब्जन्थे । जात आदि नमिलेको अवस्थामा गरिबै भए पनि जात मिल्ने केटोलाई केटी जिम्मा लगाइदिने जस्ता चलन थिए । अहिलेका केटाकेटीलाई त्यो चलन बतायो भने त त्यस्तो जङ्गली अवस्थमा हुर्किएको हो हजुरहरु भनेर प्र्रश्न गर्ने थिए जस्तो लाग्ने गर्छ ।

प्रकृतिले पनि केटा र केटीमा यो विभेद गरेको छ । सम्बन्ध पछि शरीरमा भ्रुण विकास हुने अवस्थाबाट त्यो केटालाई कुनै फरक परेको छैन तर छोरीलाई महिनावारी रोक्किनाले समस्या उत्पन्न भयो । मानिस समाजमा नबसेको अवस्थामा यो परिस्थितिमा पनि अरु जनावरको जस्तो हुन्थ्यो होला । तर मानव समाज र सामाजिक नियम भित्र परिवारको सम्बन्ध मिलाउने नियमहरु जेलिँदै जाँदा महिला र पुरुष बीचमा यसले ठूलो विभेद खडा गर्ने गरेको हुन्छ । दश महिनासम्म पेटमा बच्चा रहँदाको समयले महिलाहरुको क्यारियर विकासमा पनि ठूलो प्रभाव पर्न जान्छ । बच्चा जन्मिसके पछि पनि बच्चाको लालन पालन आदि जिम्मेवारी आमामाथि पर्न जानाले पनि पारिवारिक संरचनाहरुमा पुरुष सरहको समानता कायम हुन गाहरो नै हुन्छ । तर, प्रविधि विकास सँगै मानविय गुण र स्वभावमा पनि बदलावको सिल्सिलामा लोग्नेले कमाउने र स्वास्नीले बालबच्चा स्याहार्ने घर भित्रको ब्यवस्था मिलाउने परम्पराहरु विस्तारै विस्तारै फेरिँदै गएको अवस्था छ । खास गरेर धार्मिक मान्यताहरुमा पुरुष मालिक र महिलाहरु पुरुषका सेवक हुन भन्ने मान्यताहरु भने बदलिँदै गएका छन् । अध्यात्मबादको छहारी रुचाउनेहरुले अझै पनि महिलाहरु दयाका पात्र हुने र पुरुषलाई सामाजिक मान्यताहरु उलंघन गर्न उक्साउने गर्न नहुने जस्ता मान्यताहरु बोकेको पाइन्छ । हाम्रो नेपाली समाजमा नै लोग्नेले स्वास्नीलाई तँ भनेर हेपेर बोल्ने संस्कार छ । पत्नीले भने लोग्नेलाई तपाइ हजुर भन्ने चलन छ । अझ हजुर आमाहरुको पालासम्म त हरेक दिन लोग्नेको खुट्टाको जल खाए धर्म हुने नत्र पाप लाग्ने मान्यता थियो । हजुरआमाले हरेक दिन खाना खानु भन्दा अगाडि हजुरबुवाको खुट्टाको जल खाने गर्नु हुन्थ्यो । कहिलेकाही हजुरबुवा केही दिनको लागि अन्यत्र जाँदा हजुरआमाले हजुरबुवाका खुट्टाको जल राख्नु हुन्थ्यो । हिन्दू धार्मिक मान्यता अनुसार र स्वास्नीहरुलाई ब्यक्ति नभएर सम्पत्ति मानिन्थ्यो ।

महिलाहरु भन्दा पुरुषहरु बलिया हुने र बलियाले कमजोर ब्यक्तिलाई दास बनाएर कजाउने कविला प्रथाबाटै मानव समाज विकास भएको भनिन्छ । त्यही यूगबाट विकास भएको चलन नै हिन्दूहरुको पारिवारिक सम्बन्ध विकास गर्ने नियमहरु बनाइएको थियो । तिनै नियमहरु हजुरबुवासम्मको पालासम्म पनि पाइन्थ्यो । बुवाआमाहरुको पालामा श्रीमतीले श्रीमानको खुट्टाको जल हरेक दिन खाने चलन हरायो । अहिले त्यो चलन हराए ता पनि स्वास्नीहरु भन्दा लोग्नेहरु माथिल्लो दर्जाका भन्ने मान्यता अझै छँदैछ । त्यसैले गर्दा बुवाले आमालाई एक–आपसमा तिमी भनेर सम्बोधन गर्न प्रयास गर्नु हुन्थ्यो । तर आमाले त्यो स्वीकार गर्न नसकेर हजुर भनेरै सम्बोधन गर्नु हुन्थ्यो । लोग्ने स्वास्नी समान हुन भन्ने सिकाउने प्रयास गरे पनि जीवन भरि आमाले त्यो समान ब्यवहार गर्ने मान्यता स्वीकार गर्न सक्नु भएन । बुवाले आमालाई तीमी भनेर बोलाउनु हुन्थ्यो भने आमाले बुवालाई हजुर बनेर सम्बोधन गर्नु हुन्थ्यो । आमालाई बालक कालमा जुन धार्मिक मान्यता र नियमहरु सिकाएर पाप र धर्मको डर देखाइयो त्यो मान्यता स्वर्गवासहुँदासम्म नै पालन गर्नु भयो । बुवा अध्यात्मबादी हुनुहुन्थेन तर आमा कट्टर हिन्दू महिला हुनुहुन्थ्यो । हाम्रो समाज परिवार नातागोता सवै हिन्दू भएको हुनाले हाम्रा चाड पर्व र संस्कार सवै हिन्दू प्रचलन भन्दा बाहिरका हुँदैन थिए । म छोरा भै दिएको भए गायत्री मन्त्र जप गर्ने र जनै लगाउने जस्तो धार्मिक नीति नियममा नबस्ने भए पनि ब्रतबन्ध त गर्नै पथ्र्यो । त्यो नै हाम्रो रहन सहन हो ।

भाग – १२ भाग –१०
 
 
There are no data records to display.
   
Comment:
Date:
Name:
LastName:
Address:
City:
PostalCode:
PhoneNumber:
EmailAddress:
WritingId:
Insert  Cancel

www.flykathmandu.co.uk

Received Comments



www.flykathmandu.co.uk
Please write email to belbase@flyktm.com to get permission to publish my article to your media.